उकेरा एंकर

इन्जिनियरिङको छायामा हेपिएको आर्किटेक्चर: संसारमै नभएको ‘आर्किटेक्ट इन्जिनियर’को पद पनि नेपालमै


संसारभर कामको प्रकृतिअनुसार आर्किटेक्चर र इन्जिनियरिङ फरक विधा वा क्षेत्र हो। दुवै फरक विधा भएकाले यी दुवैसँग सम्बन्धित विषय हेर्ने निकाय पनि अलग अलग नै हुन्छन्। 

एउटा इन्जिनियरिङ परियोजना सफल हुन आर्किटेक्ट र इन्जिनियरको भूमिका परिपूरक मानिन्छ। र पद पनि दुवैको अलग अलग नै हुनेगर्छ। 

आर्किटेक्टलाई आर्किटेक्टकै पद दिइन्छ भने इन्जिनियर (विषयअनुसार)लाई इन्जिनियरकै पद दिइन्छ। सिभिल, मेकानिकल, अटोमोबाइल, कम्प्युटर, केमिकल इन्जिनियर आदि गरी विषयगत हिसाबमा इन्जिनियर विभिन्न किसिमका हुने गर्छन्। 

तर, नेपालमा भने अझै पनि आर्किटेक्ट र इन्जिनियरबीचको भिन्नता छुट्टिन सकेको छैन। नेपाल इन्जिनियरिङ काउन्सिल (एनईसी)ले आर्किटेक्ट र इन्जिनियरको लाइसेन्स उपलब्ध गराउँछ। तर काउन्सिलले आफ्नो वेवसाइटमा इन्जिनियरहरूलाई विषयगत हिसाबले अलगअलग राखे पनि आर्किटेक्टलाई भने ‘आर्किटेक्ट इन्जिनियर’ भनि पद दिएको पाइन्छ। 

यसमा सम्बन्धित निकायका व्यक्तिहरूले चासो व्यक्त गर्दै आएका छन्। 

आर्किटेक्चरल र इन्जिनियरिङ डिग्री हासिल गरिसकेपछि मात्र आर्किटेक्ट र इन्जिनियरको लाइसेन्स प्राप्त हुन्छ। सोहीअनुसार व्यक्तिले आफ्नो नामको अगाडि आर्किटेक्ट (आ.) र इन्जिनियर (ई.) राख्ने प्रचलन पनि छ। 

तर, सम्बन्धित क्षेत्रका व्यक्तिहरूको भनाइलाई आधार मान्ने हो भने- नियमनकारी निकायले पदमा अन्यौलता सिर्जना गरेको  छ। 

‘वास्तवमा जुन डिग्री पढेको हो त्यहीअनुसारको प्रोफेसनल टाइटल पाउने हो। काउन्सिलले आर्किटेकटलाई ‘आर्किटेक्ट’ र इन्जिनियरलाई ‘इन्जिनियर’ टाइटल दिएर अलगअलग सूची बनाएर राख्नुपर्ने हो’, स्ट्रक्चरल इन्जिनियर एआर तुलाधर भन्छन्, ‘तर काउन्सिलले ‘आर्किटेक्ट इन्जिनियर’ भनेर आफ्नो वेवसाइटमा राखेको छ। आर्किटेक्ट भनेको इन्जिनियर होइन। त्यसैले आर्किटेक्ट इन्जिनियर राख्न पाइँदैन।’ 

वास्तवमा आर्किटेक्टले संरचनाको सौन्दर्यसँगै सम्पूर्ण पाटो राम्रोसँग हेर्छ र सोहीअनुसार डिजाइन तयार पार्छ। संरचना डिजाइनको चरणदेखि सम्पन्न हुनेबेलासम्म संरचनाको दीगोपन, सुरक्षा लगायत समग्र पाटो आर्किटेक्टले हेर्ने गर्छन्। 

