उकेरा कोलम

टेको पाउन नसकेको टेकबहादुरको सपना जसले सडक किनारमा पनि साथ पाएन


बालेन्द्र साह उर्फ र्‍यापर बालेन। कान्तिपुर टेलिभिजनमा सुरजसिंह ठकुरीको टक शो इट्स माई शोमा ललितपुर महानगरपालिकाका तत्कालीन मेयर चिरिबाबु महर्जनसँगै अतिथि बनाएर जाँदा चर्चित गीतको बोललाई कोरस मिलाएर र्‍याप गाए' गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन गरिबको चमेली बोल्दिने कोही छैन।'

यो यत्ति लोकप्रिय भयो कि उनको चुनाव प्रचारकै अफिसियल गीत जस्तै भइदियो। चुनावी प्रचारको मञ्चमा खुबै गाए उनले यही गीत। यसले धेरैलाई छोयो पनि। अहिले स्थानीय तहको निर्वाचनको मतदान सकिएर मतगणना जारी छ।

सहरी क्षेत्रका बालेन लगायतका उम्मेदवारहरूले आफ्ना अजेण्डामा विकसित सहरसँगै सहरी गरिबी हटाउने एजेन्डालाई पनि आफ्नै प्राथमिकतामा राख्नेका छन्।

अब फर्किऊँ रातो पुलतिर जहाँको सडक किनारमा बस्दै आएका छन् टेकबहादुर दमाई।

चुनाव अगाडिसम्म उनी ढुक्क साथ रातो पुलस्थित प्रहरी बिटसँगको रुखको आडमा सिलाइ मेसिन राखेर काम अर्काको कपडासँगै आफ्नो जीवन पनि टालटुल गरिरहेका थिए।

डेढ वर्ष भयो उनी त्यही बसेर अन्यको कपडासँगै जीवन सिलाइरहेको। तर अहिले आएर उनको त्यो पथ पनि खोसिँदै छ विकासको नाममा। उनी जहाँ बस्दै आएका थिए अब त्यहाँ बगैँचा बनाउने रे। त्यसैले अब उनले त्यहाँ एउटा सिलाई मेसिन अड्याउने जमिन पनि नपाउने भए।

एउटा सिलाई मेसिन अनि उनी बस्ने टुलले कति जमिन ओगट्छ होला है!

गौशालामा बस्दै आएका उनी त्यही बसेर निम्न वर्ग अनि केही मध्यमवर्गको आङ ढाक्ने मेलोमेसोसँगै आफ्नो भोको पेट भरिरहेका थिए। केही दिन अगाडि उनलाई अब उहाँ बस्न पाउँदैनौँ भन्ने सन्देश आयो। उनले टाँगेको पाल अनि भुईँमा ओछ्याएको कार्पेट फालियो।

२७ वैशाखमा हामी पुग्दा उनी निराश भएर कपडा सिउने मेसिन अगाडि बसिरहेका थिए। अब कहाँ जाने होला। पक्कै उनको मनमा यही प्रश्नले घोचिरहेको थियो होला।

'यहाँ आएर बसेको डेढ वर्ष हाराहारी भयो। अहिलेसम्म नराम्रो केही भएको थिएन। पढे-लेखेको छैन। एउटा सिलाइको काम गर्दै आएको दुःखी मान्छे, के गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने नै थाहा भएन। ग्राहक बन्दै गए। काम  धमाधम हुँदै गयो। अहिले अब बस्न नदिने भनेका छन्’ उनले एकै सासमा दुख फैलाए उकेरासँग।

उनले पहिला बस्दा प्रहरी-प्रशासन अनि स्थानीयसँग स्वीकृति त्यहाँ बसेका रहेछन्। तर अब अहिले एक्कासि जा भन्दैछन्। उनलाई साह्रै चित्त दुखेको रैछ।

उनी पहिला कपडा पसल बाहिर बसेर आएका ग्राहकको कपडा सिलाउँदै आएका थिए। कोरोनाले त्यो अवसर पनि खोस्यो। कपडा पसलहरू बन्द भए। उनी विकल्प खोज्न थाले। घुम्दै जाँदा उनको आँखा रातो पुलको सानो खाली ठाउँमा पर्‍यो।

'कोरोनाका कारण पसलमा काम नपाएपछि भौँतारिइरहेको थिएँ। रातो पुलको सानो कुनामा एउटा ठाउँ देखेँ अनि प्रहरी र स्थानीयसँग सरसल्लाह गरेर नै यहाँ बसेको हुँ,' उनले सुनाए।

अहिले उनीमाथि जथाभाबी फोहोर गरेको अनि रुखमा कपडाहरू झुन्ड्याएको आरोप लगाइएको छ। तर अहिले काठमाडौँका चोक र गल्लीहरूमा फोहोरको रास लागेको छ। त्यता ध्यान छैन।

