सफलताको कथा : पश्चिम क्षेत्रकै नमुना 'टंक दाइ’ को पेट्रोल पम्प

सफलताको कथा : पश्चिम क्षेत्रकै नमुना 'टंक दाइ’ को पेट्रोल पम्प

बुटवल : नेपाल आयल निगम भलबारी डिपोअन्तर्गत ८ जिल्ला पर्छन्। रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङ र स्याङ्जाका कुल ३ सय ४१ पम्पमा भलबारीबाटै पेट्रोलियम पदार्थ जाने गर्छ। 

तीमध्ये ३ सय ४० वटा साधारण पम्प हुन् भने एउटा मात्र नमुना पम्प हो। साधारण भनिएका पम्पहरु नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ अनुसारका छैनन्। नमुना भनिएको एक मात्र पेट्रोल पम्प भने आवश्यक मापदण्ड पूरा गरी सञ्चालनमा छ।

नमुना पेट्रोल पम्प सञ्चालन गर्ने व्यक्ति हुन्, टंक न्यौपाने।

युवा व्यवसायीको परिचय बनाएका न्यौपानले साविक पश्चिमाञ्चल विकास क्षेत्रमै नमुना पेट्रोल पम्प सञ्चालनमा ल्याएका हुन्। उनले दुई वर्षदेखि बुटवल उपमहानगरपालिका- १७, रानीगञ्जमा सहारा इन्टरप्राइजेज नमुना पेट्रोल पम्प सञ्चालनमा ल्याएका छन्।

रूपन्देहीमा मात्र हाल १ सय ८१ वटा पेट्रोल पम्प सञ्चालनमा छन। १ सय ४५ साधारण, १ नमुना र ३५ अन्य गरी १ सय ८१ पेट्रोल पम्पहरू सञ्चालनमा आएका छन्। 

यसरी बन्यो नमुना पम्प खोल्ने योजना
टंकका बुबा भीमप्रसाद न्यौपाने यस क्षेत्रका समाजसेवी हुन्। उनी राइस मिल चलाउँथे। बुटवलमै हुर्के/बढेका र पढेका टंक न्यौपानेलाई विदेश गएर पढ्नुपर्छ भन्ने कहिल्यै लागेन। सानो उमेरदेखि आर्थिक अभावको महसुस नगरेका टंक विदेशमा गएर पढ्नुभन्दा नेपालमै व्यवसायमा रमाउँछु भन्ने लागेको थियो।

२०५६ सालमा दीप बोर्डिङबाट एसएलसी दिएका टंक त्यसपछि सिद्धार्थ क्याम्पसमा व्याचलर पढे। व्याचलर पढ्दै गर्दा व्यवसायी गर्ने ‘भोक’ जाग्यो। पढाइ छाडिदिए।

‘अब कमाउनुपर्छ, व्यवसायमा जोडिनुपर्छ भन्ने लागेपछि पढाइ छाडे,’ उनले भने। व्याचलर पढ्न छाडेपछि उनले बुबाले सञ्चालन गरेको राइस मिलको जिम्मेवारी सम्हाले। २०६० सालदेखि बुबाकै व्यवसायको ‘बिँडो’ थाम्न कस्सिएका टंक त्यतिले मात्र सन्तुष्ट भएनन्। निर्माणजन्य कम्पनी सुरु गर्ने योजना बनाए। घर परिवारकै सल्लाहमा उनले २०६८ सालमा सहारा निर्माण सामाग्री कम्पनी खोले।

राइस मिल र निर्माण सामग्री कम्पनीको बागडोर सम्हालेका उनलाई श्रीमती तुल्सा न्यौपानेले साथ दिइन। उनमा व्यवसाय गर्ने अझ बढी हौसला मिल्यो। ‘सबैभन्दा ठूलो कुरा आँट रहेछ। मेरो आँट र साहसलाई श्रीमतीले थप ढाडस दिइन्। त्यसपछि नयाँ-नयाँ काम गर्ने जोस-जाँगर बढ्न थाल्यो,’ उनले भने।

निर्माण सामग्रीको कम्पनी सुरु गरेपछि उने पेट्रोल पम्प सञ्चालन गर्ने योजना बनाए। केही वर्षअघि काम विशेषले काठमाडौं गएका टंकले आफ्ना साथीलाई नयाँ काम गर्न लागेको योजना सुनाए। साथीहरुले सञ्चालन नै गर्ने भए नमुना पम्प सञ्चालन गर्ने सुझाव दिए। त्यसपछि त्यसको प्रक्रियामा लागे।

