उकेरा एंकर

राम्रो कमाउने अनि रमाउनेका  दिवस 


पोखरा : पोखरास्थित शान्ति बन बस्ने अञ्जलि नेपाली बिहानैदेखि ज्यालादारी काममा खटिन्छिन्। पोखराको आकासिएको महँगी सँगै छोराछोरीको पढाई खर्च र बिहान बेलुकाको हातमुख,जोड्न नखटिई सम्भव छैन।

झिसमिसेमै उठेर घरको दैनिकी सक्काएर उनी इँटा, ढुङ्गा माटोको कामका लागि हिँडिहाल्छिन्। दैनिक ज्यालादारीमा ठेकदारको कृपामा दिनभरि काम गर्ने र त्यही ज्यालाले बिहान बेलुकाको गर्जो टार्दै आएको उनले बताइन्।

‘दैनिक ज्यालादारीमा काम पाए मात्रै हातमुख जोर्न सकिन्छ,’ सेतीको बालुवा उचाल्दै उनले भनिन्,’मजदुर दिवस आए नि नआए पनि काम नगरी हुन्न। यस्ता दिवस हाम्रा लागि पनि हैनन्। यो त राम्रो कमाउने अनि रमाउनेलाई हो।’

एक दिन काममा नगए अञ्जलिलाई बेलुका बिहानको चुल्हो बाल्न गाह्रो पर्छ रे। आइतबार पनि उनी बिहानै थुन्से बोकेर काममा निस्किइन्।

पोखराको नयाँ बजार नजिकैको मध्य भागमा पर्ने सेती किनारामा बालुवा चालेर उनी दैनिक  ९ सय रुपैयाँ थाप्छिन्।

लमजुङको सुन्दर बजार घर भएकी अञ्जलीको पोखरामा सानो डेरा छ। ज्यामी काम गरेर उनले आफ्ना छोराछोरी पढाइरहेकी छन्।

उनका दुई छोरी र एक छोरा पोखराको जनप्रिय स्कुलमा पढ्छन् । उनीहरूको खाजा, नास्ता, कापी कलम र ड्रेसको खर्च मिलाउन हम्मे-हम्मे रहेछ उनीलाई।

पढालेखा नहुँदा आफूले खानसम्मको हन्डर खाएकाले छोराछोरीले दुख नपाउनु भनेर अहिले आफूले दुख गरिरहेको बताइन् उनले। उनले भनिन्,‘श्रीमान् गतबर्ष मजदुरीको काम गर्दा तीन तलाको ढलानबाट खसेर शारिरिकरुपमा अशक्त भएपछि सबै जिम्मा मेरोमा आयो। उहाँले कडा श्रम गर्न नसक्ने भए पनि सक्दो सहयोग गर्नुहुन्छ। शारीरिक अवस्था कमजोर भए पनि छोराछोरीको भविस्यकोलागि दुःख गर्नै पर्‍यो।

आइतबार १३३ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस कोरोना कहरको दुई वर्षपछि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो।

विभिन्न राजनीतिक दल आबद्ध मजदुर सङ्गठनहरूले विभिन्न कार्यक्रम आयोजना गर्दै मे १ मा मजदुर दिवस मनाउँदै आएका छन्। तर यस्ता दिवसले जसलाई सम्बोधन गर्नुपर्ने हो गर्न सक्दैनन्।

 गण्डकी प्रदेशमा सरकार लगायतका विभिन्न सङ्घसंस्थाहरूले दिवस मनाउँदा अञ्जलिलाई त्यसले छोएन।

अञ्जलिका श्रीमान् भवानीका अनुसार श्रीमती दैनिक आठ-नौ सय रुपैयाँ कमाउँछिन्। आफू हल्काफुल्का काम पाउँदा मात्र छ-सात सय कमाउँछन्।

तर उनले नियमित काम गर्दैनन्। उनी भन्छन्,‘पोखराको महँगी, केटाकेटी दैनिक जसो यो र त्यो चाहियो भन्छन्। आमाको कमाइले पुग्दैन। मैले गाह्रो काम गर्न सक्दिन। मैले गर्न सक्ने हल्का काम पाउनै मुस्किल छ। सानोतिनो कमाइले घर चल्दैन। छोराछोरीको पढाइ खर्च पुर्‍याउन गाह्रो छ। सहरमा कसैले ऋण पत्याउँदैन।’

दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्दै आएका भवानीको परिवारलाई विगत दुई वर्ष अघि देखि फैलिएको कोरोना सङ्क्रमणले नराम्रोसँग प्रभावित पारेको थियो। त्यसको अझै असर छ उनीहरूको दैनिकीमा।

कोरोना सङ्क्रमण फैलिएको भन्दै सरकारले लकडाउन गरेपछि लामो समयसम्म निर्माणको काम रोकियो। निकै समस्या परेको थियो उनीहरूलाई।

ऋण लाग्यो। त्यो अहिलेसम्म तिर्न सकेका छैनन्। लामो समय काम गर्न नपाएपछि कोठामा थुनिएर बस्दा घर खर्च चलाउन साथीभाइसँग ऋण मागेका रहेछन्।

‘अहिले दैनिक कमाएको पैसा घर खर्च गर्न ठिक्क हुन्छ। लकडाउनका काम गर्न नपाएको बेला लिएको ऋण अझै तिर्न सकिएको छैन' उनले भने 'ऋण थोरै थोरै गरेर घटाउँदै लग्ने भनेको पछिल्लो समयमा बढेको महँगीले पैसा नै बच्दैन । खर्चको जोहो गर्न हम्मे-हम्मे परेको छ।’

मजदुरको हक, अधिकारबारे भव्य कार्यक्रम गरेर मनाउँदा उनीहरू जस्तै धेरै मजदुर भने मजदुरीमै थिए बेलुकाको छाक टार्न।

‘श्रमिक दिवसमा सबैको मिठो खाने र रमाइलो गरेर मनाउँछन् होला,’ उनले भने ‘हाम्रो त कमाइधमाई केही छैन, के खानु के रमाउनु? एक दिन काम नगरे साँझ चुलो बल्दैन ।’

उनीहरूको लमजुङको सुन्दर बजारको गाउँमा एउटा सानो झुप्रो र एक हलको बारी थियो। खेतीपातीबाट पेट पाल्न मुस्किल भएपछि कामको खोजीमा परिवार सहित पोखरा आए। पोखराको चर्को कोठा भाडा र महँगीले दैनिकी चलाउन समस्या भयो।

श्रीमतीको कमाइको भरमा छोराछोरीको पढाइ,कोठा भाड र दैनिक खर्च धान्न समस्या भएको उनले बताए। चाडबाड, लुगाफाटा, र औषधोपचार लगायतका खर्चले ढाड सेकिने गरेको उनले गुनासो गरे।

अञ्जली नेपालीको जस्तै विमला नेपाली, सरिता बिक र  अनिता दर्जी पनि काममै भेटिए। श्रमिक महिलाहरू सधैँ जस्तै गिट्टी बालुवाको काममा व्यस्त थिए।

गिट्टी बालुवा मोली रहेका छन्। बालुवा र इँटाको भारी बोकिरहेका छन्। पसिना चुहाइरहेका छन्। पर्वतको कुस्मा नगरपालिका घर भएकी विमला नेपाली बिहानै उठेर खाना पकाएर मजदुरीका लागि घर निर्माण गर्ने ठाउँमा पुग्छिन्। गिट्टी बालुवाको मसला तयार पारेर घरको गारो लगाउने मिस्त्रीको हात-हातमा मसला मोल्दै ओसार्ने काम गर्छिन् उनी।

यसरी नै विमलाको दैनिकी एक दशदेखि चल्दै आएको छ । चाडपर्व होस् वा मजदुर दिवस यसरी नै एक दशकदेखि उनको दैनिकी निरन्तर चल्दै आएको छ।

कास्कीको तारकाँङ घर भएकी अनिता दर्जी बिहान झिसमिसेमै सेती नदीको किनारमा पुग्छिन्। नदी किनारामा भागबन्डा गरिएको क्षेत्रको बालुवा र गिट्टी ढुङ्गा छुट्टाएर रास थुपार्छिन्।

