'कम्युनिष्ट भए बाउको समेत मुख हेर्दिनँ' भन्ने गोविन्दराज एमालेसँग कुम जोड्न किन तयार भए ?

'कम्युनिष्ट भए बाउको समेत मुख हेर्दिनँ' भन्ने गोविन्दराज एमालेसँग कुम जोड्न किन तयार भए ?

काठमाडौं : एमालेको चुनाव चिह्न सूर्य। तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० जहाँ मेयरमा कैंची चुनाव चिह्न बाहेक अन्य पदमा सूर्यको तुल टाँगिएको छ।

भाषण गर्दैछन् गोविन्दराज जोशी। माग्दैछन् मत मेयरमा कैंचीलाई र अन्य पदमा एमालेलाई।

ट्विटरमा यो तस्बिर देख्ने बितिक्कै मेरी आमाले धेरै पहिले भन्नुभएको कुरा सम्झिएँ, ‘कम्युनिष्ट भए बाउलाई पनि फर्केर हेर्दिनँ भन्ने व्यक्ति हुन् गोविन्दराज जोशी। तेरो ठूलोबा एमाले भएर हामीलाई पनि एमाले ठानेछन् जोशीले।’

आमाले थप्दै भन्नुभयो, ‘दाइ (मेरो मामा)ले मेरा ज्वाईं (मेरो बाबा) कांग्रेस हुन् भन्दा पनि पत्याएनन् रे। जोशी कम्युनिष्ट भनेपछि देखिसहँदैनन्।’ 

जोशी धेरै पटक मन्त्री भए, गृहमन्त्री समेत भए। नेपाली कांग्रेसको सहमहामन्त्री पनि भए। कुनैबेला गिरिजाप्रसादको दाहिने हात थिए गोविन्दराज। उनको रजगज तनहुँ जिल्लामा मात्रै होइन लमजुङ जिल्लामा पनि थियो। जसै उनलाई भ्रष्टाचारको मुद्दा लाग्यो उनको ओरालो यात्रा सुरु भयो। 

स्वभाविक पनि थियो यो। भ्रष्टाचारको मुद्दा लागे पनि सम्मानजनक मत पाएर केन्द्रीय सदस्यमा विजयी भएका थिए खुमबहादुर खड्का। गोविन्दराज पनि पुरानै बिरासत जोगाउन कम्मर कस्नु कसे तर सकेनन्। 

त्यसमाथि २०७४ को चुनावमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल उठेको तनहुँ १ बाट बागी उम्मेदवार बनेपछि त झनै पार्टीले कारबाही नै गर्योब उनलाई। साधरण सदस्य समेत हैनन् गोविन्दराज कांग्रेसको। पटकपटक सत्ताको स्वाद चाखेका उनलाई चुनावी सरगर्मी लाग्ने नै  भयो। त्यसैले त छोरालाई मेयरमा उठाएका छन्।

गोविन्दराज कमजोर, कांग्रेस कमजोर
१४औँ महाधिवेशनमा तनहुँका रामचन्द्र पौडेलले आफू पार्टी सभापतिमा उठ्न नपाएपछि उनकै गुटको भनिएका प्रकाशमान सिंह र शेखर कोइराला पार्टी सभापतिमा उठ्दा दुवैलाई समर्थन गरेनन्। भित्रभित्र देउवालाई समर्थन गरेको त्यतिबेलै आरोप लाग्यो। अहिले देउवाको हरेक क्रियाकलापलाई साथ दिँदा महाधिवेशनमा सहयोग गरेका होइनन् कि भन्ने कसैलाई लाग्छ भने त्यो गलत सावित हुन्छ।  

जहिलेसम्म गोविन्दराज जोशी शक्तिमा थिए त्यतिबेलासम्म उनको गृहनगर तनहुँ र  छिमेकी जिल्ला लमजुङमा कांग्रेसको बोलवाला थियो। तनहुँ १ मा कांग्रेस यति बलियो थियो कि 'एक घर एक रोजगार' नै बनाइदिएका थिए गोविन्दराजले। केहीलाई शिक्षक र केहीलाई प्रहरी। अझै पनि गोविन्दराजलाई तनहुँ १ मा आदर गर्नेको कमी छैन।