उनी बसेको पुलपारिको फोहोरको डङ्गुरको गन्ध उनीसम्म आइरहेको थियो। हटाउनुपर्ने फोहोर हटेको छैन। उल्टो टेकबहादुरको जीवन चलाउने टेको हटाउन खोज्दैनन्।

उनी भूकम्प अघिसम्म कोटेश्वरमा बस्दै आएका थिए। उनी अहिले गौशाला चोकबाट अलि भित्र डेरामा बस्छन्। १२ वैशाख २०७२ को  भूकम्प आउनुभन्दा दुई दिनअघि मात्र उनी आफ्नो गाउँ गएका थिए। करिब एक महिना उतै बसे। ब्लक सिस्टमको पाँच वर्षे योजनाको घर भूकम्पले नढलाई छाडेन। त्यसपछि जाँचबुझ भयो विभिन्न टोली आयो। जिल्लातिर गए, लेखाउनुपर्ने लेखेर आए। 

यस्तो तरिकाले घर नबनाउनु भन्ने सल्लाह मात्र आयो सहयोग आएन। मान्छे मरेको होइन अलिअलि टुटफुटमा लेखाउँदा हुन्छ जिल्लामा पठाउँछौँ भन्ने सान्त्वना लिएर फर्किए। राहत, रकम केही पाएनन्। 

काठमाडौँ फर्किएपछि दोकानमै बुझ्न गए। ग्राहकहरू धेरै छैनन्, मेसिन झिकेर काम गर्दै गर्नु भन्ने जवाफ आयो। तर उनलाई त्यहाँ त्यति मन लागेन।

त्यसपछि उनी कोटेश्वरमा काम गर्न थाले। त्यहाँ उनलाई केही सहज भयो। त्यहाँ मेसिन दिइयो र काम गर्न थाले। त्यसको ६ महिनामै गाउँमा घर पनि बनाए।

त्यसपछि उनले पसलमा बस्न छाडिदिए। आफैँ केही गर्न काठमाडौँमा भौँतारिन थाले।

OOO

धनुषा जिल्लाको मिथिला नगरपालिकामा घर भएका ५७ वर्षीय टेकबहादुरको जन्म भने रामेछाप जिल्लाको एउटा तामाङ गाउँमा भएको थियो। परिवार नै धनुषामा बसाइँ-सराइ गरेर गए र त्यहाँ पनि तामाङ गाउँमै बस्न थाले उनी।

तामाङ गाउँमा धेरै छुवाछुत अनि भेदभाव भोग्न परेन उनले।

उनी भन्छन्,'गाउँमा हुँदा त अलिअलि भेदभाव भोगियो नै। तर यता तामाङ गाउँमा क्षेत्री-बाहुनहरुको जस्तो कडा शासन हुँदैन। मगर मतवाली तामाङमा अलिकति भेदभाव कम नै भोगेँ भनुम्।'

उनी काठमाडौँ आएको ४३ वर्ष भइसकेको छ। १४ वर्षदेखि नै सिलाईको सिप जानेका टेकबहादुर धनुषामा हुँदा आमाबालाई खेतमा काम गर्न सघाउँथे। आफ्नो पुर्खाले पनि सिलाई गर्ने काम गरेको र आफूलाई पनि अरू काम गर्न नआएको उनी बताउँछन्।

बा-आमाले स्कुलमा भर्ना गरिदिए पनि उनले पढ्न चाहेनन्।  स्कुल १२ दिन मात्र गएको टेकबहादुर अहिले पनि सम्झिन्छन्। उनी भन्छन्, '१२ दिन त स्कुल गएकै हो। तर त्यसपछि जान मन लागेन। स्कुल जाने भनेपछि किन हो किन एकदमै लाज लाग्यो। बा-आमाले त बाबु अलि अलि त पढ्नुपर्छ, ज्ञान हासिल गर्नुपर्छ, पढ है भन्नुभएको थियो।’

पढ्न मन नभएपछि उनले घरमा काठमाडौँ गएर काम गर्छु भने। त्यसमा आमाको प्रतिक्रिया सकारात्मक आए पनि बाले भने पठाउन नखोजेको उनले बताए।

'बाले नचाहे पनि आमाले भने पढ भन्दा पनि पढ्दैन, घर बसेर के काम। बरु देश-परदेश गयो भने टाठो हुन्छ, बुद्धि पस्छ, कमाएर आउँछ, पठाइदिनु क्या त भन्नुभयो। अनि फुत्त काठमाडौँ आएँ,’ उनले सुनाए। 

बाल्य अवस्थामै  काठमाडौँ आउन पाउँदा अति रमाइलो लागेको उनले बताए। नारायणी राजमार्ग, पृथ्वी राजमार्ग हुँदै ५० रुपैयाँ लिएर काठमाडौँ आएको सम्झँदा अहिले पनि उनी दङ्ग पर्छन्।

