एकपक्षीय प्रमाण हेरेर सिद्ध बाबालाई बलात्कार मुद्दामा सफाइ दिएको मुद्दा उल्टियो

एकपक्षीय प्रमाण हेरेर सिद्ध बाबालाई बलात्कार मुद्दामा सफाइ दिएको मुद्दा उल्टियो

विराटनगर : धर्मको आडमा आफ्नै अनुयायीको बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीबाट विवादित रूपमा सफाइ पाएका ‘सिद्ध बाबा’ भनिने कृष्ण गिरीको मुद्दा उच्चले उल्ट्याएको छ। जिल्ला अदालतले एकपक्षीय बहस गराएर गरेको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालतमा पुनरावेदनमा गएको थियो।

पुनरावेदनको अपिलमा सुनुवाइ गर्दै मङ्गलवार उच्च अदालत विराटनगरको न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्ला अदालतको फैसला बदर गर्दै मुद्दाको पुन सुनुवाइ गर्न आदेश दिएको छ।

अदालतको आदेशमा असार १४ को पेशी समेत तोकिदिएको छ। आदेशमा जाहेरीकर्ता र सिद्धबाबाबीचका एसएमएस, अडियो संवाद लगायतका प्रमाणको स्वतन्त्र परीक्षण गर्न समेत भनिएको छ।

संयुक्त इजलासले विशेषज्ञको राय लिएर पुनः मुद्दा सुनुवाइ गर्न आदेश दिएको हो।

आदेशमा स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र गराउने, पीडित र आरोपित दुवै पक्षका साक्षीको बयान गराएर मात्र अन्तिम फैसला गर्न भनिएको छ।

गिरीमाथि सुनसरीको बराह क्षेत्रमा रहेको आश्रममा भेट्न आएकी महिला अनुयायीलाई आश्रममा बोलाएर २०७६ कात्तिक ४ मा बलात्कार गरेको आरोप लागेको थियो। प्रारम्भमा जाहेरी दर्तामै आलटाल भएको यो केसमा बल्लबल्ल मुद्दा अदालतसम्म पुगे पनि जिल्लाले एकपक्षीय प्रमाण हेरेर सफाइ दिएको थियो।

३ जेठ, २०७९, २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।