अर्कातिर चाहे सिभिल/स्ट्रक्चरल, मेकानिकल, इलेक्ट्रिकल, केमिकल, जियो टेक्निकल आदि जुनसुकै इन्जिनियर किन नहोस् उनीहरूले वैज्ञानिक सिद्धान्त अर्थात् संरचनाको टेक्निकल पाटो हेर्ने गर्छन्। 

सोही कारण संसारभर नै  इन्जिनियर र आर्किटेक्ट पदलाई अलग मानिन्छ। नेपालमा भने सीमित समूहबाहेक अन्यमा यसबारे स्पष्ट धारणा बनिसकेको छैन।

काउन्सिलको ‘आर्किटेक्ट इन्जिनियर’ पदमा आर्किटेक्टहरूले आपत्ति जनाउँदै आएका छन्। तर काउन्सिलले आर्किटेक्टलाई चिनाउने अभ्यास समेत नगरेको आ. खनालको आरोप छ।

आर्किटेक्ट र इन्जिनियरबीचको भिन्नता राम्रोसँग नबुझेको अवस्थामा काउन्सिल स्वयम्ले आर्किटेक्टलाई ‘आर्किटेक्ट इन्जिनियर’ भनेर वर्गीकरण गर्दा थप जटिलता उत्पन्न हुने ई. तुलाधार बताउँछन्। 

उनी भन्छन्, ‘नियमनकारी निकायबाटै यस्तो अपेक्षा थिएन। काउन्सिलले नै आर्किटेक्टलाई इन्जिनियर भनिदिँदा आर्किटेक्ट कुन हो र इन्जिनियर कुन हो भन्ने नै गोलमाल भयो। यसलाई काउन्सिलले तत्काल सच्याउने छ भन्ने अपेक्षा गरेको छु।’

‘आर्किटेक्ट इन्जिनियर’ पदबारेको यो बहस नौलो भने होइन। आर्किटेक्ट र इन्जिनियर अलग अलग पद भएको र समाजमा पदको पहिचान जरुरी भएको भन्दै बेलामौकामा सामाजिक सञ्जालमार्फत विभिन्न बहसहरू पनि चल्ने गर्छ। 

भवन र सडकको काम गर्ने सबै व्यक्ति इन्जिनियर नै हुन् भन्ने आमबुझाइ रहेको नेपाली समाजले आर्किटेक्ट र इन्जिनियरबीचको भिन्नता छुट्याउन सकेको छैन।


काउन्सिलको वेवसाइटमा रहेको एक आर्किटेक्टको विवरण। यहाँ आर्किटेक्टलाई आर्किटेक्ट इन्जिनियरको पद दिइएको छ।

नेप्लिज सोसाइटी अफ आर्किटेक्टस (सोना)का पूर्व महासचिव समेत रहेका आ. सुरज खनाल आफू आर्किटेक्ट भए पनि आफ्नो टोलबासीहरूले समेत इन्जिनियर भनेर चिन्ने बताउँछन्। 

‘कार्यक्षेत्रमा जाँदा स्थानीयले आर्किटेक्ट भनेको के हो भनेर सोध्दा इन्जिनियर भनेर चिनाइदिनुपर्छ। मलाई पनि टोलमा इनिजनियर भनेरै चिन्छन्’, उनी सुनाउँछन्, ‘पहिले पहिले नेपालमा आर्किटेक्चरल विषय पढाइ हुँदैनथ्यो भने आर्किटेक्ट एकदम कम हुन्थे। सरकारी होस् वा अन्य निकाय, आर्किटेक्टको दरबन्दीमा पनि इन्जिनिर भनेर चिनाए। यस्तोखाले अभ्यासले आर्किटेक्ट पनि इन्जिनियर नै भनेर चिनिन थाल्यो। यो पहिलेदेखिकै मुद्दा हो। हामीले यस विषयमा पटक पटक आवाज उठाउँदै आएपनि अझै सुनुवाइ भएको छैन।’

