शोकलाई शक्तिमा बदल्न सिकाउने सेतोपुलको त्यो घर‍‍‍

शोकलाई शक्तिमा बदल्न सिकाउने सेतोपुलको त्यो घर‍‍‍
घरको तस्बिर नारायण वाग्लेको ट्विटबाट लिइएको हो।

काठमाडौँ :  मैतीदेवीको सेतोपुलको छेवैबाट अनामनगरतिर करिब ३ सय मिटर पार गरेपछि देब्रे साइडमा देखिन्छ नेपाली मौलिक पारामा बनेको आधुनिक घर। ठुलो ढिस्कोमुनि अन्य कङ्क्रिट संरचनाहरू पनि छन्। भद्दा सहरी संरचनाका बिचमा बनेको त्यो मौलिक घर अगाडि पुग्दा प्राय बटुवाले एक पटक त्यतातिर नजर लगाउँछन् नै।

लिंकरोडको रूपमा बनेको त्यो सडकमा बिस्तारै सवारीसाधनको सङ्ख्या बढ्दै छ। काठमाडौँका यस्ता ठाउँहरू अहिले सहरको थकान मेट्न रमाइलो गर्ने थलोका रूपमा विकसित हुँदै गएका छन्। झट्ट हेर्दा कतै त्यो घर पनि उही रेस्ट हाउसको प्रयोजनका लागि बनेको हो कि भन्ने लाग्नु स्वाभाविकै हो। किनकि अलि सानै अक्षरमा राखिएको बोर्डमा भने कमैको ध्यान जान्छ।

पैदल यात्रीका रूपमा परिचित सञ्चारकर्मी नारायण वाग्लेको पनि ध्यान तानेको थियो त्यो घरले। बाटामा हिँड्दा नौलो केही देखे फोटो खिचेर सामाजिक सञ्जालमा पोस्टिहाल्ने बानी बसेको छ अहिले उनको।

एक महिना अगाडि उनले घर सहितको तस्बिर राख्दै लेखे'जता पनि आँखा बिझाउने संरचना बनिरहेको बेला धोबीखोला किनारमा एउटा नयाँ भवनले ध्यान तानिरहेको थियो। साइनबोर्ड लागेपछि थाहा भयो- अल्पायुमा बितेका छोरा र छोरीको नाममा स्वनामधन्य बाबुआमाको पहल रहेछ।'  

उनले घरमा मधुरो गरी राखेको बोर्डको तस्बिर पनि राखेका थिए। डेरा-कार्यालय गर्दा भर्खर बन्दै गर्दादेखि नै त्यो घर देखिरहे पनि घरबारे जिज्ञासा बढाएको वाग्लेको त्यही ट्विटले थियो। बोर्डले थप कौतुहलता बढाएको थियो। गेस्ट हाउस बनाउने ठाउँमा सन्तानको नाममा घर बनाउने को रैछन् त?  जिज्ञासा लागिरहे पनि दैनिक हुने राजनीतिक उछलकुदको समाचारको पछि लाग्दा घरको कथा खोज्ने साइत जुर्न सकेको थिएन।

OOO

चैत अन्तिम साता त्यो घरमा छिर्ने साइत जुर्यो। घरभित्र भेटिइन् उमेरले आठ दशक पुगेकी डा. रिता थापा। उनको विवाह भेषबहादुर थापासँग भयो। पूर्व अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पहिलो उपाध्यक्ष, गभर्नर अनी पूर्व राजदूत समेत हुन् भेषबहादुर। सम्पन्न परिवार। सन्तानलाई कुने कमीबिना हुर्काए थापा दम्पतीले।

तर अल्पायुमा सन्तान वियोगले पीडा दियो।

‘मेरो केटाकेटीहरू असाध्यै ब्रिलियण्ट भए। तर स्ट्रेस असाध्यै भयो,’ थापा सम्झन्छिन्, ‘भगवानले के गर्यो–गर्यो हामीलाई।’ 

