उकेरा फिचर

खुसार्नीका 'हेड सर' जसले पहिलो वर्षमै बेचे ४० लाखको खुर्सानी


बुटवल : बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय। त्यसअघि र पछिको समय खेतीबारीमा। पाल्पा रिब्दीकोट गाउँपालिका- ७, मैनादीका जनक आचार्यको दैनिकी हो यो। 

प्रभात माध्यमिक विद्यालयका प्राचार्य रहेका जनक समय मिल्नासाथ बारीमा पुगिहाल्छन्। स्कुलमा हुँदा भने खेतबारीको जिम्मेवारी उनकी श्रीमती सजिता ज्ञवालीले सम्हाल्छिन्।

चार वर्षदेखि गाउँघरमै कुखुरापालन, गोलभेंडा खेती गर्दै आएका जनक र उनकी श्रीमती सजिता अहिले खुसार्नी खेतीमा लागेका छन्। १७ वर्षदेखि विद्यालयका हेड सर अहिले अकवरे खुर्सानीका पनि 'हेड सर' भएका छन्। गाउँमा उनी यही नामले चिनिन थालेका छ।

‘पहिले गोलभेंडा लगायतका तरकारी खेती गरियो। पछिल्लो एक वर्षयता अकबरी खुर्सानीको खेती सुरु गरेको छु। रुपन्देहीको तिलोत्तमा- १५, पत्थरडाँडामा रहेको यशोदा फुड्सले खुसार्नी लैजाने निश्चित भएपछि यो खेतीमा लागेको हुँ,’ जनकले भने।

अघिल्लो वर्ष १ सय २५ रोपनी जग्गामा खुसार्नी खेती सुरु गरेका जनकले यो वर्ष २ सय रोपनीमा खुसार्नी लगाएका छन्। ‘२ सय रोपनी जग्गा लिए पनि लामो समय बाँझो हुँदा गत वर्ष १ सय २५ रोपनीमा खुसार्नी लगायौं। यो वर्ष बल्ल खेती बढेको छ,’ उनले भने।

उनले बारीमा भोजपुरबाट ल्याएको खुसार्नीको बिउबाट तयार गरिएका बेर्ना रोपेका छन्। सुरुकै वर्ष ४० लाख बढीको खुसार्नी बिक्री गर्न सफल भएका जनकले अब ६० लाख बराबरको खुर्सानी बिक्री हुने अपेक्षा गरेका छन्। 

आफूले उत्पादन गरेको सबै खुर्सानी पाकेपछि पिरो चाउचाउ भनेर नाम कमाएको करेन्ट चाउचाउ उद्योगमा खपत हुने गरेको उनले बताए। पिरो चाउचाउको उत्पादक यशोदा फुड्सले पाकेको आलो खुर्सानी गतवर्ष प्रतिकिलो २ सय ९० रुपैयाँको दरले खरिद गरेको थियो। 

अहिले उनले बिउको लागि किसानहरुलाई तयारी बियाँ प्रतिकिलो २५ हजार रुपैयाँ र सुकेको खुर्सानी प्रतिकिलो २ हजार ५ सय रुपैयाँमा बिक्री गरेका छन्।

गत वर्ष बिउकै लागि इलाम र पाँचथर पुगेका उनले ५ रोपनी जग्गामा बिउकै लागि भनेर बिरुवा लगाएको बताए। उत्पादित बिउको बियाँलाई रिब्दिकोट गाउँपालिका, ग्रामीण आर्थिक विकास संघ तथा लमजुङ र कैलालीसम्मका किसानले खरिद गरेर लगेका छन्। यशोदा फुड्सले पिरो चाउचाउका लागि खुसार्नी खरिद गर्न थालेपछि हेड सर जनक मात्र होइन, पाल्पाको मदनपोखरा, रिब्दिकोट, बगनासकाली गाउँपालिका, माथागढी, तिनाउ गाउँपालिकामा पनि व्यावसायिक खुसार्नी खेती सुरु भएको छ।

