९ बुँदे घोषणापत्र जारी गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन

९ बुँदे घोषणापत्र जारी गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन

काठमाडौं : ९ बुँदे घोषणपत्र जारी गर्दै स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको तीन दिने आठौं शिखर सम्मेलन सकिएको छ।

काठमाडौंमा चैत २७ देखि चलेको सो सम्मेलन मंगलबार सकिएको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक, अनुसन्धानकर्ता लगायतले सम्मेलनमा प्रस्तुति गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधित्व गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विभिन्न शैक्षिक संस्थाहरु, बहुपक्षीय निकायहरु, निजी संघसंस्थाहरु, विज्ञहरुले सामुहिकरुपमा घोषणापत्र तयार गरेको परिषदले जनाएको छ।

स्वास्थ्य क्षेत्रलाई अनुसन्धान, शिक्षण संस्था र उघोग लगायतका निकायहरुसँग समन्वय गर्ने घोषणापत्रमा उल्लेख छ। त्यसैगरी बायोमेडीकल, एपिडेमियोलोजिकल, क्लिनिकल अनुसन्धानका कार्यहरुलाई विभिन्न सरोकारवाला निकायसँग संयोजन गरी प्रमाणमा आधारित निति र कार्यक्रम तर्जुमा गर्ने उल्लेख छ।

घोषाणा पत्रमा परिष्कृत जनस्वास्थ्य परिणामका लागि बहुआयामिक क्षेत्रसँग समन्वयात्मक गतिविधि सञ्चालन गर्ने बताइएको छ। जलवायु परिवर्तनका सम्भावित खतराहरु, प्राकृतिक विपत्ति र उदीयमान सरुवा रोगहरुको पहिचान तथा नियन्त्रण योजना बनाउनलाई आवश्यक नवीन प्रविधिको प्रयोग गर्ने घोषणापत्रमा उल्लेख छ।
त्यसैगरी घोषणपत्रमा नसर्ने रोगहरुको परिवर्तित ढाँचालाई सम्बोधन गर्न प्रारम्भिक रोकथाम, न्यूनीकरण, निदान तथा उपचारलाई प्रवर्धन गर्ने उल्लेख छ। 

३० चैत, २०७८, ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।