स्थानीय सरकार

स्याङजाको निर्वाचन प्रतिष्ठाको लडाइँ: पार्टी विभाजनले एमालेमा भय, गुमेको विरासत फर्काउने कांग्रेसको ध्येय


स्याङ्जा : पाँच नगरपालिका र ६ गाउँपालिका छन् स्याङजा जिल्लामा। यी पालिकाको नेतृत्त्वमा पुग्न यतिबेला आकांक्षीहरू जोडतोडले लागेका छन्।

नेता र कार्यकर्ता उम्मेदवार बन्न आ-आफ्नो ढंगले लबिङ गरिरहेका छन्। दलहरू उम्मेदवार छान्न केन्द्रित भएका छन्। स्याङजामा आगामी निर्वाचनमा मुख्यतः सत्ता गठबन्धन र एमालेबीच नै हो प्रतिस्पर्धा। यसअघि ०७४ को स्थानीय निर्वाचनमा ११ पालिकामध्ये एमालेले सदरमुकाम पुतलीबजार नगरपालिकासहित ६ वटा पालिकामा प्रमुखमा जितेका थियो।

त्यसैगरी कांग्रेसले सदरमुकामपछिको दास्रो ठूलो वालिङ नगरपालिकासहित पाँच पालिका प्रमुखमा विजयी भएको थियो। तर यसअघिको निर्वाचनमा दलहरू एक्ला-एक्लै भिडेका थिए। यो पटक हालसम्मको माहोलमा कांग्रेस, माओवादी केन्द्रसहितका सत्तारुढ दलको गठबन्धन र एमाले एक्लै निर्वाचन लड्ने देखिएको छ।

गत प्रतिनिधि सभा निर्वाचनमा स्याङजाबाट एमालेका पद्मा अर्याल र नारायण मरासिनी विजयी भएका थिए। प्रदेश सभाको निर्वाचनमा कांग्रेसका भगवतप्रकाश मल्ल, माओवादीका दीपक घर्ती मगर र एमालेबाट मीनप्रसाद गुरुङ र मोहन रेग्मी विजयी भएका थिए।

एमालेमा फुटसँगै गुटगत राजनीति

एमाले विभाजन भए पनि स्याङजाबाट निर्वाचित संघीय र प्रदेश सांसदहरू एमालेमै छन्। साविक एमालेका जिल्ला उपसचिव रामचन्द्र भट्टराई एकीकृत समाजवादीमा लागेका छन्।

पार्टी विभाजनपछि समाजवादीले जिल्लाका विभिन्न पालिकादेखि वडासम्म संगठन विस्तारलाई तीव्र पारिरहेको छ। जिल्लाका शीर्ष नेताहरू एमालेमै रहे पनि पार्टीलाई निर्वाचनमा पराजय गराउनसक्ने प्रभाव देखिएको छ। पार्टीमा आएको फुटले आगामी निर्वाचनमा पराजय भोग्नुपर्ने भय अहिले स्याङजाका एमाले नेताहरूमा छ।

यसपटक एमालेको मुख्य ध्येय गत स्थानीय निर्वाचनमा जित हासिल गरेको पालिकाहरू जोगाउनु नै हो। तर, पछिल्लो समय माओवादीबाट एमालेमा छिरेर जिल्ला अध्यक्ष बनेका सूर्यप्रसाद गैह्रे (पारस) र लामो समयदेखि एमालेमै क्रियाशील नेताहरूबीचको मनमुटावका कारण पार्टीभित्रै समस्या देखिएको छ।

एमाले र माओवादीबीचको पार्टी एकताका बेला भागबण्डा मिलाउने क्रममा स्याङजाको अध्यक्ष बनेका पारसलाई गत अधिवेशनमा पार्टी सचिव पद्मा अर्यालले समर्थन गरेकी थिइन्।

साविक एमालेमा रहेर लामो समयदेखि सँगै काम गर्दै आएका नारायण मरासिनीलाई पन्छाउँदै अर्यालले पूर्वमाओवादी पारसलाई समर्थन गरेर जिल्ला अध्यक्ष बनाएपछि स्याङजा एमालेमा गुटगत राजनीति हावी भएको छ।

अर्याल र पारससँग सांसद नारायण मरासिनी लगायतका नेताहरू असन्तुष्ट छन्। यता महाधिवेशनबाट स्याङजामा युवापुस्तामाझ लोकप्रिय नेताको छवि बनाएका सुधीरकुमार पौडेललाई जिल्ला अध्यक्ष बन्न नेतृ अर्यालले रोकेका कारण अहिले उनी समेत असन्तुष्ट छन्।

