पत्रकारिताका सदाबहार डन

पत्रकारिताका सदाबहार डन
तस्बिर : कृष्पा श्रेष्ठ

स्थानीय तहमा राजनीतिको राप र ताप बढ्दो छ। एकातिर सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र अनि एकीकृत समाजवादी सहितको पाँच दलीय गठबन्धन छ। अर्कातिर एमाले, राप्रपा नेपाल र परिवार दल सहितको अर्को गठबन्धन।

स्थानीय चुनावको नतिजा आफ्नो पक्षमा पार्न धम्क्याउने, घुर्क्याउने, फकाउने अनि त्रास फैलाउने प्रयास भइरहेका छन् दुवै पक्षबाट।

समाज परिवर्तन गर्न सकिएला कि भनेर केही युवा स्वतन्त्र उम्मेदवार बनेर सेल्फी प्रचारको म्याराथनमा पनि छन्। कोही अटेर गर्ने प्रयासमा छन्। तर सामाजिक मञ्च स्थानीय मुद्दामा केन्द्रित हुनै सकेका छैनन्। 'त्यसको मुखै हेर्न मन लाग्दैन, त्यो त सर्प रहेछ, भोट नदिए बजेट दिन्न' दलका नेता, सामाजिक सञ्जाल या मिडिया यस्तै गालीगलोजको दबदबा छ।

यही माहोलबाट केही समय भए पनि मन र मष्तिस्कलाई आराम दिन परिचत नम्बर डायल गरें। समय मिल्यो। अनि बत्तीसपुतलीमा रहेको 'बाजेको सेकुवा'मा प्रतीक्षामा रहें एक आगोको जो नेपाली पत्रकारितामा चार दशकभन्दा बढी समयदेखि उस्तै ज्वालाका साथ बलिरहेछ। 

अब सहन सके न्यानो हुने अनि नसके पोल्ने त आगोको विशेषता नै हो नि। यो उसको प्राकृतिक गुण हो। आगोले कसैलाई पोल्छ नै कसैलाई ताप दिन्छ, ऊर्जा दिन्छ। यो आगोको नाम र उनको विचार पढ्दा केहीलाई पोल्न पनि सक्छ, न्यानो दिन पनि सक्छ। 

नेपाली पत्रकारिताका धेरै ट्रेन्डका सेटर, नयाँ सक्षम पुस्ता उत्पादनको ल्याकत राख्ने बौद्धिक कारखाना। आफ्नै पहिचान बनाइसकेका हरिबहादुर थापा, सुवास ढकालदेखि पहिचान बनाउँदै गरेकी सजना बरालसम्म उनकै मगजी कारखानाका उत्पादन हुन्। 

उनी जो जसले आफूलाई गुरु मान्छन् उनीहरुलाई चेला भन्न रुचाउँदैनन्। साथीभाइ, सहयोगी, सहकर्मी भन्छन्। उमेर ७१ टेक्दा पनि युवाहरुकै मगजसँग खेल्न रुचाउँछन्। उनीसँग बौद्धिक मन्थन गर्न निकट नै हुनुपर्छ भन्ने पनि छैन। परिचित/अपरिचित जसले सम्झन्छन् मन्थनका लागि तयार भइहाल्छन्।

उनै किशोर नेपालसँग अन्तरंग कुरा गर्न म पर्खाइमा थिएँ।

OOO
भर्खरै १५ वर्ष टेकेको ठिटो। कसरी-कसरी भारतका समाजवादी नेता राम मनोहर लोहियाको विचारबाट प्रभावित भए। भारतीय संसदमा लोहिया र नेहरुको भारतीय संसदमा बहस हुन्थ्यो। एक पटक लोहियाले भारतीय जनताको आम्दानी कति भन्ने बहसमा लोहियाले तीन आना दैनिक भने। नेहरुले तीन आना हैन पाँच आना दैनिक भनेर हप्तौं बहस गरे।