‘टोल, वडा, पालिका, प्रदेश हुँदै संघ सरकार सामु पुग्दा अनुमतिका लागि धेरै वर्ष लाग्यो। साथीहरुले नमुना काम गर भनेपछि उत्साह जायो अनि यो नमुना पम्प सञ्चालन गरेको हुँ,’ उनले भने।

त्यसपछि दुई वर्षअघि उनले रानीगञ्जमा नमुना पम्प सुरु गरे। ‘आफ्नै जग्गा भएका कारण मापदण्ड मिट गर्न सक्छु भन्ने लागेपछि मुख्य राजमार्गभित्र जोखिम मोलेरै नमुना पम्प सञ्चालन गरेको छु,’ उनले भने।

रानीगञ्जमा एक बिघा क्षेत्रफलमा निर्माण भएको नमुना पम्पमा ८ वटा नोजल छन्।

नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ अनुसार नमुना पेट्रोल पम्प शौचालय अपांगमैत्री, पुरुष महिलाका लागि छुट्टै, चिया–कफी सप, एटिएम सुविधा, हावा भर्ने सुविधा, पार्किङ सुविधा लगायतका हुनुपर्ने मापदण्ड छ। यी सबै मापदण्ड पुर्याएर टंकले नमुना पेट्रोल पम्प सञ्चालनमा ल्याएका छन्।

पम्प परिसरमा ७० वटा सवारी पार्किङ गर्न मिल्ने पार्किङस्थल छ भने एटिएम, रेष्टुरेन्ट, एयर फिलिङ, फायर एक्सटेन्सन, भण्डारण, फूलबारी, हरियाली, डिजिटल पेमेन्ट स्टम पम्पमा छ। त्यस्तै पेट्रोल २४ हजार लिटर र डिजेल ७५ हजार लिटर क्षमताको भण्डारण पनि त्यहाँ छ।

जग्गा बाहेक ६ करोडको लगानीमा निर्माण भएको पम्पमा मात्र अहिले ६ जनाले रोजगारी पाएका छन्। बेलबास-बथेरी सडक नजिकै रहेको पम्प यो सडक निर्माणपछि अझ बढी चलायमान हुने अपेक्षा टंकको छ। उनी भन्छन्, ‘लुम्बिनी जोड्ने पर्यटकीय यो सडक निर्माण भएपछि अझै उचाइ लिनेछ।’

नेपाल आयल निगम भलबारी डिपोका प्रमुख नवविनोद पोखरेलले बुटवलमा भएका पम्पहरु जोखिमयुक्त ढंगले सञ्चालन भइरहँदा टंक न्यौपानले आँट गरेर नमुना पम्प सञ्चालन गरेको बताए।

‘हामीले जति पनि ठाउँमा तेल सप्लाई गर्छौं, त्यहाँ निकै पुराना पम्प छन्। २०५३ अघि स्थापना भएका पम्पहरु जग्गा नभएकै ठाउँमा छन्। तर टंकको यो नमुना पम्प अरुका लागि सिकाइ बनेको छ,’ उनले भने।

कृषिमा जोडिने रहर
राइस मिल, निर्माण सामग्रीको व्यापार र पेट्रोल पम्प सञ्चालन गरेका टंक अब कृषि पर्यटनमा जोडिने रहर जागेको बताउँछन्। भावी योजना अनुसार उनले सुनवल नगरपालिका- ९, स्वाठीमा सुनवल कृषि फम सञ्चालनको योजना बनाएका छन्। रिसोर्टको परिकल्पना गरिएको उक्त फर्ममा सुरुमा माछा, कुखुरा, हाँस, चराहरु पाल्ने उनको योजना छ।

‘अब व्यापारभन्दा पनि कृषि पर्यटनमा जोडिने इच्छा भएका कारण यो नयाँ कामको थालनी गरेको हुँ,’ उनले भने। साढे दुई बिगाहा क्षेत्रफलमा निर्माण हुन लागेको फार्ममा अहिले जग्गा बाहेक मात्र पनि ५ करोड लगानी लाग्ने उनले बताए।

३० चैत, २०७८, ०७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।