ओडारमा जन्मिएकी लाक्पा शेर्पा दसौं पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला

ओडारमा जन्मिएकी लाक्पा शेर्पा दसौं पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला
Photo: BBC Nepali

काठमाडौं : हिमालय क्षेत्रको एउटा ओडारमा जन्मिएकी लाक्पा शेर्पाले ४८ वर्षको उमेरमा दसौं पटक सगरमाथा आरोहण गरेकी छन्। शेर्पाका भाइले सामाजिक सञ्जालमा सेयर गरेको एउटा पोष्ट र नेपालका पर्यटन अधिकारीहरुले गरेको पुष्टि अनुसार उनी दसौं पटक सगरमाथा शिखर आरोहण गर्ने पहिलो महिला हुन्।

लाक्पा सगरमाथाको चुचुरोमा पुगेको खबर उनका भाइ मिङ्मा गेलु शेर्पाले सामाजिक सञ्जालमा राखेका थिए। उनका अनुसार लाक्पा नेपाली समयअनुसार बिहान ६ बजेर १५ मिनेटमा सगरमाथा शिखर पुगेकी थिइन्।

नेपाल पर्यटन अधिकारी भिष्मकुमार भट्टराईले उनले सफलतापूर्वक सगरमाथा आरोहण गरेको समाचार रोयटर्ससँग बताएका थिए।

सो पुष्टि हुनुअघि लाक्पाकी १५ वर्षीया कान्छी छोरी साइनीले आधार शिविरबाट आफ्नी आमाको आरोहणबारे अपडेट रहेको र आफू निकै रोमाञ्चित रहेको बताउँदै बीबीसीसँगको कुराकानीमा भनेकी थिइन्, ‘मेरी आमा मेरो प्रेरणाकी स्रोत हुन्। उनीसँग केही नहुँदा पनि धेरै प्रगति गर्न सक्षम भइन्।’

को हुन् लाक्पा?

सन् २०१६ मा बीबीसीले विश्वभरका १ सय प्रतिभाशाली प्रेरणादायी महिलाको सूचीमा शेर्पा पनि छनोट भएकी थिइन्। शेर्पाले अन्तिम पटक सन् २०१८ मा ८ हजार ८४८.८६ मिटरको सगरमाथा आरोहण गरेकी थिइन्। सो समयमा आफैंले बनाएको कीर्तिमान तोड्दै दसौं पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाएकी हुन्।

लाक्पा शेर्पा एकल महिला हुन्। उनले समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाइमा रहेको मकालु क्षेत्रबाट आफ्नो जीवन सुरु गरेकी थिइन्। औपचारिक शिक्षा समेत नपाएकी शेर्पाले आफ्नो गुजारा चलाउन चौकीदारको काम गर्दै आएको समेत बीबीसीले उल्लेख गरेको छ।

‘मेरो जन्म ओडारमा भयो’ हाँस्दै उनले भनिन्, ‘मलाई मेरो जन्म मितिसमेत थाहा छैन। तर पासपोर्टले मेरो उमेर ४८ वर्ष भन्छ।’

बाल्यकालमा छोरी मान्छेलाई विद्यालय जान मनाही भए पनि आफ्ना भाइलाई घण्टौंसम्म बोकेर स्कुल पुर्याएको सम्झना लाक्पाको मस्तिष्कमा ताजै छ। सो समयमा उनको गाउँको मुख्य पेसा कृषि थियो। गाउँमा बिजुली थिएन।

हिमाल आरोहणको रहर

लाक्पाको गाउँ नजिकबाटै हिमाल देखिन्थ्यो। नजिकबाटै हिमाल देखेकी लाक्पालाई हिमालको टुप्पोसम्म पुग्ने रहर हुन्थ्यो। ‘म सगरमाथाको छेवैमा हुर्कें। मेरो घरबाटै सगरमाथा देखिने भएकोले सगरमाथाले मलाई प्रोत्साहित गराउँथ्यो, आफूतिरै तानिरहेको जस्तो लाग्थ्यो,’ उनले भनेकी छन्।

सन् १९५३ मा सगरमाथा आरोहणमा मानिसले सफलता हात पारेसँगै हरेक वर्ष थुप्रै आरोहीले सगरमाथा चढ्दै आएका छन्। सगरमाथा आरोहीले अनिवार्य रुपमा आफूसँगै शेर्पा गाइड र भरिया लिएर जान्छन्। तर लाक्पाजस्ता केही शेर्पाहरु भने आफैं सगरमाथा आरोही बन्ने गर्छन्।

