जब रिक्साको पाइडल घुम्न छोड्छ, त्यहीँ रोकिन्छ चन्द्रबहादुरको गति

जब रिक्साको पाइडल घुम्न छोड्छ, त्यहीँ रोकिन्छ चन्द्रबहादुरको गति

काठमाडौंका असन, इन्द्रचोक, बसन्तपुर लगायतका भित्री सहरमा बिहानैदेखि यात्रुको प्रतीक्षामा हुन्छन् रिक्सा चालक चन्द्रबहादुर बजु।

६५ वर्ष पुगेका चन्द्रबहादुरले २२ वर्षकै उमेरदेखि काठमाडौंमा रिक्सा चलाउन थालेका हुन्। उनी यात्रु बोक्न पाएका दिन दुई/चार सय कमाउँछन् त कहिलेकाहीँ रित्तो हात पनि फर्कन्छन्।

'कमाइ होस् या नहोस् दिनको सय रुपैयाँ साहुलाई बुझाउनैपर्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ त त्यही सय रुपैयाँको लागि साँझसम्म ग्राहक खोज्दै असन वरिपरि डुलिरहन्छु।'

०००
सानैमा आमा बितेका कारण पढाइप्रति ध्यान गएन उनको। आफूलाई पढ्न पनि मन नलागेको अनि बाले दोस्रो विवाह गरेका कारण घरबाट पनि पढ्नको लागि वातावरण नमिलेको चन्द्रबहादुर बताउँछन्।

नपढ्ने नै भएपछि काम गर्न भन्दै उनी १४ वर्षकै उमेरमा काठमाडौँ आए। यहाँ आएपछि सिंहदरबारको क्यान्टिनमा काम गरे। त्यस बेला महिनामा १५ रुपैयाँ कमाएको उनी अहिले पनि सम्झिन्छन्।

चन्द्रबहादुर क्यान्टिनमा भाडा माझ्ने काम गर्थे। समयमा तलब नपाएपछि तीन महिना काम गरेर छोडिदिए। तीन महिना काम गरेको १५ रुपैयाँ मात्र पाएको उनले सुनाए।

त्यसपछि भने कमलादीस्थित एक घरमा काम गरेको उनी सम्झन्छन्। 'राजाको दिदीको घर भन्थे तर मलाई मालिकको नाम थाहा भएन,' उनले भने, 'त्यहाँ मैले खरायो र चराचुरुंगीको हेरचाह गर्थें।' 
चन्द्रबहादुरले त्यहाँ पनि लामो समय काम गरेनन्। त्यसपछि न्युरोडको एउटा रेष्टुरेन्टमा भाँडा माझ्ने काममा लागे। केही नयाँ साथीभाइ बनाए। त्यहाँ काम गर्दा साइकल चलाउन सिके। 

'रेष्टुरेन्टमा काम सकेपछि बेलुकातिर १/२ घण्टा साथीको साइकल चलाएर घुम्न निस्किएँ। केही महिना लगातारजसो साइकल चलाउन थालेपछि त जानिहालियो नि। त्यो बेला धेरै गाडी पनि हुँदैनथ्यो। साइकल पनि एकदमै थोरैले मात्र चलाउँथे।’ 

त्यतिखेर काठमाडौँमा धेरै पर्यटक आउने भएकोले रिक्सा खुबै चल्थे। चन्द्रबहादुर पनि रिक्सातर्फ आकर्षित भए। र, उनी रिक्सा चालक बन्न पुगे। 

रिक्सा चलाउन थालेपछि आम्दानी बढ्दै गयो। पर्यटकले टिप्ससमेत दिने भएपछि त उनको जीवन सहज भयो। 'साहुलाई दिनको १० रुपैयाँ मात्र बुझाउनुपर्थ्यो। साहुलाई बुझाएर राम्रै पैसा बच्न थाल्यो,' उनले भने।

चन्द्रबहादुरले रिक्सा चलाउन थाल्दा काठमाडौंमा गाडी खासै थिएनन्। तर अहिले त्यो अवस्था छैन। हरेक गल्लीमा गाडी पुग्यो। सबैसँग आ-आफ्नै सवारी छन्।

सडक बने, ठाउँ फेरिए, सहर बदलिए, गाडी भित्रिए। सुविधामा बढ्दै गए पनि चन्द्रबहादुरका ग्राहक भने बढेनन्। उनलाई यो बदलाब मन परेको छैन। उनको रोजगारी नै धरापमा परेको छ। 

भोलि ग्राहक पाउने हो कि होइन भनेर सोच्दासोच्दै बिहान हुन्छ। अनि सबेरै रिक्सा लिएर कुदिहाल्छन् ग्राहक कुर्न। उनी भन्छन्, 'मैले चाहेको भए आफैं रिक्सा पनि किन्न सक्थें। तर यात्रु नै नभएपछि किनेर मात्र के काम।' उनी अहिले साथीको रिक्सा चलाइरहेका छन्।

