एमाले उपमेयर उम्मेदवार सुनिता 'फ्लप' मेयर विद्यासुन्दरको कोर टिमकी विज्ञ

एमाले उपमेयर उम्मेदवार सुनिता 'फ्लप' मेयर विद्यासुन्दरको कोर टिमकी विज्ञ

काठमाडौँ : सुनिता डङ्गोलले एकाएक काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरिन् स्वतन्त्र उम्मेदवारको रूपमा। उनले आफ्नै घोषणा पत्र समेत सार्वजनिक गरिन्। तर मनोनयन पत्र दर्ताको समयमा उप-मेयरमा झरिन् र एमालेबाट टिकट लिइन्।

स्वतन्त्र देखिए पनि डङ्गोल र शाक्यको सम्बन्ध पुरानै देखिन्छ। शाक्यको फेसबुक हेर्ने हो भने उनीहरू २०१४ देखि नै परिचित देखिन्छन्।

शाक्यको फेसबुक पेज हेर्दा यी दुवैको तस्बिर २०१४ को मितिमा फेला पर्छ। शाक्यले उनको तस्बिर बारम्बार सेयर गरेका छन्। यति  मात्रै हैन उनी शाक्यको कार्यकालमा शाक्यको कोर टिममै रहेर काम गरेकी थिइन्। काठमाडौँ महानगरपालिकाको मेयरमा शाक्यले जितेपछि उनले सहरी योजना आयोग बनाएका थिए।

आयोगको उपाध्यक्षमा सरोज बस्नेत छन्। सदस्यमा गुजेश्वरी श्रेष्ठ, सञ्जीव शाक्य, मनराजा रञ्जित, किर्ति कुसुम जोशी र राजनलाल जोशी थिए। आयोगले १२ जनालाई विज्ञको रूपमा नियुक्त गरेको थियो। जसमा सुनिताको नाम आठौँ नम्बरमा छ।

उनी सहायक विज्ञको रूपमा २०७६ असार ३१ मा नियुक्त भएर २०७७ फागुन १ गतेसम्म कार्यरत थिइन्। ब्याचलर अफ साइन्स बायोटेक्नोलोजीमा स्नातक गरेकी डङ्गोललाई शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापन विद्को रूपमा अधिकृत स्तर छैँठो तहमा नियुत्ती गरेको महानगरपालिकाबाट प्राप्त विवरणमा उल्लेख छ।

उनलाई सहायक विज्ञ  छैँठौ बराबरको सुविधा दिइएको महानगरले उकेरालाई उपलब्ध गराएको विवरणमा उल्लेख छ। सहायक छैँठौ विज्ञको मासिक तलब ३७ हजार ९ सय ९० रुपैयाँ र इन्धन खर्च ११ हजार गरी मासिक ४८ हजार ९ सय ९० रुपैयाँ रहेको देखिन्छ।

उनी शाक्यको कोर टिममा बसेर १ वर्ष ७ महिना काम गरेको थिइन्। उनले १८ महिना काम गर्दा ९ लाख ३० हजार ८ सय १० रुपैयाँ पारिश्रमिकको रूपमा बुझेकी थिइन्।

सूचनाको हक प्रयोग गरेको मागिएको विवरणमा सहरी योजना आयोगलाई नै सहयोग हुने गरी सोही ऐनमा टेकेर विभिन्न समयमा १२ जना विज्ञहरूको नियुत्ती गरेको देखिन्छ। १२ जना विज्ञहरूमा रन्जीता शाक्य उदास,नीलिमा थापा श्रेष्ठ, जेनी श्रेष्ठ, जयश्री भण्डारी,सन्ध्या बज्राचार्य, प्रियङ्का प्रधान, कपिल फुयाँल, प्रतीक्षा राई, मणिराज बास्तोला, सुरेश मानन्धर,रेगन रञ्जित नियुत्ती भएको देखिन्छ।

महानगरले उपाध्यक्षलाई मासिक ६२ हजार ६ सय ८० रुपैयाँ मासिक पारिश्रमिक र १५ हजार इन्धन सुविधा दिएको देखिन्छ भने सदस्यहरूको ४९ हजार ३ सय ८० रुपैयाँ र १५ हजार इन्धन खर्च दिएको देखिन्छ।

सहायक विज्ञ सातौँलाई ३९ हजार ८ सय  ७० रुपैयाँ छैटौँलाई ३७  हजार ९ सय ९० रुपैयाँ दिएको देखिन्छ। इन्धन खर्च दुवै तहलाई बराबर ११ हजार रुपैयाँ दिएको देखिन्छ। सुनिता भने सहायक छैटौँ सरह तलब पाएकी हुन्।

काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य महानगरले सुनितालाई सहरी योजना आयोगमा विज्ञको रूपमा नियुत्ती गरेको बताए। ‘सहरी योजना आयोग गठन भएपछि सुनिता डङ्गोल मात्र होइन १२ जना विज्ञको नियुत्ती भएको थियो,’उनले भने, ‘केही समय काम गर्नु भयो अनि गर्नु भएन।’

यस विषयमा बुझ्न डङ्गोलसँग सम्पर्क राख्दा डङ्गोलले कार्यक्रममा भएको भन्दै म्यासेज गर्न भनिन्। उकेराले उनलाई महानगरमा केही समय काम गर्नु भएको रहेछ के के काम गर्नु भयो बिचैमा किन छोड्नु भयो भनी प्रश्न गरेको थियो। सो प्रश्नमा जवाफ दिँदै  डङ्गोलले  उकेरालाई भनिन् ‘मैले महानगरको शिक्षा, स्वास्थ्यका नीति बनाउन काम गरेकी हुँ। डेढ वर्ष पछि व्यक्तिगत कारण काम छाडेकी हुँ।’

उनीबारे जानकारका अनुसार उनले महानगरमा रहँदा लिपी र भाषा सम्बन्धी काम गर्ने गरेकी थिइन्। पढाइमा बाधा पुग्यो भन्दै उनले राजीनामा दिएकी थिइन्।

पूर्व मिस नेवा समेत रहेकी उनी नेवार समुदायमाझ लिपी सुन्दरीको रूपमा परिचित छिन्। उनी लामो समयदेखि रञ्जना लिपीको संरक्षणका लागि काम गर्दै आएकी थिइन्। उनले रञ्जना लिपी फैलाउन क्याली जात्रा नै चलाएकी थिइन्।

योजना र विज्ञलाई महानगरको दुई करोड

महानगरको विकासका लागि काम नगरेको भन्दै आलोचित शाक्यले सहरी योजना आयोग र विज्ञ नियुत्तीमा भने मनग्गे खर्च गरेको देखिन्छ। सहरी योजना आयोगका उपाध्यक्ष र सदस्यहरूलाई अहिले सम्म ७७ लाख ७३ हजार ९ सय ८० रुपैयाँ तलब भत्तामा खर्च भएको छ भने विज्ञ सदस्यहरूको लागि १ करोड २६ लाख ५६ हजार १० रुपैयाँ खर्च भएको देखिन्छ।

दुवै खर्च गर्दा काठमाडौँ महानगरले योजना बनाउने र सल्लाह दिने विज्ञलाई २ करोड ४ लाख २९ हजार ९ सय ९० रुपैयाँ खर्च भएको देखियो। आयोग ७६ जेठमा गठन भए पनि सदस्य र विज्ञ फरक फरक समयमा नियुत्ती भएका थिए। 

१६ बैशाख, २०७९, २३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।