७४ वर्षपछि देशले पायो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, ६८ यात्रु बोकेर आयो जजिरा एयर

७४ वर्षपछि देशले पायो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, ६८ यात्रु बोकेर आयो जजिरा एयर

रुपन्देहीः भैरहवास्थित देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आजबाट उद्घाटन भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।

उद्घाटनअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज विमानस्थलमा अवतरण गरेको थियो। त्यसपछि अन्तर्राष्ट्रिय विमान जजिराले एयरवेजले पहिलोपटक ७:१५ मा अवतरण गरेको हो।

विमानलाई पानीको फोहोराले स्वागत गरिएको थियो। विमानमा ६८ यात्रु सवार थिए। हवाइ इतिहासमा ७४ वर्षपछि देशले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पाएको हो।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले अवतरण गरेपछि यतिबेला पर्यटन व्यवसायी उत्साहित भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत वैशाख ८ गतेदेखि सञ्चालनमा आइसकेको छ। यद्यपि विमानस्थलमा आज बुद्ध पूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुने भएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले जजिराको अवतरण सफल भएको बताए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रमुख गोविन्दप्रसाद दाहालले विमानस्थल सञ्चालनपछि नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य वृद्धि हुने बताए।

सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी सन २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।

विमानस्थल ७ वर्षमा निर्माणसम्पन्न भएको हो।

भैरहवा आएको जहाज आज सोमबार नै ९० जना यात्रु बोकेर कुवेत फर्किनेछ।

२ जेठ, २०७९, ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।