उकेरा एंकर

एनएमबी क्यापिटलको विभेद : हरेक चरणमा उत्कृष्ट सौरव अपांग भएको थाहा पाएपछि फ्यालिए


काठमाडौं: एनएमबी क्यापिटलले २०७८/८/३० गतेसम्मको मिति राखेर म्यानेजमेन्ट ट्रेनी, सिनियर असिस्टेन्ट र ट्रेनी असिस्टेन्ट पदमा विज्ञापन खुलायो। म्यानेजमेन्ट ट्रेनी पदको लागि आवेदन दिए २६ वर्षीय सौरव कार्कीले।

मार्स्टस डिग्रीमा फर्स्ट डिभिजन र फाइनान्स स्पेसलाइजेसनको माग रखिएको सो पद किंग्स कलेजबाट एमबिए (फाइनान्स) ३.९७ जिपिएका साथ उत्तीर्ण भएका सौरवका लागि त्यति चुनौतीपूर्ण थिएन। आफ्नो शैक्षिक योग्यता र कार्य दक्षतामा उनी पूर्ण विश्वस्त थिए। 

उनले केही समयपछि इमेलमार्फत लिखित परीक्षाको लागि आवेदन स्वीकृत भएको जानकारी पाए। मंसिर २५ गते शनिबार उनी लिखित परीक्षामा सामेल पनि भएँ। लिखित परीक्षाको केही समयपछि उनलाई पहिलो चरणको अन्तर्वार्तामा बोलाइयो। अन्तिम अन्तर्वार्ताको लागि छनोट भएको इमेल पनि उनले प्राप्त गरे।

सौरव र आत्मविश्वासका साथ फाइनल अन्तर्वार्ता दिन पुगेँ। माहोल बुझ्दै गर्दा उनले त्यस दिन म्यानेजमेन्ट ट्रेनीको लागि अन्तर्वार्ता दिने पहिलो व्यक्ति आफू भएको चाल पाए। 

त्यसपछि थप उत्साहका साथ उनी अन्तर्वार्ता दिन कोठामा पसे। अन्तर्वार्ता राम्रैसँग दिए। तर अन्तर्वार्तामा नाम ननिस्किने हो कि भन्ने शंका भने कता-कता उनको मनमा थियो। कारण, उनी राम्रोसँग बोल्न र हिँड्न सक्दैनन्।

यसअघिका परीक्षा अनलाइनमार्फत दिएका उनी त्यस दिन प्रत्यक्ष रुपमा त्यहाँ उपस्थित भएका थिए। यद्यपि, जुन पदको लागि उनले आवेदन र परीक्षा दिएका थिए, त्यो पदका लागि हिँड्न र लेख्न पर्दैन। बसेर डेटा एनालिसस गरे पुग्थ्यो। अफसोस, उनको शंका सही निस्कियो। इमेलमार्फत आफू अस्वीकृत भएको जानकारी सौरवले प्राप्त गरे।

प्रतिस्पर्धामा छनोट नहुनु स्वभाविकै भए तापनि अगाडिका हरेक चरणमा उत्कृष्ट प्रदर्शन रहेको र छनोट पनि भएको हुँदा उनलाई कता-कता अपाङ्गताको आधारमा छनोट नगरिएको हो कि भन्ने शंका भयो।

यस विषयमा उनले आफ्ना केही साथीहरुलाई कुरा गर्न लगाए। साथीहरुलाई अफिसबाट 'हामीले फाइनल रिजल्ट निकालेको छैन, त्यो भाइ त्यत्तिकै आवेशमा आयो’, 'त्यो पदमा कोही पनि छनोट हुन सकेनन्’, 'त्यो डिपार्टमेन्टमा त्यो भाइ फिट नभएकोले छनोट गर्न सकेनौं अरु अवसर आयो भने हामी सम्झिन्छौं' भन्ने जबाफ दिएको सौरव बताउँछन्। 

सो पदमा आफू नअटाउनुको कारणबारे उनले चासो राखे। उनले प्रत्यक्ष रुपमा 'सञ्चार कौशल नभएको, राम्रोसँग बोल्न नसक्ने, लेख्न र हिँडडुल गर्न समेत गाह्रो हुने भएकोले’ भन्ने जबाफ समेत पाए।

यस विषयलाई लिएर उनी अधिवक्ता खग्रेन्द्र घिमिरेसँग कानुनी परामर्शको लागि पुगे। अधिवक्ता घिमिरेले एनएमबी क्यापिटलको एचआर हेड स्मृति मर्हजनसँग उनकै अगाडि टेलिफोन वार्ता गरे। महर्जनले घिमिरेलाई जानकारी दिए अनुसार पहिलो तीन चरणमा सौरव शीर्ष स्थानमा रहेका थिए। 

