सरकारी अस्पताल ट्रमामा पेइङ सुविधा , टिकट शुल्क चार सय २५

सरकारी अस्पताल ट्रमामा पेइङ सुविधा , टिकट शुल्क चार सय २५

काठमाडौँ :  नियमित समय तालिकामा हुने भिडभाडको अतिरिक्त पैसा तिरेर पेइङ सुविधा लिन चाहने सेवाग्राहीका लागि राष्ट्रिय ट्रमा सेन्टरमा विस्तारित अस्पताल सेवा सुरु भएको छ। ट्रमाले  ‘पेइङ सुविधा’ का रूपमा परिचित यो सेवा वैशाख ११ बाट सुरु गरेको हो। यो सेवा सुरु भएसँगै स्वास्थ्य परीक्षणका लागि इच्छुकहरूले शुल्क बुझाएर ट्रमामै परीक्षण गर्न सक्ने छन्।

ट्रमा सेन्टरमा इएचएस सेवा सुरुभएसँगै निजी अस्पतालको महँगो परीक्षण शुल्कबाट सेवाग्राही जोगिने अस्पतालका निमित्त निर्देशक डा. प्रमोद जोशी दाबी गर्छन्। ट्रमा सेन्टरमा १५ हजारमा गरिने शल्यक्रिया निजी अस्पतालमा ५० हजार भन्दा बढी पर्ने उनी बताउँछन्। त्यसैले इएचएस सेवामार्फत कम लागतमा सेवा दिन सकिने डा. जोशीले बताए।

इएचएसमार्फत ओपिडी र शल्यक्रिया दुवै किसिमका सेवा दिइने निमित्त निर्देशक डा. जोशीले जानकारी दिए।  अस्पतालले दिने नियमित सेवाको समयभन्दा पछिको समयमा इएचएस सेवा दिइने गरी इएसचएस सेवा सुरु भएको उनले बताए।

‘विस्तारित अस्पताल सेवा (इएचएस) कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि–२०७८’ बनाएर ट्रमा सेन्टरले इएचएस सेवा सुरु गरेको उनले बताए। यो ऐच्छिक सेवा हो। त्यसैले चिकित्सकहरूले ऐच्छिक रूपमा इएचएस सेवा दिने डा. जोशी बताउँछन्। इएचएस सेवा सुरु गर्न चुनौती भए पनि यो सेवाका लागि चिकित्सकहरू भने उत्साहित भएको डा. जोशीको भनाई छ।

‘ऐच्छिक भए पनि सीमित डाक्टरहरुमात्रै इएचएसमा संलग्न हुनुहुन्न,’उनले भने,‘९० प्रतिशतभन्दा माथि चिकित्सक र स्वास्थ्यकर्मी यसमा संलग्न हुनुभएको छ।’

ट्रमा सेन्टरमा नियमित रूपमा सञ्चालन हुँदै आएका सबै स्वास्थ्य सेवा इएचएस सेवामार्फत दिइँदै जाने डा. जोशीले बताए। इएचएस सेवाले ओपिडीमा बिरामीको चाप कम हुनुकासाथै निजी अस्पतालमा जाने बिरामीको सङ्ख्यामा पनि कमी आउने डा. जोशी बताउँछन्।

डा. जोशीका अनुसार ट्रमा सेन्टरमा नियमित ओपिडी टिकट काटेर स्वास्थ्य जाँच तथा उपचार गराउनेको सङ्ख्या दैनिक तीन सय छ। इएचएस ओपिडी सुरु भएपछि यो सेवा लिनका लागि दैनिक करिब दश जना बिरामी आइरहेको उनले बताए।

डा. जोशीले भने,‘ट्रमामा इएचएस सेवा सुरु भएको छ भन्ने धेरैलाई थाहा छैन। बिस्तारै इएचएसमा आउने बिरामीको सङ्ख्या बढ्दै छ।’

