विकास-निर्माणमा लापरबाहीको यो हद, दण्डित हुनुपर्ने ठेकेदार उल्टै पुरस्कृत

विकास-निर्माणमा लापरबाहीको यो हद, दण्डित हुनुपर्ने ठेकेदार उल्टै पुरस्कृत

बुटवल : रुपन्देही र नवलपरासीमा गरी चालु आर्थिक वर्षमा १५ वटा पुलको निर्माण कार्य जारी छ। निर्माणाधीन पुलमध्ये कतिपय त २०६७ सालमै ठेक्का लागेका पुल समेत छन्।

निर्माणका क्रममा रहेका पुलहरु लामो समयदेखि म्याद थप हुँदै आएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ। कार्यालयका अनुसार पटक-पटक एउटै ठेकेदारलाई म्याद थप गरिएको छ। 

समयमै काम नगर्ने ठेकेदारलाई जरिवाना गराएर निर्माण क्षेत्रमा हुने बेतिथिलाई सुधार गर्नुको साटो उल्टै बारम्बार म्याद थप गरेर पुरस्कृत गरिरहेको देखिन्छ। जसका कारण निर्माण क्षेत्रमा एउटै ठेकेदारले धेरै ठेक्का लिने तर समयमै निर्माणको काम सम्पन्न नगर्ने परिपाटीले जरा गाडेको छ। बुटवल डिभिजन कार्यालयबाट ठेक्का लिएका धेरै निर्माण कम्पनीहरु पनि यस्तै छन्।

ठेक्का लिने तर समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारको पहिलो सूचीमा छ, मृत सञ्जीवनी निर्माण सेवा।

मृत सञ्जीवनी निर्माण सेवाले डिभिजन सडक कार्यालय बुटवलले लगाएका १५ ठेक्कामध्ये ५ वटा ठेक्का हात पारेको छ। २०७१ साल यता ठेक्का पाएका कुनै पनि पुलको काम यो कम्पनीले सम्झौता अनुसार निर्माण सम्पन्न गरेको छैन। बरु पटक-पटक म्याद थप गरेको छ।

मृत सञ्जीवनी निर्माण सेवाले ठेक्का पाएका ५ वटा पुलको पटक-पटक गरी अधिकांशको २०७८ चैत मसान्तसम्मको म्याद थप गराएको सडक डिभिजन कार्यालयले बुटवलले जनाएको छ। म्याद थप गरे पनि समयमै पुल पनि निर्माणको काम यो कम्पनीले सम्पन्न गरेको छैन।

२०७१ सालमा देव एण्ड सागर जेभीसँग पार्टनरमा ठेक्का लिएका सिसई कोलुवा, खड्वाबनगाई नौडिहवा र दानव नदीस्थित सिसई कोलुवाका दुई पुलको पनि निर्माण समयमै सम्पन्न गरेको छैन। यी दुवैको औसतमा जम्मा ५० प्रतिशत मात्र काम भएको छ।

पछिल्लो पटक थप गरिएको अन्तिम म्याद २०७८ चैत मसान्त भए पनि काम अझै सम्पन्न भएको छैन। दानव नदी पुल निर्माण अन्तर्गत सिसई कोलुवाको पुल ९ करोड ६५ लाखमा ठेक्का सम्झौता गरेकोमा हालसम्म यो कम्पनीले ७ करोड १७ लाख रुपैयाँ भने भुक्तानी लगिसकेको छ।

त्यस्तै खड्वा बनगाई नौडिहवा सडक अन्तर्गत निर्माण सिसई कोलुवा पुल पनि ९ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको कम्पनीले हालसम्म ६ लाख बढी रकम भुक्तानी लगेको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासनीले बताए।

मृत सञ्जीवनी निर्माण सेवाले डिभिजन सडक कार्यालय बुटवलले लगाएका १५ ठेक्कामध्ये ५ वटा ठेक्का हात पारेको छ। २०७१ साल यता ठेक्का पाएका कुनै पनि पुलको काम यो कम्पनीले सम्झौता अनुसार निर्माण सम्पन्न गरेको छैन। बरु पटक-पटक म्याद थप गरेको छ।