छोरा भास्कर थापा जियो टेक्निकल इन्जिनियर थिए। अमेरिकाको क्यालिफोर्निया बस्थे उनी। भूकम्प जाने ठाउँ थियो क्यालिफोर्निया, जहाँ भास्करले सुरुङ मार्ग बनाएका छन्। बाराक ओबामा अमेरिकी राष्ट्रपति हुँदा उक्त सुरुङ मार्गको नमुना ह्वाइटहाउसमा राखिएको थियो।

जियो टेक्निकल इन्जिनियरिङ नेपालको भूगोल सुहाउँदो भएकाले पढेको बताउँथे उनी। नेपालको चट्टान माटोको अध्ययन गरेसँगै इसिमोडमा आबद्ध भएर तालिम पनि दिएका थिए उनले। टेनिस खेल्दाखेल्दै उनलाई अकस्मात् हृदयाघात भयो र ४९ वर्षको उमेरमा भास्करको निधन भयो। सेप्टेम्बर ७, १९६३ मा जन्मिएका भास्करको भौतिक शरीर जुन १९, २०१३ मा खरानी भयो।

सेतोपुलमा रहेको फाउन्डेशनको कार्यालयमा डा रिता थापा

थापा दम्पतीका तीन सन्तान भास्कर, तेजश्री र मञ्जुश्रीमध्ये ५२ वर्षको तेजश्रीको भौतिक शरीरले संसार छाड्यो। उनी अन्तर्राष्ट्रिय मानव अधिकारवादी अधिवक्ता थिइन्।

आमा-बाका लागि आफ्नो सन्तानको भौतिक शरीरको बिदाइ जत्तिको पिडादायी क्षण अरू के नै हुन्छ र। त्यही सन्तान गुमाउँदाको पिडा भुलाउने थलोको खोजीमा निर्माण भएको घर हो त्यो।

OOO

 ‘भास्कर ज्ञानी थियो, तेजश्री जस्तो मसँग झगडा गर्न आउँदैनथ्यो। दुई बहिनीसँग मिलेर बस्थ्यो,’ थापाले आफ्नो छोरालाई सम्झिइन्।

भास्कर पढाइएको मामिलामा सिरियस थिए। भेषबहादुर थापा अमेरिकाको लागि राजदूत भए। राजाले भ्रमणको बेला राजदूतको लागि रात्रिभोज राख्ने गर्दथे।

‘रात्रिभोज चलिरहेको थियो। राजा वीरेन्द्र आफैँले सोधे तीन वटा केटाकेटी भनेको होइन भनेर। हो सरकार भने, तर त्यहाँ भास्कर थिएन। मेरो पढाइमा ध्यान दिने कि पार्टी खान आउने भनेर भास्कर नआएर त्यहाँ अप्ठ्यारो भएको थियो। मेले उसको परीक्षा चलिरहेको छ सरकार भनेर ढाँटे,’ थापा सम्झन्छिन्।

भास्करको जीवनशैली नेपालदेखि अमेरिकासम्म साधारण नै थियो। ‘अमेरिकामा पुग्दा पनि दालभात हातले ग्वामग्वाम खान्थ्यो, त्यसो नगर मान्छेहरू हाँस्छन् भन्दा हामी नेपाली होइन भन्दै हातले खान्थ्यो' थापा सम्झन्छिन्।   

धर्मको कुनै प्रभाव थिएन उनमा। तर भास्कर नजानिँदो पारामा बौद्ध धर्म अङ्गाल्न पुगे। जन्मदिनको उपहार के चाहिन्छ भनेर सोध्दा बौद्ध धर्मग्रन्थ माग्थे।

‘एक हिसाबले उ मेरो गुरु पनि थियो। प्रज्ञा पारमिता ज्ञान प्रचार गर्ने उसको अन्तिम इच्छा थियो। त्यो पुरा गरेको छु,’ थापाले भनिन्। उनले प्रज्ञा पारमितालाई हाते किताब र सिडीमा निकालेकी छन्।

