मन्त्रीको निर्णय लत्त्याउँदै स्वास्थ्य सचिव आफैँ निजी क्लिनिकमा काम गर्छन्, निर्णय नै बदल्ने तयारी 

मन्त्रीको निर्णय लत्त्याउँदै स्वास्थ्य सचिव आफैँ निजी क्लिनिकमा काम गर्छन्, निर्णय नै बदल्ने तयारी 

काठमाडौँ : स्वास्थ्य सचिव डा. रोशन पोख्रेलको प्रमुख काम हो मन्त्रालयले गरेको निर्णयको कार्यान्वयन गराउने अनि कार्यान्वयन भए/नभएको अनुगमन गर्न लगाउने। तर उनै सचिव पोखरेल भने नीति कार्यान्वयनको साटो आफैँ मन्त्रीस्तरिय निर्णयको अवज्ञा गर्न संलग्न छन्।

मन्त्रीस्तिरय निर्णय गर्दै कार्यान्वयनका लागि मन्त्रालयले परिपत्र गरिसकेको निर्णय मन्त्रालयकै सचिवले उलङ्घन गरेको प्रमाण पाएको उकेराले उनीसँग जिज्ञासा राख्दा सहजै स्विकारेनन् मात्रै निर्णय कार्यान्वयनको साटो अब नीति नै बदल्नुपर्छ पो भने।

प्रसङ्ग हो स्वास्थ्य मन्त्रालयले २०७७-४-१२ मा स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखले निजी प्राक्टिस (निजी अस्पताल तथा क्लिनिकमा काम)नगर्न जारी गरेको परिपत्रको।

मन्त्रिस्तरिय निर्णयलाई कार्यान्वयनका लागि सबै मातहतलाई पत्राचार भएको थियो। तर निर्णय पालना गराउने जिम्मेवारीमा रहेका स्वास्थ्य सचिव आफैँ विराटनगरको निजी क्लिनिकमा बिरामी जाँच्न जाने गरेका छन्।

उकेराको खोजको क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. पोख्रेल अहिले पनि मोरङको विराटनगरस्थित ‘बिन्दु खनाल मेडिकल हल एन्ड क्लिनिक’मा काम गरिरहेको पत्ता लाग्यो।

‘बिन्दु खनाल मेडिकल हल एन्ड क्लिनिक’ साइन बोर्डमा‘डा. रोशन पोख्रेल’ लेखिएको छ। बोर्डमा लेखिए अनुसार डा. पोख्रेल ‘टाउको-स्नायु-मानसिक तथा नसा रोग विशेषज्ञ’ हुन्। उनको नेपाल मेडिकल काउन्सिल नम्बर ‘३१२१’ हो।

ती व्यक्ति स्वास्थ्य सचिव हुन् या हैनन् भनेर ‘बिन्दु खनाल मेडिकल हल एन्ड क्लिनिक’मा सम्पर्क राख्दा उनै भएको जवाफ आयो। उनले भर्चुअल माध्यमबाट बिरामी हेर्ने गरेको देखियो। मेडिकलका ती व्यक्तिका अनुसार पहिला पोखरेल क्लिनिकै पुग्ने गर्थे। अहिले भने भर्चुअल माध्यमबाट बिरामी हेर्छन्।

डा. पोख्रेलले अनलाइनबाट स्वास्थ्य परीक्षण तथा उपचार गरेबापत ६ सय ५० शुल्क  लिने क्लिनिकका ती पुरुषले जानकारी दिए।

सम्बन्धित क्लिनिकबाट मुलुककै स्वास्थ्य नीति बनाउने र कार्यान्वयन गराउने जिम्मेवारीमा रहेका व्यक्ति नै निजी क्लिनिकमा काम गर्ने गरेको खुलेपछि उकेराकर्मीले यसबारे उनै पोखरेलसँग जिज्ञासा राख्यो। उकेरासँगको कुराकानीमा उनले बिन्दु खनाल मेडिकलको बिरामी हेर्ने गरेको र त्यसो गर्न नहुने जानकारी पनि भएको बताए।

नीति निर्माण तह  र नियमको कार्यान्वयन गराउने तहमा नै रहेर नियम विपरीत किन निजी क्लिनिकमा काम गर्नु भएको? भन्ने जिज्ञासामा सचिव डा. पोख्रेलले भने,‘नैतिकताको आधारमा मैले नगर्नु पर्ने हो। गर्न नहुने भन्ने पक्षमा नै म छु।’

उनले आफूले बिरामीको दुःख देखेर मात्रै भर्चुअल माध्यमबाट स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेको दाबी गरे।

