एमालेकै मत रेनुलाई जान थालेपछि झस्किए एमाले नेता, रेनुको मतान्तर बढेको बढ्यै

एमालेकै मत रेनुलाई जान थालेपछि झस्किए एमाले नेता, रेनुको मतान्तर बढेको बढ्यै

चितवन : नेपाली कांग्रेसका जिल्ला नेताहरूमा देखिएको निराशा विद्रोहीको पक्षमा जाने आङ्कलन गर्दै मेयरमा जित्ने पूर्वानुमान गरेको एमालेका नेताहरू मतका बाकसहरू खुल्न थालेपछि भने झस्किएका छन्।

वडा नम्बर १ बाट सुरु भएको गणना वडा नम्बर ८ मा पुग्दा रेनुले मतान्तर बढाएर २ हजार हाराहारीले लिड गरिरहेकी छिन्। यो बिचमा एमाले उम्मेदवार विजय सुवेदीले एक पटक मात्रै लिड गरेका छन्।

प्रारम्भमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले रेनुलाई जान सक्ने मत राम्रैसँग रोके पनि वडा नम्बर ५ पछि भने त्यो सङ्ख्या घटेको मात्रै हैन कि वडाका उम्मेदवारहरूमा ५ भोट सूर्यमा परेका मतपत्रमा मेयरको उम्मेदवारको मत भने रेनुले पाइरहेकी छिन्।

अहिले वडा नम्बर सातको गणना भइरहेको छ। सातको गणना हुँदा वडाका उम्मेदवारमा सूर्यमा गएका भोटहरू मेयरमा भने रेनुलाई आउन थालेपछि बुथ प्रतिनिधि बसेका एमालेका नेताहरू झस्किएका छन्।

बुधवारबाट रेनुले मतान्तर बढाएर २ हजार हाराहारीमा पूर्याउनुमा सूर्यसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूले पाएका मत मेयरमा भने रेनुले पाउनु मुख्य कारण रहेको बुथमा बसेका एक प्रतिनिधिले जानकारी दिए।

ती प्रतिनिधिका अनुसार वडा १ देखि वडा ४ सम्म गणना हुँदा बागी पौडेलले रेनुलाई पूर्याएको क्षति प्रस्टै देखिएको थियो। उपमेयरसहित वडाका उम्मेदवारहरूमा रुखमा खसेको मत मेयरमा भने पौडेललाई खसिरहेका थिए।

तर वडा पाँचको गणना सुरु भएसँगै त्यो सङ्ख्या घट्न मात्र थालेन। उपमेयर हलोमा खस्ने मत पनि मेयरमा गोलाकारभित्रको हसिँया हथौडामा खस्न थाल्यो। वडा नम्बर ५ र ६ को गणनामा वडाका उम्मेदवारमा सूर्य अनि मेयरमा हसिँया हथौडामा खसेका भोटको सङ्ख्या बढेको छ।

एकदेखि वडा नम्बर ४ सम्म जसरी बागी पौडेलको भुईँकटरमा मत परिरहेको थियो त्यो वडा पाँचबाट माथि लागेपछि घटेको छ। 

४ जेठ, २०७९, २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।