कम्प्युटर सहायक पदबाट राजीनामा दिएर हिँडेकी समिता उपमेयर भएर फर्किइन् शंकरापुरमा

कम्प्युटर सहायक पदबाट राजीनामा दिएर हिँडेकी समिता उपमेयर भएर फर्किइन् शंकरापुरमा

काठमाडौँ : साँखुकी स्थानीय समिता श्रेष्ठ कम्प्युटर अपरेटरको रूपमा प्रवेश गरेकी थिइन् शंखरापुर नगरपालिकामा। नगरपालिकाको योजना शाखामा सहायक कम्प्युटर अपरेटरको रूपमा काम गर्दागर्दै राजनीतिक चस्काले छोएपछि उनी स्थानीय तहको निर्वाचन अगाडि राजीनामा दिएर उम्मेदवारको तयारीमा लागिन्। नेपाली कांग्रेसले उनलाई उपमेयरको टिकट दियो। मेयरको उम्मेदवार बने एकीकृत समाजवादीका लक्ष्मी प्रसाद श्रेष्ठ।

३८ वर्षकी समिताको प्रतिस्पर्धी २ जना निस्किए एमालेबाट लक्ष्मी केसी अनि राप्रपाबाट विजयकुमारी वाइबा। बाचुन्जेल जोगमेयर श्रेष्ठले शंखरापुरलाई राप्रपाको किल्ला बनाए पनि उनको मृत्युसँगै त्यहाँ पार्टीको मत धान्ने उम्मेदवार पाउन सकेको थिएन।

यस पटक ५० वर्षका रमेश नापित हलोबाट मेयरको उम्मेदवार बनेका थिए। उनको अर्को प्रतिस्पर्धी थिए एमालेका कृष्णलाल बजगाईँ। चुनाव प्रचारको गति बढ्दै जाँदा शंखरापुरमा नेतृत्वका लागि गठबन्धन र एमालेबिच हैन गठबन्धन र राप्रपाबिच प्रतिस्पर्धा देखियो। र नतिजा आउँदा पनि त्यही आयो। मेयरमा राप्रपाका नापित ४ हजार सात सय मत सहित विजयी भए। गठबन्धनका श्रेष्ठले ४ हजार २ सय २ मत ल्याए। उपमेयरमा समिताले ६ हजार ३ सय ६२ मत पाउँदा राप्रपाकी वाइबाले ३ हजार २ सय ९८ मत पाइन्।

शंखरापुरको उपमेयरमा पहिला त्यहीकी कर्मचारी उम्मेदवार बनेको सूचनाको आधारमा उकेराले समितालाई पच्छ्याएको थियो। त्यही बेला उनी आफ्नो जितमा ढुक्क देखिएकी थिइन्। घरदैलो कार्यक्रममा व्यस्त रहेकी उनले उकेराकर्मीसँग भनेकी थिइन्'‘योजना शाखामा हुँदा मैले गरेको काम स्थानीयले देख्नुभएको छ। सेवाग्राहीका काम विना झन्झट गरिदिने व्यक्तिको रूपमा मलाई हेर्नुहुन्छ। भोट माग्न जाँदा पनि स्थानीयले ‘अरूहरूलाई त हामीले चिनेको पनि छैन, बैनी आउनुभयो हामी एकदमै खुसी छौँ भन्नुभएको छ। उहाँहरूको मन जितेको छु जस्तो लाग्छ।’

निर्वाचनमा उनले मनसँगै मत पनि जितिन्। र कम्प्युटर सहायक पदबाट राजीनामा दिएर हिँडेकी उनी अब त्यही कार्यालयमा उपमेयर बनेर प्रवेश गर्दै छिन्।

साँखुकी स्थानीयवासी रहेकी उनलाई शंखरापुरको समस्याबारे राम्रो जानकारी छ। काठमाडौंभित्रैको नगरपालिका भए पनि त्यो क्षेत्र आर्थिक रूपमा कमजोर र पिछडिएको छ।

राजधानी काठमाडौँका अधिकांश भेगमा खानेपानी र सडकको समस्या हल भइसके पनि शंखरापुरमा ठुलो समस्या त्यही छ। उनले घर दैलोको क्रममा मतदाताले खानेपानी, बाटो, शिक्षा र स्वास्थ्यबारे गुनासो गर्ने गरेको बताएकी थिइन्।

शंकरापुरकी सहायक कम्प्युटर अपरेटर समिता जो उपमेयर बनेर कार्यालय फर्कन चाहन्छिन्

‘घरदैलो कार्यक्रममा जाँदा यहाँका स्थानीय दिदीबहिनीहरूले आफूले भोग्दै आएको समस्या सुनाइरहनुभएको छ। एक/दुई ठाउँमा खानेपानीको गम्भीर समस्या छ। नगरपालिकाभित्र सडक पुगिसके पनि अधिकांश सडक ग्राभेल मात्र छ। खाल्डाखुल्डी पुर्नुपर्ने छ। स्थानीयले बर्खामा हिलो, हिउँदमा धुलोको समस्या झेलिरहनुभएको छ,’ उनले सुनाएकी थिइन्।

कमजोर आर्थिक अवस्था भएकाहरूले आफ्ना बच्चाहरूलाई स्कलरसिप, वडामा कम्तीमा एउटा स्वास्थ्य चौकीको धेरै माग भएकाले उनले आफ्नो प्राथमिकतामा यही राखेकी थिइन्।

'यदि यो स्थानीय निर्वाचनमा आफ्नो जित भए पहिलो चरणमा खानेपानीको समस्याको हल गर्छु। अनि दोस्रो चरणमा सडक, शिक्षा र स्वास्थ्य समस्या समाधान गर्छु।'

उनले गरेको वाचा शंकरापुरवासीले पत्याएर उनलाई नेतृत्वमा पुर्याए। अब वाचा पुरा गर्ने पालो उनकै। 

४ जेठ, २०७९, १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।