२०७४ सालमा ठेक्का पाएको सि.रा.मा लखनचोक पुलको काम पनि यो निर्माण कम्पनीले समयमै सम्पन्न गरेको छैन। २०७७ पुस ३ गतेभित्र सक्ने गरी ठेक्का लिएको यो पुल ठेकेदार कम्पनीले अन्तिम पटक २०७९ वैशाख २० गतेसम्मको म्याद थप गरेको थियो। तर पुल निर्माणको काम अझै सकिएको छैन। २२ करोड ५८ लाखमा निर्माण सम्झौता गरेको यो कम्पनीले हालसम्म  १० करोड ४२ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ।

बुटवल चम्कीपुर सेमलार सडक खण्डको दानव नदीमा निर्माण भएको पुल अन्तिम चरणमा छ। २०७३ सालमा ठेक्का सम्झौता गरेको कम्पनीले दुई पटक  म्याद थप गरेर २०७८ चैत मसान्तसम्मको समय पाएको थियो। तर पनि काम पूर्ण रुपमा सम्पन्न गरेको छैन।

११ करोड ८३ लाख रुपैयाँमा ठेक्का लिएको यो कम्पनीले हालसम्म १० करोड बढी रकम भुक्तानी लगिसकेको छ। त्यस्तै सोनारेट चिलिया मैनहिया सडक अन्तर्गत तिनाउ नदीमा निर्माण पुल पनि यो कम्पनीले समयमा सम्पन्न गरेको छैन। 

२०७४ सालमा १३ करोड ३१ लाखमा निर्माण सम्झौता गरेको ठेकेदारले अहिलेसम्म  ६ करोड ५१ लाख मात्र भुक्तानी लगेको छ।

मृत सञ्जिवनी मात्र होइन, रायमाझी कन्स्ट्रक्सन प्रालि, मैनाचुली बोखिम जेभी, अर्घाखाँची बबुल जेभीले ठेक्का लिएका पुलको अवस्था समेत उस्तै छ। एउटा ठेक्का सम्पन्न नगरेका यी ठेकेदारलाई पनि पटक-पटक अरु ठेक्का दिइएको छ।

चालु आर्थिक वर्षमा मैनाचुली बोखिम जेभीले पाएका ३ वटा ठेक्कामध्ये कुनै ठेक्काको सम्झौता अनुसार निर्माण सम्पन्न गरेको छैन। २०६९ सालमा ठेक्का पाएको गोवरिया मझहवा बडेरा सडक खण्डको धनेवा नदीमा निर्माणधीन पुल अझै सम्पन्न गरेको छैन।

२०७३ सालमा ठेक्का पाएका दुई पुल सियारी र कजरार नदीका पुलहरु पनि अझै सम्पन्न गरेको छैन। यी दुई पुल १३ करोड बढीमा ठेक्का पाएको थियो। हालसम्म यी दुवै पुलबाट गरी ठेकेदार कम्पनीले ८ करोड बढी रकम भुक्तानी लगको छ।

बुटवल चम्कीपुर सेमलार सडक खण्डको दानव नदीमा निर्माण भएको पुल अन्तिम चरणमा छ। २०७३ सालमा ठेक्का सम्झौता गरेको कम्पनीले दुई पटक  म्याद थप गरेर २०७८ चैत मसान्तसम्मको समय पाएको थियो। तर पनि काम पूर्ण रुपमा सम्पन्न गरेको छैन।

अर्घाखाँची बुलबुल जेभीले पनि पहिलो सम्झौता अनुसार कुनै पनि पुलको काम समयमै सम्पन्न गरेको छैन। डिभिजन सडक कार्यालय बुटवलले लगाएका ठेक्कामध्ये अर्घाखाँची बुलबुल जेभीले कर्साघाट सैनामैना सेमलार सडक अन्तर्गत दानव नदीको पुल अझै सम्पन्न नगरेको बताएको छ।