५२ वर्षको उमेरमा निधन भएकी तेजश्रीले १५ वर्ष ह्युमन राइट्स वाचमा वरिष्ठ अनुसन्धाताको रूपमा काम गरेकी थिइन्। बोस्निया हर्जगोभिनामा गृहयुद्ध हुँदा यौनदासी महिलाबारे वकालत गरेकी थिइन् उनले। अनुसन्धानकर्ता अधिवक्ताको हैसियतले अन्तर्राष्ट्रिय फौजदारी अदालत हेगमा समेत मुद्दा जिताउन सहयोग पुगेको थियो।

उनको काम गर्दा ‘फोचा कान्ड’ भनेर चिनिएको मुद्दाको फैसला पीडितको पक्षमा आएको थियो। २०१७ मा म्यानमार र बङ्गलादेशको सिमानामा गएर रोहिग्यां मुस्लिम जातिको नरसंहार घटनाको मानवअधिकारकर्मीको हैसियतमा फिल्डमा पुगेर खोजखबर गरेकी थिइन्। सो क्रममा उनलाई सङ्क्रमण भयो। ५२ वर्षको उमेरमा सन् २०१९ को मार्चमा उनको निधन भयो।

‘फुड पोइजन’का कारण उनका शरीरका मुख्य अङ्गहरूले काम गर्न छोडेका थिए। नोभेम्बर १०, १९६६ मा जन्मिएकी तेजश्रीको मार्च २६, २०१९ मा निधन भयो।

तेजश्री सानैदेखि कोमल मन भएकी र अन्याय नसहने प्रवृत्तिको रहेकी थापा सम्झन्छिन्। ‘बाटामा घाइते कुकुर देख्यो भने त्यसलाई घरमा ल्याएर उपचार नगरेसम्म रोएर लडिबुडी गरेर बस्थी,’ थापाले भनिन्।

घरमा पनि असमान व्यवहार गरेको तेजश्रीलाई मन पर्दैनथ्यो।

‘म कहिल्यै बिर्सन्न, तीन वर्षकी थिइन्। टक–टक आएर कम्मरमा हात लाएर घरको काममा सहयोग गर्ने दिदीलाई किन अर्कै चामल? हामीलाई अर्कै चामल किन खाने भनिन्। मलाई सोधी, ल ल अब एकै खाने भनेर फकाए,’ थापा सम्झन्छिन्।

कसैलाई होच्याएर बोलेको उनलाई मन पर्दैनथ्यो। कानुनमा स्नातकोत्तर सकिएपछि तेजश्रीले भारतको एक ल फर्ममा काम गरेकी थिइन्। गलत कामको पक्षमा वकालत गर्नुपर्ने भएकाले उनले सो काम पनि छाडेकी थिइन्।

‘प्राइभेट कम्पनी हाइपेइङ थियो। म काम छाड्छु भनेर फोन गरिन्। किन भनेको त यो काम मन परेन, फटाहा कुरा गरेर भए पनि वकालत गरेर जिताउनुपर्छ भनेर काम छोडिन्,’ थापा सम्झन्छिन्।

परिवारलाई जनाकारी नै नदिई तेजश्री श्रीलङ्का पुगिन्। एनजिओमा काम थालिन्। परिवार आत्तियो। त्यहाँ राधिकाकुमार स्वामीसँग काम गरेकी थिइन्। त्यो संस्थाले तामिल र सरकारबिचको द्वन्द्वबाट मुक्त भएर सरकारलाई संविधान बनाउन सघाइरहेको थियो।

त्यो बेला संयुक्त राष्ट्र सङ्घमा काम गर्ने अवसर पाइन्। त्यहीबाट सीधै युगोस्लोभाकियाको मुद्दाको लागि हेगमा काम गर्ने अवसर पाइन्। उनको निधनपछि तेजश्रीको कामका बारेमा अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले समेत अविच्यूरी लेखेको थियो। 

