भुइँमान्छेका साहुजी जसलाई घाम, पानी र महानगरपालिकाले बेला-बेला सात्तो लिन्छन्

भुइँमान्छेका साहुजी जसलाई घाम, पानी र महानगरपालिकाले बेला-बेला सात्तो लिन्छन्

फुटपाथमा सामान किनबेच गर्ने ठूलो जमात छ काठमाडौंमा। सहरका निम्न र निम्नमध्यम वर्गीय परिवार फुटपाथ बजारका मुख्य ग्राहक हुन् र मुख्य बिक्रेता पनि।

हजारौं व्यापारीले काठमाडौंका मुख्य बजारका फुटपाथमा सानो-तिनो व्यापार गरेर आफ्नो गुजारा चलाइरहेका छन्। तर यस्ता व्यापारीलाई महानगरपालिकाले गर्ने व्यवहार कम्ती पीडादायी छैन।

जतिसुकै दु:ख पाए पनि, जस्तोसुकै कारबाही भोग्नु परे पनि, नगरपालिकाले जति पटक सामान जफत गरे पनि साना व्यापारी आफ्नो काम त्याग्न तयार छैनन्। किनकी, त्यही फुटपाथे व्यापारले नै त उनीहरुलाई रोजीरोटी दिएको छ।

यस्तै कष्टकर रुपमा फुटपाथमा पसल चलाइरहेका व्यापारीमध्ये एक हुन्, ४२ वर्षीय राजु कार्की।

नेपाल वायु सेवा निगमको मुल गेटको कुनामा उनको पसल छ। सानो कद र छातीदेखि पेटसम्म ठूलो मासु पलाएका कार्की झट्ट हेर्दा शारीरिक रुपमा अशक्त जस्ता देखिन्छन्। तर उनी फुर्तिला छन्।

उनको शारीरिक बनावट पहिलेदेखि नै यस्तो हो रे। भन्छन्, 'मैले थाहा पाएदेखि म यस्तै हो। आमा-बाले पनि जन्मैदेखि यस्तै थिइस् भन्नुहुन्छ। शारीरिक रुपमा केही कमजोर देखिए पनि म एकदम स्वस्थ छु।’ 

दोलखामा जन्मिएका कार्कीले काठमाडौँको फुटपाथमा पसल राख्न थालेको ३० वर्ष भइसक्यो। उनको डेरा अहिले जैसीदेवलमा छ।

बिहान खाना खाएपछि पसलको सामान बोकेर आउनु, एक घण्टा लगाएर त्यसलाई व्यवस्थापन गर्नु, दिनभरि ग्राहक पर्खिनु, फेरि सामान मिलाएर घर लैजानु, खाना पकाएर खानु अनि सुत्नु उनको दैनिकी हो।

पानी परेको बेला सामान लिएर फर्किनुपर्ने र नगर प्रहरी आएको बेला भएको सामान पनि नलिई रित्तै फर्किनुपर्दा भने उनलाई रातभर निन्द्रा पर्दैन। 

पढ्न भनेर सानैमा काठमाडौँ आएका कार्कीले ७ कक्षाभन्दा माथि पढ्न पाएनन्। यहाँ आउँदा उनका आमा-बा रत्नपार्ककै वरिपरि नाङ्ग्लो पसल राखेर बस्थे।

५ कक्षा गाउँमै पढेका उनले यहाँ पद्मोदय स्कुलमा केही वर्ष पढे। तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई माया मार्नुपर्यो। पढाइ पूरा भएन, केही सिप सिक्न पनि पाएनन्। जसले गर्दा उनी पनि आमा-बासँगै नाङ्ग्लो पसल राखेर बस्न बाध्य भए। यसरी हेर्दा कार्की आफ्नो पेसालाई पुर्ख्यौली पेसा भन्न रुचाउँछन्। 

