ठगीको रकम तीन वर्षमा १३ अर्ब , अस्वाभाविक फाइदामा लोभिदा ठगको फन्दामा

ठगीको रकम तीन वर्षमा १३ अर्ब , अस्वाभाविक फाइदामा लोभिदा ठगको फन्दामा

काठमाडौं : आफ्नो पोर्टफोलियोमा अर्बौँ रकम देखाएर करोडौँ ठगी गर्दै आएका मनोजकुमार भण्डारी जस्ता ठगले नै तीन वर्षमा झण्डै १३ अर्ब ठगी गरेको पाइएको छ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार तीन वर्षमा १ हजार ७ सय ४९ जनाले १२ अर्ब ८७ करोड ४७ लाख ७० हजार ४ सय ठगी भएको भन्दै मुद्दा दर्ता गराएका छन्।

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले वर्षेनी ठगीमा पर्ने व्यक्तिको उजुरी बढेको बताए। ‘ठगीमा पर्ने व्यक्तिको संख्या बढेको देखिन्छ। पहुँच देखाएर ठगी गर्नेहरु बढेका छन्,’ उनले भने, ‘पछिल्लो समय बैंकिङ  कसुर गर्ने बढेको देखियो।’

अहिले डिल्लीबजार कारागारमा रहेका भण्डारीले ११ वटा कम्पीको ११ अर्ब सम्पत्ति देखाएर ४० करोडभन्दा बढी ठगी गरेको देखिन्छ। ठगी गर्दा उनले पैसा एकदमै खाँचो परेको, घरमा मध्यस्तकर्ता लगाएर जग्गा आफूले किन्ने भन्दै केही रकम पनि दिएर ठूलो रकम राखेर घर जग्गा किन्ने, कम्पनीको सेयर दिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको देखिन्छ।

मनोजले धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा बस्ने शारदा सिंहको २० करोड ठगेका थिए। शारदा सिंहकी बुहारी राजेश्वरी सिंहका अनुसार २०७५ सालमा मनोजले केही व्यक्ति लगाएर उनीहरूको साढे पाँच बिघा जग्गा उम्काएका थिए।

पहुँच देखाउँदै ठग्दै 
तीन वर्षमा झण्डै १३ अर्ब ठगीमा भएको रिपोर्ट प्राप्त गरेपछि उकेराले ठगीमा मुद्दा दर्ता भएका सर्वोच्च अदालतका केही फैसला अध्ययन गरेको थियो।

अधिकांश फैसलामा विदेश लैजान्छु भनेर प्रलोभनमा पार्ने, सहकरीमा नाम चलेका व्यक्ति सल्लाहाकार राखी डबल पैसा हुन्छ भनी सवारी बेच्न लगाई फसाउने, जग्गा किनेर पूरै पैसा नदिने, कीर्ते चेकबुक बनाई ठगी गरेको समेत भेटियो। 

जग्गा किनेर पूरै पैसा नदिई ठग्नेहरु भने पहिलेदेखि नै भएको देखिन्छ। 

केही उदाहरण, 
२०६२ सालमा भदौ २२ गते मोरङ जिल्लाका गोपालप्रसाद घिमिरे र उनकी छोरीको नाउँमा रहेको जग्गा  ९ लाख २३ हजार बराबरको जग्गा किने एभरेष्ट सुनसरी प्रालिका अध्यक्ष दिलिपकुमार चौधरीले।

पहिलो लटमा ४ लाख ३९ हजार दिएका उनले बाँकी रकम ४ लाख ८४ हजार बराबरको चेक दिए बैंक अफ काठमाडौँको। चेक त दिए तर पैसा भने उनको खातामा रहेनछ।

लगातार धाउँदा समेत रकम नपाएपछि उनी अदालत धाएका थिए २०६७ सालमा। सर्वोच्चले ९ वर्षपछि ठगी नभएको तर रकम भराइलिनु भनेर आदेश गरिदियो। जग्गा लिने केही पैसा दिए पनि ठूलो रकम बाँकी राखी ठगी गर्नेको संख्या उल्लेख्य देखिएको छ। 

२०६४ सालमा रामकृष्ण श्रेष्ठले आफ्नो ट्याम्पु र जग्गा बेची ५ लाख जम्मा गरेका थिए। रवीन्द्र गिरी क्रिएटिभ सेभिङ एण्ड क्रेडिटको प्रमुख व्यवस्थापक तथा बजार व्यवस्थापक थिए। 

उनले रामकृष्णको पैसा सहकारीमा राख्न सुझाए। ५ वर्षमा डबल रकम हुने लोभ देखाएका उनको प्रभावमा परी रामकृष्णले रकम जम्मा पनि गरे। आफूलाई रकम खाँचो परेर पटकपटक लिन जाँदा रकम नपाएपछि उनले ठगी भएको भन्दै उजुरी हाले। उजुरी गर्दा थाहा भयो, गिरीले उनको पैसा नेपाल बंगलादेश बैंकमा जम्मा गरी पछि निकालेर खर्च गरेका रहेछन्।

