त्रिचन्द्र क्याम्पसको हरिबिजोग : प्रशासन र मन्त्रालयले निर्णायक भूमिका नखेल्दाको परिणाम

त्रिचन्द्र क्याम्पसको हरिबिजोग : प्रशासन र मन्त्रालयले निर्णायक भूमिका नखेल्दाको परिणाम

  • ‘कलेज त जोखिम मोलेरै आइरहेका छौं। पढिरहेका त हुन्छौं तर घर फर्केर जान पाउने हो कि होइन थाहा हुँदैन।’ 

  • ‘म एक दिन भू-विज्ञानको कक्षामा पढ्न जाँदा रङका टुक्राहरु मेरो जिउमा खसिरहेका थिए। अहिले पो पानी परेको छैन, नत्र त पानी पनि चुहिएर बसिनसक्नु हुन्छ।
     
  • ‘कोठा पूरै अँध्यारो छ। भित्ताहरु सब चर्किएको छ। रङ उप्किसक्यो। पानी चुहिन्छ। अनि त्यो चुहिएको पानी लेउ बनेर हरियो भएर बस्छ। यस्तोमा पढ्न त गाह्रो भइहाल्छ नि। के गर्नु बल्ल-बल्ल क्याम्पस लाग्छ, आउनु त परिहाल्यो।’

त्रिचन्द्र बहुमुखी क्याम्पसमा पढ्ने अधिकांश विद्यार्थीको गुनासो हो यो। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको घण्टाघरसँग टाँसिएको भवन बन्न नसक्दा भत्किएकै संरचनामा पढ्न बाध्य छन् विद्यार्थी।

भूकम्पले जीर्ण बनाएर ‘रातो स्टिकर’ नै टाँस्नु परेको भवनमा अहिले पनि हजारौँ विद्यार्थी अध्ययन गरिरहेका छन्। क्षतिग्रस्त भएको संरचनामा पढ्नु पर्दा उनीहरुले असुरक्षित महसुस गरिरहेका छन्। 

संरचना कमजोर र जोखिमयुक्त भएपछि रातो स्टिकर टाँसिन्छ। जसको अर्थ भवन जुनसुकै बेला सानो तरङले पनि भत्कन सक्छ।

क्याम्पसमा अहिले करिब १० हजार विद्यार्थी अध्ययनरत छन्। ६ सयभन्दा बढी शिक्षक र १ सय ५० भन्दा बढी कर्मचारी कार्यरत छन्।

मानवीय क्षति हुने जोखिम उच्च भए पनि अरू कुनै विकल्प नभएकाले क्षतिग्रस्त भवनमै पठनपाठन गर्न बाध्य भएको क्याम्पसका सूचना अधिकारी बालकृष्ण पौडेलले बताए।

उनले भने, ‘विद्यार्थीलाई दरबार हाई स्कुलमा पढ्न स्थान दिने भन्ने कुरा भएको थियो। सरकारी विद्यालयहरू नगरपालिका मातहतमा पर्ने भएकाले काठमाडौँका मेयर र उपमेयर दुवैसँग छलफल भएको पनि हो। तर दरबार हाई स्कुल व्यवस्थापन समितिसँग छलफल गरेर त्रिचन्द्रका केही विभाग त्यहाँ स्थापना गर्न दिने छलफल कार्यान्वयनमा आउन सकेन।’

यस्तो व्यवहारले गर्दा सरकारले शिक्षालयलाई प्राथमिकतामा नराखेको देखिएको भन्दै अर्को विकल्पमा बाल्मीकि क्याम्पसमा भएको टहरा प्रयोग गर्न दिने छलफल पनि कुरामै सीमित भएको पौडेलको भनाइ छ। 

‘एक महिनाअघि मात्र पनि प्रशासनले शिक्षा मन्त्रालयमै गएर शिक्षामन्त्रीसँग छलफल गरेको पौडेलले बताए। त्यो छलफल पनि डिपिआर बन्दै छ अनि बजेट पनि आइसकेको छ भन्नेमै सीमित भयो। ‘विद्यार्थीलाई अर्को भवनमा राख्ने कुनै विकल्प छैन। विद्यार्थीको भर्ना कम गर्न पनि सकिँदैन,’ पौडेलले भने।

पुनर्निर्माण प्राधिकरणले पाँच वर्षभित्र त्रिवि मातहतका ३७ वटा युनिट निर्माण गर्ने भने पनि अहिलेसम्म पुननिर्माण भइसक्नु पर्ने त्रिचन्द्र क्याम्पस बनाउन सुरु पनि गरेका छैन। सम्बन्धित व्यक्तिहरुको हेलचेक्र्याईंका कारण पढ्ने विद्यार्थीहरु मारमा छन्।