मनमा रहर भए पनि लाक्पाको लागि आरोहण सहज थिएन। न त बुवा–आमाले नै उनको रहर स्वीकारेका थिए। यदि हिमाल आरोहण गरेमा लाक्पासँग कसैले बिहे नगर्ने उनकी आमाको चेतावनी थियो। हिमाल आरोहणको काम पुरुषले मात्र गर्ने र महिलाले हिमाल चढेमा मृत्यु हुने भन्दै गाउँलेहरुले पनि उनलाई त्रसित बनाउँथे।

तर, सबैका भनाइलाई बेवास्ता गर्दै लाक्पाले सन् २००० मा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेकिन्। सन् २००३ मा उनले तेस्रो पटक सगरमाथा आरोहण गरिन्। सो समयमा आफ्ना भाइ र बहिनी र आफूले एकसाथ सगरमाथा चढेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राखेका थिए। त्यसपछि उनले एकपछि अर्को गर्दै अन्य रेकर्ड राख्दै गइन्।

‘पहिलो पटक सगरमाथा शिखरमा पुग्दा मलाई आफ्नो सपना पूरा भएको महसुस भयो। अनि मैले मनमनै सोचे्र कि अब गृहिणी भएर मात्र काम छैन,’ बिहीबार आरोहणमा जानुअघि बीबीसीसँग उनले भनेकी थिइन्, ‘शेर्पा पुरुषहरुले मात्र आरोहण गर्न सक्छन् भन्ने धारण तोड्छु। साथै शेर्पा र अन्य नेपाली महिलाहरुको अवस्था परिवर्तन गर्छु भन्ने सोच आयो। मलाई घर बाहिरको संसार निकै रमणीय लाग्यो।  बाह्य संसारको रमणीय अनुभव सबै महिलाहरु समक्ष बाँड्न मन लाग्यो।’

लगत्तै लाक्पाले अमेरिकाबासी रोमानियाका आरोही जर्ज डिमारेस्कुसँग बिहे गरिन्। श्रीमानसँग उनले पाँच पटकसम्म सगरमाथा आरोहण गरिन्। बिहेपछि उनी अमेरिका बसार्इं सरेकी लाक्पाको सन् २०१५ मा सम्बन्धविच्छेद भयो। यतिबेला उनी अमेरिकी राज्य कनेक्टिकटमा आफ्ना दुई छोरीसँग बस्दै आएकी छन्। यसअघिको सम्बन्धबाट उनको एउटा छोरा पनि छ।

सुरुका आरोहणमा सगरमाथा नेपाली झण्डा गाडेकी लाक्पाले यस पटकको आरोहणमा भने अमेरिकी झन्डा बोकेको समेत बीबीसीले उल्लेख गरेको छ।

यद्यपि, लाक्पाले आफ्नो मिहिनेत र सोही अनुसारको प्राप्ति भने हालसम्म कुनै पनि सम्मान र पहिचानमा परिणत हुन सकेको छैन। सगरमाथाकी रानी भनेर चिनिने लाक्पाले आफ्नो प्रगतिलाई सञ्चारमाध्यमले स्थान नदिएको र र आफ्नो गुजारा चलाउन न्यूनतम ज्यालामै काम गर्दै आएको उनले बीबीसीसँग बताएकी छन्। ‘म धेरै पैसा कमाउँदिन। कहिलेकाहीँ लुगा किन्न र कपाल काट्ने पैसा समेत हुँदैन। मेरा सन्तानहरुलाई हुर्काएर अर्को पल्ट सगरमाथा पुनः सगरमाथा फर्किनमा केन्द्रित हुनेछु,’ उनले भनेकी छन्।

सगरमाथा आरोहणको क्रममा दुई पटक गाइडको रुपमा काम गरेकी उनले अन्य पटकको आरोहणमा भने आफ्ना आफन्त र परिवारका सदस्यले सहयोग गरेको बताएकी छन्। नवौं पटकको आरोहणका लागि प्रायोजन पाएकी उनले दसौं पटकको आरोहण खर्च भने क्राउड फन्डिङबाट जुटाएकी हुन्।

यस पटकको हिमाल आरोहणपछि आफूले संसारको दोस्रो अग्लो शिखर केटु पर्वत चढ्ने योजना बनाएकी छन्। भविष्यमा आफ्ना छोरा र छोरीहरुसँगै सगरमाथा आरोहण गर्ने योजना बनाएकी उनले तत्काल आरोहणबाट बिदाइ नलिने उनले बताएकी छन्।

‘जीवनको चुनौतीलाई सामना गर्दै यहाँसम्म पुगें। हिमालले मलाई खुसी र आनन्दित बनाएका छन्। म कहिल्यै हार खाने छैन। जवान दिदीबहिनीहरुले पनि आफूले चाहेको पूरा गर्न कहिल्यै हार नखाउन् भन्ने चाहन्छु,’ लाक्पाले भनेकी छन्।

-बीबीसीबाट

३१ बैशाख, २०७९, १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।