शक्तिको दुरुपयोग गरेर प्रतिस्पर्धा गर्नेभन्दा पनि आफ्नो मान्छे हुल्ने नेपाली राजनीतिज्ञको स्वभाव गोविन्दराजले भरपुर उपयोग गरेका हुन्। त्यसैले त तनहुँ १ मा गोविन्दले जे भन्यो त्यही मान्ने मान्छे छन् भनिन्छ।

२०७४ को चुनावमा यदि तनहुँ १ बाट शंकर भण्डारी उठ्थे भने गोविन्दराजले  हराउन भूमिका खेल्न गाह्रो पर्ने थियो। जसै २ बाट उठ्दा हारिने डरले रामचन्द्र १ मा पुगे तब उनले हार्छन् भन्ने त्यतिबेलाका कांग्रेसीले आकलन गरेका थिए।

उपसभापति भइसकेका पौडेल आफ्नो क्षेत्रमा उति बलिया होइनन्। १३औँ महाधिवेशनमा उनकै जिल्लाबाट देउवालाई ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत हालेका थिए जबकी आफ्नै जिल्लाबाट उठेका पौडेललाई ४० प्रतिशतले मात्रै। 

लमजुङ र तनहुँमा व्यापक छाप पार्न सफल जोशीको तुलनामा पौडेल कमजोर नै हुन्। तनहुँ र लमजुङमा कांग्रेस कमजोर हुनु र कांग्रेसले जोशीलाई कारबाही गर्नु पक्कै संयोग होइन। 

२०६४ साललाई छोडेर हेर्ने हो भने लमजुङमा कांग्रेसले मस्त जित्ने ठाउँ हो। गृह जिल्लाका पौडेल उपसभापति हुँदै गर्दा लमजुङमा कांग्रेस कमजोर भयो। पञ्चायतकालदेखि चुनावमा उठेका तर नजितेका भनेर खिस्युटरी गर्ने एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मख्यमन्त्री यसै भएका होइनन्।

२०६४ सालमा पहिलो पटक चुनाव जितेका हुन् गुरुङले लमजुङको क्षेत्र नम्बर २ बाट। त्यतिबेला पनि पर्यटन तथा नागरिक उडड्यन मन्त्री भएका हुन् गुरुङ।

२०७० को चुनावमा ‘बाहुनलाई कासी क्षेत्रीलाई फाँसी’ भनेको भन्दै हारे पनि २०७४ मा प्रदेश खबाट प्रदेश सभा सदस्य जिते र मुख्यमन्त्री भए। संघीयता बुझ्ने र कामको हिसाबले कम विवादित भएको मुख्यमन्त्री बन्न सफल रहे उनी।

एमालेको १०औँ महाधिवेशनले त उनलाई उपमहासचिव सहित प्रचार विभाग प्रमुख नै बनायो।

यता, लमजुङ कांग्रेसको हालत भने खराब छ। केन्द्रीय सदस्यमा उठेका लमजुङ कांग्रेसका पूर्वसभापति तुलसीनारायण श्रेष्ठको लज्जास्पद हार भयो। जोशी रापताप घट्ने वित्तिकै लमजुङमा कांग्रेस पनि सेलायो। 

छोराको लागि कम्युनिष्ट! 
आसन्न स्थानीय चुनावअघि नै लमजुङमा अर्को हल्ला चल्यो, गोविन्दराजले पौडेल हराउन एमालेसँग तालमेल गर्दैछन्। २०७९ को चुनावमा एमालेसँग मिलेर उठ्छन् र पौडेल हराउँछन्।

श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठ अघिल्लो चुनावमा तनहुँ १ (जहाँ गोविन्द राजको गढ) भनेर चिनिन्छ, त्यहीँबाट जितेका थिए एमालेबाट। उनलाई गोविन्दराजले जिताइदिएको भन्ने हल्ला पनि चलेकै थियो। यसपालि किसान एकीकृत समाजवादीतिर छन्।

गठबन्धनको वकालत गर्दै आएका पौडेल किसान श्रेष्ठलाई मनाउन सकियो भने तनहुँ १ बाट उठ्ने सुरसारमा रहेको अनुमान लगाउनेहरु पनि उत्तिकै छन्। त्यही क्षेत्रबाट उठ्ने छन् गोविन्दराज जोशी। 

