दुई छोरी एकै दिन गुमाउनुको पीडा

दुई छोरी एकै दिन गुमाउनुको पीडा
मोटरसाइकल दुर्घटनामा २ छोरी गुमाएका रोहन घिसिङ। तस्बिर : मोनिका वाइबा

काठमाडौँ : पढ्नेको मनै सिरिङ बनाउने घटना भएको २ महिना भयो। त्यो बेला तात्तातो विषय थियो यो। तर अहिले अधिकांशको मनबाट ती दृश्य हराइसकेको छ। तर रोहन घिसिङको मनमा त्यही चैत १६ गतेको दृश्य जीवनभर मनबाट हराउनै नसक्ने गरी गढिएर बसेको छ।

डेढ महिना त उनी अस्पतालमै बस्नुपर्यो। अहिले उनी घर फर्किएका छन्। दुई जना छोरीलाई घर नजिकैको विद्यालय पुर्याउन मोटरसाइकलबाट घरबाट निस्किएका उनी घर फर्कँदा केही झोला औषधी अनि एक जोर बैसाखी थियो साथमा।  छोरीहरूको सम्झना मात्रै छ उनको साथमा।

अस्पतालबाट डिस्चार्ज हुने बेलामा सामान्य अवस्थामा भएको पैताला अहिले सुन्निँदै गएको छ। छाला फुटेर घाउ बन्न थालेको छ। चिकित्सकले पुन परीक्षणको लागि १९ गते अस्पताल बोलाएको छ। छाला फुटेको औषधी त चिकित्सकले देलान्। तर उनको मन फुटेको औषधी कसले देला!

उनको कम्मरदेखि घुँडासम्मको भागमा स्टिल अड्काइएको छर त घर त फर्किए तर, अब यसअघि अनुभव गर्दै आएको खुसी र उत्साहको खम्बा भने उनले गुमाइसकेका छन्। ३० वर्षको उमेरमा आफ्नो २ छोरी एकै दिन गुमाए उनले। त्यसको पिडा उनको अनुहारमा प्रस्टै देखिन्छ।

अस्पतालमा हुँदा सात दिन आइसियुमा र बाँकी समय वार्डमा बसेका उनी अहिले पनि आफ्नो छोरीहरू सम्झेर टोलाई रहन्छन्। अनि छिनछिनमा लाग्ने पिसाब र झुक्किएर बेस्कन खुट्टा चल्दा दुख्ने घाउका कारण उनी राम्रोसँग टोलाउन नपाउँदै आफै झस्किने गर्छन्।

यो डेढ महिनामा उनले जे-जे भोगे, त्यो कसैको पनि आफ्नो जीवनमा सोच्नै अनि सोच्नै नचाहने पीडा हो। नानीहरूको दाहसंस्कारमा पनि उनी सहभागी हुन पाएनन्। अन्तिम पटक आफ्नो छोरीहरूलाई हेर्न नपाउँदाको दुख अनुहारमा आउन नदिन प्रयास गर्दै एकै चोटि ४९ दिनको घेवामा आएको र बत्ती बालेको उनले सुनाए।

OOO

चैत १६ गते गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ खड्का गाउँमा बाबुको मोटरसाइकलमा विद्यालय गइरहेका आठ वर्षकी सृष्टि अनि चार वर्षकी श्रेयाको मृत्यु भयो। त्यो मोटरसाइकल चलाइरहेका थिए रोहनले। घर नजिकै जनप्रतिनिधि र स्थानीय सुरक्षाकर्मीसँग मिलेर अवैध रूपमा चलाइएको बालुवा रिफाइनको ट्रकले मोटरसाइकललाई ठक्कर मात्र दिएर ब्याकै गरेर २ नाबालिकाहरुको ज्यान लिएको थियो।

उकेराले ट्रक सञ्चालन गर्ने बालुवा प्रशोधन केन्द्रको कानुनी हैसियतबारे बुझ्दा गोकर्णेश्वर नगरपालिकामा जम्मा २ वटा प्रशोधन केन्द्रले अनुमति पाएको देखियो। उकेराको खोजमा जग्गा सम्याउने बहानामा बालुवा खानी चलाएको पुष्टि भएको थियो।