घिमिरेले अपांगता भएको व्यक्तिलाई सम्पूर्ण चरण पूरा गरेपछि अन्तिममा अयोग्य ठहर्‍याउनुभन्दा विज्ञापन खुलाउँदा नै अपांग भएका व्यक्तिहरुले आवेदन दिन नपाउने भनेर भन्नुपर्ने तर्क राखे। उनले अस्वीकारको लिखित जवाफको माग पनि राखे।

सौरव भन्छन्, 'त्यसपछि महर्जन म्यामले पुस २ गते आइतबार पठाइदिनूस् भन्नुभयो।’ उनले त्यस दिन आफ्नो सूचनाको हक प्रयोग गरी के-कति कारणले छनोट हुन सकिनँ, जानकारी पाऊँ भनी लिखित निवेदन पनि एनएमबी क्यापिटलमा दर्ता गराए।  

'शारीरिक रुपमा अपांगता भएको मलाई त्यो संस्थाले बौद्धिक अपांगता पनि बनायो। शारीरिक अपांगताकै कारण मलाई अयोग्य बनाउनु भनेको म जस्ता दसौं लाख अपांगता भएका व्यक्तिलाई नै अयोग्य बनाउनु हो,’ सौरव भन्छन्, 'हो त्यहाँ प्रतिस्पर्धा छ, म बुझ्छु। मलाई त्यो अवसर जति आवश्यक छ, अरु प्रतिस्पर्धीका निम्ति पनि उत्तिकै आवश्यक छ। तर सबै चरणमा उत्कृष्ट हुँदै अघि बढेकोलाई अपांग भएकै कारण अयोग्य ठहर्‍याउन मिल्छ ? अन्तर्वार्ता पनि अनलाइनमै दिएको भए बरु म सक्षम ठहरिन्थें कि!’’

लिखित जवाफ माग्न जाँदा त्यहाँको व्यवस्थापनसँग केही समय छलफल भएपछि 'भाइ सहानुभूतिले जागिर पाइँदैन, प्रतिस्पर्धाबाट आउनुपर्छ' भन्ने जवाफ पाएको सम्झिँदै उनी भावुक हुन्छन्।

'उहाँहरुको यो बोलीबाट प्रष्ट हुन्छ कि, अपांगता भएका व्यक्तिहरुमाथि कतिसम्मको विभेद हुँदोरहेछ। म खुला प्रतिस्पर्धाबाट आउँदा पनि सहानुभूतिले जागिरको भिख माग्न आएजस्तो गर्नुभो,’ उनी भन्छन्, 'फोनमार्फत आएका फरक-फरक कुराहरु मध्यनजर गर्दा मलाई फाइनल अन्तर्वार्तामा मेरो क्षमता र योग्यताभन्दा पनि मेरो अपाङ्गतालाई नै हेरेर छनोट नगरिएको भन्ने पुष्टि भयो।’ 

माघ २ गते सो क्यापिटलको केन्द्रीय कार्यालय गएर 'सूचना माग गरिएको सम्बन्धमा’ विषय राखी उनी आफैंले निवेदन दर्ता पनि गराए।

१५ दिन बितिसक्दा पनि त्यहाँबाट कुनै जवाफ नआएकोले उनले माघ २० गते 'गुनासो दर्ता तथा सहयोग सम्बन्धमा’ राष्ट्रिय अपांग महासंघमा पनि निवेदन दर्ता गरे। अपांग महासंघले यस विषयमा खासै चासो नदेखाएको उनको भनाइ छ।

लामो समयपछि अपांग महासंघबाट चिट्ठी पुगेपछि भने निवेदन दर्ता गराएको जवाफ चैत २३ गते इमेलमार्फत आएको उनको दावी छ। जवाफमा विज्ञापन नै खारेज गरिएको उल्लेख छ। आफूमाथि स्पष्ट रुपमा अपांगता भएकै कारण विभेद भएको र क्यापिटलले सामाजिक अपराध गरेको सौरवको भनाइ छ। 

क्यापिटलका सिइओ दिपेशकुमार वैद्य भने यस सम्बन्धमा आफ्नो संस्थाले खण्डन गरिराख्नु नपर्ने बताउँछन्। 
उनी भन्छन्, 'यसमा खण्डन गरिराख्नुपर्छ जस्तो हामीलाई लाग्दैन। हामीले उहाँ छनोट हुन सक्नुभएन भनिसक्यौं। उहाँले लगाउनु भएको आरोपको केही अर्थ छैन। हामी उहाँले जे भन्नुभएको छ त्यसलाई गलत पनि भन्दैनौं। हामीले जे गर्‍यौं त्यो गलत पनि भन्दैनौं। हामीले त मात्र एउटा विज्ञापन खोलेका थियौं। प्रक्रिया अगाडि बढाएको पनि हो। त्यसमा कोही छनोट हुन सकेन। कुरा त्यत्ति हो।’ 