नेहरु सत्ताका थिए। उनको झुकाव लोहियातिर बढी भयो। त्यही प्रभावले किशोरकालमै किशोरले लोहियालाई पत्र लेखे 'तपाईँ जस्तो नेता नेपालमा पनि चाहियो। यहाँ पनि तपाईँ जस्तै नेता चाहियो' भन्दै। 

बानेश्वरको गणेशस्थान नजिकै भाइचा अनि बनेपालीको पसल थियो। उनी आफ्नो पत्रमा भाइचाको पसलको ठेगाना दिन्थे। त्यही ठेगानामा आएको पत्र चुहिँदा कलिलैमा उनी कारागार पुगे। मध्यरात १२ बजे सुरक्षा कानुनको पुर्जी दिएर थुनिदियो।

९ महिना काराबासको अनुभव बोकेर जब उनी बाहिरिए विद्यार्थी राजनीतिमा संलग्न भए। राजनीतिकै सिलसिलामा जनकपुर पुगेका उनलाई सरोज कोइरालाले पत्रकारितातिर पाइला मोडिदिए।

'सरोज कोइरालाले राजनीतिक गतिविधि गर्ने तर जनताले त्यसबारे थाहै नपाउने भयो भने आन्दोलन सफल हुँदैन। जनतामा पनि राजनीतिक चेतना बढाउनुपर्छ भन्नुभयो। जनकपुरमा त्यो बेलामा भीमबहादुर तामाङ पनि हुनुहुन्थ्यो। सरोजबाबुले नै पत्रिका खोजिदिनुभयो जनआकांक्षा,' किशोरले विगत कोट्याए।

राजनीतिक कार्यकर्ता हुनु समयको माग भएको अनि पत्रकारिता आफ्नो जीवनको लक्ष्य रहेको बताउँछन् उनी। सानै समयमा गरेको राजनीतिले उनलाई केही विषयमा सम्झौता गर्नुपर्ने रैछ भन्ने अनुभव गरायो। सम्झौतावादी यात्रा चित्त बुझेन र पत्रकारितामै रमाउन थाले।

२०२८ सालबाट सुरु भएको किशोरदाईको पूर्णकालीन पत्रकारिता यात्रा २०७८ मा साल टेक्दा पनि उस्तै सक्रिय छ। यो बीचमा उनी हकरदेखि प्रधानसम्पादकसम्म भए। उनले काम र नेतृत्व गरेका पत्रिकाहरु दर्जनौं छन्।

पुस्ता अनुसारका पाठकका लागि दैनिक पत्रिका मात्रै हैन 'नयाँसडक', 'साप्ताहिक', 'यो साता' अनि शुक्रबारसम्मको संस्थापक भए। बौद्धिक पाठकका लागि  'देशान्तर', 'नेपाल साप्ताहिक' देखि 'मिडिया रिडर' सम्म प्रकाशित गरे। दैनिकमा 'गोरखापत्र', 'कान्तिपुर' देखि 'नागरिक दैनिक' सम्मको समाचार कक्षको नेतृत्व गरे।

अहिले कुनै सक्रिय पत्रकारले कुनै दलबाट सरकारी नियुक्ति पायो कि उसको पत्रकारिता यात्रा समाप्त हुन्छ। पत्रकार एकाएक पार्टीको हनुमानमा रुपान्तरण हुन्छन्। भइरहेकै छन्। उनी नेपाल टेलिभिजनको अध्यक्ष, गोरखापत्र संस्थानको महाप्रबन्धक हुँदै कृष्णप्रसाद भट्टराइको प्रेस सल्लाहकार समेत भए।