पछिल्लो समय केन्द्रीय राजनीतिमा प्रभाव जमाएसँगै नेतृ अर्यालले जिल्लाका नेताहरूप्रति गुटगत व्यवहार गर्न थालेकी छिन्। यसले स्थानीय नेता/कार्यकर्तामा असन्तुष्टि बढिरहेको छ।

अहिले एमाले आन्तरिक असन्तुष्टिका बीच विगतमा जितेको ठाउँ सुरक्षित गर्ने र संगठन विस्तारसँगै प्रचारात्मक अभियान मार्फत जनमत बटुल्ने योजनामा जुटेको छ।

अर्कोतर्फ एमालेमा आएको विभाजनको फाइदा उठाउँदै गत निर्वाचनमा पराजय भोगेका स्थानीय तहसँगै अब हुने संघीय र प्रदेश सभा निर्वाचनको परिणाम आफनो पक्षमा पार्ने दाउमा कांग्रेस, माओवादी लगायत गठबन्धनका दलहरू देखिएका छन्।

प्रतिष्ठा जोगाउन हम्मे

स्याङजा कांग्रेसका उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र एमालेकी केन्द्रीय सचिव पद्माकुमारी अर्यालको गृह जिल्ला भएकोले पनि चुनावी माहोल बढी नै तातेको छ स्याङजामा।

विगतमा गोपालमानको प्रभावका कारण स्याङजाका अधिकांश क्षेत्रमा कांग्रेसले एकछत्र निर्वाचन जित्दै आएको थियो। तर, उनी केन्द्रीय राजनीतिमा पुगेपछि जनपेक्षाअनुसारको विकास निर्माणका काम भएन। यसैको फाइदा एमालेलाई भयो।

गोपालमानको राजनीतिक दवदवाकै बीच उनैलाई हराएर संघीय निर्वाचनमा विजयी भएपछि एकाएक चर्चामा आएकी हुन् अर्याल।गोपालमानको दवदवा भत्काउन सफल भएकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई मन्त्री समेत बनाएका थिए।अर्याल भूमिसुधारमन्त्री बनेकी थिइन्।

स्याङजाबाट सांसदमा विजयी भएदेखि नै ओलीको नजरमा परेकी अर्यालले एमालेको महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारी समेत हात पारिन्।

स्याङजामा पछिल्लो समय उनको नेतृत्त्वमा एमालेको प्रभाव बढ्दै गएकाले पनि पार्टीले उनलाई एकपछि अर्को महत्त्वपूर्ण जिम्मेवारी सुम्पिदै आएको छ।

पार्टीले सुम्पिएको जिम्मेवारी पूरा गर्दै जिल्लास्तरमा पार्टीको प्रतिष्ठा जोगाउने समेत चुनौती अहिले उनीसामु छ।

त्यस्तै कांग्रेसको केन्द्रीय उपसभापति हुन् धनराज गुरुङ। उनको गृहजिल्ला समेत स्याङजा नै हो।

स्थानीय निर्वाचनपूर्व पार्टीको महत्त्वपुर्ण जिम्मेवारी पाएकाले पनि स्याङजाको निर्वाचन उनको प्रतिष्ठासँग जोडिएको छ।

पछिल्लो समय जिल्लामा पार्टीको गिर्दो साखलाई बचाउने जिम्मेवारी समेत नेता गुरुङको काँधमा आइपरेको छ।

०७४ को स्थानीय तह, प्रदेश सभा र संघीय निर्वाचनमा समेत कांग्रेसले नराम्रो पराजय भोगेकाले विगतको विरासत फर्काउने चुनौती अहिले गुरुङकै काँधमा थपिएको छ।

त्यसैले निर्वाचनको मिति घोषणा भएयता पटक पटक जिल्ला पुगेर सक्रियता बढाइरहेका छन् गुरुङले।

यतिबेला स्याङजा प्रतिष्ठाको लडाइँको केन्द्र जस्तै बनेको छ। दुवै पक्ष आ-आफ्नो ढंगले प्रचारात्मक गतिविधिमा सक्रिय भएका छन्।

खुल्न थाले आकांक्षी

निर्वाचन केन्द्रित गतिविधिसँगै जिल्ला सदमुकाम समेत रहेको पुतलीबजार नगरपालिकामा पनि आकांक्षीहरू खुल्न थालेका छन्।

पुतलीबजारमा कांग्रेस, एमाले, माओवादीका तर्फबाट मेयरको उम्मेदवार बन्न झण्डै एक दर्जन नेताले आकांक्षा देखाएका छन्।

