निर्वाचन मतपरिणाम: कर्णालीमा कांग्रेसलाई अवसर, एमालेलाई असर, दोस्रो दल बन्यो माओवादी

निर्वाचन मतपरिणाम: कर्णालीमा कांग्रेसलाई अवसर, एमालेलाई असर, दोस्रो दल बन्यो माओवादी

सुर्खेतः कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटै पालिकाको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ। नतिजा अनुसार प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो दल बन्न पुगेको छ।

स्थानीय सरकारको दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशमा कांग्रेसलाई ठूलो अवसर प्राप्त भएको छ। एमालेलाई भने पुरानो विरासत समेत जोगाउन नसक्दा ठूलो असर परेको छ।

२०७४ मा प्रदेशभरमा २४ पालिका जित्दै तेस्रो बनेको कांग्रेस अहिले भने ७९ मध्ये ३२ पालिका जित्दै पहिलो भएको छ।

२०७४ को निर्वाचन कर्णालीका २६ पालिकामा नेतृत्त्व लिएर पहिलो दल बनेको एमाले अहिले १५ पालिकामा खुम्चिएर तेस्रो बनेको छ।

यस्तै अघिल्लो निर्वाचनमा दोस्रो बनेको माओवादी अहिले पनि दोस्रोमै छ। 

तर, गएको निर्वाचनभन्दा अहिले माओवादीले कम पालिका जितेको छ। पहिले २५ पालिका जितेको थियो भने अहिले २३ वटा पालिका जितेको छ।

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी भने कर्णालीमा निकै कमजोर देखिएको छ। समाजवादीले चार वटा पालिकाको नेतृत्त्व मात्र जितेको छ। 

जितेका चारमध्ये दुई वटामा निर्विरोध भएका थिए। बाँकी दुई वटामा निर्वाचन मार्फत समाजवादीका उम्मेदवार विजयी भएका हुन्। यी दुवैमा पनि गठबन्धनको बलमा जितेको देखिन्छ। 

गठबन्धन नगरेर एकल उमेदवारी दिएका अन्य कुनै पनि पालिकामा एकीकृत समाजवादीले जित हात पार्न सकेन। प्रदेशका चार वटा पालिकाको प्रमुखसहित समाजवादीले ६ वटामा उपप्रमुख जितेको छ।

यता गठबन्धनको बलमा कांग्रेसले रुकुम पश्चिमका दुई वटा पालिकासहित अन्य आधा दर्जन बढी स्थानीय तहको नेतृत्त्व आफ्नो पक्षमा पार्न सफल भएको छ।

एमाले भने यो निर्वाचनमा गठबन्धनको सिकार बन्यो। प्रदेशभर गठबन्धनबीच चुनावी तालमेल नभए पनि एमालेको पकड भएका अधिकांशमा गठबन्धन बनेको थियो। जसले गर्दा एमालेले पकड गुमाउन पुग्यो। 

सुर्खेतको चौकुने गाउँपालिकादेखि दैलेखको भगवतीमाई लगायत धेरै पालिकामा एमाले पराजयको मुख्य कारण गठबन्धनसँगको प्रतिस्पर्धा हो।

अर्कोतर्फ, एमालेको कमजोर नतिजामा पार्टी विभाजनको असर पनि देखिएको छ। दैलेखको नौमुलेमा एमालेबाट टुक्रिएको एकीकृत समाजवादीको सहयोगमा माओवादीका उम्मेदवार विजयी हुँदा एमाले तेस्रो हुन पुग्यो। यस्तो क्षति प्रदेशका अन्य पालिकामा पनि देखिएको छ।

माओवादीको बलियो पकड मानिने रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको नेतृत्त्व कांग्रेसले माओवादीबाट खोसेको छ। यस्तै अरू पालिका पनि कांग्रेसले माओवादीबाट खोसेको छ।

माओवादीले यसपटकको निर्वाचनबाट पहिले एउटा पालिका पनि नजितेका जिल्लाहरू दैलेखमा दुई वटा र सुर्खेतमा एउटा पालिकामा प्रमुख जितेको छ।

अहिलेको निर्वाचनबाट कर्णालीका पाँच वटा जिल्लामा एमाले शून्य भयो।  रूकुम पश्चिम, हुम्ला, कालीकोट, जुम्ला र मुगुका पालिकाहरूमा एमालेले नेतृत्व लिन सकेन।

२०७४ मा एमालेले हुम्लामा एक, मुगुमा एक, जुम्लामा एक, कालीकोटमा तीन पालिका जितेको थियो।

अहिलेको निर्वाचनबाट एमालेले सुर्खेतका चार, दैलेखका चार, जाजरकोटका तीन, डोल्पाका तीन र सल्यानका दुई पालिकासहित १५ पालिकामा नेतृत्त्व पाएको छ।

माओवादी केन्द्रले रूकुम पश्चिमका चार, सुर्खेतको एक, दैलेखका दुई, जाजरेकोटको एक, हुम्लाका तीन, कालीकोटका पाँच, जुम्लाका दुई, मुगुको एक, डोल्पाका दुई र सल्यानका दुई पालिकासहित २३ पालिकाको नेतृत्त्व पाएको छ।

कांग्रेसले रूकुम पश्चिममा दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालीकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाको एक, सल्यानका पाँच र दैलेखका पालिकासहित ३२ पालिकामा नेतृत्त्व पाएको छ।

यस्तै, एकीकृत समाजवादीले डोल्पाका दुई, मुगु र सल्यानका एक/एक पालिकासहित चार पालिकाको नेतृत्त्व पाएको छ।

स्वतन्त्र उम्मेदवारले बाजी मारे
कर्णाली प्रदेशमा यसपटक प्रमुख राजनीतिक दलका उम्मेदवारहरूलाई स्वतन्त्र उम्मेदवारहरूले चुनौती दिए। कतिसम्म भने प्रदेशका पाँच वटा पालिकामा स्वतन्त्र उम्मेदवारले नै बाजी मारेका छन्। 

जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले टिकट नदिएपछि बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायतले कांग्रेसकै उम्मेदवारलाई पराजित गरेर मेयरमा निर्वाचित भए। 

उनीजस्तै अन्य चार पालिकामा पनि स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएका हुन्। स्वतन्त्र चिह्न लिएर विजयी बनेकाहरू विभिन्न दलका बागी उम्मेदवार हुन्। 

कोही दलले टिकट नदिएपछि स्वतन्त्र बनेका थिए भने कोही दलहरूको चुनावी गठबन्धनप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए।

हुम्लाको चंखेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सन्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

२०७४ मा चार जना स्वतन्त्र उम्मेदवार प्रमुखमा निर्वाचित भएका थिए। सल्यानमा एक र डोल्पाका तीन पालिकामा स्वतन्त्र उम्मेदवार पालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

८ जेठ, २०७९, ०८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।