सन्दर्भ रामनवमी : कलियुगका राजनेता र राम 

सन्दर्भ रामनवमी : कलियुगका राजनेता र राम 

भरतखण्डको यो भारतवर्षमा धेरै राजाहरूले राज्य गरेको कुरा हाम्रा धर्मशास्त्र, पुराण तथा इतिहास साक्षी छन्। ती ग्रन्थहरूको अध्ययन गर्दै जाँदा राजाहरूमध्ये सबैभन्दा उत्कृष्ट राजाको रूपमा रामलाई नै लिइन्छ। 

हामीले  पूर्वजन्ममा गरेको फल अहिले यसजन्ममा भोग्छौं भन्ने विश्वास हाम्रो सनातन धर्ममा रहिरहेको छ। हामीले जीवनको पूर्वार्धमा राम्रो काम गरेका थियौं भने हाम्रो जीवन सुखमय हुन्छ। यो हामीले देखेको तथा भोगेकै कुरा हो।

एउटा आदर्श राजाको रूपमा होस् या भगवानको रुपमा ‘राम’ शब्द नसुनेका सायद कमै होलान्। रामराज्यलाई अहिले पनि विश्वकै आदर्श राज्यको रूपमा लिइन्छ। रामराज्यमा न कोही दुःखी थिए, न दरिद्री, न कोही मूर्ख थिए न कोही दुर्लक्षणले युक्त नै। त्यसैले रामराज्य एउटा आदर्श राज्यको रूपमा स्थापित थियो। यो पुराण तथा इतिहासहरूमा वर्णित कुरा हो।

रामराज्यमा सारा जड र चेतन जगतमा काल, कर्म, स्वभाव र गुणले उत्पन्न हुने दुःख कसैलाई पनि थिएन। मानवले जीवनमा जे-जति दुःख भोग्नुपर्छ ती सबै दुःख यही काल, कर्म, स्वभाव र गुणका कारण उत्पन्न हुने दुःख नै भोग्नुपर्छ अर्थात् यो संसारमा जे-जति दुःख छन् ती सबै दुःख काल, कर्म, स्वभाव र गुणमा अन्तरभूत हुन्छन्।

काल भनेको समय हो। समयसँगसँगै दुःख पनि आइरहेको हुन्छ तर रामराज्यमा त्यो दुःख थिएन। यस्तै हामीले जे-जस्तो कर्म गर्छौं कालान्तरमा त्यही कर्मको फल भोग्नुपर्छ। यो व्यवहारमा पनि देखिएको कुरा हो। अझ हाम्रो विश्वास जन्म-जन्मान्तरसम्म पनि रहको छ।

हामीले  पूर्वजन्ममा गरेको फल अहिले यसजन्ममा भोग्छौं भन्ने विश्वास हाम्रो सनातन धर्ममा रहिरहेको छ। हामीले जीवनको पूर्वार्धमा राम्रो काम गरेका थियौं भने हाम्रो जीवन सुखमय हुन्छ। यो हामीले देखेको तथा भोगेकै कुरा हो।

यही जीवनलाई सार्थक तुल्याउनका लागि नै हाम्रा ऋषिमहर्षिहरूले हाम्रो जीवनको सम्पूर्ण आयुलाई चार भागमा लगाएर पहिलो भागलाई ब्रह्मचर्याश्रममा रहेर विद्यार्जनका लागि छुट्याएका हुन्। यो समय आफूले जीवनलाई कुन मार्गमा लैजाने हो भन्ने सम्बन्धमा लक्ष निर्धारण गर्ने समय हो। मेरो लक्ष्य यही हो भनेर जीवनको पूर्वार्धमा अगाडि बढेको खण्डमा जीवनको उत्तरार्ध चाहेजस्तो र सोचेजस्तो हुने भएको हुनाले यो समयमा कठिन परिश्रम गर्नका लागि अभिप्रेरित गरिएको छ।

जो राजनीतिमा समर्पित हुन्छ आफ्नो व्यक्तिगत सुख सुविधालाई तिलाञ्जलि दिएर मात्र लाग्नुपर्ने सन्देश रामकथा र रामायणले दिएको छ।

त्यो समयमा  ब्रह्मचारीले पालन गर्नुपर्ने नियमहरू छन् ती नियमहरूलाई कठोरतापूर्वक पालन गरेमा मात्र ब्रह्मचारी आफ्नो लक्ष्यमा पुग्छ। यो अमूल्य समयलाई खेर फालेमा र पालन गर्नुपर्ने नियम पालन नगरेमा निश्चय पनि ऊ लक्ष्यमा पुग्न सक्दैन। यस दृष्टिले पनि हामीले गृहस्थाश्रमको पूर्वजन्मको रूपमा ब्रह्मचर्याश्रमलाई पनि लिन सकिन्छ।

