बालेनको गुरु जो रिसाइरहेछन् कांग्रेस र माओवादीसँग

बालेनको गुरु जो रिसाइरहेछन् कांग्रेस र माओवादीसँग

ललितपुर : देशैभर स्वतन्त्र उम्मेदवारहरूको प्रभाव बढिरहेको बेला पाँच दशकदेखि ललितपुर महानगरपालिको १० नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेर नेतृत्व गरिरहेका नरसिंह व्यञ्जनकार भने ११ पटकको प्रयासमा पराजित भए।

ललितपुरकै १ नम्बर वडा अनि १३ नम्बर वडामा स्वतन्त्र उम्मेदवारले नै जितेका छन्। तर उनले जित निकाल्न सकेनन् यस पटक।

उनलाई पराजित गरे आफ्नै भतिजले। यसअघिका १० निर्वाचनमा उनी सधैँ स्वतन्त्र उम्मेदवार बनेर जितिरहे। यसपालि काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर लगभग जित पक्का गरेका बालेन साहले त उनलाई गुरु नै मानेका थिए।

तर उनी यही निर्वाचनमा २ सय ८२ मतले पराजित भए। उनले ५ सय ४३ मत मात्र पाए। उनी मतदानको बेलामा नै यो पटक आफू हार्दै छु भन्ने लागेको बताउँछन्।

'मलाई पहिले नै थाहा थियो म हार्दै छु भनेर। ५ दल मिलेर मलाई हराउन लागिपरेका थिए। तिनीहरूको सपना पुरा भयो अब'’ उनी भन्छन्, ' दुई-तीन जनाले त भेटेर पैसा नै मागेको थियो। मैले दिन मानिन। फेरी अरूले जस्तो दिनदिनै मासु भात पनि खुवाइन।'

यसपालिको निर्वाचनमा पैसा माग्नेहरू धेरै देखिएको तर आफूले पैसा खर्च गर्न नचाहेको उनले बताए। पैसा खर्च नगरेकाले नै चुनाव हारेको उनले बताए। उनी आफूले चुनावको बेलामा एक कप चिया पनि कसैलाई नखुवाएको बताउँछन्।

'अलि कति खर्च गरेको भए त जितिहाल्थ्यो नि। पैसा दिएर चुनाव जित्ने पक्षमा म थिएन। अहिलेसम्म त्यसरी नै जित्दै आएको थिए। हारे हारोस् भनेर यसपालि पनि खर्च गरिन। हारियो' उनले उकेरासँग भने।

यस पटकको चुनावमा उनी उम्मेदवारी दर्ता गराउने समय देखिनै त्यत्ति उत्साहित थिएनन्। कारण मुख्य प्रतिद्वन्द्वी आफ्नै भतिज रविनमान व्यञ्जनकार हुनु। उकेराले प्रचारको समयमा उनीसँग कुरा गर्दा दलले आफू विरुद्ध भतिजलाई उम्मेदवार बनाएर पारिवारिक झगडा गराएको भन्दै चित्त दुखाइरहेका थिए।

उनले पराजयलाई स्वीकार गरिसकेका छन्। अनि पैसा खर्च नगरे पनि पाँच सय भन्दा बढी मत आएकोमा सन्तुष्ट छन्।

'मैले केही खर्च नगरे पनि ५ सय भन्दा बढी मत आउनु नै मेरो जित हो। अझै पनि आधा भन्दा बढी मान्छेले मलाई विश्वास गर्ने रहेछन्' उनले भने।

चुनावमा नजित्दा आफू भन्दा पनि स्थानीय दुखी भएको उनले सुनाए।

ललितपुर-१० का वडाध्यक्ष व्यञ्जनकारको ११औं इनिङ्स : यस पटकको लडाइँ आफ्नै भतिजसँग

'स्थानीयहरूलाई धेरै दुख लागेछ। मैले उहाँहरूलाई दुख मान्नु पर्दैन भने। तपाईँहरूलाई केही समस्या छ भने मलाई फोन गर्नुस् म आएर समाधान गर्छु भनिसके,' उनले भने।

