'अरु बोल्छन् मात्र, म काम गर्छु'

'अरु बोल्छन् मात्र, म काम गर्छु'

टोखा महानगरपालिकाकी मेयर पदकी उम्मेदवार हुन् रजनी थापा। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा विद्यावारिधी गर्दै गरेकी उनी २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसले उपमेयरमा उठाएको थियो। झिनो मतान्तरले हार व्यहोरेकी रजनी अहिले मेयरको उम्मेदवार छिन्। 

नेपाली कांग्रेसको क्षेत्र नम्बर ५ की क्षेत्रीय सचिव समेत रहेकी रजनीसँग उकेराले गरेको कुराकानी :

२०७४ सालमा पराजित भएको व्यक्ति फेरि यसपालि मेयरमा उम्मेदवारी किन दिएको? 
म अघिल्लो निर्वाचनमा थोरै मतले उपमेयर हारेकी थिएँ। उपमेयर भएर धेरै काम गर्न चाहन्थेँ। अजेण्डा पनि थियो। तर जित्न सकिँन। त्यसो भन्दै गर्दा मैले सामाजिक काम नगरेको भने होइन। 

विभिन्न संघ/संस्थामार्फत छात्रवृत्ति, तालिम, महिला उद्यमशीलताबाट, उत्पादित सामानको बजारीकरण, वृद्ध-वृद्धालाई पोषणयुक्त खानेकुरा, जाडोमा लगाउने लुगा वितरण गरेकी थिएँ। 

तर, टोखा नगरपालिकामा विकासको अनुभव गर्न नपाएकोले पनि अहिले मेयरमा उम्मेदवारी दिएकी हुँ। युवा भएका कारण पनि मलाई पार्टीले मलाई विश्वास गरेको हो। 

अघिल्लो निर्वाचनमा पराजित भएपछि प्रतिपक्षीको भूमिका कत्तिको निभाएँ जस्तो लाग्छ? 
खबरदारी त गरेकै हो। उहाँहरुले के काम गर्नुभयो भन्दा पनि कस्तो काम गर्नुभयो भन्नेमा भर पर्छ। विकास भनेको एक हप्तामै देखिने होइन। एक हप्ता पनि नटिक्ने विकास भयो टोखामा। हुनुपर्ने काम भएन। 

टोखालाई विकसित बनाउने योजना के छ?
सम्पदाको हिसाबले महत्वपूर्ण क्षेत्र हो टोखा। यहाँका मठ-मन्दिर, संस्कृति उदाहरणीय छ। पर्यटकीय नगरको रुपमा विकास गर्ने मेरो योजना छ। संस्कृति जोगाउन फिल्म, नाटक जस्ता कलाका क्षेत्र र कृषिलाई प्राथमिकता दिने योजना छ। 

म पिएचडी गर्दै गरेको विद्यार्थी हुँ। महिला, दलित, अपाङ्ग, गरिबलाई छात्रवृत्तिको व्यवस्था गर्छु। कामकाजी महिलाले आफ्ना छोराछोरीलाई महँगोमा मण्टेश्वरी राख्नु परेको छ। हामी नि:शुल्क तर गुणस्तरीय मण्टेश्वरीको बनाउँछौँ। युवाको लागि प्राविधिक शिक्षामा जोड दिन्छौँ। महिलालाई ५० प्रतिशतलाई फ्रिमा प्राविधिक शिक्षा दिने व्यवस्था मिलाउँछौँ। 

टोखामा एउटा मात्रै सामुदायिक अस्पताल छ। वडाका स्वास्थ्य चौकी राम्रा छैनन्। स्वास्थ्य चौकीलाई गुणस्तरीय बनाउने र केही प्रमुख रोगहरुको नि:शुल्क जाँच गर्ने मेरो योजना छ।

टोखाको व्यवस्थापन निकै कमजोर छ। नयाँ बसपार्क पनि निकै अस्तव्यस्त छ। पार्किङको ठूलो समस्या देखिन्छ। कसरी समाधान गर्नुहुन्छ? 
कुन ठाउँमा गाडी पार्क गर्ने कुन ठाउँमा नगर्ने भन्ने नियम बनाएर कडा रुपमा लागू गर्छु। निषेध गरिएको ठाउँमा पार्किङ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछु।

अब सार्वजनिक शौचालयको अभाव हुन दिइने छैन। फोहोर व्यवस्थापनको लागि कुहिने र नकुहिने फोहोरको अलग-अलग व्यवस्थापन गर्ने योजना छ।  

मेयरको उम्मेदवारमध्ये तपाई अरुभन्दा कसरी फरक हुनुहुन्छ? 
अरु बोल्छन् मात्र, म काम गर्छु। म काममा विश्वास गर्छु। म सधैं भुईंमान्छेसँगै छु। 

जित्छु जस्तो लाग्छ? 
उपमेयरको उम्मेदवार हुँदा मलाई माया गर्ने टोखाका जनता धेरै थिए। टोखा मेरो घर जस्तै लाग्छ। उहाँहरुले मलाई छाडेर अरुलाई भोट दिनुहुन्न। सबैको मन जितेको छु, अब मत जित्छु।

२० बैशाख, २०७९, १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।