बटुवा मार्ने भिआइपी चालक जोगाउन यातायातमै सेटिङ, अख्तियार पुग्यो लाइसेन्सको फाइल

बटुवा मार्ने भिआइपी चालक जोगाउन यातायातमै सेटिङ, अख्तियार पुग्यो लाइसेन्सको फाइल

काठमाडौँ : बियर पिएर लाइसेन्स नै नभई गाडी चलाएर दुर्घटना गराउँदा एक जनाको ज्यान गएको घटनामा जोगिन नेपाली कांग्रेसकी सांसद बिन्दिया कार्कीका छोरा रविनसिंह कार्कीको नाममा जारी भएको लाइसेन्स नक्कली भएको पुष्टि भएपछि यातायात व्यवस्था विभागले अनुसन्धानका लागि फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ।

कार्कीको तर्फबाट अदालतमा पेस भएको लाइसेन्स नम्बरमा अर्कै व्यक्तिको नाममा जारी भएको र परीक्षा दिने व्यक्ति समेत फरक रहेको उकेराले समाचार प्रकाशित गरेको थियो। उकेराले बुढानीलकण्ठमा भएको दुर्घटनासँगै मोरगंको दुर्घटनाबारे समेत न्याय कि अन्याय सिरिजमा निरन्तर फलो गरेको गरिरहेको छ।

घटनाबारे फलो गर्नेक्रममा उकेराकर्मीले यातायात व्यवस्था विभागमा समेत निरन्तर फलो गरिरहेको थियो। उकेराकर्मीले दुई साता अगाडि विभागका महानिर्देशक नमराज अधिकारीसँग भेटेर विराटनगरको घटनामा प्रयोग भएको सवारी चालक अनुमति पत्रको विवरणबारे जानकारी माग गर्दा उनले केही दिनपछि दिने बताएर फर्काएका थिए।

उकेराले मिसिलको आधारमा उपलब्ध गराएको विवरण विभागमा टिपाएको थियो। उकेराकर्मीले टिपाएको विवरणका आधारमा विभागमा रहेको रेकर्डसँग भिडाएर हेर्दा लाइसेन्स पाउने व्यक्ति कार्की र परीक्षा दिने व्यक्ति फरक-फरक रहेको र कर्मचारीबाट बदमासी भएको खुलेपछि विभागले छानबिनका लागि फाइलै अख्तियारमा पठायो।

विभाग स्रोतका अनुसार विभागको सफ्टवेयरको एक्टीभीटी लगमा हेर्दा बदमासी भएको प्रमाण फेला परेको हो। त्यसपछि विभागले सबै विवरण खुलाएर अख्तियारमा छानबिनका लागि पत्र लेखेर सबै विवरण पठायो।

विभागका महानिर्देशक नमराज अधिकारीले कार्कीको नाममा जारी भएको सवारी चालक अनुमति पत्रबारे प्राप्त प्रमाण सहित अख्तियारमा छानबिनका लागि पठाएको उकेरालाई जानकारी दिए। उनले  विवरण भने दिएनन्। उनले अब यो अख्तियारको अनुसन्धानको क्षेत्रभित्र परेको भन्दै विवरण दिन अस्वीकार गरे।

 ‘लाइसेन्स लिने व्यक्ति र लाइसेन्सको लागि परीक्षा दिने व्यक्ति फरक-फरक भएको समाचार आएपछि हामीले अनुसन्धान थाल्यौँ,’ उनले उकेरासँग भने, ‘कोड हुने भएकाले कुन कर्मचारीको संलग्नता हो खुलेको छैन। तर हामीले एक्टीभीटी लग सहितको विवरण अख्तियारमा अनुसन्धानको लागि पठाएका छौँ।’

अख्तियारका अधिकारीले समेत विभागबाट तीन वटा चिठी आएको र अनुसन्धानको क्रममा रहेको पुष्टि गरेका छन्। ‘अनुसन्धानको लागि केही कागजात यातायात व्यवस्था विभागबाट आएको छ,’सूचना अधिकारी वेद प्रसाद भण्डारीले भने,‘पत्रको व्योहोरा अनुसार अनुसन्धान हुन्छ।’