यस्तै गृहस्थाश्रमले वानप्रस्थाश्रमलाई प्रभावित तुल्याएको हुन्छ भने वानप्रस्थाश्रमबाट सन्यासाश्रम। बिहानीले दिनलाई संकेत गरेजस्तै हाम्रो जीवनका पूर्वार्धले उत्तरार्धलाई प्रभावित तुल्याएको हुन्छ। यो कालखण्डलाई जन्म-जन्मान्तरदेखि लिएर हाम्रो दैनिकीसम्म पनि तुलना गर्न सक्छौं। यो काल र कर्मको लागि महत्वपूर्ण उदाहरण हो।

यस्तै स्वभाव र गुण पनि मानिसको उन्नति एवं अवनतिका लागि कारक रहेका हुन्छन्। मानिसले जन्मदै स्वभाव र गुण पनि लिएर आएको हुन्छ तर तिनको परिवर्तन हुँदै नहुने होइन मात्रा मात्रै फरक हो। विद्यार्थीकाल तथा ब्रह्मचर्याश्रममा राम्रो शिक्षा दीक्षा पाएको खण्डमा मानिसले स्वभाव र गुणमा परिवर्तन ल्याउन सक्छ। सनातन धर्ममा संस्कारको कुरा यसैबाट नै आएको हो।

संस्कारले मानिसलाई संस्कृत तथा परिस्कृत गर्ने भएको हुनाले नै संस्कारको आवश्यकता परेको हो। रामराज्यको तथा रामनवमीको प्रसंगमा यी कुराहरूको व्याख्यामा अल्झिदा मुख्य कुरा गौण बन्न जाने भएको हुनाले रामनवमी तथा रामकै दिनचर्यामा उनकै गुणगानमा उनले आफ्नो जन्मभूमिप्रति देखाएको माया तथा ममताका सम्बन्धमा चर्चा गर्नु उपयुक्त देखिन्छ।

पूर्वीय संस्कृतिमा मात्र होइन विश्वमै रामराज्य सुराज्यको पर्यायवाचीको रूपमा रहेको छ। यो रामराज्य वास्तवमा भन्ने हो भनें धर्मशास्त्रहरूमा वर्णित नियमहरूमा आधारित शासन व्यवस्था थियो। तर विडम्बना अहिले त्यसको ठिक विपरीत हुन गएको छ।

रामले रावणलाई जितिसकेपछि रामलाई लंकाको राजा बन्नका लागि प्रस्ताव राख्दाको प्रसंगमा रामले भाइ लक्ष्मणलाई भनेको कुरा वर्तमान समाजका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ। त्यतिबेला रामले भाइ लक्ष्मणलाई भनेका थिए (अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।।)  अर्थात् लंका सुनै सुनले बनेको अत्यन्त सुन्दर छ तर पनि मलाई मन पर्दैन किनभने जननी र जन्मभूमि स्वर्गभन्दा पनि महत्वपूर्ण हुन्छन्। यो कुरा वर्तमान समाजका लागि पनि त्यत्तिकै महत्वपूर्ण रहेको छ।

आज देशबाट दिनानुदिन प्रतिभा पलायन हुँदै गएको कुरा कसैका सामु छिपेको छैन। यसरी पलायन हुँदै गएका युवाहरूमा यो सन्देश पुर्याउने हो भनें निश्चय पनि ती युवाहरूमा देशभक्तिको सञ्चार हुने थियो  र देशका लागि केही गर्नुपर्छ भन्ने देशभक्तिको भावना सञ्चार भएमा आ–आफ्नो क्षेत्रबाट गर्नसक्ने सहयोग गरेर आफ्नो जन्मभूमिप्रति केही गर्न सक्ने थिए। यस्तो भावनाको सञ्चरणका लागि पनि रामनवमी अत्यन्त महत्त्वपूर्ण रहेको छ।

रामले लोकका निम्ति तथा जनताको निम्ति व्यक्त गरेका विचारहरू आजका राजनीतिक नेताहरूमा सञ्चारित हुनुपर्छ, राजनीतिमा लाग्नु भनेको जनताको सेवामा आफूलाई समर्पित गर्नु हो। जनताको सुख नै आफ्नो सुख र जनताको दुःख नै आफ्नो दुःख हो भन्ने कुरालाई आत्मसात गर्नु हो र सच्चा राजनीतिज्ञले गर्न पनि सक्नुपर्छ। विचारले होइन व्यवहारले गरेर पनि देखाउन सक्नुपर्छ जुन कुरा राजा रामले गरेर देखाएका थिए।