यी राजनीतिक नियुक्तिमा दु:ख मान्दैनन्, गर्व गर्छन् किशोरदाई। उनले नेपाल टेलिभिजनको अध्यक्ष हुँदा आधुनिक क्यामेरा भित्र्याए, गोरखापत्र संस्थानको नेतृत्वमा रहँदा रंगीन पत्रिका बनाइदिए। उनी गर्वका साथ भन्छन्, 'गोरखापत्रको इतिहासमा जम्मा २ जनाले काम गरे। पहिलो देवशमशेर जसले यसको प्रारम्भ गरे। अर्को किशोर नेपाल जसले रंगीन बनायो। अरुले जागिर मात्र खाए।' 

उनको शरीरका अवयवहरुले बुढ्यौलीको उकालीका संकेत गरेका छन्। तर उनी 'दाइको उमेर कति भयो' भन्ने प्रश्नको उत्तर दिन त्यति रुचाउँदैनन्। किन चाहियो उमेर, जोश हेरे भएन? भनेर उल्टै प्रतिप्रश्न गर्छन् उनी। मेरो प्रश्नमा पनि उनले ७१ वर्षमा टेकेको भन्न रुचाएनन्।

७१ वर्षमा हिँडिरहे पनि किशोरदाई उत्तिकै सक्रिय अनि जुझारु छन्। उनको जीविकोपार्जनको माध्यम विचार मन्थन नै हो। तर तलबी रुपमा कतै आवद्ध छैनन्। फ्रिलान्सरको भूमिकामा छन् तर कुनै सक्रिय पत्रकारभन्दा बढी नै लेख्छन्।

बिहानै उठेर एक कफी लिएसँगै कुर्सी तानेर ल्यापटपमा औंला नचाउन मन पराउने किशोरदाई अहिले पनि पाँच हजार शब्द लेख्छन् दैनिक। कुनै विचार, कुनै विश्लेषण, कुनै समाचार त कुनै कथा जन्मिरहन्छ हरेक दिन उनको ल्यापटपमा।

किशोरदाईको लेखन उत्तिकै तातो छ, अन्यायमा परेकालाई न्यानो दिने। अन्यायीलाई पोल्ने। उनको लेखन उत्तिकै धारिलो छ, सहन सक्नेलाई सुरक्षित बाटो देखाउने सहन नसक्नेलाई घोच्ने।

OOO
१४ वर्षजति भयो होला मेरो किशोर नेपालसँग एकतर्फी परिचय भएको। त्यो बेला म नयाँ पत्रिकामा काम गर्थें। पत्रिकाका प्रकाशक तथा प्रधानसम्पादक कृष्णज्वाला देवकोटासँग भेट्न कलपोखरीमा भएको कार्यालयमा नेपाल आइरहन्थे।

दोस्रो तलामा न्युज रुम। तेस्रो तलामा अध्यक्ष तथा प्रधानसम्पादकको कोठा। यज्ञश, बुद्धिसागरहरु सहकर्मी। संयोग प्राय: गोलाकारमा रहेको बरन्डामा धुवाँको तलतल मेट्न भेला भएको बेलामा नेपाल आइपुग्थे लमक-लमक। यज्ञश दाजुको पहिल्यै दोहोरो परिचय भएको। 

यज्ञश दाजुलाई देख्नासाथ किशोर नेपाल सोध्थे- ओई! कृष्ण कहाँ छन्?

म लगायतका अधिकांशको संवाद नमस्कारमै टुंगिन्थ्यो। हाम्रो नमस्कारको प्रतिउत्तरमा उनी दाँया हात यसो निधारतिर लगेर फर्काउँथे। दोहोरो संवाद जुरेन।

नयाँ पत्रिकाबाट नागरिक दैनिकमा पुगेको केही समयपछि त्यतै भेट भयो 'शुक्रबार साप्ताहिक'को प्रधानसम्पादकको रुपमा। कान्तिपुरमा युवा लक्षित 'साप्ताहिक'को योजनाकार। उनैले रिपब्लिक मिडियाबाट त्यसको दोस्रो भर्सन 'शुक्रबार साप्ताहिक' प्रकाशित गर्ने तयारी गरेका रहेछन्, युवा लक्षित टेब्लोइडको अपग्रेड भर्सन।