प्रमुख र उपप्रमुखको टुङ्गो लगाउन गठबन्धनबीच आन्तरिक छलफल भए पनि सहमति भइसकेको छैन।

त्यसैगरी एमालेमा पनि आकांक्षी धरै देखिएका छन्। एमालेका तर्फबाट पुतलीबजार नगरप्रमुख बन्न आठ जनाले आकांक्षा देखाएका छन्।

०७४ को निर्वाचनमा पुतलीबजार नगरपालिकामा एमालेका तर्फबाट प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा महेश पुरी विजयी भएका थिए।

यस्ता छन एमालेका आकांक्षी

नगरको मेयरका लागि एमालेका तर्फबाट सीमाकुमारी क्षेत्री, महेश पुरी, भरतबहादुर गोदार, अनन्तकुमार श्रेष्ठ, दीपक लम्साल, विपीन पौडेल, विद्यादेवी भट्टराई, रेशमबहादुर खत्रीको नाम चर्चामा छ।

त्यसैगरी उपमेयरमा तारा शर्मा, कमला मरासिनी, खड्गराज सुवेदी, ओमबहादुर खड्का, दोबबहादुर कार्की, ईश्वरी अर्याल, निर्मला लम्साल, शान्तिदेवी गौतम, तिलबहादुर सेन, निर्पलकुमार श्रेष्ठसहित ११ जनाले आकांक्षा देखाएका छन्।

नगरप्रमुखका आकांक्षीमध्ये सीमा क्षेत्री बहालवाला नगरप्रमुख हुन्। सदरमुकामसहित वरिपरिका विकट गाउँलाई मिलाएर नगरपालिका बनाइएकाले पहिलो कार्यकालमा आवश्यक पूर्वाधारको जग बसाल्ने कार्य गरेकाले अब जनताले महसुस गर्नेगरी काम गर्न पुनः कार्यकाल दोहोर्‍याउन चाहेको उनी बताउँछिन्।

उनले भनिन्, ‘पहिलो कार्यकालमा नगरका लागि आवश्यक अधारभूत (जग) कार्यको काम गरेका छौं। पाँच वर्षको अवधिमा सबै वडासम्म पुग्ने मोटरबाटो, खानेपानीदेखि अन्य आवश्यक पूर्वाधारको जग बसाउने काम गरेका छौं। अब, पुनः आगामी पाँच वर्ष मेयर बनेर जनअपेक्षाअनुसारका काम गर्ने चाहना छ।’

त्यस्तै पाँच वर्षमा स्याङजाको उपमेयर भएर महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेकाले आगामी निर्वाचनमा मेयरको स्वाभाविक दावेदार भएको उपमेयर महेश पुरी बताउँछन्।

उपप्रमुखको रूपमा काम गर्दा धेरै खालका सिकाइ हासिल गरेकाले आगामी निर्वाचनमा प्रमुखमा दावी गरेको उनी बताउँछन्।

उनी भन्छन, ‘हामीले नगरको सन्दर्भमा हेर्दा ‘समृद्ध पुतलीबजार सुखी नगरबासी’को लक्ष्य निर्धारण गर्‍यौं। त्यो लक्ष्य पूरा गर्नका लागि आफ्नो काम आफ्नो रोजगार कृषि पर्यटन निर्माण, मुख्य रोजगार भन्ने कार्यनीति बनायौं। त्यो कार्यनीतिको कार्यान्वयन गर्नका लागि जसको भिजन उसको कार्यान्वयन हुनुपर्छ। त्यो भिजन उपप्रमुखको भएकाले आफ्नो भिजनलाई प्रमुखको रूपमा लगेर कार्यान्वयन गर्न मैले मेयरमा दावी गरेको हुँ।’

उपप्रमुख पुरी मेयर बनेर नगरका दश हजार घरधुरीका जनातालाई एक घर एक रोजगार बनाउने योजना रहेको बताउँछन्। त्यसैगरी पार्टीका अन्य नेताहरू पनि पार्टीले दिएका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएकाले आफ्नो दावेदारी स्वाभाविक भएको बताउँछन्।

एमालेका अर्का आकांक्षी अन्नतकुमार श्रेष्ठ विद्यार्थी राजनीति हुँदै पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दे आएका छन्। श्रेष्ठ पुतलीबजारमा केही वर्ष पहिले कांग्रेसका गोपालमानको एकछत्र दवदवा रहेको अवस्थामा पनि एमालेमा सक्रिय रहेर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए।