जो राजनीतिमा समर्पित हुन्छ आफ्नो व्यक्तिगत सुख सुविधालाई तिलाञ्जलि दिएर मात्र लाग्नुपर्ने सन्देश रामकथा र रामायणले दिएको छ। रामले आफ्नो राजसिंहासनमा बस्ने समयमा जनतासँग प्रतिज्ञा गरेका थिए (स्नेहं दयां च सौख्यं च यदि वा जानकीमपि। आराधनाय लोकानां मुञ्चतो नास्ति मे व्यथा।।) जनताको सुखको लागि तथा देशको संमृद्धिका लागि व्यक्तिगत तथा आत्मीय जनप्रतिको सुख, स्नेह, दयाले मलाई छुने छैन यतिमात्र होइन जनताको सुखको लागि आफ्नो प्राणभन्दा प्यारी सीतालाई त्याग्नुपरेको अवस्थामा त्याग्न मलाई कुनै दुःख हुने छैन। 

राजकाजको क्रममा हुन पनि त्यस्तै भयो लोकरञ्जनका लागि लाकोपवादबाट बच्नका लागि अन्त्यमा आफ्नी प्राणभन्दा प्यारी सीतालाई समेत त्यागेर रामले आदर्श राजाको रूपमा  आफूलाई स्थापित गरे। जसका कारण जनताको सुखलाई आफ्नो सुख सम्झिने राम युगौं युगसम्म जनताको हृदयमा रहेका छन् र देवताको रूपमा पूजित छन्।

एक दशकभन्दा लामो समयसम्म युद्धको भुमरीमा परेका निर्दोष नेपाली जनतालाई अझै पनि युद्धको धम्की दिएर झ्याल ढोका थुनेर मार्न खोजिएको बिरालो बनाउँदै छन्। त्यसको परिणाम के हुन्छ ती नेताहरूले सम्झनुपर्ने बेला भएको छ।

पूर्वीय संस्कृतिमा मात्र होइन विश्वमै रामराज्य सुराज्यको पर्यायवाचीको रूपमा रहेको छ। यो रामराज्य वास्तवमा भन्ने हो भनें धर्मशास्त्रहरूमा वर्णित नियमहरूमा आधारित शासन व्यवस्था थियो। तर विडम्बना अहिले त्यसको ठिक विपरीत हुन गएको छ। हुन त आधुनिक शासन व्यवस्थामा पनि  यस्ता नियम कानुनहरू नभएका होइनन्। नियम बन्दैमा राज्य उत्कृष्ट हुन सक्दैन। हामीले महसूस गरेकै कुरा हो यहाँ कानूनको होइन कार्यान्वयनको जरुरी छ।

रामजस्तै दृढप्रतिज्ञ राजनेताको जरुरी छ। हाम्रा राजनीतिक पार्टीका नेताहरू बोल्छन् एउटा गर्छन् अर्को। बोली र व्यवहारमा एकताको खाँचो छ। आज धेरैजसो राजनीतिक दलका व्यक्तिहरू जे बोल्छन् त्यसको विपरीत गर्दैछन् भन्ने अर्थ लगाउनु पर्ने अवस्था आइसकेको छ।

जनतालाई केही क्षण झुक्याउन सकिएला तर सधैंभरि जनता झुक्याउनेको पछि लाग्दैनन्। बाघ नआई बाघ आयो बाघ आयो भनेर आफ्ना सहकर्मीहरूलाई झुक्याएर मनोरञ्जन लिने गोठालाले साँच्चिकै बाघ आँउदा सहयोग नपाएजस्तै बनाउने छन् जनताले  आफूलाई राजनेता ठान्ने ती नेतालाई। त्यो समयलाई अब धेरै पर्खनु पर्दैन।

रामराज्यको आदर्श अहिले पनि हाम्रो पहुँचभन्दा बाहिर रहको छ। राजा रामले पिताको एउटा वचन पालन गर्नको लागि १४ वर्ष वनवास रोजेका थिए भने सीता पवित्र छन् भन्दाभन्दै पनि आफ्नी प्राणभन्दा प्यारी सीतालाई समेत जनताको लोकोपवादबाट बच्नका लागि परित्याग गरेका थिए। त्यो विषय यदाकदा आधुनिक युगमा रामको आलोचनाको विषय बन्ने गरेको छ। तर त्यो आलोचनाको विषय नै होइन। देश र जनताको लागि गरिएको त्याग हो।

‘अस्वर्ग्यं लोकविद्विष्टं धर्म्यान्नपि चरेन्न तु’ अर्थात् जुन कुराबाट आनन्द प्राप्ति हुँदैन र जुन कुरा लोकको दृष्टिमा अर्थात् जनताको दृष्टिमा राम्रो कुरा होइन। त्यो शास्त्रीय दृष्टिले उपयुक्त हुँदाहुँदै पनि त्याग्नु उपयुक्त हुन्छ भन्ने शास्त्रीय मान्यताको आधारमा रामले त्याग गरेका हुन्।

