अनमोलसँग जोडी बाँधिने जसिताको दोस्रो प्रयास भयो असफल

अनमोलसँग जोडी बाँधिने जसिताको दोस्रो प्रयास भयो असफल
एन्टी हिरो साइन गर्दै जसिता।

काठमाडौँ : नेपाली फिल्ममा करिअर बनाउन नेपाल आएकी बेलायत निवासी जसिता गुरुङले युवा स्टार प्रदीप खड्कासँग ‘लिलीबिली’ अनि ‘लभ स्टेसन’ मा अभिनय गरिन्। 'लिलीबिली' डेब्यु फिल्म थियो। राम्रै रेस्पोन्स पाइन् उनले। 'लभ स्टेसन' पछि भने फिल्म घोषणा हुने मात्र भयो उनको।

प्रदीपसँगको जोडी पर्दामा ठिकै देखिए पनि उनका लागि लक्की चार्म भने हुन सकेनन् उनी। अनमोल केसी लक्की चार्म हुन्छन् कि भनेर उनले रिलमा जोडी बाँधिने प्रयास नगरेकी हैनन्। तर जुर्दै जुरेन।

यो बिचमा उनले फिल्म ‘आई एम ट्वान्टी वान’मा काम गरिन्। त्यसपछि उनको हातमा अर्को फिल्म आएन।

अनमोलका बाबु भुवन केसीले ‘एन्टी हिरो’ बनाउने भन्दै उनलाई साइन नै गराएका थिए। उनको अपोजिट रोलमा अनमोल हुने नै भए। तर भुवनले फिल्म नै बनाएनन्। उनी कुरिरहिन्। तर भुवनले वास्ता गरेनन् घोषणा गरेको फिल्म बनाउन।

अनमोल पनि अन्य निर्माताहरूको फिल्मतिर लागे। जसिता फुर्सदमै रहेको बेलामा फिल्म ‘हनी बनी’ को अफर आयो। उनी तयार नहुने कुरै थिएन। उनले साइन गरिन्। पहिला फिल्ममा अनमोल र सारा श्रीपालि अनुबन्ध भएका थिए। बेलायतमा छायाङ्कन गर्ने योजना थियो निर्माण टिमको। तर सारालाई बेलायतले भिसा दिएन।

फिल्म अभिनेत्रीहीन भएर बस्यो। अनि अनमोललाई दिक्क लागेछ क्यार हिरोइन नै फिक्स भएन भनेर फिल्म छाडिदिए। तर नायिकाको रूपमा जसिता फिल्ममा भित्रिइन्। अनमोल बाहिरिए।

अनमोलसँग जोडी बाँधिने उनको दोस्रो प्रयास पनि सफल भएन। अनमोलको स्थानमा अब कुन नायक लिने पक्का गर्न सकेको छैन निर्माण टिमले। अब अनमोलै त के फर्केलान् र!

२७ बैशाख, २०७९, १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।