नियमित रूपमा हुने (रुटिन केश) शल्यक्रिया भने दैनिक १५ वटासम्म हाडजोर्नीको शल्यक्रिया भइरहेको डा. जोशीले जानकारी दिए। त्यसै गरी इएचएसमा दैनिक दश वटासम्म शल्यक्रिया भइरहेको उनले बताए।

त्यसैले इएचएस सेवा थपिँदा दैनिक करिब २५ जना हाडजोर्नीको समस्या भएको बिरामको शल्यक्रिया भएको देखिन्छ। अन्य विधाको शल्यक्रिया पनि सुरु हुने क्रम बढाउँदै लगिएको उनले बताए। 

नियमित सेवालाई असर नपर्ने गरी इएचएस ओपिडी बेलुका पाँच बजेदेखि सात बजेसम्म सञ्चालन हुनेछ। इएचएस शल्यक्रिया बेलुका चार बजेदेखि आठ बजेसम्म गरिने निमित्त निर्देशक डा. जोशीले जानकारी दिए। ओपिडी टिकट बिहान आठ बजेदेखि बेलुका पाँच बजेसम्म काट्न सकिनेछ।

इएचएस ओपिडी टिकट शुल्क चार सय २५ तोकिएको छ। नियमित लागि भने ओपिडी टिकट शुल्क २५ रहेको डा. जोशीले जानकारी दिए।

त्यसै गरी ट्रमा सेन्टरमा इएचएस सेवामार्फत शल्यक्रिया गर्दा शल्यक्रिया गर्नुपर्ने बिरामीको रोगको प्रकृति अनुसार १७ सयदेखि २५ हजार पाँचसम्म शल्यक्रिया गरे बापतको शुल्क लाग्ने उनले जानकारी दिए। नियमित हुने शल्यक्रिया (रुटिन शल्यक्रिया) को लागि शल्यक्रिया गर्नुपर्ने प्रकृति अनुसार एक हजार देखी १५ हजार* शल्यक्रिया शुल्क लिइरहेको उनले बताए।

कार्यविधि अनुसार ,‘इएचएस अप्रेसन शुल्कको हकमा हाल नियमित शुल्कमा ७० प्रतिशत थप गरी लागु गरिनेछ।’ त्यसै गरी शल्यक्रिया बाहेकका सेवामा ५० प्रतिशत शुल्क थप भएको ट्रमा सेन्टरले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०६७ को नियम अनुसार नै ट्रमा सेन्टरमा इएचएस शुल्क तोकिएको डा. जोशीले जानकारी दिए।

ओपिडी लगायत सबै सेवामा इएएचएस सेवा प्रवाह हुने राष्ट्रिय ट्रमा सेन्टरले जानकारी दिएको छ। इएचएस सञ्चालनमा आएसँगै बिरामीले शल्यक्रियाका लागि पालो कुर्नुपर्ने समय पनि घट्दै गएको उनको दाबी छ।

सो कार्यविधि अनुसार ट्रमा सेन्टरमा नियमित रूपमा गरिने शल्यक्रिया सेवा बाहेकको समयमा सेवाग्राहीले बढी शुल्क तिरेर छिटो सेवा लिन चाहेमा विस्तारित स्वास्थ्य सेवा ‘एक्स्टेण्डेड हेल्थ सर्भिस (इएचएस)’ बाट सेवा लिन सकिन्छ।

ट्रमा सेन्टरको इएचएस कार्यविधिमा भनिएको छ,‘(इएचएस)ओपिडी सञ्चालन गर्दा नियमित ओपिडी सेवा तथा अन्य कुनै परीक्षण, उपचार सेवालाई बाधा नपर्ने गरी सञ्चालन गर्नुपर्नेछ।’ कार्यविधिमा उल्लेख भए अनुसार इएचएस ओपिडी सेवा कन्सल्टेन्ट, चिकित्सक तथा सर्जनले उपलब्ध गराउनुपर्ने हुन्छ। 