थापा दम्पतीको तेस्रो सन्तान मञ्जुश्री चिरपरिचित लेखिका हुन्। उनी समानता र अधिकारका विषयमा लेखनमार्फत वकालतमा सक्रिय छिन्।

OOO

भास्करको काजक्रिया चल्दै थियो तेह्रौँ दिनमा थापाको घरमा ५०–६० जना नचिनेका मानिसहरू आए। किन आउनु भयो भनेर उनी अचम्ममा परिन्। उनीहरूले तपाईँ जस्तै दुख बाँडौँ भनेर आएको भने।

'त्यत्रा मान्छेहरूको छोरा-छोरी विभिन्न कारणले संसार छाडेका रहेछन्। त्यसपछि म झसङ्ग भए,’  थापा सम्झन्छिन्।

दुःख साट्न आएका मान्छेहरूबाट उनलाई ऊर्जा आयो। जनस्वास्थ्यको पृष्ठभूमि भएकी डा थापाले सबै अभिभावकको पीडा भुलाउन के गर्न सकिन्छ भनेर साथीहरूसँग सल्लाह गरिन्। विज्ञहरूसँग राय लिइयो। हृदयाघातको जोखिम बाल्यावस्थादेखि नै हुन्छ यसलाई रोक्न के गर्न सकिन्छ भनेर सल्लाह भयो।

‘नवयुवाहरूमा हृदयाघात, नसर्ने रोग, क्यान्सर, डायबिटिज, मोटोपना, निष्क्रियता, डिप्रेसन लगायतका समस्याहरू छन्। १४ प्रतिशत नवयुवाहरू कुनै पनि बेला आत्महत्या गर्न सक्ने जोखिममा रहेको अध्ययनले देखायो। समस्या त भास्करको मात्र होइन रहेछ भनेर हामीले संस्थामार्फत काम गर्ने जमर्को गर्यौँ,’ थापाले भनिन्।

विश्व स्वास्थ्य सङ्गठनकी पूर्व कर्मचारी थापालाई विश्व स्वास्थ्य सङ्गठनले पनि सघायो। सकारात्मक नतिजा निस्केपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सघाउन थाले। अकालमा हुने मृत्युको ८० प्रतिशतसम्म रोक्न सकिने थापा बताउँछिन्। भास्करको श्रीमती (सुमिरा) र दुई छोराहरू (वरुण र सिद्धान्त) छन्। वरुणले जनस्वास्थ्यमा हावर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। सिद्धान्त इन्जिनियरिङ अध्ययनरत छन्।

तेजश्रीले गरेका राम्रा कामबारे थापा परिवार पुरै जानकार रहेनछ। ‘उसले भनिनन्, जब न्यूयोर्क टाइम्समा अविच्यूरी आयो अनि थाहा पायौँ। कति जनाको अविच्यूरी आउँछ र न्यु योर्क टाइम्समा ?’

OOO

डा. थापा स्वास्थ्य मन्त्रालयमा जागिरे थिइन्। दुई दशक भन्दा लामो सरकारी सेवाबाट सन् २००१ मा अवकाश लिइन्। उनी स्वास्थ्य स्वयंसेविका बढाउने काममा लागिन्। सन् १९७५ मा नेपाल सरकारको एकीकृत सामुदायिक स्वास्थ्य सेवा विकास योजनाको प्रमुख भएकी उनका लागि स्वास्थ्य सेवालाई जनसमुदायसम्मै फैलाउने धोको थियो।

आधारभूत स्वास्थ्य सेवा कार्यक्रमलाई समुदाय स्तरसम्म पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाको अवधारणा विकास भएको थियो। हरेक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेवक राख्ने सोचले उनी तत्कालीन स्वास्थ्य सचिवकहाँ प्रस्ताव लिएर गइन्।

