सिरियल ठग मनोजको पोर्टफोलियो ११ अर्बको : हाइड्रोदेखि कलेजसम्म लगानी तर ठगीमा जेलमा

सिरियल ठग मनोजको पोर्टफोलियो ११ अर्बको : हाइड्रोदेखि  कलेजसम्म लगानी तर  ठगीमा जेलमा

काठमाडौँ : सिरियल ठग मनोज भण्डारीले नेपाली सेनाको जिम्मामा रहेको काठमाडौँ मधेस फास्ट्रयाकको ठेक्का देखाएर बिक्की जङ्ग राणाको २ करोड ७५ लाख ठगेको खुलेको छ। उकेराले यस अगाडि भण्डारीले कसरी ४० करोड ठगी गरे भन्ने विस्तृत विवरण सार्वजनिक गरेको थियो।

उकेरामा प्रकाशित समाचार पढेर राणा भण्डारीको ठगीको फाइलै बोकेर आइपुगे। उनलाई भण्डारीले फास्टट्रयाकको ठेक्कामा शेयर दिनेदेखि कम्पनीको शेयर दिनेसम्मको प्रलोभनमा पारेर २ करोड ७५ लाख ठगेको देखियो।

उनले निमार्ण कम्पनी कन्टेक्ट कन्स्ट्रक्सनले नेपाली सेनाले बनाउँदै गरेको फास्ट ट्र्याकमा काम गरेको देखियो। नेपाली सेनाका प्रवक्ता नारायण सिलुवालले दिएको जानकारी अनुसार कन्टेक्ट कन्स्ट्रक्सन प्रालीले सब कन्ट्याक्टरको रूपमा काम गरेको थियो।

‘हामीसँग प्रत्यक्ष सम्झौता गरेर यो कम्पनिले काम गरेको छैन। हामीले करार गरेका कम्पनीसँग आबद्ध भएर दुई आर्थिक वर्ष यो कम्पनिले काम गरेको देखिन्छ,’ उनले भने।

उसले फास्टट्रयाकमा आर्थिक वर्ष २०७४-०७५ मा ४१ करोड र आर्थिक वर्ष २०७५-०७६ मा ४० करोड बराबरको काम गरेको थियो। अघिल्लो वर्ष उद्धव भण्डारी कनट्याक्ट कन्स्ट्रक्सन प्रालिको प्रमुख थियो भने अव ०७५-०७६ मा मनोज कुमार भण्डारी नै प्रालिको प्रमुख थिए।

जबकि भण्डारीको ठगी शृङ्खला ०७१ देखि नै सुरु भएको प्राप्त प्रमाणले देखाउँछ। ०७१ सालमा आफ्नै बुबाका साथी मुकुन्द राज जोशी परिवारलाई ४ करोड २० लाख ठगेका उनले ०७५ मा धनगढीकी शारदा सिंहलाई २० करोड ठगी गरेको देखिन्छ। यसै गरी उनले काठमाडौँकै सहारा राणालाई ०७४ मा १ करोड १० लाख ठगी गरेको देखिन्छ। जोशी परिवारलाई तिर्नुपर्ने रकम नतिरी फरार भएका उनलाई चैत २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

भण्डारीले ठगेका बिक्की जसले बेचेको जग्गाको पैसा पाएनन्

भण्डारी पक्राउ परेपछि उनीबाट ठगिएका अन्य पनि खुल्न थाले। उकेराको कार्यालयमा आइपुगेका बिक्कीसँग अहिले भण्डारीले विभिन्न मितिमा दिएका ४ वटा चेक रहेछन्। उनीसँग मेगा बैङ्कको २० लाख रुपैयाँ, माछापुच्छ्रे बैङ्कको २ करोड ३० लाख रुपैयाँ बराबरको २ वटा चेक र सिटिजन्स बैङ्कको २५ लाख रुपैयाँ बराबरको चेक छ। सबै चेक काटिएको खातामा रकम नभएपछि उनले चेक अनादरको मुद्दा दर्ता गराएका छन्।

 ‘पटक पटक हामीले रकम दिनुस् भनेर फोन गर्यौ, उ त हाम्रो सम्पर्कबाट बाहिरियो,’ उनले भने, ‘नम्बर नै फेर्ने दिन्छु भनेर नदिएपछि फागुनमा निवेदन दिएँ।’

 शेयर दिन्छु भन्दै ठग्दै

बिक्कीलाई भण्डारीले  लिएको पैसा फिर्ता दिन नसकेपछि आफू आबद्ध रहेको कम्पनीको शेयर ट्रान्सफर गरिदिने प्रस्ताव गरे। उनले स्विकारे पनि। २०७४ मा उनलाई भण्डारीको एकलौटी हक भोग र स्वामित्वको फर्निवर्ल्ड ट्रेडिङ्ग प्रालिको शेयर दिएको कागज पनि गरे।

सो पत्रमा  ‘कित्ता रु एक सय पर्न जम्मा कित्ता नं ००१ देखि ६०००० सम्मको ६०००० कित्ता र १००००१ देखि १५०००० सम्मको ५०००० कित्ता गरी जम्मा ११०००० थान शेयरको जम्मा ११०,००,००० अक्षरूपी एक करोड दस लाख रुपैयाँ मात्रमा विक्री गरी काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं बस्ने तपाई बिक्की जङ्ग राणालाई दिए’ भनी उल्लेख छ।

