मालपोतको बेथिति हटाउने सूत्रधार : जहाँ गयो त्यहीँ सुधार

मालपोतको बेथिति हटाउने सूत्रधार : जहाँ गयो त्यहीँ सुधार

बुटवल : मालपोत कार्यालय कलंकीलाई नमुना बनाएर चर्चामा आएका मालपोत अधिकृत देवीप्रसाद भण्डारीलाई तत्कालीन प्रधानमन्त्री केपी ओली भनेका थिए, ‘अब भण्डारीलाई अन्य मालपोत कार्यालय सुधारका लागि पठाउनू।’

४ असार २०७५ मा कंलकीमै आयोजित सो कार्यक्रममा सँगै रहेकी तत्कालीन भूमि सुधार मन्त्री पद्मा अर्याललाई ओलीको निर्देशन नै थियो त्यो। भण्डारीको कामबाट मालपोत कार्यालय सुधार भएको र त्यही कार्यबाट प्रभावित भएका ओलीले भण्डारीलाई त्यो बेला ‘मालपोत सुधारका सूत्रधार’ बनाइदिए।

त्यसपछि भण्डारी भक्तपुर मालपोत कार्यालयमा सरुवा भए। त्यहाँ पनि उनले संरचनागत र व्यवस्थापकीय सुधार गरे। उनक हाई-हाई भयो। अहिले उनै भण्डारी बुटवलको मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत भएर आएका छन्। 

करिब ६ महिनादेखि मालपोत कार्यालय बुटवलमा कार्यरत भएका उनै भण्डारीले बुटवलमा पनि मालपोत सुधारको छनक दिइसकेका छन्। 

बुटवलको सुख्खानगरमा मासिक भाडा तिर्ने गरी तीन वटा घरबाट मालपोत कार्यालयले सेवा अहिले प्रभाव गरिरहेको छ। भौतिक पूर्वाधार कर्मचारीमैत्री र सेवाग्राहीमैत्री नहुँदा पनि भण्डारीले छिटो, छरितो र झन्झट विना काम गर्ने केही सुधारका योजना अघि बढाएका छन्।

मालपोत कार्यालय घुसको अखडा, काम नै नबन्ने, बढी भीडभाड हुने भन्ने गरिएकोमा भण्डारीले छिटो-छरितो, निष्पक्ष, पारदर्शी र सदाचारमा रहेर कार्य सम्पादन गरेका छन्।

‘कार्यालयलाई क्यासलेस बनाइएको छ। प्रविधिमैत्री बनाइएको छ। अरु शाखा तथा फाँटहरुमा कम्प्युटरमार्फत काम गरिएको छ,’ उनले भने। पुरानो प्रविधि मोठ ढड्डामा लेख्ने, मिसिल खडा गर्ने कार्य सँगसँगै हुने गरेकाले दोहोरोपन कायम हुने गरेको उनले बताए। 

त्यस्तै सेवाग्राही आफैं भू-सेवामार्फत काम गर्न चाहनेहरुका लागि कार्यालयमै कम्प्युटर डेक्स स्थापना गरिएको छ। कार्यालय प्रमुख भण्डारीका अनुसार कम्प्युटर डेक्स स्थापना पछि सेवाग्राहीले आफ्नो कागज, निवेदन, मिसिल, लिखत त्यही डेक्सबाट गर्न सक्नेछन्। यसअघि भू-सेवा कार्य लेखापढी तथा भू-सेवा केन्द्रबाट सेवाग्राहीले रकम खर्चेर गर्दै आएका थिए।

यद्यपि भू-सेवा मालपोत नियमावलीले राख्न पाउने व्यवस्था गरेको छ। भू-सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६ नै जारी भइसकेको अवस्थामा मालपोत कार्यालयहरुमा अहिले यस्ता भू-सेवा केन्द्र सञ्चालनमा रहेका छन्।