म सुरक्षा विषयमा रिपोर्टिङ गर्थें। अब टेब्लोइडमा अपराध त मुख्य विषय हुने नै भयो। नागरिक संवाददाताकै रुपमा शुक्रबारमा पनि कन्टेन्ट दिन उनले गरेको आग्रहबाट दोहोरो संवाद मात्रै खुलेन सिङगलमाल्ट सहकार्यसम्म पुग्यो हाम्रो सम्बन्ध।

नेपाल संस्थापक प्रधानसम्पादक भएकै पत्रिकाको क्रेडिटलाइनमा 'सम्पादक केपी ढुंगाना' भनेर नाम छापिएको दिन पत्रकारिता गर्दाको सबैभन्दा मिठो आनन्द अनुभव भएको थियो। उनको नाम छापिने स्थानमै आफ्नो नाम छापिँदैमा 'किशोर नेपाल' त कहाँ बन्न सकिन्छ र। त्यो त अहिले नारायणहिटी संग्रहालयमा राखेको तत्कालीन राजाहरु बस्ने गद्दीमा बसेर 'म राजा भएँ' भने जस्तै त हो। तैपनि, मजा त आउँछ नि।

नागरिकको प्रधानसम्पादकको एक वर्षजति नेतृत्व गरेर उनी बाहिरिए पनि हाम्रो सम्बन्ध टाढिएन झन् कसिलो भयो। प्रधानसम्पादक र रिपोर्टरबाट गाँसिएको सम्बन्ध दाइ-भाइमा पुग्यो। आफ्नो पत्रकारिता यात्रामा आपत पर्दा 'लौ न दाइ' भन्दा कुनै लोभविना पार लगाइदिने, अनि उपलब्धिमा आफ्नै उपलब्धिझैँ पुलकित भएर 'नफुर्की, अझै गर्नुछ' भन्दै सचेत गराउने, सार्वजनिक मञ्चबाटै' यो अपराधी पत्रकारले लेखेको किताब गजब छ' भनेर मनैदेखि प्रशंसा गर्ने असल अभिभावक पाएँ। 

अहो! लेख्न बसेको किशोरदाइबारे तर आफ्नैबारेमा पो लेख्न थालेछु। अब उतै फर्किएँ।

OOO
भुईँतलामै सिसाले बारेको स्थानमा बसेको थिएँ म। घ्यु कलरको ज्वारीकोटमा चिर-परिचित अनुहार प्रवेश भयो परिसरमा। उही परिचित हिँडाइ लमक-लमक। परिसरमा भेटिएका केहीसँग नमस्कार आदान-प्रदान गरेर उनी सिधै आइपुगे जहाँ म थिएँ। त्यो ठाउँ हामी दुवैका लागि परिचितै थियो।

टेबुलमा उनैले स्वाद चखाएको 'अमेरिकानो सिङ्गल सट' थियो। उनले अर्डर दिए 'अमेरिकानो डबल सट।'

मैले गोजीबाट मोबाइल निकालेर रेकर्डर एप खोज्न थालें। म सकेसम्म उही पहिल्यै झैँअनौपचारिक मुडमा कुरा गर्न चाहन्थें, रेकर्ड भइरहेको छ भन्ने वातावरण नबनाई।

'चुनाव चिह्नसँग मानिसको आकर्षण कति बढेको हो। चुनाव चिह्न त्यति ठूलो कुरा हो र?' कुराकानीको प्रारम्भ स्थानीय तहकै निर्वाचनको माहोलबाट सुरु भयो। 

'नेपाली राजनीति र समाजबाट चिन्तनको प्रक्रिया विस्थापित भयो। जुन प्रकारको चिन्तन बिपी कोइरालाले गर्थे, कृष्णप्रसाद भट्टराईले गर्थे, त्यतिखेरका घाघडान पञ्चायती नेताहरुले गर्थे। अहिले त्यो छैन। अहिले न चिन्तनको प्रक्रिया छ न चिन्तनको लडाईँ। यस्तो नि समाज हुन्छ?'

