बुटवलमा पुतलीको चर्चाः बस्नेत ०५४ सालमा पनि बागी उठेर जितेका थिए

बुटवलमा पुतलीको चर्चाः बस्नेत ०५४ सालमा पनि बागी उठेर जितेका थिए

बुटवल: नेपाली कांग्रेसले वडा नंं १ बाट नरेन्द्र बस्नेतलाई टिकट दिएन। त्यहाँ कांग्रेसले माधव प्रधानलाई टिकट दिइयो। आफूले टिकट नपाएपछि बस्नेतले बागी उम्मेदवारी दिए। चुनाव चिन्ह पाए, पुतली। 

चुनाव चिन्ह पुतली पाएपछि घरदैलो अभियानलाई तीव्र बनाएका नरेन्द्र अहिले बुटवल उपमहानगरपालिका वडा नं.१ को वडाध्यक्षमा निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनमा एमालेबाट विजयी भएका महेन्द्र लिगलले यस पटक पनि उम्मेदवारी दिएका थिए। उनै लिगल र नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार  माधव प्रधानलाई हराउँदै बस्नेत स्वतन्त्र उम्मेदवारको रूपमा विजयी भएका छन्। 

०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट यही वडाको अध्यक्ष उम्मेदवार रहेका बस्नेत लिगलसँग पराजित भएका थिए। बस्नेत ६३६ मतका साथ विजयी हुँदा उनका निकटता प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्र लिगलले ५५१ मत पाए। लिगल २०७४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

नेपाली कांग्रसका माधव प्रधानले ३४८ मत मात्रै प्राप्त गरे। निर्वाचन आयोगले भने जितको घोषणा गर्न बाँकी छ। २०५४ सालमा पनि बस्नेत स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। त्यतिखेर पनि उनी कांंग्रेसबाटै विद्रोह गरेर उम्मेदवार बनेका थिए। त्यतिखेर उनले कुचो चुनाव चिन्ह पाएका थिए।

समाजमा भिजेका बस्नेतले जनताको सेवा गरेका कारण मत पाएको बताइएको छ। बुटवल १ को मतगणना सकिँदासम्म बुटवलमा मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता लिएका छन्। वडा नंं १ को मतगणना सकिँदा पाण्डेले एमाले सँगको मतान्तर ५०३ पुर्याएका छन्। अघिल्लो निर्वाचनमा सोही वडाबाट एमालेका लिगलले निर्वाचन जिते पनि उनै पाण्डेले ६ सय मतले लिड गरेका थिए।

बुटवलमा यसअघि विजयी भएको एमालेलाई उछिन्दै राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचन पाण्डेलाई पछ्याइरहेका छन्। एमालेका बाबुराम भट्टराई तेस्रो नम्बरमा छन्।
 

३१ बैशाख, २०७९, १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।