‘सामुदायिक स्वास्थ्य अगुवा’ नाम दिइएको त्यो प्रस्तावना उनको समूहले खुब मेहनत गरेर बनाएको थियो। हाम्रो कर्मचारीतन्त्र न हो, त्यो फाइल सचिवकै टेबलमा महिनौँ थन्कियो। फेरि एक दिन सचिवकहाँ पुगिन् उनी सम्झाउन।

‘तर, सचिव ज्यूले त मार झपारेर पठाउनुभयो’ उनी सम्झिन्छन्। त्यही प्रस्तावलाई ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’ को नाममा परिवर्तन भयो।  आमा समूहबाटै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका छानिए।

उनीहरूका लागि सम्बन्धित हेल्थ पोस्टले प्रत्येक महिना एक दिने रिफ्रेसर तालिम व्यवस्था गरिएको थियो। गाउँघरका स्वास्थ्य समस्याबारे उनीहरूले रिपोर्ट ल्याउँथे। तालिम लिन्थे। नयाँ प्रविधिबारे समुदायमा जानकारी दिन्थे।

‘उनीहरूले स्वास्थ्य क्षेत्रको जगको रूपमा काम गरे। महिलाको कारणले गर्दा स्वास्थ्य क्षेत्रमा चमत्कारिक विकास भयो,’ उनी भन्छिन्।  अहिले ‘स्वास्थ्य स्वयं सेविका’ समुदायको एउटा आवश्यकता बनिसकेको छ।

भास्कर-तेजश्री फाउन्डेसनको स्थापना सन् २०१५ मा भयो। पहिला भास्कर मेमोरियल फाउन्डेसन नाम थियो। सन् २०१९ मा तेजश्री नाम पनि थपियो फाउन्डेसनमा। अनि बन्यो भास्कर तेजश्री मेमोरियल फाउन्डेसन। फाउन्डेसनको कार्यक्षेत्र कार्डियोभास्कुलर स्वास्थ्य प्रवर्द्धन र मानव अधिकार राखियो।

मैतीदेवी सेतोपुल नजिकै आफ्नै पुर्ख्यौली जग्गा फाउन्डेसनको नाममा पास गरिदिए। त्यही जग्गामा फाउन्डेसनको नाममा भवन बन्यो।

OOO

जब सन्तानको सम्झना आउँछ उनी भावुक हुन्छिन्। तर उनको सक्रियता र काममा भने युवा जोस  नै देखियो। शोकलाई शक्तिमा रूपान्तरण गर्ने इच्छा र अठोटले उनमा ऊर्जा भरिएको देखियो।

फाउण्डेशनमार्फत अहिले उनी गाउँ गाउँका स्कुलहरू पुग्छिन्। विद्यार्थीहरूलाई कुलतका ‘घात’बारे सम्झाउँछिन्। लैङ्गिक हिंसाले जन्माउने यौन उत्पीडन र यौन हिंसाका बारेमा बुझाउँछिन्। ७ वटै प्रदेशमा प्रतिप्रदेश ४ वटा विद्यालय छनोट गरेर फाउन्डेसनले अहिले प्रशिक्षण दिइरहेको छ।

उनी जीवनको उत्तरार्द्धमा युवाको लागि काम गर्दै छिन्। अब भने वृद्ध वृद्धाको लागि पनि काम गर्ने योजना बुनिरहेकी छिन् उनी।

थापा दम्पत्तिका तीन सन्तान।

‘हृदयाघात किन हुन्छ र कसरी हुन्छ अनि यसको न्यूनीकरण पनि गर्न सकिन्छ भनेर मैले छोराको मृत्युपछि अध्ययन गरे। छोरीले मलाई यौन हिंसाको बारेमा सिकाएर गइन्,’ थापा भन्छिन्' उनीहरूले गरेका कामहरू बाँकी छन्। त्यसले पनि बाँच्ने प्रेरणा दिँदो रहेछ। छोराछोरीकै लागि भए पनि केही गर्यो भने अरूले पनि फाइदा पाउँछन् कि भनेर संस्था चलाउँदै छु।’

७ बैशाख, २०७९, १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।