मानव अङ्ग प्रत्यारोपणका निर्देशक डा पुकारचन्द्रको बदमासी : निदानमा परिवारको नाममा लगानी, आफू कामदार

मानव अङ्ग प्रत्यारोपणका निर्देशक डा पुकारचन्द्रको बदमासी : निदानमा परिवारको नाममा लगानी, आफू कामदार

काठमाडौँ : सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले निजी अस्पतालमा परिवारका सदस्यको नाममा लगानी गरेको खुलेको छ। सरकारी अस्पतालको नेतृत्वमा रहेका उनी आफैँ पनि स्वास्थ्य मन्त्रालयको निर्णय विपरीत निदान अस्पतालमा काम गर्छन्।

स्वास्थ्य मन्त्रालयले २०७७-४-१२ मा मन्त्रालय अन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखले निजी अस्पताल तथा क्लिनिकमा काम गर्न नपाउने भन्दै परिपत्र जारी गरेको थियो। श्रेष्ठले मन्त्रीस्तरिय यो निर्णयलाई टेरेका छैनन् नै। उनी नियमित अस्पताल गएर काम गर्छन्। परिवारको नाममा समेत निजी अस्पतालमा लगानी गरेका छन्।

उकेराले प्राप्त गरेको प्रमाण अनुसार निदान अस्पतालमा पुकारले श्रीमती, आमासँगै छोरी प्रकृति श्रेष्ठ, आफन्त सम्झना राजवंशी, ध्रुवलाल राजवंशी, भिनाजु सुरेन्द्र कुमार जोशी, भतिज अभिषेक श्रेष्ठको नाममा लगानी गरेका छन्।

केन्द्रमा खटिनुपर्ने डा. श्रेष्ठ प्रत्येक दिन बिहान ललितपुरको पुल्चोकमा रहेको निदान अस्पताल पुग्छन्। उकेराले निदान अस्पतालमा सम्पर्क गर्दा अस्पतालकी कर्मचारीले डा. श्रेष्ठ हरेक दिन बिहान बिरामी जाँच्न पुग्ने र बिरामीको चाप धेरै भए बिरामी जाँचिसकेपछि मात्रै अस्पतालबाट निस्कने जानकारी दिइन्।

निदान अस्पतालमा पुकारचन्द्र डाक्टरसाबको पालो कहिले पर्छ? भन्ने उकेराको जिज्ञासामा अस्पतालकी कर्मचारीले भनिन्,‘उहाँ बिहान साढे आठ आउनुहुन्छ। सबै बिरामी हेरेपछि मात्र जानुहुन्छ।’ उनी शनिवार बाहेक हरेक दिन अस्पताल जान्छन्। उनीसँग स्वास्थ्य जाँच गराएको शुल्क छ आठ सय ८५ रुपैंया।

यस बारे डा. श्रेष्ठसँग जिज्ञासा राख्दा उनले आफू निदानमा काम गर्ने गरेको स्वीकार गरे। उनले कार्यालय समय बाहेकको समयमा अस्पताल गएर आधा घण्टा मात्रै काम गर्ने गरेको दाबी गरे।

सरकारी अस्पताल प्रमुखले निजीमा काम गर्न नपाइने मन्त्रीस्तरीय  निर्णयबारे उनलाई जानकारी गराउँदा श्रेष्ठले भने,‘म त आधा घण्टा हो बिहान। त्यो पनि अफिस आवरमा हैन। बिहान या बेलुका।’

डा. श्रेष्ठले आधा घण्टा मात्रै निजीमा काम गर्ने बताइरहँदा निदान अस्पतालमा राखिएको उनको प्रोफाइलमा आइतबारदेखि शुक्रवारसम्म बिहान आठ बजेदेखि साढे नौ बजेसम्म निदान अस्पतालमा नै उनी हुने समय तालिकामा उल्लेख छ।

बिहान मात्रै हैन। उनी बेलुका पनि निदान अस्पताल पुग्छन्। बेलुका भने उनी विशेष गरी फिस्टुलाको शल्यक्रियाका लागि निदान जाने गरेका छन्।

निजी अस्पतालमा काम गर्नै नपाउने कानुनी व्यवस्थाबारे जानकारी गराउँदा उनले निदानमा जानु आफ्नो रहर नभएको तर सरकारी अस्पताल आउन नचाहनेहरूका लागि गइदिएको झैँ जवाफ दिए।

