काठमाडौंः स्थानीय तह निर्वाचनको कारण देशैभरका विद्यालयहरू आजबाट ६ दिनसम्म बन्द हुने भएका छन्। निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मतदान केन्द्र राखिएको, धेरै शिक्षक निर्वाचनमा खटाइएको र शिक्षक तथा विद्यार्थी मतदान गर्न जाने भएकाले आजदेखि अगामी जेठ २ गतेसम्मका लागि विद्यालय बन्द गरिने भएको हो।
उकेरा शिक्षा
आजबाट ६ दिन विद्यालय बन्द, शुक्रबार पनि अब पूरा अवधि पठनपाठन हुने

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाईलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले ६ दिन विद्यालय तथा कार्यालय बन्द हुने भएको हो।
यस्तै अब जेठ १ गतेबाट आइतबार पनि सार्वजनिक बिदा हुने भएकाले विद्यालयहरूमा शुक्रबार पूरा अवधि पठनपाठन हुने भएको छ।शुक्रबार ४ बजेसम्म नै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय भएको छ।
शिक्षा मन्त्रालयले यो निर्णय कार्यान्वयन गराउन शिक्षा विकास तथा समन्वय एकाई सानोठिमीलाई परिपत्र समेत गरेको छ।
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरेअनुसार पाठ घण्टा र कार्य घण्टामा नघट्ने गरी पठनपाठनका कार्य सञ्चालन गर्न आइतबार बिदा दिँदा अपुग भएका समय हिउँदे, बर्खे र अन्य बिदामा कटाइ पूर्ति गर्ने व्यवस्था गर्ने गरी वार्षिक क्यालेण्डर तयार पारिने भएको छ।
२०७९ वैशाख २९ गते १२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।