ललितपुर-१० का वडाध्यक्ष व्यञ्जनकारको ११औं इनिङ्स : यस पटकको लडाइँ आफ्नै भतिजसँग

ललितपुर-१० का वडाध्यक्ष व्यञ्जनकारको ११औं इनिङ्स : यस पटकको लडाइँ आफ्नै भतिजसँग

काठमाडौं : नरसिंह व्यञ्जनकार तिनै व्यक्ति हुन् जसले पाँच दशकदेखि निरन्तर ललितपुर महानगरपालिको एउटा वडामा नेतृत्व गरिरहेका छन्, त्यो पनि स्वतन्त्र उम्मेदवारको रुपमा।

उमेरले ८० वर्ष पार गरिसकेका व्यञ्जनकारलाई चुनाव जितेर जनताको सेवा गर्ने धोको भने अझै मरेको छैन। १० पटक वडाध्यक्ष भइसकेका उनी अहिले ११औं पटक उम्मेदवार बनेका छन्, ललितपुर उपमहानगरपालिका वडा नम्बर १० बाट।

आफ्नो चुनाव चिह्न 'पुतली’ को स्टिकर लगाएर उनी दिनभर वडा कार्यालय वरिपरि बसिरहन्छन्। प्रचार-प्रसारलाई त्यति महत्व नदिने व्यञ्जनकार स्थानीयकै आग्रहका कारण बिहान र साँझ भने घरदैलो कार्यक्रम गर्छन्। तर, खराब मौसमका कारण घरदैलो पनि बिथोलिइरहेको छ।

वि.सं. १९९७ मा जन्मिएका व्यञ्जनकार लगातार १० पटक चुनाव जितिसकेका कारण यसपालि पनि आफूले नै जित्नेमा ढुक्क छन्। स्वास्थ्य र वडाका बासिन्दाले साथ दिए निरन्तर वडाबासीको सेवा गर्न चाहन्छन्।

राजनीतिमा होमिएदेखि नै स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका व्यञ्जनकार २०४९ मा एक पटक भने नेपाली कांग्रेसको तर्फबाट पनि निर्वाचित भएका थिए।  तर नेताहरुको चाकडी गर्न मन नलागेका कारण पार्टीबाट बाहिरिएको उनी बताउँछन्।

यसअघिका १० वटा निर्वाचनमा आफूमाथि जनताले जुन विश्वास देखाएका थिए त्यो अहिले पनि कायमै रहेको उनको भनाइ छ। तर, उनी यस पटक भने त्यति खुसी छैनन्। कारण, अहिले उनका प्रतिस्पर्धी आफ्नै भतिज छन्। भतिज रविन व्यञ्जनकारलाई नेपाली कांग्रेसले सोही वडाको वडाध्यक्षमा उम्मेदवार बनाएको छ।

'आफ्नै परिवारको सदस्य प्रतिद्वन्दी भएका कारण कता-कता खल्लो लागिरहेको छ,' व्यञ्जनकार भन्छन्, 'राजनीतिले पारिवारिक सम्बन्धमा असर गरेको छ। नेताहरु परिवारमै झगडा गराएका छन्।'

आफू वडाबासीकै आग्रह अनुसार चुनावमा होमिएको व्यञ्जनकारको भनाइ छ। 'मैले एक/डेढ वर्ष अघिदेखि अब चुनाव आउन लाग्यो नयाँ मान्छे खोज भनिरहेको थिएँ। तर हुन्छ-हुन्छ भन्दा-भन्दै केही भएन। तपाईं नै उठ्नूस् भने। मैले के गर्ने?’

कोही नउठ्ने देखिएपछि आफैं उठ्ने तयारी गरेको र सबैलाई खबर गरिसकेपछि अन्तिम अवस्थामा आफ्नै भतिजलाई प्रतिद्वन्दी पाउँदा दु:ख लागेको उनले बताए।

२०२९ सालमा राजनीतिमा प्रवेश व्यञ्जनकार २०३४ सालको 'गाँउ फर्क अभियान’मा पहिलो पटक वडाध्यक्ष बने। २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि राजीनामा दिएका उनी बहुदललाई अँगाल्न पुगे।

बहुदलले हारेपछि २०३९ सालमा पनि वडाध्यक्षमा नै उठे र निर्विरोध निर्वाचित भए। निर्वाचित भएको एक वर्षमै प्रधानपञ्चसँगको विवादका कारण राजीनामा दिएका उनले २०४१ सालमा भएको उपचुनावमा पनि जित हासिल गरे।

'त्यसपछि मेरो चुनावमा उम्मेदवार बन्ने सोच थिए। तर २०४३ सालमा वडाकै मान्छेले हनुमानस्थानमा वाचा गर्न लगाएर निर्वाचन लड्ने सहमति गराए। त्यसबेला पनि निर्विरोध भएँ,' उनले सुनाए।