बुटवलको मालपोत कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ सम्म दर्ता तथा नवीकरण भएका ७० वटा भू-सेवा केन्द्र सञ्चालनमा रहेका छन्।

त्यस्तै रजिष्टरमा अभिलेख, कर्मचारीलाई मोठ फाँट तोकी सुरक्षा र संरक्षणमा ध्यान दिइएको उनले बताए। त्यस्तै मोठ तथा तामेली फाँटमा अनाधिकृत व्यक्तिको प्रवेशलाई पनि भण्डारीले रोक लगाएका छन्।

यसैगरी मोठ फाँट र कम्प्युटर फाँट पनि एउटै कार्यकक्षबाट सुरु गरिएको छ। मोठ एकातिर र कम्प्युटर शाखा अर्कोतिर हुँदा पुराना ढण्डा एक ठाउँबाट अर्को ठाउमा लैजान पर्ने भए पनि अब त्यो समस्या पनि अन्त्य भएको उनले बताए। कार्यालय परिसरमा सेवाग्राही विश्रामस्थल, डिजिटल नागरिकवडा पत्र राखिएको छ।

अझै केही बाँकी छन् सुधारका कार्य
भण्डारीले आफ्नै भवन नहुँदा सेवाग्राहीमैत्री र कर्मचारीमैत्री अहिलेको भवन नहुँदा काममा केही कठिनाइ आएको बताए। ‘कर्मचारीले काम गरेको सेवाग्राहीले बाहिरबाटै देख्नपर्छ। त्यस्तो यहाँ गर्न सकिएको छैन। आफ्नै भवन हुँदा त्यो सम्भव हुन्छ। त्यसो हुँदा कर्मचारीले काम गरे/नगरेको सेवाग्राही सजिलै देख्न सक्छन्,’ उनले भने।

उनले पुराना अभिलेख, मिसिल र लिखतको स्क्यान पनि हुन नसकेको बताए। एकीकृत जग्गा प्रशासन ऐन, कानुन, नीति र निर्देशिकाको अभावमा पनि कतिपय काम चाहेर पनि सुधार गर्न नसकिएको भण्डारीको भनाइ छ। त्यस्तै कार्यालयमा हुने स्टम सुस्त गतिमा चल्दा पनि काम गर्न कठिनाइ भएको उनले बताए।

भवन निर्माण हुँदै
२०७२ साल माघ १५ गते बुटवलमा मालपोत कार्यालय स्थापना भएको हो। अहिले मालपोत कार्यालयले ३ वडा घर बुटवल ८ सुख्खानगरमा भाडामा लिएर सेवा दिँदै आएको छ। कार्यालयले ३ वटा घरको मासिक भाडा मात्र १ लाख ३४ हजार ९ सय २५ रुपैया भुक्तानी गर्दै आएको प्रमुख मालपोत अधिकृत भण्डारीले बताए।

कार्यालयको आफ्नै भवन अहिले निर्माणधीन अवस्थामा छ। बुटवल जितगढीमा ७ करोड ४५ लाख १३ हजार रुपैयाँको लागतमा भवन निर्माणको काम सुरु भएको र भवन निर्माण सम्पन्न भएपछि मालपोतमा अझ बढी सुधार हुने उनले बताए।

बुटवल, तिलोत्तमा, सैनामैना, कञ्चन र देवदह नगरपालिका कार्यक्षेत्र रहेको मालपोत कार्यालय बुटवलमा २८ जनाको कुल दरबन्दी छ। करार कर्मचारी सहित अहिले ३१ जना कर्मचारीले मालपोत कार्यालयबाट सेवाप्रवाह गरेका छन्।

मालपोत कार्यालय बुटवलले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ५२ करोड ४ लाख ६ हजार रुपैयाँ राजस्व उठाएको र चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९९ करोड ५४ लाख ४३ हजार ६ सय ३ रुपैयाँ राजस्व उठाएको उनले बताए।

४ बैशाख, २०७९, ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।