त्यसैको रिहर्सल स्वरुप जोशीले ब्यास नगरपालिकाको मेयरमा अमेरिका बसेका आफ्ना छोरालाई नेपाल बोलाएर राजनीतिमा छिराएका छन्। मेयरमा उम्मेदवार दिएका गोविन्दका छोरा दीपकराज जोशीले बाबुकै योजनामा यो सबै गरिरहेको छिपेको छैन।

छोरालाई मेयरमा रिहर्सल गरेका गोविन्दराज जोशीले अगामी निर्वाचनमा पनि एमालेसँग मिलेर जाने संकेत गरेका छन्। त्यसैले त पौडेलले कार्यकर्ताको विरोध भए पनि, गठबन्धनकै दलबाट कांग्रेस कार्यकर्ता कुटिए पनि गठबन्धनको समर्थन गरिरहेका छन्। 

कुनै बेला कम्युनिष्टको चर्को आलोचना गर्ने मात्रै नभएर  कम्युनिष्ट भए बाउकै मुख समेत हेर्दिनँ भन्ने जोशी अहिले एमालेको चुनावी सभामा गजधम्म भएर बस्छन्। छोराको लागि कैंची र अन्य उम्मेदवारको लागि सूर्यमा भोट माग्छन्। यो देख्दा जो कोहीलाई उनको बिगत सम्झाउँछ  नै। 

विचार मरेको राजनीति
अहिले सत्ता गठबन्धनले चुनावमा पनि गठबन्धन गर्योो। लोकतान्त्रिक हुँ भन्ने कांग्रेस र जनवादी हौँ भन्ने कम्युनिष्ट घटकहरुबीच गठबन्धन भयो। जनवादमा विश्वास गर्ने माओवादी कांग्रेसमा भोट हाल्न तयार छ। लोकतान्त्रिक हुँ भनेर दावी गर्ने कांग्रेस माओवादीमा भोट हाल्न तयार छ। 

वहुदलीय व्यवस्थालाई घात कसैले गरेको छ भने त्यो राजनीतिक दलबाटै भएको छ अहिले। सत्ताको लागि चुनावमा सिद्धान्त नै नमिल्नेसँग पनि साँठगाँठ गर्न दलहरु तयार रहनुले लोकतन्त्र भनेको केबल चुनाव हो र जितेर शासन चलाउनु मात्रै हो भन्ने प्रष्ट हुन्छ नै। 

सत्ता चलाउँदा गठबन्धन गर्न सकिएला तर चुनावमै गठबन्धन गर्नु भनेको राजनीतिक विचार मर्नु हो। दलविहीनता त हुने होइन भोलि भन्ने आशंका  उब्जाउनु हो।

एकले अर्काको कमजोरी औँल्याउँदै जनपक्षीय काम गरेर चुनाव जित्नेभन्दा पनि आफन्तीलाई चुनावमा उठाउने, बाँडीचुँडी खाने प्रबृत्ति राजनीतिक दलमा मौलाएको देख्दा जो-कोहीले भन्छ, राजनीतिमा विचार मरेकै हो।

कुनै बेला कम्युनिष्ट विचारधारालाई मनै नपराउने गोविन्दराजहरुले आज एमालेलाई भोट माग्नुले वर्षौं सत्ताको बागडोर सम्हालेर पनि सन्तुष्ट नहुनुले पनि विचार मरेको प्रष्टै हुन्छ। 

हिजो कम्युनिष्टको चर्को आलोचना गर्ने रामचन्द्र पौडेल आज माओवादी र समाजवादीलाई भोट मागिरहेका छन्। प्रधानमन्त्री र पार्टी सभापति बाहेक पौडेलले नपाएका प्रमुख नै पद छैनन्।

कांग्रेस सत्तामा रहँदा गृहमन्त्रीदेखि सभामुखसम्म भएका पौडेल पार्टीमा उपसभापति समेत भइसकेका हुन्। अझै पनि सत्ता चढ्ने घिडघिडोले सिद्धान्तलाई मर्स्याङ्दीमा सेलाएका छन् गोविन्दराज र रामचन्द्रहरुले।

१९ बैशाख, २०७९, १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।