पोखरामा गठबन्धनका मेयर आचार्यको फराकिलो अग्रता

पोखरामा गठबन्धनका मेयर आचार्यको फराकिलो अग्रता

पोखरा : पोखरा महानगरपालिकामा गठबन्धन तर्फका मेयर पदका उम्मेदवार धनराज आचार्यले मतान्तर बढाएका छन्। महानगरमा १३ हजार ६४३ मतगणना हुँदा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका आचार्यले ५ हजार ७४८ मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण बहादुर थापाले पाँच हजार ७८ मत पाएका छन्। थापाको भन्दा आचार्यको ६७० मत बढी छ।त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले ६५८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार खडकराज (गनेश) पौडेलले ३३१ मत पाएका छन्।

उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले ५ हजार ५ सय ६४ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५ हजार ४ सय ७४ मत प्राप्त गरेकी छन्। एमालेकी गुरुङले कांग्रेसकी रानाभाटलाई ९० मतले उछिनेकी छिन।

पोखरा महानगरपालिका अहिलेसम्म वडा नम्बर १,२,३,४,१२,२३,२४ र २५ वडाको मतगणना चलिरहेको छ। पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन्। शुक्रबार सम्पन्न मतदानमा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।  

२ जेठ, २०७९, १८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।