उनी हल्का रिसाए। किशोरदाई रिसाउँदा आँखामा देखिन्छ आक्रोश। आँखा हल्का ठूला हुन्छन्।

'अब अहिले प्रचण्ड र शेरबहादुर मिल्नुको कारण के?,' किशोरदाई आफ्नै पारामा राजनीतिक विश्लेषणतिर लागे। मेरो भेटको उद्देश्य वर्तमान राजनीतिक अवस्थाबारे विश्लेषण सुन्ने थिएन। तर भाँजो हाल्न मन लागेन।

'धेरैलाई यो गठबन्धन सत्ताको लागि हो भन्ने लाग्छ। तर सत्ता ठूलो कुरा हैन। अहिले सत्ता ठूलो कुरा पनि हैन। उनीहरुलाई एमालेको त्रास छ अझ अहिले। केपी ओलीको त्रासले मिल्न बाध्य बनाएको हो।' 

अब उनी ओलीतिर केन्द्रित भए, 'अब केपी ओलीको बारेमा के भन्ने! त्यस्तो बुढोलाई अब घिनलाग्दो पनि कसरी भन्ने। तर त्यो व्यक्ति घिनलाग्दो हो। जसले माधव नेपालको नाम लिने वित्तिकै कुल्ला गर्नुपर्छ भन्छ, ऊ घिनलाग्दै हो।'

किशोरदाई विस्तारै सत्ताधारी गठबन्धनको विश्लेषणतिर लागे।

'त्यस्तो सबस्ट्यान्डर्ड व्यक्तिसँग डराउनेहरु झन् सब स्ट्यान्डर्ड भए। ओली सत्तामा फर्कने कुनै अवस्था छ? जसले २-२ पटक संसद विघटन गर्दा पनि केही गर्न सकेनन्। त्यो व्यक्ति सजिलै सत्तामा फर्कन सक्छ? यो त मतदातामाथि विश्वासै नभएको देखियो। यी नेताले सोचेजस्तो मुर्ख छैनन् नेपाली मतदाता,' उनले कफीको कपतिर हात बढाउँदै भने।

उनका विश्लेषण मेरा लागि कामलाग्दा थिए। त्यसैले सुनिरहें। उनी अब राज्यको संरचनातिर लागे, सर्वोच्च अदालत अनि नेपाल राष्ट्र बैंक।

'एक पटक शेरबहादुरले अदालत प्रयोग गरे। एक पटक ओलीले प्रयोग गरे। अब त्यस्तो संस्थालाई के भन्ने? सुशीला कार्कीदेखि चोलेन्द्रसम्मै प्रयोग नै त भए। त्यसको के अर्थ भयो र। अब यहाँको अर्थनीति खत्तम छ। राष्ट्र बैंकको गभर्नर कुनै शाख भएका व्यक्ति हुन्। उनी कसैको स्वार्थ पूरा गर्न ल्याएका व्यक्ति हुन्।' 

२०४६ सालको राजनीतिक परिवर्तन होस् या २०६२/०६३ काल। योभन्दा अगाडि माओवादी विद्रोह चर्को भइरहेको बेला टेलिभिजन कार्यक्रम 'मत-अभिमत' लिएर दुर्गम भेगका जनताको आवाज केन्द्रसम्म ल्याउन खटिएका किशोरदाइलाई लोकतन्त्रको माया नहुने त कुरै भएन।

'अब संस्थाहरुलाई बलियो बनाउनुसाटो यसरी पञ्चर बनाउँदै गयो भने लोकतन्त्र त सकिन्छ। शेरबहादुर या प्रचण्डले वा ओलीले जति फत्फताए पनि देशलाई विश्वासहीन अवस्थामा लैजाने काम भयो। यो सुखद संकेत हैन,' उनी बोलिरहे।