सरिता बिक पोखरामा फलफूल बेचेर गुजारा चलाउँछिन्। छोरा ५ कक्षा पढ्ने भएको छ।

‘बिहानै मन्डीबाट सामान ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि म डोको बोकेर निस्कन्छु,’ सरिताले भनिन, ‘दिनभरि बजार डुलाएर फलफूल बेच्छु। त्यही कमाइले छोराको पढाइ खर्च र घर खर्ब चल्छ।'

अहिले महँगी आकासिएकाले दैनिक कमाइले घर खर्च चलाउनलाई नै सकस भएको उनले बताइन्। व्यापार पनि पहिले जस्तो छैन। कमाइ घट्दो छ। दैनिक कमाइबाट अब, बिहान बेलुका हातमुख जोडन पनि आह्रो हुन थालेको बताउँछिन् उनी।

तनहुँकी भवीसरा थापा पृथ्बीचोकमा यसै गरी गुजारा चलाएकी छन् । बेलाबेला नगर प्रहरीको लात्ती सहनु परेको उनको दुखेसो छ। उनी भन्छिन्, ‘कति पटक सामान हुर्‍याइदियो। कति पटक जफत गरिदियो। हामीले सहर बिगार्‍यौँ भन्छ महानगर। हामीलाई दुःख नगरी खान पुग्दैन।'

पोखराको दोबिल्लादेखि मकै बेच्न आइपुगेकी ५६ वर्षीय बिन्दु परियार भन्छिन् ‘मलाई अरू कुराको चिन्ता छैन। यति एक डोका मकै बिके पुग्छ। यती मकै विके चार पाँच सय आउँछ। यही पैसाले बेलुका परिवारको छाक टार्ने हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

इन्जिनियरिङको छायामा हेपिएको आर्किटेक्चर: संसारमै नभएको ‘आर्किटेक्ट इन्जिनियर’को पद पनि नेपालमै

यसमा सम्बन्धित निकायका व्यक्तिहरूले चासो व्यक्त गर्दै आएका छन्।  आर्किटेक्चरल र इन्जिनियरिङ डिग्री हासिल गरिसकेपछि मात्र आर्किटेक्ट र इन्जिनियरको लाइसेन्स प्राप्त हुन्छ। सोहीअनुसार व्यक्तिले आफ्नो....

एनएमबी क्यापिटलको विभेद : हरेक चरणमा उत्कृष्ट सौरव अपांग भएको थाहा पाएपछि फ्यालिए

मार्स्टस डिग्रीमा फर्स्ट डिभिजन र फाइनान्स स्पेसलाइजेसनको माग रखिएको सो पद किंग्स कलेजबाट एमबिए (फाइनान्स) ३.९७ जिपिएका साथ उत्तीर्ण भएका सौरवका लागि त्यति चुनौतीपूर्ण थिएन।....

हात-खुट्टा नचल्ने हरि र छिरिङलाई एसइईले दिएको यो खुसी

दक्षिणकाली नगरपालिका- ५ स्थित अरुणोदय माविको एउटा कोठामा बुढाथोकी र बललाई छुट्टै राखिएको छ। कारण, उनीहरु दुवै जना शारीरिक रुपमा अशक्त छन्।  हरिबहादुर को अठोट....

संघले बनायो सडक, तिलोत्तमा हाईहाई, बुटवलको बदनामी

संघ अन्तर्गत निर्माणधीन रहेको यो सडक बुटवल उपमहानगरपालिकाको क्षेत्रभित्र पर्दैन। सडक निर्माणका क्रममा सहर नै अस्तव्यस्त हुँदा बुटवलका नगर प्रमुख शिवराज सुवेदीको बदनाम गर्ने काम....

भेटौला नि भन्दै दाइसँग छुट्टिएकी उर्मिलालाई विवेकहीन भिडले खोसेर लग्यो

२०५२ कात्तिक १४ मा खोटाङ बराहपोखरी गाउँपालिकामा जन्मिएकी उनी सानै देखी समाजसेवामा रुचि राख्थिन्। स्थानीय बालकन्या उच्च माविबाट प्लस टु सकेर थप शिक्षाको लागी उनी....