यसअघिको स्थानीय निर्वाचनमा पनि पुतलीबजार नगरपालिकाको प्रमुखको आकांक्षी थिए उनी। तर, पार्टीले उनलाई उम्मेदवार बनाएन।

कांग्रेसका आकांक्षी बढी

कांग्रेसका तर्फबाट पुतलीबजारको प्रमुखमा श्रीप्रसाद जिटी, कुमार राना, तुलसीराम रेग्मी, तुलसी गिरी, अनुप श्रेष्ठ, भरत लम्साल, सुरजकुमार अधिकारी, हिरादेवी शर्मा, रामचन्द्र रेग्मी, पवन नेपाल, किरणबन्धु अर्याल, वेदप्रसाद दोरंगा, इन्द्रबहादुर गोदार, विक्रान्तकुमार श्रेष्ठ, कृष्णप्रसाद अर्याल, नवराज सुवेदी, केशवराज लम्साल, ख्यामबहादुर गुरुङ, शाह मोहम्मद, पदमबन्धु पोखरेल, मित्रबन्धु पोखरेल, धनकुमारी थापासहित २२ जनाले आकांक्षा देखाएका छन्।

नगरप्रमुखका आकांक्षी धेरै भएपछि छलफलबाट सहमति हुने सम्भावना न्यून छ। त्यसैले सबैको नाम जिल्लामा सिफारिस गर्ने तयारी भइरहेको नगर समितिले जनाएको छ। यसैगरी उपप्रमुखमा देवी अर्याल, तारा मल्ल, कौशीला पौडेल (क्षेत्री), विदुषा बस्नेत, दिलमाया पौडेल (सन्तोषी) र गीता आचार्य आकांक्षी रहेका छन्।

पुतलीबजारको आकांक्षीमध्येका तुलसीराम रेग्मी अघिल्लो निर्वाचनमा पनि कांग्रेसका तर्फबाट मेयर उम्मेदवार बनेका थिए। रेग्मीले ९ हजार २९ मत ल्याउँदा एमालेकी सीमाकुमारीले १० हजार २४९ मत ल्याएर विजयी भएकी थिइन्। त्यसैगरी माओवादीका दुर्गानारायण ढकालले ६ सय ६५ मत पाएका थिए।

अर्का आकांक्षी कुमार राना तत्कालीन स्याङजा कांग्रेसका जिल्ला सभापति कमल पंगेनीको मृत्यु भएपछि लामो समयसम्म कार्यवाहक सभापति समेत बनेका थिए। श्रीप्रसाद जिटी कांग्रेसका पुराना नेता हुन्। उनी यसअघि स्याङजा कांग्रेसको जिल्ला सभापति भइसकेका छन्।

माओवादी र समाजवादीलाई गठबन्धनकै भर

चुनावको मिति नजिकिए पनि उम्मेदवार छान्न माओवादी केन्द्र अलमलमै देखिन्छ। निर्वाचनमा उम्मेदवार बन्न आकांक्षीहरू पनि खासै खुलेका छैनन्। एमालेसँग पार्टी एकता गरेपछि लगभग ध्वस्त भएको पार्टी संगठनलाई पनि अगाडि बढाउन सकेका छैनन्।

गठबन्धनका दलबीच पद बाँडफाँटमा नगरप्रमुख पाउने सम्भावना नै नभएका कारण पनि माओवादीका आकांक्षी खुलेका छैनन्।गठबन्धनको दोस्रो ठूलो दल भए पनि स्याङजाको पुतलीबजारमा माओवादीको जनमत कमजोर छ। हाल माओवादी उम्मेदवारको नाम चर्चामा नल्याई चुनावी प्रचारप्रसार गरिरहेको छ।

केन्द्रमा गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डा चलेकाले पर्ख र हेरको अवस्थामा माओवादी छ। आकांक्षी भए पनि नाम सार्वजनिक नगरिएको माओवादी स्याङजा जिल्ला इञ्चार्ज शैलेन्द्र घिमिरेले बताए। उनले भने, ‘अहिले गठबन्धनका दलबीच कुरा चलिरहेको छ। हामीले पार्टीका तर्फबाट सबै तयारी पूरा गरेका छौं। गठबन्धनका दलबीच उम्मेदवार टुङ्गो लगाउने बेला हाम्रो पार्टीका उम्मेदवारको नाम दिन्छौं। अहिले हतारो नगरेको मात्र हो।’