सम्झौता भएको मिति देखि लागू हुने गरी नामसारी गरेका भण्डारीले कुनै कारण बस नामसारी हुन नसकेमा बिक्कीबाट लिएको रुपैयाँको साँवा र ब्याज समेत प्रचलित कानुन बमोजिम घर-घराना, चल-अचल सम्पत्तिबाट असुलउपर गर्न सक्ने उल्लेख गरियो।

सिरियल ठग मनोजकुमार जसले बाउको साथीदेखि पार्टनरसम्मलाई छाडेनन् ठग्न

बिक्कीले सेयर विक्री गर्न २०७४ माघ १८ मा फर्निवर्ल्ड  ट्रेडिङमा प्राविका सञ्चालक समितिलाई पत्र लेखेँ। निवेदन त लेखे तर निवेदनको सुनुवाइ भएन। अहिलेसम्म न त उनले शेयर बेच्न पाएँ न त जग्गा बेचेको रकम नै।

‘उसले शेयर दिएँ भनेर कागज त गर्यो। मैले शेयर बेच्न पाइन,’ बिक्कीले भने, ‘अहिलेसम्म न त जग्गा भयो। न  तर रकम नै।’

बिक्कीलाई भण्डारीले सेनाले बनाउन लागेको फास्ट ट्र्याकको जिम्मा लिएको कारण पैसाको कुनै अभाव नहुने भनी उनको जग्गा लिएका थिए। बिक्की आबद्ध रहेको कम्पनी कन्टेक्ट कन्स्ट्रक्सन कम्पनिले नेपाली सेनाले बनाउन लागेको फास्ट ट्र्याकको सब कन्ट्याक्टरको रूपमा काम गरिरहेको पनि थियो। त्यही देखाएपछि उनले पनि पत्याएर। तर उनले त्यो ठेक्कालाई ठगीको हतियार बनाएका रहेछन्।

पोल्यान्ड विश्वविद्यालयका पिएचडी होल्डर, राष्ट्र बैङ्कका पूर्व सहायक निर्देशक

भण्डारीको बायोडाटा हेर्ने हो भने जो कोही पनि प्रभावित हुन्छ नै। राणा पनि प्रभावित भए। 'यति पढे-लेखेको मान्छेले के धोका देला र भनेरै पत्याएको हो,' उनले भने पनि।

उनको बायोडाटा अनुसार उनले पोखरा युनिर्भसीटीबाट सन् २००५ मा एमबिए सक्काए। त्यसपछि पोल्यान्डको युनिभर्सिटी अफ वारसअमा (इएमइए) प्रोजेक्ट अन्तर्गत पिएचडी होल्डर भएको उल्लेख गरेका छन्। त्यस्तै नेपाल राष्ट्र बैङ्कको सन् २००८ नोभेम्बर २०१४ सम्म काम गरेको, चौधरी ग्रुपको चौधरी टावरको प्रबन्ध निर्देशकको रूपमा सन् २००६ देखि सन् २००८ सम्म काम गरेको समेत उल्लेख गरेका छन्।

राष्ट्र बैङ्कको जागिर छोडेपछि भने ११ वटा कम्पनीको कार्यकारी अध्यक्ष भएको समेत उनले बायोडाटामा उल्लेख गरेका छन्। फर्नीवल्र्ड कम्पनीको कार्यकारी अध्यक्ष रहेका उनले यो कम्पनीको टोटल प्रोजेक्ट साइज १० करोड बराबरको उल्लेख गरेका छन्।

त्यस्तै एसियन कनेन्सनल ट्रेडिङ प्रालिको १५ करोड बराबरको प्रोजेक्ट साइज उल्लेख गरेका छन्। अर्को कम्पनी बिटी सप्लायर एन्ड प्रिन्टीगं टोटल प्रोजेक्ट साइज ३० करोड, नेचर अफ बिजनेस प्रिन्टिङ ५० करोड बराबर,  नेचर अफ बिजनेस रेस्टुरेन्ट एन्ड हस्पिटालीटीमा  १२ करोड,  नेचर अफ बिजनेस हाइड्रोपावरमा १ अर्ब ३० करोड लमजुङको भुजुङमा, कास्की २२ मेगावाटको ४ अर्ब १० करोड लगानी गरेको देखाएका छन्।

होटेल रेस्टुरेन्ट, फर्नीसिङमा मात्र नभएर भण्डारी आबद्ध कम्पनी नेपाल पोर्टफोलीयो इन्भेस्टमेन्ट प्रालिमा समेत  ४० करोड, अष्टागं एजुकेसन प्रालिमा  २ अर्ब ५० करोड, ग्लोबल कलेज अफ म्यानेजमेन्टमा १ अर्ब ३५ करोड लगानी रहेको देखाएका उनले हिमशिखर सहकारीको संस्थापक अध्यक्ष समेत भएको उल्लेख गरेका छन्। तर अहिले ४० करोड ठगीमा जेलमा छन्।

८ बैशाख, २०७९, १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।