बगनासकालीमा ३६ घर-परिवारले खुर्सानी खेती गरेका छन्। बगनासकाली गाउँपालिकाका कृष्ण भुसालले पनि ५ रोपनी जग्गामा अकबरे खुर्सानीको व्यावसायिक खेती गरेका छन्। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ कार्यालयमार्फत बगनासकालीको वडा नं. ८ र ९ मा चक्लाबन्दी कार्यक्रम अन्तर्गत खुर्सानी खेती गरिएको छ। भुसालले गत बर्ष ९ लाख बढीको खुर्सानी बिक्री गरेको बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय पाल्पाका प्रमुख दिपक भट्टराईले अकबरे खुसार्नीको व्यावसायिक खेती पाल्पामा ८ सय रोपनीमा भएको बताए।

उनका अनुसार माथागढीमा २ सय रोपनी, बगनासकालीमा १ सय ६०, तिनाउमा २ सय, रिब्दिकोटमा २ सय र तानसेनमा ४०/५० रोपनी जग्गामा खुर्सानी खेती गरिएको छ।

‘पहिले आलु, गोलभेंडा लगाएका किसानले अहिले सबै जग्गामा खुसार्नी खेती लगाएका छन्। कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुने हुँदा यसमा आर्कषण बढेको हो,’ उनले भने।

जिल्लामा अकबरे खुर्सानी प्रवर्द्धनको कार्यक्रम सञ्चालन गरेको र कार्यालयबाट प्राविधिक सहयोग हुँदा किसानहरु खुसार्नी खेतीमा हौसिएको भट्टराईले बताए।

‘चक्लाबन्दीमा खेती गर्ने किसानलाई नर्सरी व्यवस्थापन, फलामका स्थायी नर्सरी, बाँसका अस्थायी नर्सरी, ट्रे स्ट्याण्ड, सिंचाइको लागि पाइपको व्यवस्था तथा यान्त्रीकरणका लागि मिनी टेलर, खाडल खन्ने मेसिन लगायतमा सहयोग गर्दै आएको छौं। त्यस बाहेक बिरुवा जमाउने तालिम, लगाउने तालिम पनि कार्यालयले दिँदै आएको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पत्रकारिताका सदाबहार डन

समाज परिवर्तन गर्न सकिएला कि भनेर केही युवा स्वतन्त्र उम्मेदवार बनेर सेल्फी प्रचारको म्याराथनमा पनि छन्। कोही अटेर गर्ने प्रयासमा छन्। तर सामाजिक मञ्च स्थानीय....

ललितपुर-१० का वडाध्यक्ष व्यञ्जनकारको ११औं इनिङ्स : यस पटकको लडाइँ आफ्नै भतिजसँग

उमेरले ८० वर्ष पार गरिसकेका व्यञ्जनकारलाई चुनाव जितेर जनताको सेवा गर्ने धोको भने अझै मरेको छैन। १० पटक वडाध्यक्ष भइसकेका उनी अहिले ११औं पटक उम्मेदवार....

सफलताको कथा : पश्चिम क्षेत्रकै नमुना 'टंक दाइ’ को पेट्रोल पम्प

तीमध्ये ३ सय ४० वटा साधारण पम्प हुन् भने एउटा मात्र नमुना पम्प हो। साधारण भनिएका पम्पहरु नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५....

सफलताको कथा: माओवादी द्वन्द्व, भारतमा वाचम्यान हुँदै उद्यमी बनेर पैसा कमाइरहेका भक्तराज

तत्कालीन विद्रोही माओवादीहरू स्कुलमा आए। आफ्नो अभियानमा जानुपर्‍यो भन्दै स्कुलको ड्रेस फुकाल्न लगाएर आफ्नो ड्रेस लगाइदिए। भक्तराजसहित पाँच जना केटाहरूलाई माओवादी कार्यकर्ताले १० दिनसम्म भूमिगत....

गन्धर्वहरूको पीडा: दिनमा सय रुपैयाँ पनि उठ्दैन, सचेतना जगाउने काम दिन सरकारलाई अनुरोध

कुनै समय उनले सारङ्गी बजाएरै परिवार पालेका थिए। अहिले भने दैनिकी चलाउन पनि हम्मे–हम्मे भएको छ। गाउँघरमा आधुनिक मनोरञ्जनका सामग्री भित्रिएसँगै टेकबहादुर जस्ता गन्धर्व समुदायलाई....