सिरियल ठग मनोजकुमार जसले बाउको साथीदेखि पार्टनरसम्मलाई छाडेनन् ठग्न

सिरियल ठग मनोजकुमार जसले बाउको साथीदेखि पार्टनरसम्मलाई छाडेनन् ठग्न

काठमाडौँ : सिरियल ठग मनोजकुमार भण्डारीको कम्पनीले प्रधानमन्त्री निवास बालुवाटारका भवनहरू बनाउने ठेक्का पाएको खुलेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रधानमन्त्री निवासको आधुनिकीकरणको ठेक्का लागेको थियो। त्यसको जिम्मा पायो कन्टेक्ट कन्स्ट्रक्सन प्रालीले। त्यो प्रालीका सञ्चालक हुन् सिरियल ठग मनोजकुमार भण्डारी।

सो कम्पनीमा उनको ५० प्रतिशत शेयर रहेको खुलेको छ। प्रालीका शेयर होल्डर उद्धव भण्डारीका अनुसार अहिले पनि मनोजकुमारको नाममा प्रालीमा शेयर छ।

‘प्रधानमन्त्री निवासको ठेक्का पाउनु अघि उहाँको ५० प्रतिशत सेयर थियो,‘ उनले भने, ‘उहाँ विरुद्ध ठगेको भन्दै जाहेरी पर्न थालेपछि उहाँको भाइलाई २५ प्रतिशत सेयर विक्री गरेर २५ प्रतिशत अझै आफ्नो नाउँमा राख्नु भएको छ।’

ठगीको केसमा अहिले डिल्लीबजार कारागारमा रहेका उनले त्यही प्रधानमन्त्री निवासको ठेक्कालाई रकम ठगीको माध्यम बनाएको उकेराले प्राप्त गरेको प्रमाणहरूले देखाएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ११  मा बस्ने शारदा सिंहलाई उनले २० करोड ठगेका थिए।

शारदा सिंहकी बुहारी राजेश्वरी सिंहका अनुसार २०७५ सालमा भण्डारीले केही व्यक्ति लगाएर उनीहरूको साढे पाँच बिघा जग्गा उम्काए। ‘हाम्रो घरमा परिवारका सदस्य निकै बिरामी हुनुभयो। त्यति बेला धेरै पैसा चाहिएको थियो,’उनले भनिन्, ‘केही जग्गा बेच्ने सुरमा थियौँ आमाको ( शारदा सिंह) को नाउँमा जग्गा थियो। छोराहरू बिरामी भएको बेला पारेर आमाको नामको जग्गा आफ्नो नाउँमा पारेर हामीलाई ठग्यो।’

उनका अनुसार मनोजले  १५ लाख दिए सुरुमा। कागज पनि गरे शारदा सिंहसँग। सो साढे पाँच बिघा जग्गा २० करोडमा खरिद गरेको उल्लेख पनि गरियो। जग्गा मनोजको नाउँमा पुगेपछि मनोज सम्पर्कविहीन भए। सिंह परिवारले निरन्तर ताकेता गरेपछि उनले साढे ६ करोडको चेक दिए। त्यो चेक बाउन्स भयो।

उनले अर्को साढे १० करोडको चेक पनि दिए। त्यसमा पनि पैसा देखिएन। राजेश्वरीका अनुसार सिंह परिवारले कैलाली जिल्ला अदालत र पाटन जिल्ला अदालतमा मुद्दा हालेको छ। ‘हाम्रो त सर्वस्व गुम्यो। यही पिरले ह्दयघातले दुई जना सदस्य गुमायौँ,’उनले भनिन्, ‘पारिवारिक वियोग त छँदै छ। हामी एक्कासि सडक छाप भयौँ। खान लाउनै समस्या पर्यौ।’

चिनजानकैलाई ठग्थे मनोजले

आफ्नो बुबाका कलेज पढ्दाको साथीलाई समेत उनले ठगेको देखियो। मनोजका बुबा तुलसी धर र मुकुन्दराज जोशी कलेज पढ्दाका साथी थिए। साथीको छोरा भएकाले जोशी परिवारमा उनको बाक्लै आउजाउ थियो। उनले २०७१ मा भण्डारीले सञ्चालन गर्दै आएको कम्पनी हिमालय डेकार्ष प्रालीलाई ऋण कर्जाको आवश्यकता परेको भन्दै सहयोग मागे।

भण्डारीले ३ वर्ष भित्र तिर्छु गर्छु, तपाईँको जग्गा राखौँ भनेपछि जोशी परिवारले ३ वर्ष भित्र फुकुवा गर्ने गरी सहजै आफ्नो जग्गा धितो राखी ऋण निकाल्न अनुमति पनि दिए। मुकुन्दराजले पनि साथीको छोरा हो भनेर विश्वास गरेर कागज गरेर  श्रीमती ऋतु जोशीको नाममा रहेको जग्गा र घर  धितो राखिदिए।

