ओलीको दावी- देश दुई दलीय प्रणालीमा गयो, एमाले एउटा अरू मिलीजुली

ओलीको दावी- देश दुई दलीय प्रणालीमा गयो, एमाले एउटा अरू मिलीजुली
तस्बिरहरू: कृष्पा श्रेष्ठ

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मा वि मतदान केन्द्रमा गई उनले मतदान गरेका हुन्।

उनीसँगै उनको श्रीमती राधिका शाक्यले पनि मतदान गरेकी छिन्। दुवै जनासँगै गएर मतदान गरेका हुन्।

मतदान गर्नेक्रममा मास्क लगाएर गएका ओलीले पछि मास्क खोलेर फोटो खिच्नेहरूलाई पोज उपलब्ध गराएका थिए।

मतदानपश्चात् उनले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको बताएका छन्। उनले भने, 'उहाँले औपचारिक प्रस्ताव गर्नुभएको थियो। तर, मैले देशलाई द्वन्द्वमा लैजानुहुँदैन, तपाईं अलोकतान्त्रिक बाटो नहिँड्नुस भनेर राम्रैसँग खबर पठाइदिएँ।’

उनले याे कुरा आफूले आज पहिलाे पटक सार्वजनिक गरेकाे पनि बताए।

यस्तै उनले अब मुलतः देश दुई दलीय प्रणालीमा गएको पनि बताए। 'आखिर कांग्रेस पनि एक्लै लड्ने स्थितिमा रहेन। वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन। अब क्रमशः दुई दलीय प्रणालीमा जान बाध्य भो। अब एमाले एउटै दल, अरू मिलिजुली दल', उनले भने।

अरू एउटै पार्टी भए वा मिलिजुली आए पनि एमालेलाई फरक नपर्ने उनले दावी गरे।

३० बैशाख, २०७९, १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।