त्यसै गरी ‘नियमित ओपिडी÷इमर्जेन्सी रुम (इआर) मा चेकजाँच गराएको बिरामीहरू इएचएस सेवामा आउन चाहेको खण्डमा इएचएसको प्रक्रियाबाट सेवा लिन सक्ने’कार्यविधिमा उल्लेख छ।

तर, आकस्मिक रूपमा गर्नुपर्ने शल्यक्रिया भने इएचएसमा गर्न नपाइने अस्पतालले जनाएको छ। ‘इमर्जेन्सी विभाग र इमर्जेन्सी अप्रेसन थिएटरमा इएचएस अप्रेसन गर्न पाइने छैन,’ कार्यविधिमा भनिएको छ, ‘इमर्जेन्सीमा इएचएस केशलाई एडमिशन गर्न पाइनेछैन।’

त्यसै गरी इएचएस सेवामार्फत शल्यक्रिया गरेपछि बिरामीलाई आकस्मिक कक्षमा राख्न पाइँदैन। वार्डमा बेडको सुनिश्चितता गरेपछि मात्रै इएचएस शल्यक्रिया गर्नुपर्ने हुन्छ। 

इएचएस सेवामार्फत शल्यक्रिया गरेपछि बिरामी राख्नका लागि (पोस्ट अपरेटिव बेड) १२ बेड छुट्टाइएको डा. जोशीले सुनाए। कार्यविधिमा भनिएको छ,‘न्युरो स्पाइन वार्डका पछाडिको भागमा जम्मा १२ बेड इएचएसको लागि तोकिएको छ।’

इएचएस सेवामा विशेष गरी तुरुन्तै गर्नुपर्ने शल्यक्रिया र शल्यक्रियापछि छोटो समयमा डिस्चार्ज गर्न सकिने बिरामीको शल्यक्रिया गरिनेछ। जटिल तथा लामो समयसम्म अस्पताल भर्ना गर्नुपर्ने बिरामी नियमित हुने शल्यक्रियामा नै शल्यक्रिया गरिने जोशी बताउँछन्।

जसले गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने र इएचएसका लागि छुट्ट्याइएको बेड पनि चाँडै खाली हुने डा. जोशीले जानकारी दिए। उनले भने,‘महँगो पर्ने शल्यक्रिया नियमित दिने सेवामा नै गरिन्छ। इएचएसमा गरिँदैन। जसले बिरामीलाई आर्थिक भार कम पर्छ।’

इएचएस सेवामा शल्यक्रिया गर्नुभन्दा पहिला बिरामीलाई परामर्श गर्दा चिकित्सक तथा स्वास्थ्य कर्मीले नियमित सेवा, इएचएस सेवा र इमर्जेन्सी सेवाको शुल्क र प्रक्रियाका बारेमा स्पष्ट रूपमा बुझाउनुपर्ने कार्यविधिमा व्यवस्था छ।

त्यसै गरी शल्यक्रिया (ओटी) तथा अन्य विभागमा इएचएस बिरामीको शल्यक्रिया र सेवामा आवश्यक थप सामग्री (इन्ट्रुमेन्ट) र सरसामानको उपलब्धता तथा  व्यवस्थापनको सुनिश्चितता अस्पतालले नै गर्नुपर्ने ट्रमा सेन्टरले नियम बनाएको छ।

इएचएस सेवा तथा शल्यक्रिया (अप्रेसन) सेवा प्रवाह गर्दा अपुग भएको जनशक्ति तथा औषधि उपकरणहरू अस्पतालले थप व्यवस्थापन गर्नुपर्ने हुन्छ।  ‘इएचएस अप्रेसन सेवा कन्सल्टेन्ट चिकित्सक-सर्जनहरूले प्रदान गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ,‘अनिवार्य रूपमा कन्सल्टेन्टले सेवा दिनुपर्ने छ। रेजिडेन्ट चिकित्सकहरूलाई मात्र समावेश गर्न पाइने छैन।’