छोरालाई सजायबाट जोगाउन सांसद पदको दुरुपयोग

सांसद कार्कीका छोरा २४ वर्षका रविनसिंहले चलाएको आमाको नाममा रहेको प्रदेश ३–०१–०२२ च २१३९ नम्बरको कारले २०७८ जेठ २० मा बटुवालाई ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको थियो। न्यु एभरेस्ट फर्निचरमा काम सकाएर कोठामा जान सडक किनारामा हिँडिरहेका भारतीय नागरिक राजकुमार राजवंशी र मुकेश दासलाई कार्कीले चलाएको गाडिले ठक्कर दिएको थियो।

घटनाको तीन दिनपछि उनी पक्राउ परेका थिए। प्रहरी बयानमा कार्की र उनीसँगै कारमा रहेकाहरूले बियर खाएको स्वीकार गरे पनि पछि अदालतमा उनले बयान बदले। उनले कहिल्यै रक्सी नै नखाने गरेको दाबी गर्दै सवारी चालक अनुमति पत्र समेत भएको दाबी गरेका थिए।

थुनछेक बहसमा जिल्ला अदालत मोरगंले उनलाई पुर्पक्षका लागि थुनामा पठायो र मादक पदार्थ सेवन गरेर जानाजान दुर्घटना गराएको ठहर गर्दै जिल्ला अदालतले २०७६ कात्तिक १५ मा तीन वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको थियो।

जिल्लाको फैसलाविरुद्ध कार्की परिवार उच्च अदालतमा पुनरावेदनका लागि गएपछि उच्चका न्यायाधीश कृष्ण कमल अधिकारी र जगनारायण प्रधानले प्राविधिक गडबडी भन्दै कैदलाई ६ महिना १५ दिन मा झारिदिए र जरिवाना ३० हजारबाट २ हजारमा झारिदिए।

फैसला गर्दा अदालतमा पेस भएको लाइसेन्सको विवरणको आधारमा उनीसँग सवारी चलाउने अनुमति पत्र रहेको अदालतले स्विकारेको देखिन्छ। यसमा सांसद कार्कीले पदीय दुरुपयोग गरेको देखिन्छ।

यसरी निकालियो नक्कली लाइसेन्स

प्रारम्भमा प्रहरी बयानमा कार्कीले ’यातायात व्यवस्था कार्यालय कोसीबाट सवारी चालक अनुमति पत्र लिएको’ दाबी गरेका थिए। पछि बयान सच्याएर काठमाडौँबाट बि वर्गको अनुमति पत्र लिएको दाबी गरे। उनले सक्कल पेस गर्न सकेनन् र हराएको दाबी गरे।

उनले बयानमा दिएको जानकारी अनुसार उनले काठमाडौँबाट ०१–०६–००५४२५८९ नम्बरको चालक अनुमति पत्र लिएको र त्यसको जारी मिति २०७५–७–१२ गते रहेको उल्लेख थियो। उकेराले यसैको आधारमा विभागसम्म पुगेर खोजी गर्दा कार्कीले आफ्नो नाममा जारी भएको दाबी गरेको लाइसेन्स अर्कैको नामको भएको पुष्टि भयो।

कार्कीको नामको अदालतमा पेश भएको नक्कली फारम( उकेरा) अनि हाल यातायात व्यवस्था कार्यालयमा राखिएको फोटो फरक भएको फारम( नेपालखबर)

कार्कीले अनुसन्धानकोक्रममा पेस गरेको विवरणमा उनले २०२१ जुन ६ मा लाइसेन्सका लागि निवेदन दिएको देखिन्छ। उनको निवेदन नम्बर छ ६७०९५४३। अदालतमा प्रमाणको रूपमा पेस गरेकै विवरणमा उनी २०२१ अप्रिल १३ मा परीक्षामा सहभागी भएर पास भएको उल्लेख छ भने लाइसेन्स जारी भएको मितिमा २०१८ अक्टोबर २९ उल्लेख छ। विवरणमै गन्जागोल मिति भए पनि अनुसन्धानमा कसैले चासो राखेको देखिएन।

