फिल्म क्षेत्रका 'जेठा दाइ’ जो लाखौंको पेट भरेर पनि अघाएका छैनन्

फिल्म क्षेत्रका 'जेठा दाइ’ जो लाखौंको पेट भरेर पनि अघाएका छैनन्

असनको भित्री गल्ली। एउटा सानो कोठामा सन्तुष्टिको पोको बोकेर धुमधुम्ती बसिरहन्छन् कुलबहादुर महत (जेठा दाइ)। खान पकाउन, खान र अरुलाई खुवाउन पाउँदा निकै रमाउँछन् उनी।

उमेरले ६८औं बसन्त पार गरिसकेका जेठा दाइ आफ्नो जीवनको उपलब्धि भनेकै अहिलेसम्म लाखौं मानिसलाई खाना पकाएर खुवाउनुलाई ठान्छन्। उनले नेपाली चलचित्र निर्माण युनिट, कलाकारदेखि अन्य टेक्निसियनलाई खानाको स्वाद पस्किसके। 

फिल्मी दुनियाँमा रहेर पनि सादगीपनलाई जोगाइराखेका जेठा दाइले जीवनको ४० वर्षभन्दा बढी समय यही क्षेत्रलाई दिइसके। अझै यसै क्षेत्रमा निरन्तर काम गर्ने अठोट बोकेका छन्।

दोलखामा जन्मेका जेठा दाइ परिवारका साथ २०३० सालमा भारतको कालिम्पोङ पुगे। कमजोर पारिवारिक स्थितिका कारण त्यहाँ पुगेर पनि उनले पढाइलाई त्यति चासो दिन सकेनन्। 

घुम्दै फिर्दै बसिरहेका थिए। गाउँमा फिल्म सुटिङ हुँदैछ भन्ने सुने। चलचित्रको पर्दामा देखिने मान्छेहरु प्रत्यक्ष रुपमा देख्न पाइने भइयो भनेर दंग पर्दै उनी पनि सुटिङ हेर्न पुगे। 

तुलसी घिमिरेसँगै नेपाली चलचित्रमा डेब्यु
त्यसबेला नेपाली चलचित्र 'बाँसुरी' को सुटिङ चलिरहेको थियो। चलचित्रको निर्देशक थिए तुलसी घिमिरे। सो चलचित्र निर्देशकका रुपमा घिमिरेले पहिलो थियो। 

'हिरो-हिरोइन कस्ता हुन्छन् भनेर हेर्न गएको थिएँ। दिनभरि हेरेर बसें,’ उनले सुनाए, 'प्याकअप भनेपछि सबैले झोला बोक्न थाले। क्यामेराहरु पनि बन्द गर्न थाले। ए सक्किएछ भनेर फर्कें।’

दिनभरि सुटिङ हेरेर फर्किँदै थिए। अलि पर पुगेपछि उनलाई तुलसी घिमिरेले बोलाए। 'ए भाइ-भाइ भनेर बोलाए। को होला मलाई बोलाउने भनेको त यही फिल्मको डाइरेक्टर पो रहेछन्,’ उनले भने। 

चलचित्रको टिमबीच केही बेर छलफल भयो। यसपछि  निर्देशक घिमिरेले उनलाई सो चलचित्रमा 'रोल’ पनि अफर गरे। उनको रोल थियो, गाउँमा लाहुरे आएको बेला 'तिम्रो दिदीको घर यही हो’ भन्नुपर्ने। यति वाक्य १७ पटकभन्दा पनि भन्न नसकेको उनलाई अझै सम्झना छ। त्यसपछि घिमिरेले उनलाई भने, 'भारी बोक्न त आउँछ होला नि?’ उनले आउँछ भने। फिल्म बाँसुरीमा उनको भरियाको भूमिका छ। 

जेठा दाइलाई घिमिरेले सँगै बस्न आग्रह गरे। खाना खाने समयमा उनलाई त्यहाँको व्यवस्थापन गर्न लगाए र उनी त्यहाँको हेड कुक भए। पारिश्रमिकको कुनै कुरा नभएका कारण सुटिङ सकिएपछि उनले २ सय रुपैयाँ पाए। चलचित्र प्रदर्शनपछि घिमिरेकी आमाले तामाको गाग्री दिएको पनि उनी सम्झन्छन्। 

चलचित्रकै कारण विवाह अनि डिभोर्स
बाँसुरी चलचित्रमा काम गरेपछि उनको विवाह भयो। चलचित्रमा भरियाको भूमिकामा देखेकोले विवाहको प्रस्ताव आएको जेठा दाइ बताउँछन्।

'भरियामा काम गरेको भए पनि म विवाह गर्छु भनिछन्। कुरा चलेको एक हप्तामा त विवाह भइहाल्यो,' उनले भने।