१० वर्षपछि अदालतले रामकृष्ण श्रेष्ठको पक्षमा फैसला गर्यो। गिरीले आफ्नो सहकारीका सल्लाहकारमा पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्याय लगायतका व्यक्ति रहेको भन्दै प्रचार गरेको पाइएको थियो। 

अर्को घटना रौतहटको। विद्यालय भवन बनाउन रौतहटको पिपरैया शिवशंकर प्राविमा पैसा गयो ५ लाख। राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीसँग मिलमतो गरी विद्यालयकै कर्मचारी मोहनकुमारले प्रधानअध्यायपक जगतकिशोर मल्लिकको कीर्ते हस्ताक्षर गरी २ लाख ५० हजार रकम बाँडीचुँडी लिएका थिए।

आफूलाई थाहै नदिई रकम झिकेर गम्भीर ठगी गरेको भन्दै मल्लिकले जाहेरी दिएका थिए। २०७४ सालमा अदालतले मल्लिकको पक्षमा फैसला गरेको थियो। 

बेरोजगारको मारमा परेका युवाहरुलाई म्यानपावर कम्पनी छ, त्यसबाट विदेश पठाइदिन्छु भन्दै ठगेको पनि देखियो। 

२०७६ साल वैशाख १९ गते सर्वोच्चले चाँगुनारायणका कुलबहादुर कार्कीले विदेश लैजान्छु भन्दै ५ लाख ५० हजार ठगी गरेको पुष्टी गर्यो।

६२ सालदेखि नै ठगी गरेको भन्दै ओमबहादुर खड्काले ५४ जनाको ५६ लाख २ हजार १२ रुपैयाँ ठगी गरेको देखिएकाले बिगो भराउने र तीन वर्ष कैद सजाय तोक्यो अदालतले। 

यसरी हेर्दा नेपालीहरु जग्गा बेच्दा, विदेश जाने लोभमा, धेरै व्याज पाइने लोभमा परेर ठगिएको देखिएको छ। नेपाल प्रहरीका प्रवक्ता कसैले अस्वभाविक फाइदा देखायो भने के हो त भनेर शंका गर्नुपर्ने बताउँछन्।

‘बजारमा चलेको दरभन्दा बढीमा जग्गा किन्न खोज्ने, पहुँच देखाउने र अनलाइनमार्फत चिठ्ठा पर्यो भन्ने छन् भने त्यस्ताको कुरा नपत्याउन र आर्थिक कारोबार नगर्न सुझाउँछौँ,’ उनले भने, ‘पहुँच देखाउने र ठूलाठूला फाइदा देखाएर ठग्नेहरु बढी देखिएका छन्।’

तीन वर्षमा १३ अर्ब ठगी 
नेपाल प्रहरीका अनुसार पछिल्लो समय घर-जग्गा सँगै अनलाइन कारोबारमार्फत पनि ठगी बढेको छ। सोसल मिडियामा आइफोन उपहार पर्यो भनेर म्यासेज गर्ने, चिठ्ठा परेको बताएर ठगी गर्ने बढेको छ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकमा आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ९६ वटा मुद्दा दर्ता भएका थिए भने आव २०७७/०७८ मा ५ सय ६७ जनाको मुद्दा दर्ता भएको थियो। चालु आव नसकिँदै ठगी हुनेको संख्या ५ सय ८६ पुगेको छ। 

प्रहरीका अनुसार गत वर्ष कम ठगी भएको कारण कोरोनाका कारण भौतिक रुपमा ठगहरु सल्बलाउन नपाएर हो। तर यो अवधिमा अनलाइन ठगी भनेको बढेको देखिएको थियो। 

त्यस्तै आव २०७६/०७७ मा १ अर्ब ७० करोड ४२ लाख २२ हजार ४ सय ३४ रुपैयाँ ठगी भएको देखिएको थियो। मुद्दा दर्ता संख्या थोरै भए पनि आ २०७७/०७८ मा भने ठगीको रकम बढेको देखिन्छ। सो अवधिमा ३ अर्ब ४७ करोड ४८ लाख ८८ हजार ५ सय ९९ रुपैयाँ ठगी भएको थियो।

चालु आवमा त ठगिएको रकम ह्वात्तै बढेको देखिन्छ। यो वर्ष ७ अर्ब ६९ करोड ५६ लाख ५९ हजार ३ सय ६७ रुपैयाँ ठगी भएको देखिन्छ।

१८ बैशाख, २०७९, १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।