उनी भन्छन्, 'यहाँ आइपुग्दा १५ रुपैयाँ त बाँकी नै थियो। यहाँको रमझममा कहिले ज्यामी काम गर्ने त कहिले घुम्ने गरियो। त्यति बेला जहाँ काम गर्‍यो त्यतै बस्ने व्यवस्था हुन्थ्यो।' १२ वर्षको उमेरमा काठमाडौँ आएका उनी १४ वर्षको हुँदा फेरि धनुषा गए। 

धनुषामा गएर २० दिन जति तालिम केन्द्रहरूमा उनले सिलाई सिके र फर्किहाले। त्यसपछि भने काठमाडौँमै सिक्दै काम गर्दै गरेको उनले बताए।

काठमाडौँ आएपछि उनले कुनै बेला काम पाए, कुनै बेला पाएनन्। त्यति बेला उनको आफ्नै मेसिन पनि थिएन।

टेकबहादुर विभिन्न आन्दोलनमा पनि सहभागी भएका रहेछन्। २०४६ सालको आन्दोलन, सुकुम्वासी हल गर्ने, गरिबी निवारण र छुवाछुत निर्मूल अभियानमा पनि सामेल भएको उनले बताए।

निकै दुःख गरेर काठमाडौँमा अहिलेसम्म टिकेको बताउने टेकबहादुर अहिले उमेर ढल्किँदै गएपछि भने समस्या थपिँदै गएको बताउँछन्। 'उमेर खस्किँदै गयो। आँखाले काम गर्दैन। राति भएपछि सियोमा धागो उन्न निकै कष्ट गर्नुपर्छ,’ उनले भने।

टेकबहादुरले कुनै ठुलो सपना देखेका छैनन्। 'सपना देख्नुपर्छ भन्ने नै भएन। काम गर्नुपर्छ, खानुपर्छ भन्ने मात्रै आयो दिमागमा,' उनी भन्छन्, 'सकियो भने एउटा सानो दोकान खोल्ने सकिएन भने कतै खाली ठाउँ खोजेर काम गर्न पाए हुन्थ्यो भन्ने मात्र छ।'

१९ वर्षमा विवाह गरेका टेकबहादुर दुई वटा छोरासँग गौशालामा बस्छन्। चार वटा छोरीको विवाह गराइसकेका उनको एक जना र छोरी र श्रीमती धनुषामै छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सिल्क उद्यमी जानकी जो व्यवसायमा जमिन्, राजनीतिमा डुबिन्

रेशमका कपडा उत्पादन, डिजाइनिङ र व्यापारमा संलग्न जानकीले गोसाई भेन्चर र किम्बु द शेरी वर्ल्ड कम्पनी सञ्चालन गरेकी छिन्। किम्बु द शेरी वर्ल्ड कम्पनीले नेपालमा....

कान्तिपुर गाथा : कान्तिपुर पक्कै गरिब शहर होइन 

अदृश्य भावीको स्वागतमा सुत्केरी बस्ने कोठामा रातभर बत्ती बालिन्छ। भावीले नवजात शिशुको ललाटमा जन्मको छैटौं दिन केही लेख्छ भन्ने यो विश्वास नेपालको समाजमा व्यापक छ।....

नेतृ अष्टलक्ष्मीको प्रसव पीडा र खुसी : छोरा-छोरीले तिमी हाम्रो आमा होइनौ, नत्र किन छाडेर हिँड्थ्यौ भनेको सम्झिँदा भक्कानो फुट्छ

यहाँ हामीले कुरा त प्रसव पीडा र खुसीको गर्छौं। तर मेरो जिन्दगीमा भने हरेक कुरा राजनीतिसँगै जोडिन पुग्छ। त्यसैले मेरो प्रसव पीडा र खुसीको साक्षी....

डा. अच्युतबिक्रमको उपचार अनुभव : फोक्सोको ८० प्रतिशत भागमा निमोनिया भएका डिआइजी खरेल भाग्यले बाँचे

कोरोना भाइरस संक्रमण भएपछि खरेललाई श्वास फेर्न असहज भएछ। त्यसपछि उनी नेपाल प्रहरी अस्पताल पुगेछन्। बेलुका अस्पताल पुगेका उनी अस्पताल भर्ना भए।  राति करिब १०....

हिजोका कुरामा विश्वम्भर प्याकुर्‍याल : नारायण गोपाल र रानी ऐश्वर्यबीच प्रेमको हल्ला सतप्रतिशत गलत

साहित्य, संगीत, कलाका पारखी प्याकुर्‍यालले विभिन्न साहित्यिक एवं अर्थतन्त्र सम्बन्धी पुस्तक लेखेका छन्। उनको ‘इन्द्रेणीको गुम्बजभित्र’, हरिभक्त कटुवालले सम्पादन गरेको ‘बान्की’ मा ‘तीन वटा घाउ’ लखुकथा  प्रकाशित....