त्यसै गरी स्वास्थ्य मन्त्रालयले जारी गरेको विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०६७ को नियम अनुसार इएचएस शल्यक्रियाबाट प्राप्त आम्दानीको बाँडफाँट गरिने ट्रमा सेन्टरले जनाएको छ।

कार्यविधिमा प्रत्यक्ष लागत खर्च अस्पताल कोषमा राखी बाँकी रकमलाई शतप्रतिशत मानेर इएचएस सेवामा खटिने जनशक्तिलाई विभाजन गर्ने उल्लेख छ। इएचएस सेवामार्फत बिरामीलाई सेवा दिएबापत अस्पतालको कोषमा २० प्रतिशत राख्ने र बाँकी ८० प्रतिशत अस्पतालमा इएचएसमा काम गर्ने जनशक्तिलाई दिने कार्यविधिमा उल्लेख गरिएको छ।

इएचएस सेवामा खटिने जनशक्तिले पाउने ८० प्रतिशत रकममध्ये  इएचएस सेवामा खटिने सर्जनले ६४ प्रतिशत, २४ प्रतिशत एनेस्थेसिया र १२ प्रतिशत रकम नर्स तथा प्राविधिकले पाउने ट्रमाले बनाएको इएचएस कार्यविधिमा उल्लेख छ।

ओपिडी टिकट शुल्क (४२५) को पनि प्रत्यक्ष खर्च २५ रुपैयाँ अस्पताल कोषमा जम्मा गरिनेछ।  बाँकी चार सयलाई शतप्रतिशत मानी इएचएस सेवामा खटिने चिकित्सकका लागि ७० प्रतिशत दिइनेछ। बाँकी ३० प्रतिशतमध्ये २० प्रतिशत अस्पताल कोष र १० प्रतिशत संयुक्त कोषमा जम्मा हुन्छ। त्यसै गरी नियमित शुल्कमा थप भएको ५० प्रतिशत संयुक्त कोषमा जम्मा भई तलबमानको आधारमा इएचएसमा प्रत्यक्ष संलग्न नभएका कर्मचारीलाई उपलब्ध गराइने अस्पतालले जनाएको छ।

सेवालाई थप सुदृढ गर्ने तथा सबै वर्गका बिरामीको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले इएचएस सेवा सुरु गरिएको निमित्त निर्देशक डा. जोशीले बताए।

गुणस्तरीय सेवा छिटो तथा छरितो रूपमा दिनका लागि यो सेवा निक्कै उपयोगी हुने डा. जोशी बताउँछन्। यसअघि पनि ट्रमामा इएचएस सेवा लागु गरिएको थियो। कोरोना भाइरस सङ्क्रमण बढेसँग इएचएस सेवा पनि बन्द भएको थियो। डा. जोशीले भने, ‘पहिले इएचएस सेवा अप्रेसन थिएटरलाई मात्रै सम्बोधन गरिएको थियो।’

ट्रमा सेन्टरमा शल्यक्रिया गरी रड राखिएका बिरामी शल्यक्रियापछि सो रड निकाल्नका लागि बिरामीले एक महिनासम्म कुर्नु परेको र इएचएस सेवापछि यस्तो समस्या कम हुँदै गएको डा. जोशीको दाबी छ। ‘हातखुट्टा भाँचिएर, घाइते भएर आएका बिरामी पहिलो प्राथमिकतामा राख्छौँ,’उनले भने,‘रड निकाल्ने बिरामीलाई त दुई हप्तापछि निकाल्दा पनि फरक पर्दैन। इएचएसले सबै बिरामीले छिटो छरितो सेवा फाउँछन्।’ इएचएस सेवाले नियमित सेवामा समेत छिटो हुने ट्रमा सेन्टरले जनाएको छ।

*सच्याइएको

९ जेठ, २०७९, १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।