लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति 

लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति 

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति समझदारी भएको छ। लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीसँग आज नेपालको लुम्बिनी र भारतको कुशीनगरबीच द्विपक्षीय भेटवार्तामा भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको हो। 

बुद्धसँग जोडिएका दुई स्थानबीच ऐतिहासिक पुरातात्विक सम्बन्ध रहेको छ। भारतका प्रधानमन्त्री मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आइतबार बिहान लुम्बिनी आएका हुन्। भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन्। 

मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गरेका छन्। प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि पूजाअर्चना गरेका हुन्। 

दुबै देशका प्रधानमन्त्रीहरुले पूजाअर्चना गरिरहँदा बौद्ध भिक्षुहरुले बुद्धबन्दना गरेका थिए। भारतका विशिष्ठ अतिथिले मायादेवी मन्दिर परिसरमा रहेको पवित्र सरोवरको परिक्रमा गर्नुका साथै यहाँस्थित अशोक स्तम्भमा द्वीपप्रज्ज्वलन गरे। 

दुबै देशका प्रधानमन्त्रीहरुले अशोकस्तम्भ नजिकै रहेको वोधी वृक्षमा जलसिञ्चन पनि गरेका थिए। त्यसअघि भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्य पुत्तले स्वागत गरेका थिए। 

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाले यहाँस्थित अन्तरराष्ट्रिय वौद्ध गुम्बा परिसरमा भारतका निम्ति सरकारले उपलब्ध गराएको भूमिमा निर्माण हुने भारत अन्तरराष्ट्रिय वौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्नाको साथै त्यहाँ राखिएको शिलालेखको अनावरण गरे। 

त्यसअघि प्रधानमन्त्रीद्वयसँगै प्रधानमन्त्री देउवाको धर्मपत्नी डा देउवाले परित्राण पाठ र स्वस्तीवाचन श्रद्धापूर्वक श्रवण गरेका थिए। 
 

२ जेठ, २०७९, १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।