साइकल सिक्न जाउँ न दिदी जावलाखेलैमा...

साइकल सिक्न जाउँ न दिदी जावलाखेलैमा...

काठमाडौं : ललितपुरको जावलाखेल चोकमा अचेल चहलपहल निकै बढेको छ। केही सिक्ने र केही सिकाउने मन भएका महिलाहरुको बाक्लो उपस्थितिले बिहानको जावलाखेल निकै रमाइलो देखिन्छ। 

साइकल चलाउन सिक्ने/सिकाउने, एक-अर्कासँग गफ गर्ने, विभिन्न र्यालीहरुमा सहभागी हुन तयारी गर्ने अनि विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै महिला सहभागिताका योजना बनाउनका लागि विभिन्न क्षेत्रबाट सबेरै महिलाहरु यहाँ भेला हुने गरेका छन्।

तीन महिनाअघि ८/१० जना मिलेर व्यक्तिगत रुपमा चलाएको अभियानमा अहिले ५० जनाभन्दा बढी महिलाले सहभागिता जनाएका छन्।  

कुनै पनि उमेर समूहका र कुनै पनि क्षेत्रका महिलाले यहाँ  बिहान ५ बजेदेखि ७ बजेसम्म नि:शुल्क साइकल सिक्न पाउँछन्। यस अभियानका लागि ११ वटा साइकल भएको र अभियानमा संलग्न महिलाले थप १७ वटा किनिसकेको 'महिलाको लागि महिला’ अभियानकी संयोजक तथा ललितपुर महानगरपालिकाको महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्टले बताइन्।

साइकलको कमी महसुस हुन नदिन आफ्नो साइकल दुई घण्टाको लागि मात्र भए पनि सहभागी महिलाले अभियानमै चलाउन दिने गरेका छन्। 

पछिल्लो केही दिनदेखि भने महिला हिंसा विरुद्दको छलफल पनि अभियानमा सुरु भएको छ। महिलाले पहिला महिलाको समस्या बुझिसकेपछि मात्र अरुले पनि बुझ्न सक्ने विष्ट बताउँछिन्। 'पुरुषको सहयोग पनि लिने तर, मुख्य भनेको पहिला महिला नै महिलाको लागि हुनु आवश्यक छ। त्यही भएर हामीले यस अभियानको नाम नै 'महिलाको लागि महिला’ राखेका हौँ,’ उनी भन्छिन्।

सुरुमा केही उद्योगी-व्यवसायी महिला मात्र भए पनि अहिले भने कुनै आर्थिक स्रोत नभएका महिला पनि सहभागी हुन थालेको उनले बताइन्।

फिलिपिन्समा जाँदा त्यहाँका महिला अगाडि टोकरी भएको साइकलमा मज्जाले बजार घुमेको देखेर प्रभावित भई आफूले पनि यहाँका महिलाका लागि पनि यस्तै केही गर्न पाए हुन्थ्यो भन्ने लागेर यो अभियान सुरु गरेको उनले बताइन्।

के भन्छन् अभियानमा सहभागी महिला
लक्ष्मी श्रेष्ठ : मेरो टोलमा बेला-बेला साइकल र्याली हुन्थ्यो। भाइ-बहिनीहरुले टि-सर्ट, प्यान्ट लगाएर साइकल चलाएको देखेर मलाई पनि रहर लाग्थ्यो। एक दिन मलाई पनि लैजाउ भनेर उनीहरुलाई भनें। उनीहरुले मलाई सँगै लगे। मैले साइकल किनें। तर साइकल किनेपछि चलाउन भने लाज लाग्थ्यो।

कतै जानुपर्दा पनि श्रीमानलाई लगिदिनु भन्नुपर्ने। हिँडेर वा गाडीमा जाँदा अरुभन्दा ढिलो पुगिने। अब यसरी भएन भनेर आफैं साइकल चलाउन थालें। साइकल किनिसकेपछि जहाँ पनि आफैं जान सक्ने भएको छु। पैसा पनि बच्यो, काम पनि समयमै भयो। पैसा बिना पनि म धेरै ठाउँमा गइरहेको हुन्छु। अब अरुमा निर्भर हुनु परेन नि। 