'मेरो प्राइभेट प्राक्टिस त सरकारीमा जान्न भन्नेहरू, त्यसमा त्यहाँ(सरकारीमा) टाइम पाउँदैनौ, सक्दैनौ भन्नेहरूलाई हो। मैले त्यो प्राइभेट प्राक्टिस नगरे केही परक पर्दैन,’ उनले भने।

डा. श्रेष्ठ कार्यकारी निर्देशक रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा पालो नपाएर परीक्षण गर्न चाहनेहरूले कुरिरहेका हुन्छन्। तर उनी भने सरकारी अस्पताल नआउने, निजीमै जँचाउन चाहनेका लागि निदानमा गएको कुतर्क गर्छन्।

उनले लिएको जिम्मेवारीमा अस्पतालको प्रशासनदेखि व्यवस्थापनसम्मै पर्छ। तर उनी अस्पताल सुधारको साटो आफ्नै परिवारको लगानी रहेको अस्पतालमा जाने गरेको उनैले पुष्टि गरिदिए। यसमा उनका आफ्नै तर्कहरू छन्। केन्द्रमा आफू १४ घण्टा खटिने गरेको र निजीमा आधा घण्टा पनि काम नगर्ने दाबी गरे।

तर जानकार श्रोतका अनुसार उनी अस्पतालमा गएर आएकाहरूको परीक्षण मात्रै गर्दैनन् उनी अस्पतालको व्यवस्थापनमा पनि संलग्न छन्। आफ्नो नाममा लगानी देखाउँदा समस्या पर्ने भएपछि उनले आफन्तको नाममा निदानमा लगानी गरेको देखिन्छ।

कमजोर छैन सुविधा

श्रेष्ठले सरकारी अस्पतालमा सेवा सुविधा खासै नभएको अनि काम मात्रै बढी भएको दाबी गरे। मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आफ्नो सेवा सुविधा टिचिङ र वीर अस्पतालमा जति पनि नभएको उनको तर्क छ।

अस्पताल प्रशासन स्रोतका अनुसार मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशको तलब भत्ता गरी मासिक करिब ८० हजार पाउँछन्। त्यसबाहेक उनलाई सवारी लगायतका थप सुविधा समेत छ। सरकारले तोकेको सुविधा र सर्त स्वीकार्य नभए राजीनामा दिएर निजी अस्पतालमा अभ्यास गर्ने उनको अधिकार सुरक्षितै छ। तर उनी न केन्द्रको निर्देशक पद छाड्न राजी देखिए न निजी निदान अस्पतालमा नै काम गर्न छाड्ने मनस्थितिमा देखिए।

उकेराले यस अगाडि सरकारी अस्पतालको प्रमुखको जिम्मेवारी लिएर मन्त्रालयले गरेको निर्णय लत्याउँदै निजी अस्पताल धाउने श्रेष्ठ जस्तै बदमास पाँच चिकित्सकहरूबारे समाचार प्रकाशित गरेको थियो।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्राले भनिन्‘स्वास्थ्य मन्त्रालयको परिपत्र तथा निर्देशनहरू यस मन्त्रालय मातहतका कार्यालयहरूले पालना गर्नु उहाँहरूको कर्तव्य हुन्छ।’

युनिफाइड केन्द्रीय अस्पतालका निमित्त प्रमुख प्रा. डा. भूपेन्द्र कुमार बस्नेत, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. देवनारायण साह (डीएन साह), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्रा.डा. सुबोधकुमार अधिकारी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकै डिन प्राध्यापक डा. पीयूष दाहाल / निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)का कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेलले निजी अस्पतालमा शुल्क लिएर काम गर्ने गरेको प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

उकेराको अनुगमनमा उनीहरू अहिले पनि निजी अस्पतालमा जान नछाडेको देखियो। विधाननिधिले त उकेरासँग काठमाडौँको गोङ्गबु स्थित ‘विनायक अस्पताल तथा प्रसूति गृह’ मा लगानी रहेको उनैले पुष्टि गरेका थिए।

तै पनि नियामक निकाय मन्त्रालयका अधिकारीहरू भने यो विषय थाहा पाएर पनि थाहै नभएझैँ गरेर बसेका छन्। यसबारे जिज्ञासा राख्दा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्राले भनिन्‘स्वास्थ्य मन्त्रालयको परिपत्र तथा निर्देशनहरू यस मन्त्रालय मातहतका कार्यालयहरूले पालना गर्नु उहाँहरूको कर्तव्य हुन्छ।’

पालना नगरे के हुन्छ? मिश्रासँग जवाफ छैन।

२९ चैत, २०७८, २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।