चुनाव जित्नु भन्दा पनि दलले मतदाताहरूलाई गरेको व्यवहार देखेर आफूलाई रमाइलो लागेको बताउँछन् उनी। अन्य उम्मेदवारले मतदाताको हात समाएर हाँसेर बसिरहेका थिए। तर उनी भने जे सुकै गरोस् भनेर हेरेरै बसेछन्। उनी दिनभर मतदान केन्द्रमा गएर बसे।

परिणाम आएपछि उनको भतिज आशीर्वाद लिन आए घरमा। उनले' मैले मात्र आशीर्वाद दिएर हुँदैन। तँलाई जनताले पनि आशीर्वाद दिनुपर्छ' भनेर पठाएछन्।

५० सालदेखि हराउने योजना

यस अघिको चुनावहरूमा पनि उनको प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नै हुन्थे। तर, उनलाई १० पटकसम्म हराउन सकेनन्। कांग्रेसले २०५० साल देखि नै हराउन योजना बनाएको उनले दाबी गरे।

'अब पारिवारिक द्वन्द्व गराएर काङ्ग्रेसकै अध्यक्ष पाउँदा त इच्छा पुरा भयो होला नि।  काँग्रेसको गढमा सधैँ स्वतन्त्रले हराए पछि त लाजमर्दो कुरा भएछ उनीहरूलाई। पारिवारिक सम्बन्धमा राजनीतिक मिसाइदिएर उनीहरू खुसी छन् होला।’

उम्मेदवारी दिने सम्बन्धमा कांग्रेस अध्यक्ष जितेन्द्र श्रेष्ठसँग उनले छलफल पनि गरेका रहेछन्। क–कसलाई टिकट दिने भनेर उनले सोधेका रहेछन्।

श्रेष्ठले ’अहिले कसैलाई टिकट नदिने। ५ वर्ष तालिम दिइसके पछि मात्र दिने' भनेका रहेछन्। त्यति खेर एक जना पूर्व प्रधान न्यायाधीशले 'तिमीहरूले नरसिंहलाई अन्याय गर्यो भने पाप लाग्छ' पनि भनेका रहेछन्।

त्यसपछि उनी उम्मेदवार बन्ने तयारीमा लागे। तर पछि कांग्रेसले उनकै भतिजलाई उम्मेदवारी दर्ता गर्न लगाए।

'पहिल्यै भनेको भए अर्को कुरा। अब चुनाव प्रचार गरिसकेपछि भतिज उठ्यो भनेर म उठ्दिन भन्दै हिँड्न पनि भएन नि!’ उनले भने।

यसपालि उनलाई माओवादीले पनि धोका दिएको बताउँछन् उनी। ३ चोटि कार्यालयमै बोलाएर उनीहरूले यसपालि वडा अध्यक्ष पदमा कोही नउठाउने तिमिलाहीनै छोड्दिने भनेका रहेछन्। उनी ढुक्क भए। तर माओवादीले पनि उम्मेदवार उठायो।

उनी आफू हार्नुको अर्को कारण काठमाडौँको मेयर प्रत्याशी बालेन साह पनि भएको भने। यसो भन्दा उनी हासे।

'बालेनले मलाई आशीर्वाद लिन आउँछु भन्यो। मैले पनि हुन्छ भनिदिए। बिहान बालेन आउने कुरा भएको छ। बेलुका उसलाई नल्याऊ भनेर फोन आयो। बालेनलाई किन कुपन्डोलमा बोलाएको, त्यसलाई नबोलाऊ भनेर धम्किनै दियो नि। उसलाई ल्यायो भने तैँले चुनाव हार्छ भन्ने कुरा गर्यो। अनि मैले म आउँछु भनेको मान्छेलाई नआउँ भन्न सक्दिन भने। बरु चुनाव हारे हारोस् पनि भने। हारी त हाल्यो नि,' उनले हाँस्दै सुनाए।

