बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने कुरा हावादारी: विष्णु पौडेल

बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने कुरा हावादारी: विष्णु पौडेल

काठमाडौंः एमाले सांसद विष्णुप्रसाद पौडेलले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषय हावादारी भएको बताएका छन्। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको जारी छलफलमा आफ्नो टिप्पणी राख्दै उनले यस्तो बताएका हुन्।

'अर्थतन्त्र सङ्कटोन्मुख हुँदै गएको वर्तमान समयमा बूढीगण्डकी जस्ता आयोजनाहरू नेपाल सरकारले आफ्नै स्रोतबाट निर्माण गर्ने हावादारी कुरा गरिएको छ। यसले बजेट पनि त्यस्तै हावादारी मनोगत हुने कुरा र बजेट खासगरी स्रोतको सीमाभित्र नरहने र स्रोतको दायराबाहिर जाने जोखिम निम्त्याएको छ', पौडेलले भने।

पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन र उद्देश्यहीन रहेको पनि बताएका छन्। उनले नीति तथा कार्यक्रम आर्थिक सङ्कटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको समेत आरोप लगाए। औद्योगिक क्षेत्रका लागि कार्यक्रम नभएको, निजी क्षेत्रलाई हतोत्साहित बनाएको, विकास व्यवस्थापनको कार्यक्रम नभएको, मौद्रिक र वित्तीय नीतिबीच तालमेल नभएको, नियामक निकायमाथि हस्तक्षेप गरिएको उनले बताए।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले विदेशी विनिमय जोखिममा पुगेको पनि बताए।

१४ जेठ, २०७९, १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।