२०४९ सालमा भने उनले १० नम्बर वडाका लागि कांग्रेसबाट टिकट पाए र निर्विरोध नै भए। २०५४ सालको चुनाव विवाद भएपछि उनले कांग्रेस छोडे। त्यसपछि फेरि स्वतन्त्रबाट उठे र जिते।

२०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट मनोनित गर्दा पनि उनकै नाम अगाडि आयो। २०६२ सालको नगर निर्वाचनमा पनि उनले नै वडाको नेतृत्व गरे। २०७४ को स्थानीय चुनावमा स्वतन्त्रबाटै जितेका व्यञ्जनकार यस पटक पनि स्वतन्त्रबाटै उठेका छन्। 

स्वतन्त्र उम्मेदवार हुनुको बेफाइदा यसरी प्रष्ट पार्छन् व्यञ्जनकार, 'सबैले आ-आफ्नै पार्टीमा भोट हाल्छन्। स्वतन्त्र उम्मेदवारले पाउने भनेको त पार्टीलाई दिएर बाँकी रहेका मतदाताको भोट न हो। जुन भोट एकदमै थोरै हुन्छ।’

तर, पनि उनलाई आफ्ना वडाबासीमा पूर्ण विश्वास छ। यसपालिको चुनावमा ५१ प्रतिशतभन्दा बढी मत आफ्नो पोल्टामा पर्ने उनको अनुमान छ।  

देश संघीयतामा जानुअघि र गइसकेपछि पनि वडाको नेतृत्व गरेका व्यञ्जनकारले अहिले धेरै फरकपन देखेका छन्। 
भन्छन्, पहिला पैत्रिक सम्पत्ति आफ्नो नाममा गर्नुपर्यो भने नामसारीको लागि एउटा निवेदन लेख्नु पर्थ्यो। त्यसमा वडा अध्यक्षले सिफारिस गरेर सही गर्नुपर्थ्यो। त्यो काम तुरुन्तै पूरा हुन्थ्यो।  तर अहिले दस्तुर एक हजार तिर्नुपर्छ। सबै काम कम्प्युटरबाट हुन्छ। कम्प्युटर बिग्रियो भने एक हप्तासम्म पनि काम बन्दैन। त्यसमा कर पनि तिर्नुपर्छ। डिजिटल प्रणालीले काम झन् झन्जटिलो भएको छ।'  

अहिले वडामा जनप्रतिनिधि र कर्मचारी धेरै भएकोले खर्च बढेको उनको ठम्याइ छ। 'पहिला वडामा न पिउन हुन्थ्यो, न सचिव, न वडा सदस्य नै। एउटा वडाध्यक्ष मात्र हुन्थ्यो। उसले आफ्नो हिसाबले काम गर्न पाउँथ्यो। कर्मचारी भन्या छ। सदस्य भन्या छ। एउटा वडामा ७/८ जनाभन्दा बढी कर्मचारी,’ उनी भन्छन्, 'यत्तिका मान्छेको खर्च कसले धान्ने? सबै जनताबाट उठाउने होइन?'

पाँच दशकसम्म पूरा गर्न नसकेको काम   
आफ्नो पाँच दशकको अनुभवमा बागमती नदी सफाइको काम कसैले पनि पूरा गर्न नसकेको उनको भनाइ छ। 'बागमती पहिला कस्तो सफा थियो। २०५१ सालसम्म त बिहान ४ बजे नै बागमतीमा नुहाउन जान्थें। अब हेर्नूस् त कस्तो छ,' व्यञ्जनकार भन्छन्, 'बागमतीलाई कसरी राम्रो बनाउने भनेर पहिला छलफल हुन्थ्यो। काम गरेको पनि हो।  तर १०/१५ वर्षयता छलफल समेत हुन सकेको पनि छैन।’

बागमती भन्ने बित्तिकै पशुपति क्षेत्र वरिपरिकोलाई मात्र हेरिएकोमा उनको गुनासो छ।

अब पनि नेतृत्व गर्न पाए सबभन्दा पहिला बागमती सरसफाइमै लाग्ने उनको अठोट छ। बागमतीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा पनि उनको जोड छ। 'आन्दोलन समाधान होइन। तर के गर्नु आन्दोलन गरेपछि काम बन्छ भने किन नगर्ने? उनीहरु आफू पनि काम नगर्ने, हामीलाई पनि गर्न नदिने।’

त्यस्तै उनले अहिलेसम्म गर्न चाहेको तर गर्न नसकेको काम भनेको वडाको आफ्नै भवन निर्माण पनि हो। यसको लागि पहल गरिसकेको व्यञ्जनकारले बताए।

२२ बैशाख, २०७९, ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।