अनि त्यहीको बालुवा प्रशोधन गर्न जय सुन्दरीमाई बालुवा प्रशोधन उद्योग प्राली २०७२ सालदेखि नै सञ्चालनमा रहेको देखिएको थियो। दुवै अवैध हुन् भन्ने पुष्टि भयो। तर बन्द गराउन न स्थानीय निकाय न  प्रहरी नै सक्रिय देखिए।

अवैध रूपमा उत्खनन गर्ने र प्रशोधन केन्द्र चलाउन स्थानीय पदाधिकारीदेखि लिएर सो क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएको महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी प्रमुखको समेत संरक्षण प्रस्टै देखिएको थियो।

अवैध खानी र प्रशोधन केन्द्रबारे गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर सन्तोष चालिसेले सुरुवातमा घर बनाउने भनेर समाउन मात्रै स्वीकृति दिएको बताए। उकेरालाई प्राप्त पत्रमा पनि प्रस्टै माटो व्यवस्थापन र जग्गा समाउन भनेर लेखिएको छ। बालुवा खानी र अवैध प्रशोधन केन्द्रबारे सोध्दा केही जानकारी नभएको बहाना बनाएका थिए। तर उकेराको अनुगमनमा स्थानीय जनप्रतिनिधिकै संलग्नताका प्रशस्तै प्रमाण फेला परेका थिए।

त्यो घटनामा कलिला २ नानीहरूको ज्यान गयो। घिसिङ अस्पताल पुगे। अप्रेसन गर्न रगतको आवश्यक पर्ने कुरा भए पनि उनको खुट्टाको अप्रेसन भने राम्रो सँग भयो । पेटको अप्रेसन गर्ने कुरा भएको थियो।तर, अहिलेसम्म अवस्था ठिकै भएको उनले बताए। फलाम घुसारेर पेटबाट पाइप निकाल्दा गाह्रो भएको भन्दै अगाडी अलिअलि दुखेको, होसमै छु जस्तो लागेको तर, पछि चाहिँ केही थाहा नभएको उनले बताए।

६ महिना पछि मात्र राम्रोसँग हिँड्न सकिने र दुई वर्षपछि सुधार भएमा खुट्टाको स्टिल निकाल्ने चिकित्सकले बताएका छन् उनलाई। डिस्चार्जको दिनमै उनी घर गए। तर, घर डाँडामा भएकाले अस्पताल आउँजाउँ गर्न सहज होस् भनेर उनी श्रीमतीसँग काकाको घरमा बसेका छन्।।

दुर्घटना हुँदा उनले जे देखे

उनी दुर्घटनाको दिनमा फर्किए। बालुवा लोड भएको गाडी अगाडि थियो। उनलाई लाग्यो गाडी अगाडी जान्छ होला। उनी १० मिटर पछाडि बसिराखेका थिए। ट्रक अलिअलि ब्याक गर्ला जस्तो भएपछि उनले हर्न बजाए। कराए। तर मोटरसाइकलबाट ओर्लिन भ्याएनन्। एक्कासि टिपर आएर गम्ल्यांगगुम्लुंग लडेको सम्झना छ उनलाई।

लडी सके पछि उठ्न खोज्दा २ छोरोसँगै आफूलाई टिपरमुनि पाए। टाउको उठाएर हेरे। दुई छोरी टिपर भन्दा निकै भित्र देखे। आफ्नो शरीर टायरमुनि कुल्चिरहेको अवस्थामा देखे। उनले आफ्नो हात हल्लाएर टिपर अगाडी सार भन्ने इसारा गरे। त्यसपछि उनको आँखा अगाडी कालो बादल छायो।

'त्यो टिपर अगाडी नगएर पछाडि आएको भए त म पनि धुलो पिठो हुने रहेछु’ उनले उकेरासँग भने' अरूले भन्छ मलाई केही थाहा छैन रे। तर त्यो क्षण मैले कसरी बिर्सन सक्छु र ! म बेहोस भएको त पछि हो। अरूले त म मरेको समेत भन्न भ्याएछ। तर त्यस्तो होइन घटनास्थलमाबाट एम्बुलेन्स भित्र राखून्जेलसम्मको सब थाहा छ मलाई। बरु अहिले चाहिँ थाहा नभएको भए हुने जस्तो लाग्न थालेको छ।’