नाङ्ग्लो पसल राखेको करिब ७ वर्षपछि उनले चस्मा पसल राखे। नाङ्ग्लो पसल राख्दा त समान थोरै हुने भएकाले नगर प्रहरी आउँदा सामान बोकेरै भाग्न सफल हुन्थे। तर चस्मा पसल राख्दा भाग्न सकेनन्।

चस्मा पसल राखेको ४ महिना हुँदा एक दिन अचानक नगर प्रहरी आएर उनको पसल उठाउन थाले। अपर्झट गर्दा धेरै चस्मा वरपर छरिएर फुटे। आफूले दु:ख गरेर राखेको पसल यसरी महानगरपालिकाले उठाउँदा पनि उनले केही गर्न सकेनन्। सबै चस्मा पोको पारेर लगेको निरीह भएर हेरिरहे। करिब तीन हजारको सामान जफत हुँदा उनको आँखाबाट आँशु रोकिएन।

बजारका साथीहरुले सामान फिर्ता दिन्छ, लिन जाऊ भने। दुई दिनपछि उनी महानगरपालिकाको कार्यालय गए। नभन्दै बाँकी सामान फिर्ता पाए। सामान फिर्ता लिन सय रुपैयाँ जरिवाना तिर्नु परेको उनलाई अहिले पनि सम्झना छ। 

कार्की भन्छन्, 'त्यो घटना हुँदा म अलि सानै थिएँ। ए! सामान त फिर्ता दिने रहेछ। त्यस्तो नराम्रो पनि हैन रहेछ भनेर खुसी भएँ।’

केही समय उनले चस्मा पसल नै राखे। तर सडकमा धुलो-धुँवा बढ्दै गएकोले चस्मा छोडेर मास्क बेच्न थाले। नगर प्रहरीले सामान उठाएर लान भने छाडेन। जरिवाना तिर्दै सामान फिर्ता गर्दै गरे।

केही वर्षदेखि भने उनलाई फुटपाथमा सामान बेच्ने कामबाट दिग्दार लाग्न थालेको छ। कारण, नगरपालिकाले लगेको सामान अहिले फिर्ता पाउँदैनन्। जरिवाना तिराएर सामान फिर्ता गर्दा फुटपाथ अतिक्रमण बढ्ने र सार्वजनिक आवागमन प्रभावित हुने भन्दै २०७४ सालमा मेयर निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले जफत भएका सामान फिर्ता नदिने निर्णय गरेका थिए।

यसबारे आफूलाई दुई वर्षअघि मात्र थाहा भएको उनी बताउँछन्। एक दिन उनको सबै सामान जफत भयो। आफ्नो सामान फिर्ता लिन भन्दै महानगरको कार्यालय गए। तर, उनलाई त्यहाँका सुरक्षाकर्मीले 'अब पसल नराख। त्यो सब सामान लिलामीमा जान्छ' भन्दै गेट बाहिरै रोके।

महानगरले जफत गरेको बराबरको सामान जुटाउन कार्कीलाई महिनौं लाग्यो। 'मैले महानगरपालिकाका मान्छेको धेरै गाली खाएँ,' उनी भन्छन्, 'यहाँ पसल राख्नु एकदम जोखिमपूर्ण काम हो। चिट्ठा पर्नु जस्तै हो। घरबाट समान ल्याएर फिजाएर बस्दा राम्रोसँग कमाएर फर्किन्छु भन्ने त नचिताए पनि हुन्छ। सामान जफत भएपछि भयो भयो। लगेन भने पाँच सय/हजारको व्यापार हुन्छ। त्यतिमै खुसी हुनुपर्छ।’ 

लामो समय यस्तै पसल राखेर बसेकालाई नयाँलाई भन्दा केही सहज भए पनि उनको सामान पनि हरेक ६/७ महिनामा जफत भइनै रहन्छ। ती सामान जुटाउन उनलाई फेरि त्यति नै समय लाग्छ।