टोखा नगरपालिकाको झोरमा घर बनाउने चन्द्रबहादुर अहिले परिवारसहित डेरामा बस्छन्। रिक्साबाट कमाइ हुन छाडेपछि परिवार पाल्नै धौधौ भएको उनको गुनासो छ।

'अहिले दिनमा दुई/तीन सय पनि कमाइ हुँदैन। आफूलाई के राख्ने, साहुलाई कति दिने,' उनी भन्छन्, 'कमाइले दिउँसो खान पनि पुग्दैन। बिहान निस्किएपछि खाना पनि एकै पटक बेलुका कोठामा गएर खान्छु।'

नयाँ बसपार्क नखुल्दासम्म अलिअलि आए पनि अहिले ठप्पै भएको उनको अनुभव छ। 'नयाँ बसपार्क खुलेपछि हाम्रो काम चौपट भयो। धेरैजसो त दूरसञ्चार र पोस्ट अफिस जानेहरु मेरा ग्राहक थिए। अब अहिले हातहातमा मोबाइल भएपछि कसैलाई त्यतातिर जानु नपर्ने रहेछ,’ उनले दुखेसो गरे।

रिक्साबाट कमाइ हुन छाडेपछि चन्द्रबहादुर बीचमा रेष्टुरेन्टमा काम गर्न पनि गए। तर त्यहाँ महिनौं काम गर्दा पनि तलब पाएनन्। फेरि यतै फर्किए।

अहिले मान्छे जत्तिकै गाडी भएकोले आफूले ग्राहक नपाएको अनुमान छ उनको। 'अहिले पहिला जस्तो हिँड्ने चलन छैन। मान्छेहरु पनि धेरै भइसके। खुट्टा टेक्ने ठाउँ हुँदैन कहिले त। तर के गर्नु गाडीहरु पनि त बढेको छ। पहिला भारी बोकेर हिँड्ने मान्छेहरु अहिले मोटरसाइकल चढेर हिँड्न थाले। रिक्साभन्दा इन्जिनको गाडी सजिलो हुने भएकोले पनि हाम्रा यात्रु काम भएको हो कि!’

चन्द्रबहादुरको बल पनि घट्दै गएको छ अहिले। पहिले जस्तो बलले रिक्सा चलाउन सक्दैनन्। दुई जनाको सिटमा तीन जना बसिदिँदा त झनै गाह्रो हुने उनी बताउँछन्।

उकालो  र टाढा बाटोको लागि ग्राहक आउँदा चन्द्रबहादुर त्यति खुसी हुँदैनन्। तर पनि ग्राहकलाई गन्तब्यसम्म पुर्याएरै छाड्छन्। 'दिनभरि त्यत्तिकै उभिनुभन्दा त बरु अलिकति दु:ख गरेरै भए पनि टाढा जाने यात्रु बोक्नु नै ठिक हो नि,' उनी सुनाउँछन्, 'बालाजु बसपार्क, सामाखुसी र महाराजगञ्जसम्म जाने यात्रु बोक्छु मैले।'

उमेर बढ्दै, बल घट्दो। तैपनि, कामलाई चटक्कै छोड्न सकेका छैनन् चन्द्रबहादुरले। 'मर्ने/बाँच्ने त ठेगान हुँदैन भने यस्ता कामको त झन् के ठेगान हुन्छ र!  हेरौं के हुन्छ। परिआए भोलि नै छोड्न पनि सक्छु। नत्र जहिलेसम्म सक्छु चलाउँछु,’ उनले भने।

आफू रिक्सा चालक भएकोमा न कुनै खुसी न त निराश छन् उनी। अहिले कतै रिक्सा राख्ने ठाउँ नै नपाउँदा भने निकै दु:ख लागेको बताउँछन्। उनी भन्छन्, 'सबै ठाउँमा गाडी हुन्छन्। रिक्सा कहाँ राख्ने?'

काठमाडौंबाट रिक्सा लगभग लोप हुने अवस्थामा पुगिसकेको चन्द्रबहादुरको अनुभव छ। उनी भन्छन्, 'साइकल रिक्सा त हराउँदै छन्। ब्याट्रीवाला रिक्सा ल्याउने भन्ने सुनेको थिएँ। खै त्यसको पनि अत्तोपत्तो छैन।'

पहिला डिल्लीबजार, नागपोखरी, कुपन्डोल, नाङ्ग्लोबजार, लाजिम्पाट, रानीपोखरी, ठमेल, क्षेत्रपाटी लगायत काठमाडौंका धेरै ठाउँमा साइकल रिक्सा चल्थे। तर अब ती सब ठाउँबाट रिक्सा विस्थापित हुँदैछन्, साथमा चन्द्रबहादुर जस्ता रिक्सा चालक पनि।

९ जेठ, २०७९, १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।