यस्तो छ अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो फिचर)

यस्तो छ अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र, आज प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो फिचर)

बुटवलः बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बौद्ध सभा हल तथा ध्यान केन्द्रको निर्माण भएको छ। आज सोमबार यो ध्यान केन्द्रको उद्घाटन समेत हुनेछ।

राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत अत्याधुनिक सुविधासहितको सभा हल निर्माण गरिएको हो। यो हल आज बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

यस्तै आज लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त हलबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।

पाँच हजार सिट क्षमता भएको छाता शैलीको हलमा वातावरणअनुकुल हुने प्रविधि पनि राखिएको छ। हलको निर्माणमा ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ईपीएस प्यानल प्रयोग गरिएको छ।

मेन्टेनेन्स फ्री गर्न पिलरमा समेत मोज्याक लगाइएको छ। मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यकरणको काम पूरा भएको हो।

उद्घाटनका लागि सबै पूर्वाधार तयारी पूरा भएको निर्माण कम्पनी लुम्बिनी, अर्घाखाँची बाबुल जेभीका साइड इन्जिनियर वसन्त क्षेत्रीले जानकारी दिए।

ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ। हलको भित्रतिर माथि पहेँलो रङको कमल बनाइएको छ।

भित्र उज्यालोका लागि छतमा चार सय ७६ वटा बत्ती जडान गरिएको विकास कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए।

यहाँ वाइफाई जोन पनि स्थापना गरिएको छ।

यस्तै नेपाल र भारतका प्रधानमन्त्री आउने भएकाले लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

२ जेठ, २०७९, ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।