अगाडिको प्रक्रिया अरुबाटै भएको दावी पनि वैद्यले गरे। 'हामीले त मापदण्ड अनुसार अन्तर्वार्ता लिने हो। त्यसमा उहाँ पास हुनु भएन।’ 

कम्पनीको आफ्नै नीति हुन्छ जुन भन्न नमिल्ने भन्दै उनले सौरवले कुनकुन मापदण्ड पूरा गर्न सकेनन् भनेर चाहिँ बताउन चाहेनन्। 
आफ्नो संस्थाले कुनै पनि भेदभाव नगरेको भन्दै यस विषयलाई कर्मचारी छनोटको प्रक्रिया जसमा उहाँ छानिनुभएन भनेर बुझ्नुपर्ने उनले बताए।

त्यस्तै क्यापिटलकी प्रवक्ता तथा मानव संशाधन विभाग प्रमुख स्मृति महर्जन आफ्नो संस्थाले उनलाई कुनै पनि किसिमको भेदभाव नगरेको बताउँछिन्। उकेराकर्मीसँग उनले भनिन्, 'उहाँले मात्र होइन अरु कसैले पनि सो पदका लागि नाम निकाल्न सकेनन्। ‘म्यानेजमेन्ट ट्रेनी’ पदका लागि ८ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका थिए। ती सबै जनाको अन्तर्वार्ता पनि भएको हो। तर उहाँहरूमध्ये कोही पनि हाम्रो मापदण्डअनुसार छनोट हुन सक्नुभएन। सो पदका लागि छिट्टै फेरि विज्ञापन खुलाउँदै छौं।’ 

सौरवले यस सम्बन्धमा २०७८ माघ  १२ गते नै 'न्याय दिलाइपाउँ’ भनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा इमेलमार्फत जानकारी पठाइसके। सो इमेलमा उनले अर्थ मन्त्रालय, राष्ट्रिय समावेशी आयोग, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, राष्ट्रिय अपांग महांसघलाई कार्बन प्रतिलिपि पनि राखे। तर हालसम्म उनले कुनै पनि निकायबाट जवाफ पाएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

इन्जिनियरिङको छायामा हेपिएको आर्किटेक्चर: संसारमै नभएको ‘आर्किटेक्ट इन्जिनियर’को पद पनि नेपालमै

यसमा सम्बन्धित निकायका व्यक्तिहरूले चासो व्यक्त गर्दै आएका छन्।  आर्किटेक्चरल र इन्जिनियरिङ डिग्री हासिल गरिसकेपछि मात्र आर्किटेक्ट र इन्जिनियरको लाइसेन्स प्राप्त हुन्छ। सोहीअनुसार व्यक्तिले आफ्नो....

राम्रो कमाउने अनि रमाउनेका  दिवस 

झिसमिसेमै उठेर घरको दैनिकी सक्काएर उनी इँटा, ढुङ्गा माटोको कामका लागि हिँडिहाल्छिन्। दैनिक ज्यालादारीमा ठेकदारको कृपामा दिनभरि काम गर्ने र त्यही ज्यालाले बिहान बेलुकाको गर्जो....

हात-खुट्टा नचल्ने हरि र छिरिङलाई एसइईले दिएको यो खुसी

दक्षिणकाली नगरपालिका- ५ स्थित अरुणोदय माविको एउटा कोठामा बुढाथोकी र बललाई छुट्टै राखिएको छ। कारण, उनीहरु दुवै जना शारीरिक रुपमा अशक्त छन्।  हरिबहादुर को अठोट....

संघले बनायो सडक, तिलोत्तमा हाईहाई, बुटवलको बदनामी

संघ अन्तर्गत निर्माणधीन रहेको यो सडक बुटवल उपमहानगरपालिकाको क्षेत्रभित्र पर्दैन। सडक निर्माणका क्रममा सहर नै अस्तव्यस्त हुँदा बुटवलका नगर प्रमुख शिवराज सुवेदीको बदनाम गर्ने काम....

भेटौला नि भन्दै दाइसँग छुट्टिएकी उर्मिलालाई विवेकहीन भिडले खोसेर लग्यो

२०५२ कात्तिक १४ मा खोटाङ बराहपोखरी गाउँपालिकामा जन्मिएकी उनी सानै देखी समाजसेवामा रुचि राख्थिन्। स्थानीय बालकन्या उच्च माविबाट प्लस टु सकेर थप शिक्षाको लागी उनी....