‘बिरामीको दुःख देखेर मात्रै हो। अनलाइनचाहिँ कहिलेकाहीँ हेरिदिन्छु। आज पनि बिहान हेरेँ,’ सचिव डा. पोख्रेलले भने,‘कन्सलटेशन त कहिलेकाहीँ गरिरहेका उङ्छौँ। त्यो सेवा दिनै पर्ने हुन्छ। म मात्रै हैन। यसमा सबै चिकित्सकले गर्नु हुन्छ।’ उनले सचिव नियुक्त भएपछि भौतिक रूपमा उपस्थित भएर बिरामी नहेरेको तर्क गरे।

बिरामीले जतिखेर पनि फोन गर्न थालेपछि भर्चुअल माध्यमबाट निजी क्लिनिकमा काम गरेको उनको तर्क छ।

डा. पोख्रेलले भने,‘बाध्यता यस्तो भयो की उहाँहरू (बिरामी)ले मलाई गलत समयमा फोन गर्ने अनि उहाँहरूलाई बुझाउन गाह्रो हुने भएकाले पसलेलाई बुझाउन सजिलो हुन्छ भनेर गरेको हो।’ यस अघिका सचिवले पनि निजीमा काम गरेको उनको तर्क छ।

कार्यान्वयन हैन, निर्णय बदल्ने रणनीति

उकेराले स्वास्थ्यमन्त्रीले गरेको निर्णयको कार्यान्वयनको पक्षबारे निरन्तर फलो गर्दा निर्णायक पदमा रहेकाहरू ढुक्कसँग निजी अस्पताल र क्लिनिकमा काम गर्ने गरेको र केहीको त निजी अस्पतालमा लगानी नै रहेको पुष्टि भएको थियो।

सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ निदान अस्पतालमा काम मात्रै गर्दैनन् उनको परिवारकै नाममा लगानी छ। उकेराले पाएको प्रमाण अनुसार निदानमा पुकारले श्रीमती, आमासँगै छोरी प्रकृति श्रेष्ठ, आफन्त सम्झना राजवंशी, ध्रुवलाल राजवंशी, भिनाजु सुरेन्द्र कुमार जोशी, भतिज अभिषेक श्रेष्ठको नाममा लगानी गरेका छन्।

युनिफाइड केन्द्रीय अस्पतालका निमित्त प्रमुख प्रा. डा. भूपेन्द्र कुमार बस्नेत, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. देवनारायण साह (डीएन साह), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्रा.डा. सुबोधकुमार अधिकारी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकै डिन प्राध्यापक डा. पीयूष दाहाल / निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)का कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेलले निजी अस्पतालमा शुल्क लिएर काम गर्ने गरेको प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

उकेराको अनुगमनमा उनीहरू अहिले पनि निजी अस्पतालमा जान नछाडेको देखियो। विधाननिधिले त उकेरासँग काठमाडौँको गोङ्गबु स्थित ‘विनायक अस्पताल तथा प्रसूति गृह’ मा लगानी रहेको उनैले पुष्टि गरेका थिए।

निर्णय कार्यान्वयनमा कडाइको साटो स्वास्थ्य सचिव निर्णय नै बदल्ने पक्षमा देखिए। उनले स्वास्थ्य संस्थाको नेतृत्वमा रहेकाले निजीमा काम गर्न नपाउने निर्णय चित्त बुझ्दो नभएको बताए।

उनले  भने,‘प्राइभेट प्राक्टिस नगर्नुहोस् भन्नु त धेरैजसोलाई अहिले पनि चित्त बुझेको छैन।’

तपाई आफैँ नियम विपरीत निजी क्लिनिकमा काम गरिरहेपछि नियम विपरीत निजीमा काम गर्ने अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखलाई के गर्नुहुन्छ त? भन्ने जिज्ञासामा सचिव पोख्रेलले भने,‘...दोधारमा हामी अझै पनि छौँ। अहिले भएकोमा म बोलिहाल्ने अवस्थामा छैन।’

सचिव डा. पोख्रेलले संस्था प्रमुखले बाहिर काम नगर्ने भनेर बनाएको तर कार्यान्वयन गर्न नसकेको भन्दै उनले त्यसलाई संशोधन गर्ने सोचमा रहेको बताए। उनले मन्त्री पनि त्यही पक्षमा रहेको दाबी गरे। उनले कार्यालय समय बाहिर काम गर्न पाउने गरी सो निर्णय संशोधन गर्नुपर्ने तर्क गरे।

नियम नै परिवर्तन गर्नुभन्दा अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखको सुविधा बढाएर निजी अस्पताल तथा क्लिनिकमा काम नगर्नुपर्ने वातावरण बनाउन सकिँदैन? भन्ने जिज्ञासामा उनले भने,‘त्यसमा पनि सकिन्छ सक्न त। हामी दुई वटै विषयमा छलफल गर्छौँ।’

अर्थ मन्त्रालय पनि संलग्न हुने भएकाले सेवा सुविधा बढाउनका लागि स्वास्थ्य मन्त्रालयले मात्रै निर्णय गरेर नहुने उनको तर्क छ।

६ बैशाख, २०७९, १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।