दिनभरि फूटपाथमा पसल राख्दा धुलो र धुँवासँगै पानीले पनि त्यत्तिकै सताउने कार्की बताउँछन्। 'जसलाई पर्छ, उसलाई मात्र थाहा हुन्छ। एक्कासि पानी पर्दा कहिलेकाहीँ त पसल नै उठाएर घर जानुपर्ने बाध्यता हुन्छ,' उनी दुखेसो पोख्छन्।

कार्कीका आमा-बा गाउँ फर्किएको दस वर्ष भयो। अहिले काठमाडौंमा कार्कीदम्पती छन्। उनीहरुका एक छोरा र एक छोरी छन्। तर कोभिड–१९ महामारीपछि दुवै जना गाउँमै पढ्छन्। श्रीमती पनि उतै बस्थिन् तर कानमा समस्या आएका कारण अहिले यतै छिन्।

२०७२ सालको भूकम्पको समयमा महिनौं टुडिखेलमै बसेका उनीहरु कोभिडको समयमा भने गाउँ जान बाध्य भए। 'सुरुमा त यति समस्या हुँदैन होला भनेर चाउचाउकै भरमा कोठामै बस्यौं। पछि गाडी खोजेर गाउँ गयौं। महामारी नियन्त्रणमा आउन थालेपछि परिवारलाई उतै छोडेर म फर्किएँ,' कार्कीले महामारीमा बेलामा भोगेको दु:ख सुनाए।

सुरुमा पटक पाँच सय रुपैयाँ लगानी गरेर पसल राखेका कार्कीको अहिले करिब १८ हजारको सामान छ। जुन सामान सक्किएको छ त्यही सामान मात्र ल्याउछन् उनी। अहिले उनी दिनमा एक/दुई हजारको व्यापार गर्छन्। कमाई धेरै नभए पनि खाना र कोठा भाडा तिर्न र बेला-बेला गाउँमा केही खर्च पठाउन पुगेकोमा उनी सन्तुष्ट छन्। 

कार्की भन्छन्, 'गाउँमा अलि-अलि खेतीपाती छ। खानलाई त्यसबाटै पुग्छ। बच्चाहरु पनि सरकारी स्कुलमा पढ्ने हो। उनीहरुलाई यसो कापी-कलम किन्न त मैले जसरी पनि कमाइहल्छु।’

३० वर्षदेखि यही थलोमा व्यापार गरेर बसे पनि अवस्था परिवर्तन नभएको उनको गुनासो छ। यतिका वर्ष उनले आफ्नो आर्थिक स्थितिमा केही फरक पाएका छैनन्। भन्छन्, 'हामी जस्तो बाटोमा बस्ने मान्छेहरु कमाएर कहिले ठूलो नहुने रहेछ। यतिका वर्ष यसै ठाउँमा समय खर्च गरियो तर काठमाडौँले एउटा सानो ठाउँ पनि दिएन। यही धुलो-धुवाँ अनि कहिलेकाहीँ दुर्व्यवहार मात्र दिइरह्यो।’

कसैको घर अगाडि बस्ने ठाउँ पाइयो भने पनि पैसा तिर्नु परिहाल्ने बताउँछन् उनी। 'साह्रै भित्रतिर बस्न जाउँ भने पसल नचल्ला भन्ने डर। सटर भाडामा लियो भने कोठाको भन्दा बढी मूल्य पर्छ।’ कार्कीका अनुसार उनी बस्ने घर पुरानो भएको र धेरै वर्षदेखि बसेकाले कोठा भने भाडा तीन हजार रुपैयाँ मात्र छ। 

खान र कोठा भाडा तिर्न पुग्छ कि पुग्दैन भन्ने डर सधै रहिनै रहन्छ उनलाई। कार्की भन्छन्, 'लक्ष्य त के नै छ र! यस्तो काम गरेर कसरी लक्ष्य पूरा गर्ने? पसल राम्रैसँग चलिरहोस्। बच्चाहरु भोकै नहुन्। त्यत्ति भए पुग्छ।’

५ बैशाख, २०७९, १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।