विभागको विवरण अनुसार सो लाइसेन्स नम्बर बाहकले  २०१७ र २०१८ मा कार/जिप/ डेलिभरी भ्यानका लागि आवेदन दिएको देखिन्छ। २०२१ मा उनले ट्रक/बस र लरीका लागि आवेदन दिएर उत्तीर्ण भएको देखिन्छ। तर कार्कीले पाएको लाइसेन्स भने बि क्याटगरीको थियो। यतिको गडबड भएको विवरणलाई नै अनुसन्धान अधिकारी र अदालतबाट प्रमाणित गरिएकाले सबै तहमा मिलेमतो भएको देखाउँछ नै।

यति मात्रै हैन। विभागको आवेदन र परीक्षा सम्बन्धी विवरणमा उनले उल्लेख गरेको आवेदन नम्बर ६७०९५४३ को परीक्षाको मिति २०१८ अप्रिल १३ उल्लेख छ। अनि सो आवेदक भेष बहादुर माझी उल्लेख छ। उनले ट्रक/ बस र लरीका लागि परिक्षादिँदा उनी फेल भएको यातायातको विवरणमा उल्लेख छ।

यो विवरणले कार्कीले लाइसेन्स नै नभई गाडी चलाएर दुर्घटना गराउँदा एक जनाको ज्यान गएपछि रक्सी खाएको प्रमाण नष्ट गर्न तीन दिन लुकाएको र सवारी चालक भएको देखाउँदा अर्कैको नाममा जारी भएको लाइसेन्स नम्बर राखेर अर्कै परीक्षार्थीको प्रवेश परीक्षाको विवरण राखेर लाइसेन्स निकालेको पुष्टि हुन्छ।

जिल्लाबाटै त्रुटी, उच्चबाट सदर

यो घटनाको अनुसन्धान हेर्दा प्रहरीहुँदै जिल्ला अदालत र उच्च अदालतले समेत सवारी चालक अनुमति पत्र छ या छैन भन्नेतिर त्यति चासो राखेको देखिन्न। तीनै निकायमा केवल बियर पिएर सवारी चलाएको हो या हैन मै केन्द्रित भएको थियो। घटनाको तीन दिनपछि पक्राउ परेकाले घटनाको बेलामा उनले मादक पदार्थ सेवन गरेको हो या हैन भन्ने प्राविधिक प्रमाण जुटाउन सम्भव थिएन। तर प्रहरी बयान, कार्कीसँगै कारमा रहेकाहरूको बयान अनि उनीहरूले खाजा खाएको होटेलको बिल र होटेल सञ्चालकको बयानले १६ बोतल बियर खाएको देखिएको थियो।

सवारी चालक अनुमति पत्र नभई सवारी चलाउनु लापरबाही भएको र यसमा सवारी ज्यानमा मुद्दा चल्ने सर्वोच्च अदालतबाट नजिर नै बनिसकेकाले लाइसेन्सबारे गहिरिएर अनुसन्धान भएको भए उच्चसम्म पुग्दा नै कार्की परिवारले गरेको बदमासी खुल्थ्यो।

‘हामीले एक्टीभीटी लगमा केही कमजोरी देखिएर अख्तियार फाइल पठाएका हौँ,’ महानिर्देशक घिमिरेले उकेरासँग भने भने, ‘के भएको हो, कसको संलग्नता हो त्यो  अख्तियारले छानबिन गरेपछि थाहा होला। अहिले भन्न मिल्दैन।’

नक्कली लाइसेन्स सक्कली भएको विभागको पत्र कसले पठायो ?

