सुर्खेतका ९१ मध्ये ९० मतदान स्थलमा मतदान सम्पन्न

सुर्खेतका ९१ मध्ये ९० मतदान स्थलमा मतदान सम्पन्न

सुर्खेत : सुर्खेतका ९१ मतदान केन्द्र मध्ये ९० मा मतदान सम्पन्न गरिएको छ। शुक्रबार बिहान ७ बजेदेखि भएको मतदानमा सुर्खेतको सिम्ता गाउँपालिकाको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ। सिम्ता गाउँपालिका–१ खनेटा स्थित भगवति माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेदेखि मतदान स्थगित भएको थियो।

मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको भन्दै दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि मतदान स्थगित भएको सिम्ताका निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए। सापकोटाले थप सुरक्षा व्यवस्था थप कडा नगरेसम्म मतदान सुचारु गर्न नसकिने भएपछि स्थगित गरिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले बताए।

उनका अनुसार  निर्वाचन आयोगले निर्णय गरेर मात्रै पुन मतदान हुने छ। शनिबार मात्र गणना हुने निर्वाचन अधिकारी चालिसेको भनाइ छ। यसैबीच स्थानीय तहको निर्वाचनमा मतदान गरी घर फर्कँदै गर्दा सुर्खेतको बराहताल गाउँपालिका–२, रानिघाटमा हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब २ बजेको समयमा सोही ठाउँको माथिल्लो रानिघाटमा हावाले भाचेको रुख लागेर बराहताल–२ गिरीघाटका ६८ वर्षीय लालबहादुर पुलामीको घटना स्थलमै मृत्यु भएको हो। पुलामी बराहताल–२ कै रानिघाटमा रहेको भेरी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोट हाली घर फर्कँदै थिए । पुलामी २०७१ मा भेरी नदीमा आएको बाढीबाट विस्थापित भएर गिरीघाटमा बस्दै आएका थिए।

उनी बिहीबार मात्र मतदानका लागि एक पार्टीको गाडी चढेर रानिघाट गएका थिए। शुक्रबार आएको भीषण हावाहुरीसहित परेको पानीले वीरेन्द्रनगरमा पनि ठुलो क्षति भएको छ। हावाका कारण सुर्खेत लगायत कर्णालीका ६ जिल्लामा विधुत सेवा अवरुद्ध भएको छ। कोहलपुर–सुर्खेत खण्डमा करिब एक सय बढी पोल ढलेका छन्, भने इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ।

३० बैशाख, २०७९, २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।