०७१ सालमा पैसा लिएर हिँडेका मनोजले परिवारलाई पैसा तिर्ने कुनै छाँटकाँट देखाएनन्। पैसा नतिरेपछि जोशी परिवारले निरन्तर ताकेता गर्यो। भण्डारीले ४ करोड २० लाख चेक पनि दिए मेगा बैङ्कको। त्यसमा नगद देखिएन। त्यसपछि परिवारले ७६ साल असार ३ गते बैङ्किङ कसुर गरेको आरोपमा जाहेरी दरखास्त दिए। उच्च अदालतमा उनको मुद्दा पर्यो। अदालतले ताकेता गर्दा समेत उनी उपस्थित भएनन्।

अदालतले फैसलामा भन्यो ‘मनोज कुमार भण्डारीले अभियोग दाबी बमोजिमको कसुर गरेको देखिन आएको हुँदा निज उपर सजायको माग दाबी लिइएको बैंकिङ्ग कसुर तथा सजाय ऐन अनुसार चार करोड बिस लाख बिगो कायम गरेर बिगो भराउने र बिगोको चार प्रतिशत रकम जरिवानासँगै एक महिना कैदको फैसला भयो।

२०७७ माघ २५ मा फैसला आएपछि उनी फरार सुचीमानै थिए। भण्डारीले रकम नतिरेपछि २०७८ मङ्सिर १९ मा डाँक लिलाम गरी ३ करोड ७२ लाख ६६ हजार ५ सय डाँक लिलाम सकार भयो। उनले यो परिवारलाई अझै ४७ लाख ३३ हजार ५ सय रुपैयाँ तिर्न बाँकी छ।

जग्गा किनबेचमा पनि ठगी

भण्डारीले जग्गा किनेर पुरै रकम नदिएको समेत खुलेको छ। भण्डारी र गणेशमान श्रेष्ठ मिलेर  सहारा राणाको  बालाजु वनस्थलीको ६ करोड ५५ लाख ५१ हजारमा जग्गा खरिद गरे। जग्गा पास गर्ने बेला नै १ करोड १० लाख बाँकी राखी अरू पैसा दिए।

भण्डारीले जग्गा किनेको ६ महिना पछिको मिति राखेर चेक दिएका थिए। उनले २०७४ फागुन २१ गतेको मिति राखेर माछापुच्छ्रे बैङ्कको चेक दिए। तर तोकिएको मितिमा चेक साटिएन। त्यसपछि परिवारले ताकेता गर्दा पनि रकम नपाएपछि सहाराको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेरी दियो।

मनोजले जग्गामा हाइटेन्सन लाइन परेको र ठगिएको भन्दै काठमाडौँ जिल्ला अदालतमा निवेदन दिए। अदालतमा मुद्दा चलिरहेको अवस्थामा भण्डारी पक्राउ परे। उच्च अदालत पाटनले २०७६ असार ९ गते भण्डारीलाई २७ लाख धरौटीमा रिहा गर्यो।

उनी तारेखमा बसे पनि म्याद गुजारे। पटक पटक म्याद गुजारेपछि २०७७ फागुन ४ मा उच्च अदालत पाटनले एक करोड दश लाख रुपैयाँ बिगो कायम गरेर दुवै जनाबाट बिगो भराउने र बिगो बमोजिम जरिवाना र १५ पन्ध्र दिन कैद सजाय हुने तोकियो।

सहकर्मीकै रकम पनि छाडेनन्

कन्टिच कन्स्ट्रक्सन प्रालीको सुरुवातकालीन लगानीकर्ता हुन् उद्धव भण्डारी, सुधीर घिमिरे र मनोजकुमार भण्डारी। जब मनोजलाई मुद्दा पर्न थाल्यो उनले प्रालीको नाउँमा भएको शेयर आफ्ना भाइ पकंज भण्डारीको नाउँमा सारे। अहिले प्रालीको प्रमुख लगानीकर्ता सुधीर घिमिरे हुन्। भाइ पङ्कजलाई २५ प्रतिशत सेयर विक्री गरे पनि अझै पनि मनोजको नाउँमा सेयर छँदै छ।

प्रालीका सेयर होल्डर उद्धवका अनुसार उद्धवकै ४ करोड तिर्न छ मनोजकुमारले।  उनले दाबी गरे ‘मैले कतै जाहेरी दिएको छैन। मरेको साँपलाई के भनौँ र?  मेरै ४ करोड तिर्न बाँकी छ।’

ठगीमा भटाभट जरिवाना र कैद सजाय सुनाइए पनि उनी पक्राउ भने परेका थिएनन्। फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चैत २५ मा पक्राउ गर्यो। २०७८ चैत १८ मा महोत्तरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि कोटेश्वरबाट उनी पक्राउ परेका थिए।

उनले जोशी परिवारको ४७ लाख ३३ हजार ५ सय नतिरेको आरोपमा पक्राउ परेका थिए। सिआइबीका एसपी कमल थापाका अनुसार ४७ लाख भन्दा बढी रकम नतिरेको कारणले उनलाई पक्राउ गरिएको थियो। प्रहरीले फैसला कार्यान्वयनका लागि अदालतमा बुझायो। उनले तोकिएको बिगो र जरिवाना रकम तिर्न नसकेपछि अहिले डिल्लीबजार कारागारमा छन्।

२८ चैत, २०७८, १९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।