‘विद्यार्थीहरू यस विषयलाई लिएर निराशसँगै आक्रोशित पनि भएका छन्। आ-आफ्नो तर्फबाट कुराहरू राखिरहेका छन्। पौडेल भन्छन्, ‘विद्यार्थी आन्दोलनमा उत्रिए भने समस्या हुन्छ। त्यस्तो परिस्थिति आउनु अगाडि नै निर्माण कार्य सुरु गरे राम्रो हुन्थ्यो।’

त्रिभुवन विश्व विद्यालयले पनि त्रिचन्द्रको संरचनामा चासो दिएको छैन भन्ने विषयमा त्रिविका प्राडा शिवलाल भुषाल भने असहमति जनाउँछन्। उनी भन्छन्, ‘यसबारे हाम्रो कुरा हुँदा पूर्ण जिम्मा राज्यले लिन्छ, तपार्इंहरु चिन्ता नलिनूस् भन्ने कुरा आएको छ। सरकारले यसलाई वृहत रानीपोखरी परियोजना अन्तर्गत जोडेको छ।’

शिक्षालयसँगै राष्ट्रिय सम्पदा पनि भएको कारण विश्वविद्यालय एक्लैले पहल गर्ने कुरा नभएको उनको भनाइ छ। पाँच वर्षअघि नै बन्न सुरु हुनुपर्ने सम्पदा अहिलेसम्म बनिसक्नुपर्ने भन्दै उनले ठ्याक्कै त्रिविले पनि केही भन्न नसक्ने बताए। 

कक्षाहरु सुरक्षित छैनन् भने विकल्प खोजेर नजिकैको दरबार हाई स्कुलको उपयोग गर्नेबारे आन्तरिक कुराकानी भएको भुषाल बताउँछन्। ‘तर अहिलेसम्म कलेजले विकल्प दिएको छैन। क्याम्पस प्रशासनले यो ठाउँ हेरेका छौं, स्वीकृति चाहियो भनेर लिखित रुपमा माग गर्यो भने त्रिवि पनि सहकार्य गर्न तयार छ। विश्वविद्यालयले नै खोज्दिन पर्यो भने पनि खोजिदिन्छ,’ उनले भने।

पुनर्निर्माण प्राधिकरणले पाँच वर्षभित्र त्रिवि मातहतका ३७ वटा युनिट निर्माण गर्ने भने पनि अहिलेसम्म पुननिर्माण भइसक्नु पर्ने त्रिचन्द्र क्याम्पस बनाउन सुरु पनि गरेका छैन। सम्बन्धित व्यक्तिहरुको हेलचेक्र्याईंका कारण पढ्ने विद्यार्थीहरु मारमा छन्।

यसका लागि शिक्षा मन्त्रालय, शिक्षा मन्त्रीसँगै विश्वविद्यालय र प्रशासनले निर्णायक भूमिका खेल्न जरूरी छ। विद्यार्थीहरुलाई पढ्नको लागि उपयुक्त वातावरण र सुरक्षित भवन बनाइदिन चाँडोभन्दा चाँडो निर्णय लिन आवश्यक छ। 

शिक्षाविदको धारणा
शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘त्रिचन्द्र क्याम्पस भनेको ऐतिहासिक सम्पदा हो। ऐतिहासिक सम्पदालाई बजारको रुपमा विकसित गरेर अन्ततिर लानु भनेको इतिहासलाई मार्नु हो। नेपालको सबैभन्दा पहिलो कलेज भएको ठाउँमा व्यापार गर्न त झनै पाइँदैन। बजार बनाउने, दुई/चार पैसा कमाउने हो भने एउटा निश्चित ठाउँ छुट्याएर क्याम्पसलाई असर नगरी बनाउनुपर्छ।’

संरचना नबनेसम्मका लागि अस्थायी ठाउँ हेर्नुपर्नेमा उनको जोड छ। त्यसको लागि नजिकै दरबार हाई स्कुलको उपयोग गर्न सकिने उनले बताए। त्यहाँ विद्यार्थी धेरै नभएको र संरचना पनि ठूलो भएको कारण यताका विद्यार्थी उता लान धेरै गाह्रो हुँदैन। त्यस्तै नजिकै भृकुटीमण्डपतिर भएका अन्य क्याम्पसहरुसँग पनि सहकार्य गर्न सकिने उनले बताए।

कोइरालाले भने, ‘अब अन्त लान पनि सकिएला तर अन्त लगेर संरचना बनाउँदा नचाहिने खर्च हुन्छ भन्ने मेरो ठम्याइ हो। त्यही भएर सहकार्य गर्न उचित हुन्छ र जतिसक्दो चाँडो उपयोग गरिहाल्नुपर्छ।’ 

यस्तो काममा विद्यार्थी संगठनको भूमिका यसमा खोज्नु नहुने तर्क गर्छन् कोइराला। ‘विद्यार्थी संगठनको भूमिका निर्माणमा होइन, पठन-पाठनमा हुनुपर्छ।’

८ बैशाख, २०७९, ०७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।