आइजिपीबारे सरकारको निर्णयविरुद्ध सर्वोच्च गए एआइजी विश्वराज

आइजिपीबारे सरकारको निर्णयविरुद्ध सर्वोच्च गए एआइजी विश्वराज

काठमाडौँ : आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय विरुद्ध एआइजी विश्वराज पोखरेल रिट लिएर सर्वोच्च अदालत गएका छन्।

उनको तर्फबाट रिट लिएर कानुनी सहयोगी सुनिता रावत सर्वोच्चमा गएकी हुन्। रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको छ।

रिट दर्ताको क्रममा छ। सिंहभन्दा पोखरेल १६ महिना अगाडि बढुवा भएका थिए। एक महिना अगाडि एआइजिमा बढुवा पाएका सिंहलाई सरकारले आइतबार आइजिपीमा नियुक्त गर्ने निर्णय गर्दै सोमबार दर्ज्यानी चिन्ह समेत लगाइसकेका छन्।

सिंहभन्दा नौ महिना अगाडि बढुवा भएका सहकुल थापा भने अदालत गइसकेका छैनन्। पोखरेलको रिटबारे अदालतले चाल्नसक्ने कदम हेरेर पछि रिट लैजाने रणनीतिमा थापा रहेको स्रोतले बतायो।

आइजिपी नियुक्तीबारे सर्वोच्चमा परेको रिटमा आएको आदेश हेर्दा सरकारी निर्णय कमजोर देखिन्छ। वरिष्ठता, कार्यकुशलता, कमान्ड सम्हाल्ने क्षमतालाई बढुवाको आधार बनाउन सक्ने भए पनि कारणविना बरीयतामा तलमाथि रहेकालाई नियुक्ति दिन नहुने यस अगाडिका फैसलामा अदालत बोलेको छ।

१९ बैशाख, २०७९, १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।