आफू त साइकल चढ्न थालें। अब अरुलाइ पनि सिकाउनु पर्छ भन्ने सोचें। पहिला मछिन्द्र बहालमा नि:शुल्क साइकल सिकाएँ। त्यसका केही फोटाहरु सामाजिक सञ्जालमा राखें। त्यहाँबाट थप महिला जोडिनुभयो। मान्छे बढ्दै गएपछि उहाँहरु आफैंले अलिअलि भए पनि पैसा लिनु भन्न थाल्नुभयो। तर भनेर पैसा लिने भन्ने भएपछि २/३ दिनपछि त कोही पनि आउनु भएन। त्यत्तिकै त्यो बन्द भयो।

अहिले भने महिला दिवसको बेला यहाँका संयोजकले मलाई फेरि त्यस्तै तालिम गरौं नि:शुल्कमै भन्नुभयो। त्यसपछि म यता आएँ। फेरि फोटाहरु सामाजिक सञ्जालमा पोष्ट गरें। पुन: पुराना साथीहरु जोडिनुभयो। अहिले आफू सिक्ने र अरुलाई पनि सिकाउने गर्छु। महिलाहरुसँग दु:ख-सुख साट्न पाउँदा एकदम खुसी छु।

सोनी जोशी : यहाँको बारेमा मैले मेरी साथीबाट थाहा पाएको हुँ। लकडाउनपछि साथीले जाउँ, रमाइलो हुन्छ भनेपछि म यहाँ जोडिएको हुँ। आफू पनि महिला उद्यमी महासंघमा कार्यरत भएको हुँदा महिलाको लागि महिला भन्ने अभियानमा संलग्न हुँदा म निकै खुसी छु।

सानोमा पनि मैले साइकल चलाएको भएर होला १ हप्ताभित्रै चलाएर हिँड्न सक्ने भएँ। चलाउन सिक्ने बित्तिकै मैले एउटा साइकल किनें र त्यो साइकल अहिले यहाँ चलाउन पनि दिने गरेको छु। 

आफूले सिकिसकेपछि यहाँ सिकाउन थालें। यहाँको वातावरण नै एकदम राम्रो लाग्छ। महिलाका लागि केही गर्न पाएकोमा खुसी लागेको छ।

योग लगायत शारीरिक व्यायाम पनि यतै आएर गर्न थालेको छु। घरमा बस्दा एक्लै गरिन्छ। यहाँ आयो भने अरुलाई पनि सिकाउन पाइन्छ र थप आफू पनि सिक्न पाइन्छ। 

यहाँ आएर एक-अर्काको व्यवसायलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनेर कुरा गर्छौं। महिलाले महिलालाई बुझ्नका लागि एउटा राम्रो वातावरण सिर्जना भएको छ। 

पुर्णिमा श्रेष्ठ 
म गत चैत १६ गतेदेखि यहाँ आएकी हुँ। यस अगाडि साइकल नै नछोएको मान्छे सिक्न आउँदा त अलि बढी समय लाग्यो मलाई।

सुरुमा मलाई आउन मन थिएन। एक जना दिदीले यहाँको बारेमा भन्नुभयो। उहाँले कर गरेपछि म यहाँ आएको हुँ। यहाँ आउँदा कोहीसँग चिनजान थिएन। अहिले सबै साथी भए। रमाइलो भइरहेको छ। 

मलाई साइकल सिक्न एकदम गाह्रो भयो। विस्तारै जानियो। अहिले त आफैं अरुलाई सिकाउन थालेको छु। तर धेरै गाडी भएको ठाउँमा अनि भीडभाडमा जाँदा चाहिँ अलि डर लाग्छ।

आफ्नै साइकल पनि किनेको छु। अन्य साथीहरु पनि ल्याएको छु। यहाँ आएपछि पहिलेको भन्दा धेरै कुरा थाहा पाएँ कि जस्तो लाग्न थालेको छ।

थप योजना
यहाँ आउने महिलालाई छिट्टै ट्राफिक नियमको बारेमा पनि सिकाउने संयोजक बिष्टले बताइन्। त्यस सम्बन्धी एउटा अन्तर्क्रिया भइसकेको र महानगरको ट्राफिक प्रहरीसँग समन्वय गरेर त्यसबारे थप कार्यक्रम गर्ने उनको भनाइ छ। 

त्यस्तै साइकल मर्मत गर्न सिकाउने योजना समेत रहेको उनले जानकारी दिइन्। 'साइकल तालिम त एउटा पाटो भयो। यसबाट हामी महिलाको सहभागिता बढाउँदै सशक्तीकरणमा अगाडि बढाउने हाम्रो योजना हो,’ विष्टले भनिन्।

११ जेठ, २०७९, ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।