काउन्सिलको ‘आर्किटेक्ट इन्जिनियर’ पदमा आर्किटेक्टहरूले आपत्ति जनाउँदै आएका छन्। तर काउन्सिलले आर्किटेक्टलाई चिनाउने अभ्यास समेत नगरेको आ. खनालको आरोप छ। 

‘आर्किटेक्ट हो भन्दा समाजले इन्जिनियर भनेर चिने पनि कमसेकम काउन्सिलले भने चिन्नुपर्ने हो। आर्किटेक्ट र इन्जिनियरबीचको भिन्नता नबुझेपछि कति जनालाई बुझाउँदै हिँड्ने अब?’ उनी भन्छन्, ‘पदको पहिचान काउन्सिलबाटै सुरु गर्नुपर्ने हो। त्यहाँबाट अभ्यास भएन। पदको भिन्नताबारे बुझाउन सोनाको तर्फबाट पनि अभियान गर्यौँ त्यसले पनि काम गरेन। यसबाट मुक्ति पाउन हामीले ठूलै अभियान नै थाल्नुपर्ने देखिन्छ।’

संसारभर कतै पनि 'आर्किटेक्चरल इन्जिनियरिङ' वा 'आर्किटेक्ट इन्जिनियर' लेखिँदैन। तर नेपालमा भने आर्किटेक्टको स्वतन्त्र चिनारी नै नभएको खनाल बताउँछन्। 

‘लोकसेवामा पनि आर्किटेक्टको दरबन्दी इन्जिनियरको दरबन्दीअन्तर्गत राखिएको हुन्छ। काउन्सिल मात्र नभई इन्जिनियरिङ अध्ययन संस्थान आइओईले पनि फारम भर्दा आर्किटेक्चरल इन्जिनियरिङ भनेर राखिदिएको हुन्छ। यी सबै निकायले कदम नचालुञ्जेल हाम्रो चिनारी यस्तै रहने देखिन्छ’, उनी भन्छन्। 

‘आर्किटेक्ट, इन्जिनियर कहिल्यै पनि होइन र हुँदैन पनि। आर्किटेक्ट, आर्किटेक्ट नै हो र इन्जिनियर, इन्जिनियर नै हो। दुवै छुट्टाछुट्टै हो’

सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (एससीएईएफ)का अध्यक्ष ई. टुकलाल अधिकारी यो विषय बहसयोग्य भएको र यसलाई छुट्टाछुट्टै तरिकाले पहिचान गराउनुपर्ने बताउँछन्। 

‘शैक्षिक योग्यताको हिसाबले या त आर्किटेक्ट मात्र हुन्छ, या इन्जिनियर मात्र। आर्किटेक्ट इन्जिनियर भन्ने हुँदैन, एउटैमा भन्ने गरेको पनि छैन’, उनले भने। 

उनी आर्किटेक्टहरूले फरक पहिचान खोजिरहेको बताउँछन्। 'हाम्रो देशमा यतिबेला आर्किटेक्टहरूले फरक पहिचान खोजिरहेको अवस्था छ। आर्किटेक्चरमाथि इन्जिनियिरिङ बढी हावी भएकोले आर्किटेक्टहरू इन्जिनियरको अलिकति छायामा पर्यो भन्ने छ उहाँहरूको। त्यसैले यो अलगअलग तरिकाले पहिचान दिलाउनुपर्ने हो। यदि भएन भने बहसको विषय हो’, उनले भने। 

काउन्सिल के भन्छ? 
नेपालमा आर्किटेक्चरलको पठनपाठन इन्जिनियरिङ कलेजअन्तर्गत नै हुँदै आएको छ। यसको अध्ययनका लागि कुनै अलग संस्था छैन। न त आर्किटेक्चरल सम्बन्धी छुट्टै काउन्सिल नै छ। 

आर्किटेक्चरल विषय अध्ययनपश्चात उत्तीर्ण भएका विद्यार्थीले नेपाल इन्जिनियरिङ काउन्सिल (एनईए)मा आफ्नो नाम दर्ता गराउँछन् र प्रक्रियाअनुसार आर्किटेक्टको लाइसेन्स प्राप्त गर्छन्।