आज समय भिन्नै भइसकेको छ। यो त कलियुग हो। कलियुगका राजनेताहरू आफैं सत्तामा बसेर शान्ति होइन युद्धको धम्की दिन्छन्, युद्धका लागि लल्कारछन् निरीह नेपाली जनतालाई।

एक दशकभन्दा लामो समयसम्म युद्धको भुमरीमा परेका निर्दोष नेपाली जनतालाई अझै पनि युद्धको धम्की दिएर झ्याल ढोका थुनेर मार्न खोजिएको बिरालो बनाउँदै छन्। त्यसको परिणाम के हुन्छ ती नेताहरूले सम्झनुपर्ने बेला भएको छ। बिरालोले आफू मर्नुभन्दा पहिले खोज्ने विकल्प झ्याल ढोकाहरू थुनेर मार्न खोज्नेको घाँटी समात्नुबाहेक अर्को हुँदैन भन्ने कुरा पनि ती शासकहरूले सोच्नुपर्ने बेला आएको छ।

प्रसंग रामनवमीको हो। रामराज्य, धर्मराज्य र ईश्वरीय राज्यमा कुनै भेद छैन। त्यसैले नै राजा रामलाई ईश्वरको रूपमा पूजा गर्न थालिएको हो। राजा रामले राज्यधर्मको साथै जनधर्मको रक्षा गरेका थिए। त्यसैले उनी भरतखण्डमा मात्र होइन विश्वमा मानव समाजका आदर्श राजाको रूपमा चिनिएका छन्।

रामकथा, रामनवमी तथा रामचरित्रबाट आजको मानवले सिक्नुपर्ने कुरा आफूभित्र रहेको आध्यात्मिक ऊर्जालाई प्रकाशमा ल्याई लोक कल्याणका निम्ति समर्पित गर्नु हो। प्रत्येक व्यक्तिभित्र नैतिक चेतना रहेको हुन्छ। त्यो नैतिक चेतनालाई सबैले बाहिर प्रकट गरेमा रामप्रतिको सच्चा भक्ति ठहर्छ।

त्रेता युगको रामायणको कथासँग वर्तमान समाज, राष्ट्र तथा विश्वलाई तुलना तथा विश्लेषण गर्ने हो भने त्रेता युगमा एउटा रावण थियो, एउटा कुम्भकर्ण थियो र यस्तै अन्य एक दुई राक्षसी प्रवृत्तिका मानिसहरू थिए। तर वर्तमान युगमा प्रत्येक घरमा, प्रत्येक समाजमा, देश देशमा  असंख्य रावणकुम्भकर्ण आदि राक्षसहरू मनोविकारको रूपमा पैदा भएका छन् यसरी मनोविकारको रूपमा पैदा भएका रावणकुम्भकर्णादि राक्षसहरूको अन्त्य नभएसम्म हाम्रो समाजमा भ्रष्टाचार, अनाचार र अत्याचारको अन्त्य हुन सक्दैन।

यसरी मनोविकारको रूपमा उत्पन्न भएका राक्षसहरूको अन्त्यका लागि रामको नैतिक चेतना प्रत्येक घर, समाज, राष्ट्र गर्दै विश्वमा फैल्याउन सक्नुपर्छ र मनोविकारी रावणी वृत्तिको अन्त्य गरी हिंसामाथि अहिंसाको, असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, अनीतिमा नीतिको र अन्धकारमा प्रकाशको ज्याति फैलाउनु आवश्यक देखिन्छ।

मनुष्यको मनमष्तिस्कमा रहेको सूक्ष्म अणु अहिले अणुबमको रूपमा जसरी देखिएका छन् तिनीहरूको अन्त्यका लागि मानिसको चेतनामा रामको सात्विक वृत्ति अति आवश्यक रहेकोले वर्तमान सन्दर्भमा राम र रामायणको महत्त्व त्यत्तिकै सान्दर्भिक रहेको छ। जसको लागि प्रत्येक व्यक्तिमा अणुको रूपमा रहेको नैतिक चेतनालाई अणुबमको रूपमा प्रकाशित गर्न आवश्यक छ। त्यो आवश्यकता रामको जीवन चरित्रबाट पूरा हुन सक्छ।

रामनवमीबाट प्रत्येक व्यक्तिमा यही नैतिक चेतनाको अभिवृद्धि होस्। नववर्ष २०७९ प्रत्येक व्यक्तिमा चेतना भरोस् यही शुभकामना।

(खनाल वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह-प्राध्यापक हुन्।)

२७ चैत, २०७८, ०७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।