OOO
किशोरदाइको अर्को पाटो नि छ साहित्यको। यसबारे अहिलेका पुस्ता कमै जानकार हुन सक्छन्। २०२४ सालमै लुम्बिनी सन्देश साप्ताहिकमा उनको पहिलो कविता प्रकाशित भएको थियो। किशोर झुत्रे उपनाममा तर साहित्यमा कविताभन्दा पनि निबन्ध र कथाबाट परिचित छन्।

नेपाली संस्कृति, इतिहास र मानव विज्ञानमा एमए उत्तीर्ण अनि स्ट्यान्डफोर्ड जुनियर युनिभर्सिटीमा पत्रकारिता पढेका उनले २०५५ मा 'नेपाली पत्रकारिताको विकासक्रम' नामक पुस्तक प्रकाशित गरेर पुस्तक लेखनमा प्रवेश गरेका उनले २०७१ मा प्रकाशित 'मेरो समय' सम्म आइपुग्दा १० बढी पुस्तक लेखिसकेका छन्। त्यसमा 'पाताल' र 'शहरको कथा' मास्टरपिस लाग्छन् मलाई। 

'अब किताब नलेख्ने दाइ ?'

मेरो प्रश्नमा 'किन नलेख्ने यार! दिमागमा २-३ वटा उपन्यासका प्लट घुमिराखेका छन्। अहिले चैँ 'मेरो समय'को तेस्रो संस्करण निस्कँदै छ। त्यसपछि जमेर लेख्नछु,' उनले फोटो खिचिरहेकी कृष्पातिर हेर्दै भने।

मेरो उद्देश्य पत्रकारिताबारे बढी केन्द्रित भएर कुरा गर्ने थियो। तर विषय कता-कता मोडिइरहेका थिए। अब त्यतै केन्द्रित हुने प्रयासमा लागें।

OOO
२०१७ साल पुस १ गतेबाट २०३६ सालसम्म नेपालमा पत्रकारिता नभएको उनको अनुभव छ। पत्रिका त निस्कन्थे। तर पाठकसम्म पुग्नै पाउँदैनथे। सत्ताको मुठीमा थियो त्यो बेलाको पत्रकारिता। पढ्ने सामग्री त्यति हुँदैनथ्यो। २०३६ पछिको अवस्थामा राजनीतिक चहलपहलसँगै पत्रकारितामा पनि चहलपहल बढेको थियो।

२०४६ सालको राजनीतिक परिवर्तनपछि निजी मिडिया हाउसहरु पनि अगाडि आए। अहिले त ठूला-साना कति मिडिया हाउस हुन् कति। संख्या बढे पनि गुणस्तर खस्कँदै गएको अनुभव छ उनको।

'त्यो बेलामा पत्रकारिता चेतनाको झिल्को बोक्थ्यो। सरकारलाई समेत सचेत गराउँथ्यो। तर अहिलेको पत्रकारिता त सरकार जस्तै भयो। अब जसले सचेत गराउने जिम्मेवारी पाएका छन् उनीहरु नै सरकारको सहयोगी भएपछि के-को झिल्को?,' उनले भने।

खुला समाजसँगै सञ्चार क्षेत्रमा आलोचनात्मक चेत बढ्नुपर्नेमा थप खस्किएको किशोरदाइको अनुभव छ। पत्रकारिता नाफा-घाटाको लेखाजोखामा थिचियो भन्छन् उनी। उनको विश्लेषणमा कति सत्यता छ त्यो अहिले मिडियाका सामग्री हेर्दा देखिन्छ पनि।

आजै( शनिबार) हिमाल मिडियाले आयोजना गरेको मिडिया मेलामा सेतोपाटीडटकमका प्रकाशक तथा प्रधान सम्पादक अमित ढकालले भने, 'सत्तालाई प्रश्न गर्ने कुरामा नेपाली मिडिया चुकेको छैन। सायद त्यहाँबाट रेभिन्यु नआउने भएर होला।'