उकेराको फलोअपमा विभागको ढड्डामा ०१-०६-००५४२५८९ नम्बरको सवारी चालक अनुमति पत्र कार्कीकै नाममा रहेको देखिएको थियो। तर कम्प्युटर विवरणमा भने यो विवरण मिलेन। तर जिल्ला प्रहरी कार्यालय मोरगंलाई २०७८-३-८ गते विभागले पठाएको पत्रमा भने विभागको कम्प्युटर अभिलेखमा कार्कीकै नाममा सो सवारी चालक अनुमति पत्र रहेको विवरण खुलाउँदै पत्र पठाइएको छ। पत्रमा विभागका अधिकृत छैटौँ खेमराज भट्टराइको नाम र हस्ताक्षर रहेको छ।

बुढानीलकण्ठको पनि नक्कली तर छानबिन गर्न अदालतको आदेश कुर्दै

बुढानीलकण्ठमा रक्सी खाएर सवारी चलाएर पैदल यात्रीको ज्यान लिएको केसका अभियुक्त पृथ्वी मल्लको केस र कार्कीको केसमा भएको चलखेल उस्तै छ। त्यसमा पनि मापसे नगरेको अनि सवारी चालक अनुमति पत्र भएको भन्दै लापरबाहीले चलाएको गाडिले ठक्कर दिएकोलाई प्राविधिक गडबडीले दुर्घटना बनाउँदै न्युज सजाय तोकिएको थियो।

कार्कीको केसमा नेपालकै नक्कली लाइसेन्स देखाइयो। मल्ल अमेरिकामा बस्ने भएकाले उनको परिवारले नक्कली अन्तर्राष्ट्रिय लाइसेन्स बनाएर अदालतमा पेस गरे। त्यसमा पनि यातायात व्यवस्था विभागको मिलेमतो देखिन्छ नै।

मल्ल परिवारले प्रहरीमा पेश गरेको लाइसेन्स र उमेश श्रेष्ठले भुस्याहा कुकुरको नाममा निकालेको लाइसेन्स।

महानिर्देशक घिमिरेका अनुसार अन्तर्राष्ट्रिय लाइसेन्सका हकमा स्थानीयकरण गर्नु नपर्ने र नेपालमा सहजै सवारी चलाउन पाउने बताउँछन्।

मल्लको सवालमा विभागले त्यो अन्तर्राष्ट्रिय लाइसेन्स हो या होइन भनेर अमेरिकी राजदूतावास मार्फत अमेरिकाको जारी भएको सम्बन्धित निकायमा प्रश्न सोधेर पठाउनुपर्ने उताबाट आएको प्रमाणको आधारमा अन्तर्राष्ट्रिय हो हैन प्रमाणित गर्नुपर्ने बताए।

'अनलाइन हेरेर भेरीफाइ गर्ने होइन। सम्बन्धित देशको दूतावासमार्फत लाइसेन्स जारी गरेको सम्बन्धी कार्यालयबाट पुष्टि गराउनुपर्छ,' उनले भने।

तर मल्लको केसमा यातायात व्यवस्था विभागले पुष्टिका लागि सो प्रक्रिया पुरा गरेको मिसिलबाटै देखिन्न। विभागले अनलाइनबाट उस्तै प्रकृतिका लाइसेन्स सर्च गरेर मल्लको परिवारले बुझाएको लाइसेन्स अन्तर्राष्ट्रिय हो भनेर पत्र पठाएको मिसिलमा संलग्न विभागको कागजपत्रले पुष्टि गर्छ।

मल्लको फैसला सार्वजनिक भएपछि उनले जुन निकायबाट लाइसेन्स लिएको दाबी गरिएको त्यही वेबसाइटमा नेपालबाटै फर्म भरेर खोज पत्रकार उमेश श्रेष्ठले भुस्याहा कुकुरको नाममा लाइसेन्स निकालेका थिए।

यसबारे अधिकारी आफू त्यो बेलामा यातायातमा नभएकाले विस्तृत जानकारी नभएको र अदालतमा पुगेको केस भएकाले अदालतले पुन आदेश दिएमा लाइसेन्स सक्कली हो या नक्कली पुन पुष्टि गर्न सकिने बताए।

न्याय कि अन्याय सिरिज

१५ बैशाख, २०७९, १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।