उनले पुराना कुरा बेलिविस्तार लगाए, 'म फिल्म लाइनमा काम गर्छु। सुटिङमै बस्नुपर्छ। कलाकार भेट हुँदा उनीहरु जेठा दाइ भनेर अँगालो हाल्न आउँछन्।  मैले पनि त्यसै गर्नुपर्ने हुन्छ भनेर सासुलाई सुनाएँ,’ उनी भन्छन्, 'त्यस्तो बेलामा त्यस्तो बेलामा अफ्ठ्यारो नमान्नु भनेको थिएँ। उहाँहरुले चाहिँ मलाई ससुराली नजिकै बसोस् भन्ने चाहनुभएको रहेछ।'

उनी अगाडि बढे, 'मलाई त्यहाँ बस्नु थिएन। मलाई त घुम्दै काम गर्नुमा रमाइलो लाग्थ्यो। त्यसपछि सासुले मान्नु भएन। अलि दिन त्यहीँ बसें पनि। तर टिकेन। विवाह भएको २ वर्षपछि नै डिभोर्स भयो।’

जेठा दाइले अर्को विवाहको बारेमा सोचेनन्। काममै निरन्तरता दिन थाले। बिस्तारै नेपालका सबै ठाउँ घुम्न पाए र त्यसमै भुलिन थाले। उनलाई 'कुसुमे रुमाल' चलचित्रमा पनि अफर आएको थियो तर समय नमिलेका कारण गर्न सकेनन्। 'लाहुरे' चलचित्रदेखि भने उनी फेरि तुलसी घिमिरेसँगै छन्। 

कुक भए पनि जेठा दाइलाई प्राय: पुराना चलचित्रमा स-साना भूमिकामा पनि देख्न सकिन्छ। सुटिङका सिलसिलामा काठमाडौँ आउने-गरिरहेका जेठा दाइ 'अन्याय' चलचित्रका नेपाल आएपछि कालिम्पोङ फर्किएनन्। 

सोही चलचित्रपछि उनले पारिश्रमिक भनेर नै पैसा पाउन थाले। उनले एक दिनमा १५ बोरासम्म चामलको खाना बनाएका छन्। सो समयमा एउटा चलचित्रबाट ८ हजारसम्म पारिश्रमिक बुझेको उनी बताउँछन्।

जेठा दाइको खराब बानी
जेठा दाइको एउटा मात्र खराब बानी भनेको चुरोटको लत हो।  'अरुले चलचित्रमा अनुबन्धित हुँदा कहिले, कति पारिश्रमिक पाउने भनेर सम्झौतापत्र बनाउँथे। म भने कति बट्टा चुरोट दिने भन्नेमा अल्झेर बस्थें, 'उनी भन्छन्, 'शिखर चुरोट खान्थें म। मेरो ब्रान्ड त्यही हो। मलाई जाने बित्तिकै एक बट्टा दिनुपर्थ्यो। नत्र त म काम गर्न मान्दिनथें।’ 

त्यतिबेला दिनमा ३ बट्टासम्म चुरोट खाने गरेको उनी बताउँछन्। २०५७ सालदेखि भने उनले चुरोट चटक्कै छोडिदिए। तर अहिले पनि अरुले खाएको देख्दा एक सर्को तानुँ-तानुँ लाग्ने उनी सुनाउँछन्।

कसरी बने 'जेठा दाइ’
उनी घरका जेठा छोरा। बाँसुरी चलचित्रमा काम गर्दा भान्सामा सबैलाई जेठा, माहिला, कान्छा भनेर नै बोलाइन्थ्यो। त्यसमा म जेठामै परें। त्यसपछि सबैको जेठा दाइ भनेर कहलिएँ।

नीर शाहको पनि जेठा दाइ, सुनिल थापाको पनि जेठा दाइ, टीका पहाडीको पनि जेठा दाइ। अरु त अब मभन्दा उमेरमा पनि साना भए, त्यसै दाइ।  

कलाकारसँग जेठा दाइको रोचक घटना  
'अपराध' चलचित्रमा काम गर्दा कृष्टी मैनालीको लागि चाउचाउ बनाएर ल्याउनू भन्ने अर्डर आयो। कस्तो बनाउने चाउचाउ भनेर जेठा दाइले सोधे। झोल हालेर बनाउने कुरा आयो।  झोल हालेर भनेपछि उनले चाउचाउ, पानी र मसला हालेर बनाएर पठाए।

उताबाट यो के बनाएको भन्ने प्रश्न गरियो। अण्डा हाल्नु भन्ने आदेश पनि आयो। अण्डा कसरी हाल्ने भनेर नभनेको कारण उसिनेको अण्डा हालेर पठाए। तर फेरि उताबाट अम्लेट हाल्नु भन्ने आदेश आयो। त्यस दिन उनले अम्लेट हालेर, अण्डा उसिनेर, चाउचाउ फ्राई गरेर र मोलेर समेत गर्दा सात चोटीसम्म चाउचाउ बनाएर पठाए। तर भएन।