जिल्ला इञ्चार्ज घिमिरेले पार्टीका तर्फबाट पुतलीबजार नगरपालिकाको मेयरमा उम्मेदवार बन्न मनबहादुर थापा र नारायण लम्सालले आकांक्षा देखाएको बताए। आकांक्षी थापा माओवादी केन्द्र पुतलीबजार नगर कमिटीका अध्यक्ष हुन्। अर्का आकांक्षी लम्साल पार्टीको गण्डकी प्रदेश कमिटी सदस्य हुन्।

त्यसैगरी पाँच दलीय गठबन्धनका तर्फबाट पुलतीबजार नगरको प्रमुखमा उम्मेदवार बन्न एकीकृत समाजवादीबाट अहिलेसम्म आकांक्षी खुल्न सकेका छैनन्। समाजवादीका नेता कार्यकर्ता अहिले संगठन विस्तारसँगै पार्टी विभाजनको औचित्य पुष्टि गर्न लागिपरेका छन्।

यस्तो छ निर्वाचनको अंकगणित

०७४ सालको निर्वाचनमा पुतलीबजार नगरपालिकाको मेयरमा एमालेकी सीमाकुमारी क्षेत्री विजयी भइन्। उनले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार तुलसीराम रेग्मीलाई एक हजार दुई सय २० मतान्तरले पराजित गरेकी थिइन्। माओवादीका उम्मेदवार दुर्गानारायण ढकालले ६६५ मत मात्र पाएका थिए।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्याङजामा दुई लाख ४० हजार ५३५ मतदाता रहेका छन्। त्यसमध्ये एक लाख १६ हजार ६ सय ६६ पुरुष र एक लाख २३ हजार आठ सय ६९ महिला मतदाता छन्।

स्याङजाका पाँच नगरपालिकामध्ये सबैभन्दा बढी मतदाता वालिङमा ३९ हजार ६ सय ५९ र सबैभन्दा कम भीरकोटमा २० हजार चार सय २७ रहेका छन्।

पुतलीबजारमा ३७ हजार सात सय आठ मतदाता रहेका छन्। गल्याङमा २९ हजार पाँच सय ५७ र चापाकोट नगरपालिकामा २१ हजार पाँच सय ४६ मतदाता रहेका छन्।

त्यसैगरी कालीगण्डकी गाउँपालिकामा १७ हजार नौ सय ३८, फेदीखोलामा १२ हजार एक सय ६५, अर्जुन चौपारीमा १३ हजार आठ सय ६७, आँधीखोलामा १६ हजार दुई सय ५०, विरुवामा १६ हजार पाँच सय ९९ र हरिनास गाउँपालिकामा १४ हजार आठ सय १९ मतदाता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ओलीप्रति बालेनको कटाक्ष– ‘दुईतिहाइको सरकारको प्रधानमन्त्री हुँदा सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएन?

सोमबार थापाथलीको सुकुम्बासी बस्ती महानगरको टोली भत्काउन गएपछि मंगलबार भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सुकुम्बासी बस्तीमा तमासा गरिएको भनेपछि प्रमुख साहले यस्तो आरोप लगाएका हुन्। प्रमुख....

ज्यान मार्ने धम्की आएपछि बालेनले भने- 'देशमा प्रहरी, प्रशासन र शान्ति सुरक्षा छ कि छैन ?'

सोमबार सुकुम्बासी बस्तीका अवैध संरचना हटाउन पुगेको महानगर प्रहरीसहितको टोलीमाथि स्थानीयले आक्रमण गरेका थिए। नगर प्रहरी र स्थानीयबीच झडप हुँदा १८ जना प्रहरी घाइते भएका....

महानगरले निकाल्याे विज्ञप्ति- '१८ नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही हाेस्'

प्रवक्ता ननीन मानन्धरले सोमबार साँझ विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका हुन्।  नियन्त्रणमा लिएर नगर प्रहरी शर्मिला बोगटीसहित १८ जनामाथि सांघातिक रूपमा घरेलु हतियार....

बाइसधारामा आजदेखि इ–टिकेटिङ, उपप्रमुखले गरिन् शुभारम्भ

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगन्तुकका लागि विद्युतीय टिकट काटेर सेवा सुरू गरेकी हुन्।

गुल्मीमा खरको छाना अब इतिहास बन्दै, आठ हजार घरमा जस्तापाता छाउने काम जारी

पानी पर्दा चुहिने डर, आगलागीमा पनि उत्तिकै डर हुने खरको छानोका कारण गुल्मीका विपन्न परिवारले यसअघि थुप्रै रात पीडामै बिताउँथे। केही वर्ष पहिले पनि जिल्लाको मुसिकोट नगरपालिका–४ दजाकोटमा....