तर आफ्नै वेवसाइटमा राखिएको ‘आर्किटेक्ट इन्जिनियर’को सूचीलाई भने काउन्सिलका अध्यक्ष डिल्लीरमण निरौला नै पत्याउँदैनन्। 

‘आर्किटेक्ट, इन्जिनियर कहिल्यै पनि होइन र हुँदैन पनि। आर्किटेक्ट, आर्किटेक्ट नै हो र इन्जिनियर, इन्जिनियर नै हो। दुवै छुट्टाछुट्टै हो’, उनले भने।

उनले थप भने, ‘परीक्षामा पनि बीई इन्ट्यान्स, बिई आर्क भन्छ। अनि उनीहरूलाई आर्किटेक्ट नै भनेर दर्ता गरिएको छ। सिभिललाई सिभिल इन्जिनियर भनेझैं अरूको पनि सोहीअनुसार सूची राखिएको छ। इन्जिनियरिङ दर्ता हो भन्ने बुझ्नुपर्छ। यो इन्जिनियरिङ काउन्सिल हो, आर्किटेक्चरल काउन्सिल होइन। यसमा आर्किटेक्ट र इन्जिनियर दुवैको पदलाई अलगअलग तरिकाले दर्ता गरिएको हो।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता दिन सकेन, सहकारी दर्ता अधिकारीको कार्यालय भन्छ- लिखित उजुरी आएको छैन

‘पहिले ब्याज बढी दिने भनेर रकम जम्मा गरियो। १८ लाखसम्मको कारोबार समेत सहकारीमा भयो। तर सहकारी सङ्कटमा पुगेपछि रकम पाउन अप्ठयारो भएको छ। पटक पटक....

रुपन्देहीका उद्योगमा नौ घण्टा ‘अघोषित लोडसेडिङ’, प्राधिकरण भन्छ- ‘विद्युत् भार व्यवस्थापन’

प्राधिकरणले एक हजार केभीएभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगलाई बिहान ७ देखि ११ बजेसम्म र साँझ ५ देखि १० बजेसम्म बत्तीबाहेक उद्योगका प्लान्ट नचलाउन मौखिक....

गृहमन्त्री रविलाई बारीमा शव फेला परेकी निरुको बाबुको प्रश्न' मेरो छोरीको हत्यारालाई पक्राउ गर्न चैँ निर्देशन दिन मिल्दैन?'

भोलिपल्ट पनि उनी घर नआएपछि कतै भागेर गइन् भन्ने सोचे। परिवारले यताउता सोध्न थाले। जजसलाई सोधे कसैले पनि निरुबारे केही बताउन सकेनन्। तीन दिनदेखि हराइरहेकी....

हक्की स्वभावकी रश्मि जसलाई लाग्छ नसक्ने काम केही छैन, भिड्ने आँट चैँ हुनुपर्छ

उनले ढाँटिनन्। 'मलाई बैकिंग क्षेत्रमा त्यति रुचि छैन' केही समय अन्तर्वार्ताकारहरू अलि चकित भए। 'मन नपर्ने पेसामा किन अन्तर्वार्ता दिन आएको त?' भन्ने पूरक प्रश्नमा....

बुटवलका मेयरले दिने भनेको बसोबास प्रमाणपत्रलाई लिएर भूमि आयोग र उपमहानगरबीच विवाद, अध्यक्ष भन्छन्, 'प्रधानमन्त्रीको पनि होइन, मेरो हस्ताक्षर चल्छ'

कानूनमा कहीँ कतै व्यवस्था नभएको बसोबासको प्रमाणपत्र वितरण गर्न लागेपछि भूमि आयोग रुपन्देहीले त्यसको कुनै वैधानिकता नभएको बताएको छ। यता अव्यवस्थित बसोबासका जानाकारहरू पनि यसरी....