२५ प्रतिशत क्षतिपूर्ति बाँकी

अस्पतालको खर्च बालुवा प्रशोधन केन्द्रको सञ्चालकले तिरे। दुर्घटना हुने बित्तिकै परिवार र उद्योगबिच ४५ लाख बराबरको क्षतिपूर्ति दिने सहमति भएको थियो। ३५ दिन सम्ममा सबै क्षतिपूर्ति दिने सहमति भए पनि अझै २५ प्रतिशत बाँकी नै छ।

'अहिले उहाँहरूको समस्या छ भनेर चेकमा डेट थप गरेको छ। ३ महिना सम्म चेकको डेट हुन्छ रे। अहिले सानो समस्या परेको छ नआत्तिनु भनेको छ । हामी अहिलेसम्म चेकबाट कारोबार गरेका छैनौ। त्यसको बारेमा केही थाहा पनि छैन। प्रभु बैङ्कको म्यानेजर उसकै भाइ हो भन्छ। चेक पनि त्यही बनाएको हो। हामीले पनि अब ७५ प्रतिशत दिइसक्यो २५ प्रतिशत पनि देला भन्ने विश्वास गरेका छौँ’ उनले भने।

सहमति अनुसार नै उनकी श्रीमतीले वडामा नम्बर १ मा कार्यालय सहायकको काम पाएकी छिन्। अहिले उनलाई करारमा राखिएको छ।

आइसियुबाट बाहिर निस्केपछि ७ पटक सम्म प्रहरीहरूले घटनाको बारेमा सोध्न आएको उनले सम्झिए। प्रहरीले के- के भयो सबै भन भने।

उनी भन्छन्, 'मान्छे पनि अग्लो अग्लो रहेछ। बोली पनि कस्तो चर्को। एक छिन त डर पनि लाग्यो। स्थानीयको कुरा र मेरो कुरा मिल्छ कि मिल्दैन भनेर सोधेको रे।  भाइ त के हो मरेको भनेर भन्या थ्यो त हो? भनेर एक जनाले त्यस्तो पनि सोध्नुभयो।’ अप्रेसन गर्नु भन्दा ३ दिन अगाडी यो सब प्रश्न गर्दा आफू अक्कबक्क परेको उनले बताए 

विदेश जाने तयारी गर्दै थिए

यस अघि पनि २ पटक वैदेशिक रोजगारीमा गएकाले उनी फेरी विदेश जाने तयारीमा थिए। सन् २००८ मा आफू पहिलो पटक मलेसिया गएको उनले बताए।

'उमेर सानै भए पनि नागरिकतामा उमेर बढाएर सानैमा गएको थिए। पहिला साढे २ बसे। दोस्रो पटक ३ वर्ष। यहाँ केही काम भएन त्यै भएर केही होला कि भनेर गएको। अब फेरी पनि जाने भनेर तयारी गर्दै थिए। यस्तो भयो । अब त जाने कुरै भएन। यस्तो अवस्थामा कसरी जानु' उनी भावुक भए।

बालुवा प्रशोधन केन्द्रको सञ्चालकले खुट्टा अलि ठिक भएपछि टिकट काट्ने काम भए पनि दिने बताएको रहेछ। तर उनीहरूलाई त्यति भर रहेनछ। काम नदिए पनि सानो पसल खोलेर बस्ने योजनामा देखिए उनी।

'कसैको लागि केही गर्छु भनेर जाने त हो विदेश। आफ्नो बच्चाको जिन्दगीको लागि भनेर गएको थिए। अब के जानु। कसको लागि जानु’ उनले भने।

टिपर चालक कहाँ छन् ?

सो दुर्घटनाको टिपर चालकलाई अहिले सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा छन्। प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक दीपक थापाका अनुसार अनुसन्धानका क्रममा टिपरमा कुनै प्राविधिक समस्या देखिएन। त्यसैले सो दुर्घटना प्राविधिक त्रुटिका कारण नभएर जानाजान टिपर ब्याक गरेको कारण भएको देखिएकाले उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। उनीमाथि सवारी ज्यान मुद्दा चलाइएको छ। 

१३ जेठ, २०७९, १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।