कोर सिटीको साथ पाए ६१ हजार मतका साथ मेयर बन्न सक्छन् बालेन, मुख्य प्रतिस्पर्धी स्थापित

कोर सिटीको साथ पाए ६१ हजार मतका साथ मेयर बन्न सक्छन् बालेन, मुख्य प्रतिस्पर्धी स्थापित

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको ३२ वडामध्ये तीन वडाको करिब नौ सय ४ मत गन्दा बालेन साहको पक्षमा खसेको मत प्रतिशत कायम रहे उनी ३२ प्रतिशत मतका साथ काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुने देखिन्छ।

निर्वाचन कार्यालयका अनुसार महानगरपालिकामा कुल एक लाख ९१ हजार १ सय ८६ मत खसेको छ। अहिले तीन वडामध्ये वडा नम्बर ३२ मा ४०४, वडा १ मा ४०० र दुई मा करिब सय मतको परिणाम सार्वजनिक भएको छ।

३२ मा खसेको ४०४ मा बालेनले १ सय ४१ मत पाएका छन्। यो भनेको लगभग ३५ प्रतिशत मत हो। ३२ मा कुल १२०१५ मत खसेको छ। अहिलेकै रुझान कायम रहे बालेनले यो वडाबाट ४ हजार २ सय पाँच मत पाउनेछन्।

वडा १ मा बालेनको २१ प्रतिशत आएको देखियो। यो आधारमा उनले कुल २३१८ मतमध्ये ४९८ मत पाउन सक्छन्। त्यसै गरी वडा २ को सय मत गन्दा उनले ६० मत पाएकाले मत प्रतिशत ६० प्रतिशतै देखियो।

वडा १ को कुल मतदाता ३३९७ रहेकाले उनले अहिलेझैँ मत पाएमा २०३८ मत पाउने देखिन्छ।

नयाँ बस्तीका मतदाताको बलमा उदाउलान् त बालेन ?

अहिलेसम्म बालेनले ९०४ मा २८७ मत पाएका छन्। यो भनेको लगभग ३२ प्रतिशत हो। महानगरमा खसेको कुल मत कुल एक लाख ९१ हजार १ सय ८६ मतको ३२ प्रतिशत मत आउँदा ६१ हजार १ सय ७९ देखिन्छ।

अहिलेझैँ मतकोक्रम कायम रहे बालेन ३२ प्रतिशत मत पाएर महानगरपालिकाको मेयरमा निर्वाचित हुने देखिन्छ।

उनका प्रतिस्पर्धी भने कांग्रेसकी सिर्जना सिंह हैन केशव स्थापित देखिन्छन्। तीन वडाको ९०४ मतमा स्थापितले २६१ मत पाएका छन्। अहिलेसम्म गनेको र उनले पाएको मत हेर्दा यो लगभग २९ प्रतिशत हो। यही आधारमा स्थापितको भोट आए उनले ५५ हजार ४ सय ४४ मत पाउने देखिन्छ।

सिंहले हालसम्म गनेको लगभग ९०४ मतमध्ये १५९ मत पाएकी छिन। यो भनेको १७ प्रतिशत मात्र हो। कुल खसेको मतसँग उनको प्रतिशत हेर्ने हो भने उनले ३२ हजार पाँच सय मात्र पाउने देखिन्छ।

कहाँ कति मत खस्यो

आयोगको तथ्याङ्क अनुसार वडा नम्बर १ मा २३१८, २ मा ३३९७, ३ मा ६२३६, ४ मा ९४४१, पाँचमा ४०७९, छ मा ९५६७ र वडा नम्बर ७ मा ९३४३ मत खसेको छ।

यसै गरी ८ मा ३७५४ मत खसेको छ भने १० मा ७११० मत खसेको छ। ११ मा ३७४९, १२ मा ४०१६, १३ मा ७६५८, १४ मा १०५६२, १५ मा ८७२०, १६ मा १२३३६, १७ मा ५६२७, १८ मा २७४०, १९ मा ३४८३ मत खसेको छ।

यसै गरी २० मा ३०१०, २१ मा ४४१४, २२ मा ४२५०, २३ मा ३०३६, २४ मा ३४७४, २५ मा ४४४१, २६ मा ७३७३, २७ मा ३५६१, २८ मा २९९७, २९ मा ५००८, ३० मा ४९०१, ३१ मा १०९९० र ३२ मा १२०१५ मत खसेको छ।

कोर सिटी मुख्य चुनौती

काठमाडौँ महानगरपालिकाको १० वटा वडा कोर सिटीका रूपमा हेरिन्छ। वडा नम्बर १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७ मा अहिलेकै ट्रेन्डमा बालेनलाई भोट आउने सम्भावना कम देखिन्छ।

१७ मा ५६२७, १८ मा २७४०, १९ मा ३४८३, २० मा ३०१०, २१ मा ४४१४, २२ मा ४२५०, २३ मा ३०३६, २४ मा ३४७४, २५ मा ४४४१, २७ मा ३५६१ मत खसेको छ। यी वडामा कुल ३८ हजार १ सय १६ मत देखिन्छ। यो भनेको करिब २० प्रतिशत हो।

सेतोपाटीले मतदानपछि गरेको सर्वेक्षणमा यी क्षेत्रमा पहिलो नम्बरमा केशव स्थापित र दोस्रो नम्बरमा बालेन र तेस्रोमा सिर्जनालाई मत गएको देखाएको थियो। स्थापित र बालेनविच पाँच प्रतिशत मात्रै फरक देखिएको छ। २० प्रतिशतमा उनले पाँच प्रतिशत घाटा भर्न सक्छन्।  यदि यी कोर सिटीका वडामा स्थापितले बालेनलाई पछाडि छाडेमा स्थापितले विजयी हुन सक्छन्।

स्थापितलाई रोक्न बालेनले कोर सिटीबाट १२ हजार १ सय ९८ मत ल्याउनुपर्ने देखिन्छ।

अहिले आएको मतको ट्रेन्डले सिर्जनालाई धेरै पछाडि छाडिसकेको छ। अबको गणनामा उनले चमत्कारिक रूपमा मत पाए मात्र उनी काठमाडौँको मेयरमा निर्वाचित हुनसक्ने देखियो।

३१ बैशाख, २०७९, १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।