डाइरेक्टरले पछि नायिकालाई लिन आउँदा मैले खाजा खाएको छैन भन्ने जवाफ दिए। त्यसपछि डाइरेक्टर आए। जेठा दाइलाई किन खाजा नदेको भन्ने प्रश्न गरे डाइरेक्टरले। जेठा दाइले मैले दिएको हो उहाँले नखाएको भन्ने जवाफ फर्काए। 

पछि नायिका कृष्टीस्थलमा गइन् र भोक लागेको जानकारी गराइन्। जेठा दाइले त्यही चिसो चाउचाउ टिफिनमा हालेर पठाइदिए। भोक भनेको के हो भनेर कसैलाई सुनाउनुपर्यो जेठा दाइ त्यही दिनको स्मरण सुनाउँछन्।

अर्को घटना। राँची जाँदा एक जना कलाकारलाई पराठा चाहिएछ। आलु उसिन्नुपर्यो, पिठो मुछ्नुपर्यो, अलि समय लाग्छ भने। डाइरेक्टर आफैं सोध्न आए। उनले १० मिनेटपछि हुन्छ भने। उनले दालमा आलु हालेर बसाले। १०/१५ मिनेटपछि ठूलो-ठूलो पराठा बनाएर पठाए। एकै चोटी ८/९ वटा दिएको पराठा एक हप्तासम्म सेकाएर खाएको पनि उनी सम्झन्छन्। 

झापामा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र नीर शाहसँग 'आफ्नो बिरानो' चलचित्रमा काम गर्दाको पनि एउटा अनौठो स्मरण छ उनीसँग। 'राजेश भाइलाई थर्सपी भन्ने पानी चाहिन्थ्यो। झापामा नपाएर विराटनगरबाट थर्सपी पानी १०/१२ बक्सा लगियो। बोतल पनि पूरै राम्रोसँग बन्द भएको र डेट पनि मिलेको थियो। तर पानी खोलेर हेर्दा भित्रबाट कपाल जस्तो देखियो। त्यसपछि उहाँले भान्सामै गएर एउटा डेक्ची मागेर पानी उमालेर फिल्टर गरेर खानुभएको थियो,’ जेठा दाइले स्मरण सुनाए। 

अन्नपूर्ण होटलमा असिस्टेन्ट कुकको अफर
अन्नपूर्ण होटलमा जेठा दाइलाई असिस्टेन्ट कुकको अफर पनि आएको थियो। तर नागरिकता नबनिसकेको हुनाले त्यो काम गर्न पाएनन्।

'कोसेल' फिल्मको सुटिङ हुँदा उनी अन्नपूर्ण होटल पुगेका थिए। त्यहाँका म्यानेजरले उनलाई कामको प्रस्ताव गरे तर उनले नागरिकता लिएर आउँदा त्यो काममा अरु नै अनुबन्धित भइसकेको थियो।

जेठा दाइ ४० वर्षदेखि निरन्तर यसै क्षेत्रमा काम गरिरहेका छन्। चलचित्र विकास बोर्डले उनलाई ७२ सालदेखि लामो समय काम गरेवापत भत्ता पनि दिने गरेको छ।

२०७३ सालमा उनले दुबईमा आयोजना गरिएको नेफ्टा अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि प्राप्त गरेका थिए। उनको त्यो पहिलो विदेश भ्रमण पनि हो। पहिलो पटक प्लेन चढ्न पाउँदा दंग परेका जेठा दाइको जिन्दगीको सबैभन्दा स्मरणयोग्य दिन हो त्यो।  

सुर्खेतमा देखिएको घटना 
'ओहो! मैले त यस्तो गरेछु अथवा केही गर्न पाइनँ भन्ने केही छैन। यस्तो भयो भनेर म कहिल्यै मख्ख पनि परिनँ। यस्तो भएन भनेर दु:ख पनि लागेन,' जेठा दाइलाई आफ्नो जिन्दगीसँग कुनै गुनासो छैन।

'बन्धकी' चलचित्रको सुटिङमा जाँदा देखेको एउटा घटना सुनाउँछन् जेठा दाइ, 'एउटा घरमा चार जनाको परिवार रहेछ। तर चारै जना अलग-अलग बस्ने। सम्पत्ति भएर के काम त! छोराहरु भएर के काम रहेछ त! बुढा-बुढी नै भएर पनि के हुने रहेछ र! सबै छुट्टिएर बस्ने त रहेछन्।' 

यस्ता घटना देखेका जेठा दाइलाई एक्लै भएकोमा कुनै चिन्ता छैन। भन्छन्, 'साथीभाइले घरमा बोलाउँछन्। आफन्तले बोलाउँछन्। तर म जान्नँ मलाई एक्लै बस्ने बानी भइसक्यो।'

१९ बैशाख, २०७९, ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।