जन्म दर्ता बनाउन घरघर पुग्थे

आफ्नो जिन्दगीको आधा शताब्दी वडा अध्यक्ष भएर काम गरेका व्यब्जन्कारसँग घरघरै गएर वडाको काम गरेको अनुभव छ। कसैको घरमा बच्चा जन्मिएको छ भने उनी जन्म दर्ता बनाउन कागजात बोकेर घरै पुग्थे।

'त्यो बेला वडा सचिव हुँदैनथ्यो। सदस्य हुँदैनथ्यो। काम त गर्नु पर्यो। वडा समिति पनि थिएन। उनीहरूलाई आऊ भनेर बोलायो भने पनि भेट्ने कता ? वडा कार्यालय भए पो कार्यालयमा आउनु भन्नु। अब कार्यालय नै नभए पछि कहाँ भेट्ने। त्यै भएर आफै जान्थे भेट्न', उनले पुराना दिन सम्झिए।

अहिले पनि वडाको कार्यालय डेरामा रहेछ। यसपालि जितेमा भवन बनाउने उनको योजना रहेछ। उनको कार्यकालमा जग्गा किनिसकेको छ। साइत नजुरेर रोकिएको रे भवन बनाउने काम।

५० वर्षपछि वडा कार्यालय जान नपर्दा

अब वडामा जान नपरे पनि समाज काम भने गरिरहने उनको योजना रहेछ। सधैँ वडा कार्यालयमा गइरहने बानी थियो उनको। अहिले भने केही हलुको पनि लागेको छ रे।

मान्छेहरू सिफारिस लिन आउने, के-केमा हस्ताक्षर चाहियो भनेर अलमलाउने। अब अलमलिनु परेन उनलाई। अब बरु काम नगर्नेलाई गाली गर्न पनि पाइने भयो भन्छन् उनी।

'ओइ यो काम किन नगरेको ? गर नि भन्न पायो अब,' उनी भन्छन्।

उनी वडामा दलबाट भन्दा कतै नलागेको व्यक्ति नै पुग्नुपर्नेमा अडिग देखिए। स्वतन्त्र हुँदा घाटा भए पनि बलियो भएर जनताको काम गर्न सकिने उनको अनुभव छ।

यस पटक उनलाई धेरैले आफ्नै सन्तानबाट कसैलाई स्वतन्त्र उठाऊँ भनेका रहेछन्। तर उनलाई बच्चाहरूलाई राजनीतिमा ल्याउन मन लागेनछ। अब भने पाँच वर्षमा स्वतन्त्र उम्मेदवारहरू बढाउने योजनामा छन् उनी।

'अब काठमाडौँमा त मेयरमै स्वतन्त्र उम्मेदवार आउने भयो। धेरै भएको छैन उसलाई चिनेको,' उनले भने' एक दिन यसरिनै मलाई भेट्न आयो। म त काठमाडौँको मेयरमा उठ्न लागेको भन्यो। काठमाडौँ जस्तो सहरको मेयरमा उठ्नलाई त्यहाँको रीतिथिति, व्यवहार कस्तो छ? नेवारहरूको अवस्था कस्तो छ? के कस्तो देउता मान्छ ? कुन बेला कस्तो पूजा गरेर जात्रा मनाउँछ? त्यो सबै बुझ्नु पर्यो नि भने। पछि उ खोज्न गएछ।'

आफू हारेकोमा उनी त्यति दुखी छैनन्। हार्दा मनमा हल्का लागेको चोट उता धरानमा स्वतन्त्र उम्मेदवार मेयर बनेको अनि काठमाडौँमा पनि स्वतन्त्र उम्मेदवारै उम्मेदवार बन्ने देखेर खुसी छन्।

उनले भने' बालेनले त मेरो गुरु नरसिंह हो, भन्दै हिँडेकै छ। किन दुखी हुनु।'  

९ जेठ, २०७९, २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।