आइजिपी नियुक्तिको सरकारको निर्णयविरुद्धको पोखरेलको रिट स्वीकार, बुधवार सुनुवाइ

आइजिपी नियुक्तिको सरकारको निर्णयविरुद्धको पोखरेलको रिट स्वीकार, बुधवार सुनुवाइ
सोमबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि गृहमन्त्रीबाट शुभकामना लिँदै सिंह। तस्बिर : गृह मन्त्रालय

काठमाडौँ : सरकारले नेपाल नेपाल प्रहरीको प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई गरेको नियुक्ति विरुद्ध परेको रिट सर्वोच्च अदालतले स्वीकार गर्दै बुधवार सुनुवाइको मिति तोकेको छ।

सिंहको नियुक्तिविरुद्ध एआइजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सुनुवाइका लागि बुधवार मिति तोकेको हो। पोखरेलले वरिष्ठता मिचेर भएको निर्णय बदरको माग गरेका छन्।

सरकारको निर्णय अनुसार दर्ज्यानी चिन्ह लगाएर सिंहले सोमबारबाट जिम्मेवारी लिइसकेका छन्।

पोखरेलको रिट स्वीकार भएसँगै प्रहरी प्रमुखको नियुक्तिको विवाद पुन अदालतमा प्रवेश गरेको छ। यस अगाडि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा चन्दको नियुक्ति बदर भएको थियो भने अर्यालको नियुक्ति सदर भएको थियो।

बृहत् पूर्ण इजलासमा पुगेको रिटमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रहरी प्रमुख नियुक्त गर्न सरकारको नाममा आदेश जारी भएको थियो। सो आधारमा चन्दको नियुक्ति सच्याउँदै सरकारले अर्याललाई नियुक्त गरेको थियो।

अर्यालको नियुक्ति विरुद्ध पुन सिलवाल आफ्नो कार्यसम्पादन मूल्याङ्कन नम्बर अर्यालको भन्दा बढी भएको दाबी गर्दै रिट बोकेर जाँदा अदालतले अर्यालको कार्यसम्पादन मूल्याङ्कन नम्बर सिलवालको भन्दा धेरै भएको भन्दै नियुक्ति सदर गरेको थियो भने सिलवालले अदालतमा पेस गरेको कार्यसम्पादन नम्बर रहेको कागजबारे छानबिन गर्न आदेश दिएको थियो।

आदेश अनुसार प्रहरीले गरेको छानबिनमा सिलवालले बुझाएको कार्य सम्पादन मूल्याङ्कन फारममा किर्ते गरेको भन्दै प्रहरीले प्रतिवेदन बनाए पनि मुद्दा प्रक्रिया भने अगाडि बढेन।

१९ बैशाख, २०७९, १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।