अझै सुरु भएन तिलोत्तमाको मतगणना

अझै सुरु भएन तिलोत्तमाको मतगणना

बुटवल : विहान ३ बजे देखि रोकिएको तिलोत्तमाको मतगणना अझै सुरु हुन सकेको छैन। निर्वाचनमा भाग लिएका ७ राजनीतिक दलहरूले मतगणना हेरफेर गर्ने कर्मचारीलाई कारबाही र पुनः मतगणना गर्न माग गरेका छन्। एमालेले पुनः मतगणना गर्न मानिरहेको छैन।

मतगणनामा बसेका गणकहरूको मत र निर्वाचन कार्यालयका कर्मचारीहरूले सार्वजनिक गर्ने मतमा फरक परेपछि गठबन्धन दलहरूले विरोध गरेका हुन। तिलोत्तमामा चुनावमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक प्रेस वक्तव्य जारी गरी मत हेरफेर गर्ने कर्मचारीलाई कारबाही गर्न र पुनः मतगणना गर्न माग गरेका छन्।

‘प्राप्त मत अंकलाई गलत रूपमा प्रस्तुत गरी मतपरिणामलाई बङ्ग्याई तोडमोड गरी अमुक कुनै पार्टीलाई जिताउने नियतले काम गरेको र अमुक दलबाहेक अन्य दलका मतगणना प्रतिनिधिहरूबाट गल्तीलाई सच्याउन पटक पटक दिएको सुझावलाई पूर्णपुरमा बेवास्ता गर्ने गरेको प्रति हामी निम्न दलहरू घोर भर्त्सना गर्दै यसमा संलग्न राष्ट्रसेवक कर्मचारीहरूलाई यथार्थ छानबिन गरी निर्वाचन सम्बन्धी कसुर अन्तर्गत कारबाही गरिपाउँ’–विज्ञप्तिमा भनिएको छ।
 

३ जेठ, २०७९, २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।