आफैँ मिडिया हाउस चलाएर बसेका ढकालको यो अनुभवले नै अहिलेको मिडियाले कसरी कन्टेन्ट उत्पादन गरिरहेका छन् भन्ने देखाउँछ।

नेपालको भनाइ पनि उस्तै आएको थियो शुक्रबार भएको कुराकानीमा।

नामै लेख्नु भन्दै किशोरदाइले भने, 'कैलाश सिरोहिया, विनोदराज ज्ञवाली, रामेश्वर थापा अहिले जतिले अखबार निकालेका छन्। उनीहरुले व्यापार गरेका हुन्। कान्तिपुरकै उदाहरण दिन्छु। त्यो पत्रिकाको पहिलो र दोस्रो पृष्ठमा पूरा पेज रक्सीको विज्ञापन छ। त्यसको पछाडि पनि विज्ञापनै हुने हो। अनि तेस्रो पानाबाट मात्र न्युज सुरु हुन्छ। जुन पत्रिकाको पहिलो पेज रक्सीबाट सुरु हुन्छ त्यसको चेतनास्तर के होला। पत्रिका निकाल्न पैसा चाहिन्छ। तर पत्रकारिताको अस्मिताको पनि त ख्याल राख्नुपर्यो नि। यो एक उदाहरण मात्रै दिएको है। कसैले पत्रकारिताको अस्मिता राख्ने काम गरेका छैनन्।'

सरकारी पत्रकारिताभन्दा निजी पत्रकारिता खतरनाक रुपमा अगाडि बढेको उनी बताउँछन्। अहिले पत्रकारितामा एक पैसाको नैतिकता नभएको ठोकुवा पनि गर्छन् किशोरदाई।

केही आक्रोशित हुँदै उनले भने, 'अहिले कुन चैनी सम्पादक निर्भिक सम्पादक भनेर हिँड्न सक्छन्? यहाँ एक जना प्रणय राय देखिएको छ?, एक जना अरुण सौर्य देखिएका छन्?, टाढा किन जानु भारतमै हेरौं न, एक जना अरुण पुरी देखेका छौँ? ल म छु भनेर को आउँछ हेरौँ त। मेरो चुनौती नै भयो।'

उनले 'केपीलाई मेरो रिक्वेस्ट छ भन्दै भने, 'यहाँ एउटै टेलिभिजनले सबैलाई रिङग्याइरहेको छ। विजयकुमारको पाङ न पुच्छरको गफ अनि रवि लामिछानेको उफ्र्याईँ बाहेक अहिलेको टेलिभिजन पत्रकारितामा के छ? मैले भन्नै पर्छ अलि गतिलो भनेको त्यही कान्तिपुर टेलिभिजनको रुपेश श्रेष्ठको फायर साइड छ बरु। मैले भनेको कुरा बुझ। पत्रकारिताको अस्मिता राख्न कोही न कोही रामनाथ गोयन्का हुनैपर्छ।'

पञ्चायतकालमा पनि पत्रकारिता गर्दा केही गल्ती भएको स्वीकार्छन् उनी। त्यो बेला पञ्चायत पक्षधरको समाचार बिगारेरै प्रकाशित गरेको उनले स्वीकारे।

त्यो बेलामा लोकतन्त्र पक्षधरहरु अल्पमतमा रहेकाले यस्तो भएको तर्क गर्दै उनले भने, 'त्यो बेलामा लेखे वापत हाम्रो काँधमा डन्डा बर्सन्थ्यो। पञ्चायत समर्थकको काँधमा स्याबासको धाप आउँथ्यो। तर अहिले त त्यो अवस्था छैन नि।'