९ वर्षमा सकिए दुई पुल
मृत सञ्जीवनी निर्माण सेवाले ठेक्का पाएको ९ वर्षपछि दुई वटा पुलको निर्माण सम्पन्न गरेको छ। २०६९ सालमा प्रतापपुर अठिलही सडक अन्तर्गत खजुरा पुलको ठेक्का यो ठेकेदार कम्पनीले ठेक्का पाएको ९ वर्षपछि हालै यो पुल सम्पन्न गरेको हो।

४ करोड ३४ लाखको लागतमा यो पुल बनेको हो। गुठी पर्सौनी (नवलपरासी) सडक अन्तर्गत टुटहवा नदीमा २०६९ सालमा ठेक्का लिएर २०७१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएर काम गरेको यो कम्पनीले २४ करोड २० लाखमा ठेक्का सम्झौता गरेको थियो। यो पुल पनि हाल निर्माण सकिएको डिभिजन प्रमुख मरासनीले बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा यी दुई पुल सहित रुपन्देही र नवलपरासीमा कुल २१ वटा पुल निर्माणको काम सम्पन्न भएका छन्। नवलपरासीमा १४ र रुपन्देहीमा ७ वटा पुल सम्पन्न भएको उनले बताए।

अहिले सम्पन्न भएका पुलहरु अधिकांश २०७४ सालमा ठेक्का लगाएका पुलहरु हुन्। अहिले निर्माणधीन अवस्थामा रहेका पुलहरुको पनि समयमै काम सम्पन्न गराउने गरी काम गर्न निर्देशन दिएको उनको भनाइ छ।

समयमै किन बन्दैनन् पुल?
निर्माण कम्पनीले निश्चित समयमा काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि अधिकांश योजना समयमै सम्झौता अनुसार काम सम्पन्न हुन सक्दैनन्। ठेकेदारको लापरबाही र नियमन निकायको अग्रसरता नहुँदा पनि समयमै काम सम्पन्न नभएका प्रशस्त उदाहरण छन्।

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष मञ्जु भुसाल निर्माण व्यवसायी मात्र खराब नभई सरकारी सयन्त्रले भने अनुसार काम नगर्दा पनि तोकिएको समयमा काम सम्पन्न नहुने गरेको बताउँछिन्।

‘सरकारबाट काम गरेको समयमा बिल भुक्तानी हुन सक्दैन। साइट क्लियरेन्स हुँदैन। अनि काम समयमा नभएपछि म्याद थप गर्नुको विकल्प हुँदैन,’ उनले भनिन्।

भुसालले कतिपय आयोजना राजनितीक प्रभावमा आउने र सरकार परिर्वतन हुँदा त्यस्ता आयोजनाको बजेट कटौती हुँदा पनि निर्माणको काम समयमै हुन नसकेको बताइन्।

‘सरकारबाट काम गरेको समयमा बिल भुक्तानी हुन सक्दैन। साइट क्लियरेन्स हुँदैन। अनि काम समयमा नभएपछि म्याद थप गर्नुको विकल्प हुँदैन।’

व्यवसायी नितान्त काम गर्ने मात्र भएकाले आयोजनाका समस्या र समधानमा सरकारले चासो लिएर समाधान गरेमा मात्र विकास निर्माण छिटो हुने उनको भनाइ छ। कुनै बेला सानो निर्माण कम्पनीले ठूला आयोजनाको टेण्डर पार्ने, काम समयमा नगर्ने परिपाटी भएको भए पनि अब भने त्यो समस्या हट्ने उनले बताइन्।

अहिले सार्वजनिक खरिद ऐनले साना निर्माण कम्पनीले बढीमा ५ वटा मात्र ठेक्का पाउने र ठेक्का प्राप्त गरेको ८० प्रतिशत काम सम्पन्न भएपछि टेण्डर राख्न पाउने नियम बनेकाले निर्माण व्यवसायीको तर्फबाट हुने कमजोरी अब हट्ने भुसालको भनाइ छ।

१३ जेठ, २०७९, ०६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।