किशोरदाई पत्रकारितालाई राजनीतिले बिगारेको नभई पत्रकार राजनीति गर्न लागेर बिग्रेको बताउँछन्। त्यो बेलामा विशेष जाहेरी विभागमा काम गर्नेहरु पत्रकारितामा आएर प्रदूषण फैलाउने काम गरेको उनको अनुभव छ। अहिले त दलैपिच्छेका मिडिया हाउस अनि नेतैपिच्छे पत्रकार छन्। मुख्य प्रदूषण यही त हो अहिलेको।

'पञ्चायतकालमा जाहेरी विभागमा काम गर्ने तर पत्रकार हुँ भन्नेहरु थाहा पाउँलान् कि भनेर डराउँथे। त्यो बेला गोप्य हुन्थ्यो। चिरन शमशेरको घरमा जाँदा देख्लान् कि भनेर डराउँथे। तर अहिलेका पत्रकारहरु त थाहा पाएनन् कि भनेर चिन्तित हुन्छन्। आफ्नालाई फलानो दलबाट नियुक्त भएको भन्दै फेसबुकमा लेखाउँछन्। यस्तो भएपछि कसरी पत्रकारिता सुध्रिन्छ!' चस्मा भित्रका उनका आँखा ठूला भए।

उनी अहिलेसम्म नेपाली पत्रकारितामा करिअरै बन्न नसकेको बताउँछन्। धेरै पत्रकारहरुको करिअर बन्न नसक्दा पलायन हुन बाध्य भएको उनको विश्लेषण छ। 

'श्री आचार्य राम्रा पत्रकार हुन् नि तर अहिले उनी सडकमा छन्। राजेश मिश्र जसलाई काँचो आगो पचाउने पत्रकार भनिन्थ्यो, उनी अहिले क्यार्लिफोनियामा छन्। अवसरका लागि मात्रै नेपाली पत्रकार बाहिरिएका हैनन्। सहनै नसक्ने भएर जानेहरु पनि छन्। सक्षमहरु सडकमा छन्। अनि कसरी करिअर बन्छ,' उनले भने।

OOO
आलोचनारहित को नै छ र! भगवानको त आलोचना हुन्छ। किशोर नेपालबारे पनि बजारमा टन्नै किस्सा सुनिन्छ। शुभचिन्तकसँगै मनग्गे आलोचक पनि कमाएका छन् उनले पत्रकारिता पेसाबाट।

तर, जतिसुकै खरो आलोचक भए पनि उनको निडरपन, उनको प्रभाव, पत्रकारिताकै माध्यमबाट बनेको उनको निर्विकल्प ब्रान्ड अनि पत्रकारितामा उनको निरन्तर क्रियाशीलतालाई चुनौती नै दिने आलोचक अझै जन्मिएका छैनन्।

यति धेरै आरोह-अवरोह पार गरेको, सुखसयल मात्रै हैन उत्तिकै हन्डर अनि ठक्कर खाए पनि ७१ वर्षको उमेरमा पनि उनको शब्दको धार उस्तै तिखो छ। उनको लेखनशिल्प अनि शब्द भण्डार लोभलाग्दो छ।

अहिले पत्रकारिता सुरु गरेको ८-१० वर्षमै स्खलित भएकाहरुको संख्या गनिसाध्य छैन। किशोर नेपालको सार्वजनिक पहिचान सक्रिय पत्रकारै हो।

यति लामो समय एक पत्रकार पत्रकारै रहिरहनु छक्क पार्ने विषय हो नै।

कुनै रहस्य त पक्कै छ होला?

उनले भने, 'पत्रकार हुन लोभ-लालच-सुख-सयल- ज्यानको माया मार्न सक्ने हुनुपर्छ। मनमा आगो चाहिन्छ। अनि पत्रकार रहिरहन त्यही आगो निभ्न दिनु हुँदैन। यत्ति हो।'

हो, त्यही आगो हुन् किशोर नेपाल। आगै रहने छन्।

२४ बैशाख, २०७९, २१:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।